Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

‘सरखार, गरिपलाई पनि हेर्नू ’

भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए। आजको अन्नपूर्णपोष्टमा खबर छ–पहिलो दृश्य- चुनावको : १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्। फरकफरक पार्टीका नेता उनको टहरामा आए। घर बनाइदिने बाचा गरे। भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान। केही दिनपछि सडकमा विजय जुलुस निस्कियो। मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो। त्यसपछि शून्य भयो बाटो। देखिएनन् भोट माग्नेहरू। उनले भोटको बदलामा छातीमा झण्डा टाँसिएको एउटा टिसर्ट पाए। उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन्। बिकमानले झेलेको दोस्रो दृश्य हो- प्रभु येसुको लीला : रोग र भोकले डेरा जमाएर बसेको बिकमानको घरमा प्रभु येसुको सन्देश लिएर लोकल पादरीहरू पुगे। बिकमान आशावादी भए। छातीको बीचमा लागेको गरिबीको घाउ प्रभुले निको पार्ने आशामा उनी चर्च पुगे। ध्यान दिएर कुरा सुने। कहिल्यै पुस्तक नछोएका बिकमानले बाइबल छोइ हेरे। रोग र दुःख मोचन हुने आशा गरे। तर, रोग २० को १९ पनि भएन। गरिबीको त झन के कुरा ! त्यसपछि बिकमान फर्किएर फेरि चर्च गएनन्। तेस्रो दृश्य यस्तो छ- बिकमान टहरामा बस्दाबस्दै नगरवासी भए। गाउँवासीबाट नगरवासी भएको उनले पत्तै पाएनन्। ‘तपाईं नगरवासी हुनुभयो नि ? ’, हाम्रो प्रश्नपछि खैनीले खाएको दाँत देखाउँदै उनी फिस्स हाँसे। एकछिनपछि भने, ‘खै नगरपालिका आयो भन्छ। आयो कि आएन केही थाहा भएन।’ नगरपालिकाले बिकमानलाई कुनै उत्साह दिन सकेन। ... खेतको एकलास कुनामा बनेको छ एउटा टहरा। टिनको छाना, टिनकै भित्ता। टहरामा अडेस लागेर टुक्रुक्क बसिरहका छन् एकजना मान्छे, चलमलाउँदैनन्। टाढाबाट हेर्दा मान्छे नै हो भनी ठम्याउन गाह्रो पर्छ। तिनी नजिक पुग्दा देखिन्छ- सेत्तै फुलेको कपाल। मैलो, खैरो रंगको कोट र कट्टु लगाएर टुक्रुक्क बसिरहेका एकजना वृद्ध। खुट्टामा प्लास्टिकको चप्पल, नङ अस्वाभाविक रूपमा बढेर चप्पलबाहिरै निस्किएको छ। खोकिरहेका छन् एकोहोरो। उनी भूकम्पपछि बनेका छिमेकीका अग्ला घरहरू हेरिरहेका थिए। नाम के हो बा ? प्रश्न आएतिर हेर्छन्। तुरुन्तै उत्तर दिन्छन्- ‘बिकमान थामी।’ उमेर ? ‘२०१८ सालको जन्म हो मेरो।’ सिन्धुपाल्चोक बाह्रबिसे बजारको पश्चिमपट्टि, बग्रेफाँटमा छ- उनको टहरा। भूकम्पले आफ्नो थातथलो भत्काएपछि बिकमान यो टहरामा बस्न थालेका हुन्। ठ्याक्कै तीन वर्ष पूरा भयो टहरामा बस्न थालेको। यो तीन वर्षमा कति हुरी, कति घाम, कति वर्षा उनले र टहराले सँगै थामे, बिकमानलाई उति भेउ छैन। भूकम्पपछिका केही समय यहाँ बिकमानका जस्ता कैंयन् टहरा ठडिएका थिए। चार तलाको घरधनीदेखि ठूलाठूला साहुजीसम्मका टहरा सँगै थिए। दोकानदारदेखि ठेकेदारसम्मका टहरा थिए। भूकम्पले तर्साउन छाडेपछि टहरा विस्तारै पातलियो। घर बनाउन सक्नेहरू लाखापाखा लागे। तर, बिकमानको तीन वर्ष हिउँद-वर्षा यही टहरामै बित्यो। ... अतिसीमान्तकृत जातिमा सूचीकृत थामी जातिको बाक्लो बस्ती छ- सिन्धुपाल्चोकको पिस्कर, धुस्कुनमा। त्यतैबाट बिकमानको पुस्ता भारी बोक्दै बाह्रबिसे बजारतिर झरे। भोटेकोसी किनार फापेन बिकमानको पुर्खालाई। बजारभन्दा माथि पहराको टुप्पा र फेदीतिर बसे, उनीहरू। बाल्यकालमै आमा गुमाएका बिकमानले स्कुल टेक्न पाएनन्। बाह्रबिसे बजारमा भारी बोक्नु, ज्यामी काम गर्नु उनको पुख्र्याैली पेसाजस्तै बन्यो। बिकमानले अंशमा पाए- भारी बोक्ने नाम्लोसँगै भीरमाथिको १ रोपनी पाखोबारी। पाखोबारीमै बनाए एकतले ढुंगे घर। उनका ५ छोरा र एक छोरीमध्ये केहीले तीनसम्म पढे, धेरैले स्कुलै देखेनन्। बच्चाबच्ची हुर्काउन बाह्रबिसे बजारमा भारी बोक्दाबोक्दै बित्यो बिकमानको जीवन। बिकमान बाह्रबिसे बजारका पुराना साक्षी हुन्। उनले देखेका छन्- दक्षिण बग्ने भोटेकोसीको छालसँगै बाह्रबिसेले कसरी आफ्नो रंग फेर्दै गयो। बजारको साहुले कसरी तोक्छ पसिनाको भाउ ? हेर्दाहेर्दै भोटेकोशी किनारमा कस्ता घरहरू थपिए ? खासा बजार चम्किन थालेपछि बाह्रबिसे कस्तरी चम्कियो ? उनलाई सबै थाहा छ। उनले देख्दादेख्दै बाह्रबिसेको स्वरूप फेरियो। यहाँको माटो महँगियो। होटल र लजहरू थपिए। सबै सामानको भाउ बेस्सरी बढ्यो। दोकानहरू फस्टाए। सँगै व्यापार पनि फस्टायो। तर, बिकमानको जीवन ? अहँ फस्टाएन। बिकमानको पसिनाको भाउ कहिल्यै बढेन। बाह्रबिसे बजारमा आजसम्म कुनै थामीको एउटा पनि गतिलो दोकान छैन। थामीहरू मात्र भारी बोक्न योग्य ठहरिए। बिकमानले जीवनभर भारी बोके। अन्न बोके, लुगाफाटो बोके। तर न उनले पेटभरि अन्न खान पाए। न एकसरो राम्रो लुगा लाउन पाए। बजारमा बडेमानको भारी बोक्दाबोक्दै एक दिन बिकमानले रगत छादे। फन्फनी टाउको घुम्यो। गर्लम्मै ढले। भारीले उनलाई थिच्यो। थरर्र काम्दै उठे, फेरि भारी बोके। त्यसपछि बिकमान बिस्तारै गल्दै गए। भारी बोक्न सकेनन्। घरछेउको ढुंगामाथि टुक्रुक्क बसेर बजारलाई टुलुटुलु हेर्नु सिवाय बिकमानसँग अरू विकल्प रहेन। तर, बिकमानको नाम्लो ढोकाको कुनामा थन्किएन। अब नाम्लो बोकेर श्रीमती बजार झर्न थालिन्। बिरामी बिकमानको घरमा ढ्याङ्ग्रो बजेको आवाज आधारातसम्म परपर सुनिन थाल्यो। श्रीमतीले पूजाको सर्जाम लिएर उकालो लागेको बजारीयाहरूले निकै पटक देखे। तर, बिकमानलाई सञ्चो भएन। ओछ्यान परिरहे। कसैले विकमानलाई भनिदियो, ‘तिमीलाई पक्कै टीबी लागेको हुनुपर्छ। यस्तो रोग गरिबलाई मात्रै लाग्छ रे।’ महिनौंपछि बिकमान कुप्रो शरीर लिएर ओरालो झरे। उनी अरनिको यातायातको अन्तिम सिटमा कोचिएर काठमाडौं हिँडे। ठिमी गएर क्षयरोग जाँच गराए। डाक्टरले क्षयरोग नलागेको बताए। केही औषधि लेखिदिए। औषधि खाइन्जेल निको हुने, डोज सकिएपछि फेरि गहिरो खोकी र दम बढ्ने रोगले उनलाई कहिल्यै छोडेन। श्रीमती र ठूली छोरी ज्यामी कामसँगै बजारमा लुगा धुन जान थाले। हुर्केका छोराहरू पनि स्कुल जान पाएनन्। बरु बजारीयाहरूले देखे- प्रत्येक दिन जुन बाटो बिहानै नाम्लो बोकेर ओरालो झर्थे बिकमान, भीरको त्यही बाटोमा नाम्लो बोकेका उनका कलिला दुई छोरा थपिए। बिकमानले बाबुको नाम्लो बोके। बिकमानको नाम्लो छोराहरूले बोक्न थाले। २०७२ वैशाख १२ गते। बिकमानको घर ढल्यो। बालबाल बाँचे उनी। सबै थोक पुरियो भूकम्पमा। पराकम्पले डाँडै हल्लाउन थालेपछि बँचेखुचेको सामान कुम्लो बोकेर उनी परिवारसहित ओह्रालो लागे। बजारको पश्चिमपट्टि खेतमा टहरा बनाएर बस्न थाले। विभिन्न संघसंस्थाले राहत वितरण गर्‍यो। बिकमान भन्छन्, ‘भाँडाकुँडा दियो। खानेकुरा दियो। नत्र भोकै मरिन्थ्यो होला।’ पहिलो किस्ताको ५० हजार अनुदान उनले पाए। पैसा लिएको बेला सरकारप्रति बिकमान निकै कृतज्ञ भएका थिए। पहिलोपटक आफू नागरिक भएको मसहुस गरे उनले। विपत्ति, दुःख, गरिबी र रोगले डेरा जमाएर बसिरहेको बिकमानको टहरामा त्यो पैसा मरुभूमिमा शीतको थोपाजस्तो बन्यो। दुरुपयोग गर्ने मन नहुँदा नहुँदै पैसा सकियो। पछिपछि सबैको टहरा हटे। तर, बिकमानको टहरा अझै छ। फाँटमा उनी मात्रै बाँकी छन्। अँध्यारो टहरामा उस्तै छ- अभाव, गरिबी, अशिक्षा र दुःख। टहराको डिलबाट उनले हेर्दाहेर्दै ठूला मान्छेका घरको पिल्लर ठडिए। तला थपियो। जसको घर भत्किएकै थिएन, उसले पनि लाभग्राहीमा नाम निकालेर नयाँ घर थपे। जसको घर सामान्य चर्किएको थियो, उसले पनि भूकम्पपीडित बन्दै तला थपे। बिकमानका श्रीमती र छोराहरू भने अर्काको घर ठड्याउन धाइरहे। तीन वर्ष बितिसक्दा उनले न घर बनाउन सके, न टहरा छोड्नै सके। न सरकारले अनुदान थपिदियो। पहिलो किस्तामै अड्कियो अनुदान। दोस्रो किस्ता पाउन उनले घरको जग बनाउनुपर्छ। अब घरको जग हाल्न नसके पहिलो किस्तास्वरूप पाएको ५० हजार उनले फिर्ता गर्नुपर्छ। त्यसैले अब ऋण गरेरै जग हाल्ने योजनामा छन् उनी। तर, ऋण ल्याउने कहाँबाट ? उनीमा चिन्ता थपिएको छ। उनको साझो निष्कर्ष छ, ‘भूकम्पले गरिबलाई हेप्यो। सरकारले पनि गरिबलाई नै हेप्दो रहेछ।’ बिकमानलाई आजभोलि दमले झनै च्याप्न थालेको छ। रातभरि सुत्दैनन्, खोकिरहन्छन्। मनमा कुरा खेलिरहन्छ। गालाको खोपिल्टो झन्झन् बढ्न थालेको छ। भन्छन्, ‘रातभरि निद्रै लाग्दैन। कतिबेला उज्यालो हुन्छ भन्ने मात्र मनमा खेल्छ।’ घाम उदाएपछि बिकमानको प्राण भरिएझैं हुन्छ। त्यसपछि टहराबाहिर निस्किएर सडकतिर एकतमासले हेरिरहनु, अगाडि बनेका घरको तला गनिरहनु उनको वर्षौंदेखिको दैनिकी बनेको छ। अर्काको खेतमा कति समय बस्न दिने हो कुनै ठेगान छैन। कतिबेला लालाबाला लिएर कहाँ जानुपर्ने हो कुनै टुंगो छैन। लखेटिएका शरणार्थीझैं अस्थायी बनेको छ जिन्दगी। सुस्तरी भन्छन्, ‘कहिलेकाहीँ दिक्क लाग्छ। दिक्क लागेर पनि के गर्नु खै ! मर्न सकिएन।’ अब वर्षा लाग्यो। बिकमानलाई चिन्ता थपिएको छ। भेल पस्छ टहरामा। आहाल सोहर्नुपर्छ रातभरि। चिसो लाग्छ। न्यानो लुगा छैन। बेस्सरी खोक्दै बिकमान भन्छन्, ‘भूकम्पले हामीलाई झनै गरिब बनायो। सरखार भनेको हुनेखानेको त रै’छ नि। अब आशा छैन।’ सरकारमाथि बिकमानको आग्रह छ, ‘सरखार, हामी त सोझा जाति। छक्कापञ्जा जान्दैनौं। टाठाबाठालाई मात्रै होइन, गरिबलाई पनि हेर्नू।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending