Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

चीनको चिन्तामिश्रित प्रश्न : ‘नेकपा मिल्ने बिन्दु छैन ?’

काठमाडौं । नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो ? यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ?’ टोलीले आइतबार र सोमबारसम्म विभाजित दलका प्रमुख नेतागणसँग भेटघाट भ्याइसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले आइतबार पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको थियो । राष्ट्रपति भण्डारीसामु येचौले माथिका ३ जिज्ञासा राखेका थिए ।

राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र त्यही बाटोबाटै सबै समस्याको समाधान गर्ने जवाफ चिनियाँ टोलीलाई दिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । ‘नेपाल लोकतान्त्रिक विधिबाटै अगाडि बढ्छ । हाम्रा आफ्नै नियम–कानुन छन् । प्रतिनिधिसभा विघटनको यो विषय अदालतमा छ । यसको निरुपण अदालतले लोकतान्त्रिक बाटोबाटै गर्छ,’ राष्ट्रपति भण्डारीले छलफलमा भनेकी थिइन् ।

नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै चिसोपना नआउने राष्ट्रपतिको भनाइ थियो । केपी शर्मा ओली ०७४ फागुन ३ मा प्रधानमन्त्री भएका बखत चीनका तर्फबाट कुओ नै बधाई दिन नेपाल आएका थिए । त्यसवेला पनि उनको राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका लागि पनि कुओले केही सुझाव व्यक्त गरेका थिए । त्यस आधारमा अहिले पार्टी अगाडि बढ्न नसकेको विषयमा राष्ट्रपति भण्डारीसँग उनले परिचर्चा गरेका थिए । टोलीको अन्य नेतासँगको छलफलमा भन्दा राष्ट्रपति भण्डारीसँग बढी संवाद भएको स्रोतले जनायो ।

राष्ट्रपति सीको विशेष दूतका रूपमा कुओ नेतृत्वको टोली आएको हो । टोलीले आइतबार अपराह्नै बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटेको थियो । नेकपाकै अर्काे पक्षका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग टोलीले सोमबार भेटवार्ता गरिसकेको छ ।

कुओ नेतृत्वको टोलीले कम बोल्ने, बढी सुन्ने गरिरहेको स्रोतको भनाइ छ । नेकपा विवाद मिलाउन भूमिका खेल्ने गरी यो टोली काठमाडौं उत्रेको आरोप लागिरहेका बेला टोलीले भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नभई आपसी राजनीतिक विश्वास बढाउन र आपसी मित्रतालाई मजबुत बनाउने उद्देश्यसाथ भ्रमण भएको प्रस्टीकरण दिएको छ । टोलीले नेपालको राजनीतिक स्थिरता, सुशासन र विकासका लागि पनि दलहरूको बलियो आन्तरिक एकता कायम हुनुपर्ने सन्देश भेटका क्रममा राखेको छ ।

टोलीले नेता दाहालसँग सोमबार बिहान उनकै निवास खुमलटारमा भेटवार्ता ग¥यो । दाहालसँग नेकपा कुन विन्दुमा मिल्न सक्छ ? के कारणले यो अवस्था आयो ? भन्नेमा विज्ञासा राखेको दाहाल निकट एक स्थायी समिति सदस्यले बताए ।

दाहालले भने जुन विन्दुमा प्रधानमन्त्री ओलीले बिगार्ने काम गरे, त्यही विन्दुलाई सपार्ने काम गरे फेरि एकताको सम्भावना नटुटेको जवाफ दिएका थिए । ‘पार्टीमा अन्तरविरोध थिए । समस्या समाधान छलफलकै माध्यमबाट हुन्थे । तर, प्रधानमन्त्रीले जुन विन्दुबाट छलफल नै हुन नसक्ने वातावरण बनाउनु भयो, त्यही विन्दुमा उहाँ सच्चिन र त्यसलाई सच्याउन तयार हुनुपर्छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको अवस्था आए फेरि मिलेर जान सम्भव छ । त्यसका लागि प्रधानमन्त्री तयार हुनुपर्छ,’ चिनियाँ टोलीसँगको छलफलका क्रममा दाहालले व्यक्त गरेको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

‘नेकपा फुट्न हुँदैन । मिलेरै अगाडि बढ्नुपर्छ’, राष्ट्रपति सीको सन्देश सुनाउँदै कुओ नेतृत्वको टोलीले दाहालसँग जिज्ञासा राख्दा दाहालले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर कलंक बोक्ने काम गरेकाले त्यसलाई सच्याउनुपर्ने बताएका थिए । दाहालपछि उक्त खेमाका अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ टोलीले सोही जिज्ञासा राखेको थियो ।

नेपालले भने नेकपाभित्रको विवाद, ओलीको व्यवहार र पार्टी किन यो अवस्थामा आइपुग्यो भन्ने विषयमा श्रृंखलामा टिपोट प्रस्तुत गरेको स्रोतले बतायाे । सबैजसो नेतासँगको भेटमा चिनियाँ विशेष टोलीले नेपालको आन्तरिक मामिलामा आफूहरूको कुनै हस्तक्षेप नरहेको, मैत्रीपूर्ण सम्बन्ध नै चाहेको तर, नेकपाको विभाजनले आफूहरूलाई चिन्तित तुल्याएको बताएका थिए ।

‘नेकपाको विभाजनले हामी र राष्ट्रपति सीलाई समेत चिन्तित तुल्याएको छ । यो विभाजनले फेरि कतै अस्थिरतामा नेपाल जाने हो कि भन्ने विशेष चासो र चिन्ता हामीमा छ । तपाईंहरू नफुट्नोस्, मिलेरै जानुस् भन्ने हाम्रो सुझाव हो,’ विशेष टोलीले नेकपाका दुवै पक्षसँगको भेटमा व्यक्त गरेका थिए ।

पहिलो पटक नेपालका जनप्रतिनिधिमूलक सवै संस्थाका प्रतिनिधिसँग भेट गर्ने गरी आएको यो टोलीले जसपा नेता भट्टराईसँग भने सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुग्ने सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीवीच आपसी सम्बन्ध र नेपाल चीन सम्बन्ध अझै राम्रो र समधुर बनाउन आफूहरू नेपाल आएको बताएका थिए ।

भेटपछि जारी विज्ञप्तिअनुसार भेटका क्रममा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङदुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी भएको धारणा व्यक्त गरेका थिए । टोली सोमबार लैनचौरस्थित सभामुख अग्नि सापकोटाको निवासमा पुगेर भेट गरेपछि दूतावास फर्केको थियो । टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार पनि टोलीको राजनीतिक भेटघाट जारी रहनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies