मे १, १९४५ मा साँझ अबेरसम्म कार्ल लेमन लण्डनदेखि ६५ किलोमिटर पश्चिम टाढा पर्ने रेडिङ नगरको बाहिरी क्षेत्रमा रहेको कार्यालयमा काम गरिरहेका थिए ।
सोभियत सेना बर्लिन नजिक पुग्दै थियो र जर्मनीसँगको युद्ध अन्त्यतिर आइपुगेको थियो । चौबीस वर्षीय कार्लले जर्मनीको सरकारी रेडियो सुनिरहेका बेला अचानक एउटा घोषणा गरियो। रेडियोले स्रोताहरूलाई एउटा विशेष खबर सुन्नका लागि तयार रहन भन्यो । त्यो क्षणलाई सम्झिँदै कार्ल भन्छन्, \"उनीहरूले एउटा दुखद र गम्भीर संगीत बजाउँदै हिटलरको मृत्यु भएको सुनाए ।\" कार्लले थपे, \"साम्यवादविरूद्ध लड्दै हिटलर मारिएको सुनाइयो र यो कुरा निकै उदास भएर सुनाइयो ।\" कार्ल र उनका सानो भाइ जर्जलाई उनीहरूका आमाबुवाले यहुदीहरूमाथि नाजीहरूको बढ्दो दमनबाट जोगाउन नौ वर्ष पहिले जर्मनीबाट ब्रिटेन पठाएका थिए । उनीहरूका बुवा जर्मन यहुदी थिए । कार्लले भने, \"मलाई निकै राहत महसुस भयो किनकि हिटलरले मेरो जिन्दगी बर्बाद गरेका थिए ।\" कार्ल लेमन बीबीसीको मोनिटरिङ सेवाका लागि कार्यरत थिए, जुन दोस्रो विश्वयुद्धअघि शुरू भएको थियो । जर्मनी तथा उसका साझेदार अरू मुलुकहरूको रेडियो प्रसारण सुन्नु र त्यसबाट पाएका जानकारी ब्रिटिश सरकारलाई उपलब्ध गराउनु त्यसको उद्देश्य थियो । कार्लले भने, \"ब्रिटेनमा हिटलरको मृत्युको घोषणा सुन्ने हामी पहिलो थियौँ ।\" \"हिटलरको मृत्युको खबर सुनेर हाम्रो तलाका सबैजना उत्साहित भए । यो सूचनाको महत्त्व हामीलाई थाहा थियो। त्यसको अर्थ थियो जर्मनीविरूद्धको युद्ध अब सकियो ।\" तर त्यसको ६ दिनसम्म जर्मनीले आधिकारिक रूपमा आत्मसमर्पणको घोषणा गरेन । हुन त हिटलरको मृत्यु भएको कुरामा कुनै शङ्का थिएन, तर पछि मात्रै उनले आत्महत्या गरेको थाहा भयो । कार्ल भन्छन्, \"लडाइँ गर्दा गर्दै उनी मारिएको भनेर झुटो खबर सुनाइएको थियो ।\" \"उनीहरूले हिटलरले आत्महत्या गरेको कुरा स्वीकारेनन् किनकि त्यसो गरेको भए तत्काल युद्ध रोकिन्थ्यो । हिटलरको मृत्युसम्बन्धी खबर जर्मन रेडियोबाटै प्रसारण गरिएको थियो ।\" हिटलरले कार्ल डोनित्जलाई आफ्नो उत्तराधिकारी नियुक्त गरेको पनि समाचारवाचकले सुनाए । हिटलरको पतन सन् १९४५
प्रतिकृया लेख्नुहोस्: