Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

दृष्टिविहीन ज्ञवालीको पिएचडी यात्रा

[caption id=\"attachment_171008\" align=\"alignleft\" width=\"768\"]\"\" डा. लक्ष्मण ज्ञवाली, अधिवक्ता/शिक्षक[/caption] ललितपुरको पुल्चोक क्याम्पसको खेल मैदान । हजारौँ विद्यार्थी दीक्षित हुन लामबद्ध थिए । दीक्षान्त समारोहमा उपस्थित आठ हजारभन्दा बढी विद्यार्थीको भिडमा एक पात्र मेरो आँखामा ठोक्किए । केहीबेर कालो चस्मामा अल्झिएका मेरा आँखा, सेतो छडीसम्म ओर्लिए । हात समाएर सहारा बन्दै थिइन्, एउटी युवती । अाजको नयाँ पत्रिकामा खबर छ-लक्ष्मण ज्ञवालीसँग परिचय भयो, मेरै रहरमा । नाम, वतनसँगै थोरै संघर्षका कथा खोलिहाले । हात समाउने छोरीले बाबाको बोली काटेर एक वाक्य थपिन्, ‘पिएचडी (विद्यावारिधि) सक्नुभो, दीक्षित हुन आउनुभएको ।’ अब डा. लक्ष्मण ज्ञवालीको सामान्य नाम, वतनमै चित्त बुझाएर पन्छिन मेरो मन मानेन । केही दिनअघि त्रिविकै शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले भनेकी थिइन्, ‘वर्षौंदेखि त्रिविमा पढाएकाहरू नै पिएचडीको भाइभामा रुन्छन् ।’ त्रिपाठीको यो अभिव्यक्तिलाई डा. ज्ञवालीको पिएचडी उपाधिले मेरो मथिंगलमा फेरि दौडाइदियो । ००० गुल्मीको बम्घामा बितेको बाल्यकाल स्मरण हुन्छ ? चउरमै पलेँटी कसेर संघर्ष सुनाउन कस्सिएका डा. ज्ञवालीलाई मैले सुरुमै ‘नोस्टल्जिक’ बनाएँ । संघर्षका पत्र–पत्र मिहीनसँग पल्टियून् भनेरै मैले सुरुवाती बिन्दुबाटै कहानी बुन्न लगाएँ । ‘०२८ असार १८ गते धर्तीमा आएँ । बुबा पनि दृष्टिविहीन हुनुहुन्थ्यो । हामीले जान्ने वेलासम्म आँखाका नानीसमेत थिएनन् । यो हाम्रो जेनेटिक समस्या हो । हामी चार दाजुभाइमध्ये दुईजना दृष्टिविहीन छौँ,’ फरर सुनाउँदै गर्दा मैले उनीसँग आँखा जुधाउन सकिनँ, जबकि उनी देख्दैनथे । जन्मजात आँखाको ज्योति नभएको मान्छे, पिएचडी उपाधिसम्म कसरी हिँड्यो ? मनमा उब्जिएको यो प्रश्नले मलाई उनको जिन्दगीको ‘हाइवे’मा धकेलिदियो । जिज्ञासा राखिहालेँ– पढाइको सुरुवात गाउँतिरैबाट त भयो होला ? सेतो छडी फोल्डिङ गरेर भुइँमा बिसाउँदै डा. ज्ञवाली विगतमा फर्किए, ‘गाउँको सामान्य स्कुलमै भर्ना भएँ । दृष्टिविहीनले ब्रेल लिपीबाट शिक्षा लिन्छन् भन्ने पनि थाहा थिएन । परिवारमा आर्थिक समस्या थियो । बुबा आँखा नदेख्ने भए पनि भागवत्, गीता, रुद्रीजस्ता कर्मकाण्डका धेरै पाठ कण्ठस्थ पार्नुभएको थियो । उहाँको पढाइले हामीलाई पनि पढ्ने प्रेरणा मिल्यो । विद्यालयमा हेडसर पनि आफ्नै दाइ हुनुहुन्थ्यो । सरको भाइको नाताले सबैबाट प्रेम पाएको थिएँ । कक्षा ३ सम्म बम्घा प्रावि, चौतारामा पढेँ । निमावि तह जनवत निमाविमा पढेँ । माविचाहिँ घरबाट केही टाढा साथीहरूकै सहारामा जाने–आउने गर्दै पढेँ । साथीहरू नजाँदा म पनि जान सक्दिनथेँ ।’ स्कुल जान–आउन त साथीहरूको हात सहारा थिए, तर लेख्न, पढ्न ? आँखा नदेख्नेको जीवनमा पक्कै यो पाटो अत्यासलाग्दो थियो होला, त्यो वेला । मेरो अनुमान सही रहेछ, डा. ज्ञवालीको जीवनमा । ‘होमवर्क गर्न सक्दिनथेँ । तर, पनि सरहरूले केही भन्नुहुन्थेन । परीक्षामा जेनतेन लेख्थेँ । तर, अक्षरहरू ओभरल्याप हुन्थे ।’ ब्ल्याकबोर्ड कस्तो हुन्छ, बोर्डमा चकले कसरी लेख्छ ? अनुभवविनै एसएलसीसम्मको अध्ययन सकियो । अन्धकारमा लड्दै–पड्दै, सिक्दै र हौसिँदै उनले यो सफलता चुमेका थिए । एसएलसीपछि उच्चशिक्षाका लागि बुटवल झरे । ‘त्यसपछि कोही सहयोगी राखेर परीक्षा दिन पाउनेबारे जानकार भएँ । ब्रेल लिपी लेख्न कहिल्यै सिकिनँ । त्यो संघर्षको फल, आज कापीमै मज्जासँग लेख्न सक्छु । तर, मेरा अक्षर कस्ता हुन्छन्, मलाई थाहा छैन,’ सुनाए । ००० मलाई एउटा पीडा पोख्न मन छ । डा. ज्ञवालीले एक्कासि प्रस्ताव गरे । संघर्षको कथा सुन्न नै समय मागेको थिएँ त मलाई किन आपत्ति ? मेरो स्वीकारमा पीडाको पोको फुकाए, ‘गाउँको विद्यालयमा ३ कक्षासम्मको पढाइ सकेपछि निमावि विद्यालयमा भर्ना भएँ । त्यहाँ पढ्दा निकै दुव्र्यवहार भोगेँ । सहपाठीले अपशब्द प्रयोग गर्थे, डेरो भन्दै जिस्क्याउँथे । आँखा नदेख्ने र समयमै विद्यालय शुल्क तिर्न नसक्नु हेपिनुपर्नाका कारण थिए । त्यतिवेला एक महिनाको ५ रुपैयाँ शुल्क लाग्थ्यो । तिर्न एक महिना ढिला भए, अर्को महिनामा नाम काटिन्थ्यो । अति नै अपमान भएपछि मैले दुई वर्ष विद्यालय नै छाडिदिएँ । ती साथीहरू ६ कक्षामा पुगेपछि पुनः चार कक्षामा भर्ना भएर पढाइलाई निरन्तरता दिएँ ।’ अनि केही सहज भयो त, परिस्थिति ? प्रश्न थपिहालेँ । उनको पीडा सकिएको रहेनछ, ‘स्कुलमा केही कम भयो, तर हेप्नेहरू गाउँ–छिमेकका मात्रै होइन, आफन्तहरू नै थिए । अन्धाले भोलि मागेरै खाने हो, किन पढ्नुपर्‍यो भन्थे । मन्दिरमा बसेर मजुरा बजाउँदै बोरा थाप्ने, दाल चामल दिन्छन्, खाएर गुजारा चलाउने भन्थे । ती वचन मेरो मस्तिष्कमा अहिले पनि पेचकसले कसेका किलाझैँ गडिएका छन् ।’ तर, कसैका कटु वचन जीवनका सुमेरु पर्वत छिचोल्न ऊर्जा पनि बन्छ भन्छन् नि कोही–कोही ? यो कुरा ज्ञवालीको जीवनसँग मेल खाएछ । भनिहाले, ‘त्यही ऊर्जाले त पिएचडीसम्मको यात्रा पार गरेँ ।’ ००० एसएलसीपछि पिएचडीसम्मको यात्रा तुलनात्मक रूपमा सहज भयो होला । ज्ञवालीले सुनाउनुभन्दा एक पाइलाअघि नै मेरो मनले कल्पियो । तर, उनले सुनाए, झन् पेचिलो कहानी । ‘०४६ मा एसएलसी पास गरेपछि हजुरआमाले रहर बिसाउनुभयो, नातिको बिहे गर्दिएर मर्न पाए स्वर्ग गइन्थ्यो कि ! म जम्मा १८-१९ वर्षको थिएँ । उहाँको रहर पूरा भयो, म अर्को जिम्मेवारीमा फसेँ,’ आडैकी छोरीलाई धाप मार्दै सुनाए, ‘बिहे गर्दा यिनकी आमा ८ कक्षा पढ्दै थिइन् । घरव्यवहार चलाउन जागिर खाने सोच बनाएँ । गाउँकै स्कुलमा शिक्षक खाली भएकाले सट्टामा काम गर्न प्रस्ताव गरेँ । तर, हेडसर गणेश ज्ञवालीले तितो वचन लगाउनुभयो । यस्ता अन्धाले पढाएर हुन्न भन्नुभयो । नौ सय ४० रुपैयाँ तलब थियो, तर मैले पाँच सयमा गर्छु भन्दा पनि पाइनँ ।’ यही मोडले उनलाई पिएचडी डाक्टरको उपाधिसम्म पुर्‍याउन भूमिका खेलेको रहेछ । आफ्नै गाउँमा अपमान भएपछि उनी त्यो ठाउँ त्याग्न तयार भए । गुल्मी छाडेर बुटवल झर्ने निर्णय र बुटवल झरेपछिको संघर्ष निरन्तर बोलिरहे, म सुनिरहेँ, ‘बरु खान नपाए भोकै मर्छु, यहाँ मर्दिनँ भनेर घर छाडेर हिँडेँ । त्यसपछि बुटवलमा एकजना साथीसँग केही समय बसेँ । दिउँसोमा केही काम पाइन्छ कि भनेर आइएलमा भर्ना भएँ । नियमित कक्षा लिन पाइनँ । अहिले प्रदेश सभामा निर्वाचित हुनुभएका लीला गिरीले धेरै सहयोग गर्नुभयो । उहाँकोमा पनि केही समय बसेँ । जागिर पाइनँ, निर्वाह चल्यो । आइएल सकेपछि बिएल पनि बुटवलमै भर्ना भएँ । बिएलको तेस्रो वर्षमा पढ्दै गर्दा रवीन्द्र ज्ञवाली दाइ तत्कालीन शाही औषधि लिमिटेडमा केमिकल इन्जिनियर हुनुहुन्थ्यो । उहाँले एक दिन एक हजार रुपैयाँ तलबको जागिरका लागि प्रस्ताव गर्नुभयो । काठमाडौंमा साथीभाइसँग सामूहिक बसेर खानका लागि बाँचिने बताउनुभयो ।’ गुल्मीबाट बुटवल झरेका ज्ञवालीको यात्रा अब काठमाडौंतिर लम्कियो । एक हजार रुपैयाँ जागिरमा बाँच्ने आशा बोकेर विशाल भिडमा हामफालेका उनको सपना भने ठूलै थियो । आँखा नदेख्नेको सुखी संसार नै हुँदैन भन्ने ती केही गुल्मेलीका सोच उल्ट्याउन उनी अर्को संघर्षमा होमिएका थिए । ‘हो म अर्को संघर्षमा होमिएँ, एउटा जित भेट्टाउनका लागि,’ डा. ज्ञवाली जोसिँदै बोले, ‘काठमाडौंमा नेपाल नेत्रहीन संस्थामा सम्पर्क भयो । म जस्तो अवस्थामा भए पनि सक्रिय रूपमा लिडर हुन चाहन्थेँ । विद्यालयदेखि नै विद्यार्थी राजनीतिमा पनि सक्रियता देखाउँथे । नेत्रहीन संस्थाको अधिवेशनमा भाग लिएँ, ०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएँ । त्यसपछि त मलाई ठूलै मानिस भएजस्तो लाग्यो । दोस्रोपटक पनि केन्द्रीय सदस्यमा निर्वाचित भएँ । ०६० सालमा महासचिव भएँ । त्यसवेला अपांगता के हो, यिनीहरूका अधिकार के हुन्छन् भन्ने थाहा पाएँ । यसले जिन्दगीको अर्को पाटो मोडियो । साधारण जीवन बिताउन सकिएन, तर त्यसलाई वातावरणअनुकूल बनाएर बाँच्न सिक्नुपर्दोरहेछ भन्ने सिकेँ । मभन्दा धेरै दुःख पाउने व्यक्ति पनि देखेँ, भेटेँ । अध्ययन निरन्तर जारी नै थियो । ०५५ मा बिएल पास गरेपछि ०५७ मा अधिवक्ताको जाँच दिएर लिखित र अन्तर्वार्ता दुवैमा पास भएँ ।’ ओहो ! अपांगता भएकाहरूको नेता हुनुभयो, अधिवक्ता पनि बन्नुभयो, निकै छिटो दौडिनुभएछ नि ? मेरो जिज्ञासामा फेरि दुःख नै बिसाए, ‘अधिवक्तामा पास त भएँ, तर लाइसेन्स लिन समस्या नै भयो । लाइसेन्स लिन आउनू भनेर दरबार हत्याकाण्ड भएको दिन बार काउन्सिलबाट फोन आयो । सबै प्रक्रिया पुर्‍याएर साउन १ गते लाइसेन्स लिन गएँ । तर, अन्धालाई लाइसेन्स दिन नमिल्ने नीतिगत निर्णय गरेछन् । मेरो जिन्दगीमा अर्को धक्का लाग्यो । ६ महिनासम्म संघर्ष गरेर लाइसेन्स लिएँ । ०५८ पुसमा लाइसेन्स हात पर्‍यो । म नै भएँ, नेपालको पहिलो दृष्टिविहीन अधिवक्ता ।’ पहिलो बहस स्मरण गर्न सक्नुहुन्छ ? मैले डा. ज्ञवालीको अनुहार उजिल्याउने कोसिस गरेँ । रमाइलोतिर मोडिँदै सुनाए, ‘०५८ माघ १५ मा ललितपुर जिल्ला अदालतमा गोल्छे मिजारको जग्गासम्बधी बहस नै मेरो पहिलो बहस हो । चन्द्रकान्त ज्ञवाली बहसमा साथमा हुनुहुन्थ्यो ।’ ००० संघर्ष छिचोल्दै अधिवक्तासम्म भएका ज्ञवालीलाई पिएचडी गर्न कम मुस्किल भएन । आँखाको ज्योति नभएको बहानामा मान्छेहरूले उनको सक्षमतामाथि नै प्रश्न उठाए । संघर्षको यो अध्यायमा प्रवेश गर्दै ज्ञवालीले भने, ‘०५६ तिर एलएलएम पढ्न भनेर नेपाल ल क्याम्पस पुगेँ । यस्ता अन्धाले किन पढ्नुपर्‍यो भनेर भर्ना हुन दिएनन् । एउटा छात्रवृत्ति प्राप्त थियो, तर एलएलएममा भर्ना दिएनन् । त्यसपछि कीर्तिपुरमा राजनीतिशास्त्रमा भर्ना भएँ । ०५८ मा पास भएँ । ०६२ माघमा यही विषयमा पिएचडीका लागि भर्ना भएँ । ०७३ मा सकाएँ । आर्थिक र प्राविधिक कारणले ढिलाइ भयो । कम्प्युटरमा आफैँ लेख्न सक्ने तर लाइब्रेरीमा भएका पुस्तक पढेर फुटनोट राख्न अरूको सहयोग चाहिने भयो । परिवार र साथीहरूको सहयोगबाटै पिएचडी सम्भव भयो ।’ पिएचडी गरेका डा. ज्ञवाली पेसाले शिक्षक छन् । शिक्षक सेवा आयोगबाट ०५२ सालमा परीक्षा दिएका उनी ०६१ सालमा पास भए । तर, रोचक विषय उनी अहिले विद्यालयका सामान्य विद्यार्थीलाई कम्प्युटर पढाउँछन्, त्यो पनि पहिले हेपाइ खप्न नसकेर छाडेको गुल्मीकै बम्घामा । ‘बम्घा ताहातिम निमाविमा पढाउँदै छु । मेरो विद्यालय निमावि हो, तर प्रावि द्वितीय शिक्षकको जागिर हो । कक्षा २ देखि ८ सम्मका विद्यार्थीलाई मैले प्रत्येक दिन ७ वटा कक्षा पढाउँछु । हामी १३ जना शिक्षक छौँ, मबाहेक अरूले कम्प्युटर पढाउन सक्नुहुन्न ।’ ००० जिन्दगीका हरेक मोडमा ठेस लागेका डा. ज्ञवाली सफल भएरै छाडे । त्यही बम्घाको कालोपाटीमा कोरिएको चक नदेख्ने ज्ञवाली अहिले त्यहीँका विद्यार्थीलाई कम्प्युटर विषय पढाउँछन् । हिजो उनलाई मन्दिरमा बसेर माग्न थाले हुन्छ भन्दै अपमान गर्नेका नाति-नातिनालाई ज्ञवालीले कम्प्युटरको दुनियाँ अथ्र्याइरहेका छन् । हिजो दुर्वचन बोल्नेहरू जहाँको त्यहीँ छन्, कोहीले एसएलसी पास गर्न पनि सकेनन्, कोही प्रमाणपत्रमै अल्झिए, कोही विदेश गए । तर, ज्ञवाली संघर्षको संसार घुमेर बम्घाबाट नयाँ कर्णाधार जन्माउँदै छन्, सफल र सुखी जीवन जिएका छन् । तै पनि डाक्टर ज्ञवालीकै शब्दमा ‘छुद्रहरू’ भन्छन् रे, ‘पिएचडी गरेर के भो र, पढाउने प्रावि स्कुलमै हो क्यारे !’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies