Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निजि सचिवसँग बाबुरामको सम्बन्ध बाउछोराको जस्तो

छाँया पात्र’  यो हाम्रो नयाँ स्तम्भ हो । खबरडबलीले प्रत्येक महिनाको दोस्रो हप्ताको मंगलबार  यो स्तम्भलाई नियमित गर्नेछ । एउटा मानिस आफ्नो क्षेत्रमा सफल हुन उसका नजिकका र उसले आफुलाई कसरी व्यवस्थापन गर्छ भन्ने हो । नेताका सचिवालय, कर्पोरेट हाउसका सचिवालय तथा नीजि सचिव र सामाजिक व्याक्तित्वको पारिवारिक तथा नजिकका सम्बन्धहरुको मुख्य र महत्वपूर्ण हात हुन्छ । सफल मानिसको जति चर्चा हुन्छ उसलाई सफल बनाउन भूमिका खेल्ने छाँया पात्रका बारेमा चर्चा कम हुने गरेको छ । हामी यो स्तम्भमा विभिन्न राजनीतिक व्यक्ति, व्यापारिक रुपमा सफल व्याक्ति तथा समाजिक अगुवालाई सफल बनाउन भूमिका खेल्ने सहयोगी वा छाँया पात्रका बारेमा चर्चा गर्ने छौं । यो स्तम्भको पहिलो अंकमा राजनीतिमा सफल तथा चर्चित व्याक्तित्व एमाओवादीका नेता बाबुराम भट्टराईको निजि सचिवालय तथा निजि सचिव विश्वदिप पाण्डेका बारेमा खबरडबली सहकर्मी नरेश ज्ञावलीले तयार गरेको पहिलो स्तम्भ ‘छाँया पात्र’–सम्पादक । \"baburam_biswadip\"काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन् विश्वदीप पाण्डे । राजनीतिक वृत्तदेखि सार्वजनिक रुपमा निकै चर्चित छन् । युद्धकालदेखि अहिलेसम्म न उनले बाबुरामलाई छोडेका छन्, न बाबुरामले उनलाई । बाबुरामले विश्वदीपलाई किशोर अवस्थादेखि नै सहयोगीका रुपमा स्वकीय सचिवालयमा राखेका हुन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा चर्चित नेपाली राजनीतिका केन्द्रीय पात्र र देशको कार्यकारी प्रमुख समेत भइसकेका शीर्ष नेतासँग यति लामो समय स्वकीय सचिवका रुपमा सँगै रहेका विश्वदीपसँग उनका विविध अनुभवका बारेमा कुरा गर्दा बजारमा बिक्ला भन्ने नै लाग्यो । नम्बर डायल भयो, रिङ बज्यो, केहीबेरमा फोन उठ्यो.. हेल्लो... हेल्लो, विश्वदीप जी, सचिवालयबाट दिनुपर्ने कुनै सूचना छ होला ? अहिले त्यस्तो केही छैन । केही भयो भने हामी आफैं सूचना दिन्छौं । बजार त पूरै तातिएको छ त बाबुराम सरको कुराले । अहिले यसबारेमा केही कुरा छैन । ००० खासमा उनीसँग बाबुराम र अहिलेको राजनीतिसँग सम्बन्धित विषयमा कुरा गर्नका लागि फोन गरिएको थिएन । खालि राजनीतिसँग जोडिएका व्यक्तिसँग कुराको थालनी मात्रै यसरी गर्न खोजिएको थियो । यतिखेर पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई चौतर्फी बहसको केन्द्रमा छन् । मुख्यतः कैलालीको टिकापुर घटनालाई उनको ट्वीट र फेसबुक स्टाटससँग जोडेर सामाजिक सञ्जालमा चर्को आलोचना भइराखेको थियो । सँगसँगै एक टेलिभिजन कार्यक्रमपछि आलोचनाको मात्रा झन् चुलिन थाल्यो । सामाजिक सञ्जाल मात्रै होइन धेरै समाचार शीर्षक पनि बन्न थाले । चुरो कुरो के रहेछ त भनेर युट्युबमा उक्त टेलिभिजन कार्यक्रममा बाबुरामले बोलेका कुरालाई दोहोर्याएर सुन्दा त्यहाँ त्यस्तो नयाँ कुरा खासै केही रहेनछ । उत्पीडित वर्ग, जाति, जनजाति, दलित, महिला, मधेशीको पक्षमा हुन्छु भन्ने कुरा कुनै नौलो कुरै थिएन । त्यो त माओवादीले जनयुद्धकालदेखि नै उठाएको कुरा हो र ती उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले माओवादीकै आडभरोसामा अहिलेका उपलब्धी सम्भव भएको हो, यो लुकेको कुरा होइन । तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भने बाबुरामले नै भड्काएर टिकापुर घटना घटेको हो भन्ने कोणबाट समाचार र टिकाटिप्पणी भएको देखिन्छ । प्रायः समाचारमा थारु र मधेशको आन्दोलन बाबुरामले उचालेको कुरा उनैले स्वीकार गरेको भनिएको छ, जुन कुरा उनले बोलेको भिडियोमा छैन । आन्दोलन उचालेको कुरा नभइ उनले ती उत्पीडितहरुका मुद्दामा आफ्नो पूर्ण समर्थन रहेको कुरा गरेका छन् । खैर, प्रसंगवश मात्रै यो सन्दर्भ उल्लेख गरिएको हो । यहाँ यस विषयमा भन्दा पनि बाबुरामका स्वकीय सचिवका बारेमा चर्चा गर्न खोजिएको हो । ००० विश्वदीपसँग धेरै पहिलेदेखि नै चिनजान र बाबुरामको सूचना लिनको लागि कुराकानी, भेटघाट भइरहन्छ । उनी मिडियालाई सन्तुलनमा राख्न माहिर छन् । कहिलेकाहिँ अलिक टाढिए कि जस्तो भान पनि पर्न थाल्छ तर आवश्यकताका बेलामा बाबुरामसँग मिडियाको साक्षात्कार गराउनेदेखि समयलाई बुझेर सबै खाले सञ्चारकर्मीसँग सन्तुलनको सम्बन्ध बनाइराख्छन् । बजारमा सबैखाले विचारधाराका पत्रकारहरु छन्, ती सबैखाले विचारधाराका पत्रकारसँग उनले समदूरीकै सम्बन्ध कायम गर्न हरसम्भव कोशिश गर्छन् र अहिलेसम्म त्यो सन्तुलन कायम गरेकै छन् । मिडियाकर्मीसँग सम्बन्ध बनाउने कुराको साथै बाबुरामको सचिवालयले मिडियालाई कतिपय सन्दर्भमा सूचनाहरु इमेल गर्ने, सचिवालयको सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने काम पनि गर्छ । यो सबै कामको व्यवस्थापन विश्वदीप आफैंले गर्ने गरेका छन् । अँ, सन्दर्भ थियो उनीसँगको संवादको । खासमा तपाईंसँग भेटेर एउटा स्टोरी बनाउन खोजेको थिए“ । के विषयमा होला ? बाबुराम सरको स्वकीय सचिवका रुपमा तपाईंको अनुभवका बारेमा कुराकानी गर्न खोजेको । अहिले त्यस्तो के सन्दर्भ छ र ? अहिले नगरौं होला । होइन, त्यस्तो सन्दर्भ भन्दा पनि राम्रै स्टोरी होला भनेर हो । भेटेर नै कुरा गरौं न । ठीकै छ भेट्न त के भयो र तर मसँग कुरा गरेर स्टोरी नै लेख्ने हिसाबले चाहिँ नआउनु होला । हुन्छ । ००० उनीसँग कुरा गर्न जाँदै गर्दा एउटा पुरानो प्रसंग दिमागमा आयो । विश्वदीप एमाओवादीका केन्द्रीय नेता भक्ति पाण्डेका छोरा हुन् । भक्ति पाण्डेको पार्टीभित्र सिधा र इमान्दार मान्छेको रुपमा उनको परिचय स्थापित छ । सबैले उनलाई माया र सम्मान गर्दै ‘चाचा’ भनेर बोलाउन्छन् । पाण्डे एरिया कमिटि सदस्य देखि प्रचण्ड–बाबुराम सबैका ‘चाचा’ हुन् । माओवादी युद्धकालमा नै किशोर विश्वदीपलाई एमाओवादी नेता भक्ति पाण्डेले बाबुरामको सहयोगीका रुपमा बाबुरामकहाँ पुर्याएका थिए । त्यतिबेला विश्वदीपमा किशोर चञ्चलता थियो । भूमिगत बाबुरामलाई ‘फोटो खिचौं न’ भनेर हैरान पारेपछि बाबुरामले भक्ति पाण्डेलाई नै भन्नु परेको थियो । यो प्रसंग एक अन्तरवार्तामा विश्वदीपले नै भनेका हुन् । पछि बुबाले सम्झाएपछि भने उनले फोटो खिच्ने विषयलाई फेरि दोहो¥याएनन् । उनी फोटो खिचाउने मामलामा भने असाध्यै रुची राख्ने व्यक्ति हुन् । आजकल चाहिँ त्यति साह्रो उनको फोटो सामाजिक सञ्जालका भित्ताहरुमा देखिँदैन । सायद खिचेर राख्दा हुन्, पोष्ट गर्न त्यति मन नलाग्दो हो । ००० उनलाई भेट्न सानेपा पुग्दा उनी सचिवालयकै काममा व्यस्त थिए । केही बेर पर्खनु पर्ने भयो । राजनीतिक व्यक्ति त्यसमाथि संविधान निर्माणको काम अन्तिम र जटील अवस्थामा रहेको बेला बाबुराम व्यस्त त हुने नै भए, भेटघाटको समयदेखि सबै व्यवस्थापन सम्हालेका विश्वदीप पनि व्यस्त हुने नै भए । बाबुरामको सचिवालय विश्वदीप नै हुन् भन्दा हुन्छ । बाबुरामले सचिवालयको सबै जिम्मेवारी विश्वदीपलाई नै दिएका छन् । भेटघाटको समय मिलाउने, राजनीतिज्ञदेखि आवश्यकताअनुसार विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बोलाउने लगायतका बाबुरामको सबै कार्यक्रम र समयको व्यवस्थापन उनैले गर्ने गरेका छन् । मान्छेको स्वाभावअनुसारको व्यवहारले टाढिन नदिन पनि उनी माहिर नै देखिन्छन् । प्रायः नेताका स्वकीय सचिवहरु आर्थिक मामलामा विवादमा तानिने गरेका प्रसस्तै उदाहरण छन् तर बाबुराम प्रधानमन्त्री भएका बेलामा समेत विश्वदीप कुनै विवादमा तानिएनन् । प्रधानमन्त्री भएका बेलामा समेत भन्नुको अर्थ त्यस बेला प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिशाली स्थानमा हुन्छन् । तर उनले त्यो शक्तिलाई दुरुपयोग हुन दिएनन् । यसमा बाबुरामको स्वाभावले पनि काम गरेको हुनसक्छ । उनको भूमिकाको विषयमा बाबुराम अर्थमन्त्री भएका बेला अर्थसचिव रहेका रामेश्वर खनाल र बाबुराम प्रधानमन्त्री भएका बेला मुख्य सचिव रहेका लिलामणि पौड्यालले पनि प्रशंसा गरेका थिए । उनले सुरक्षाकर्मीलाई केही सूचना दिएर आए । ‘केहीबेरमा बाहिर निस्कनु छ, तपाईंलाई मैले धेरै समय दिन नभ्याउने भएँ, २/३ जनासँग भेटघाट छ त्यो सकिने वित्तिकै बाहिर जानु छ’, उनले भने । उनले सुरुमै कुनै त्यस्तो स्टोरी बनाउने भन्दा पनि सामान्य अनौपचारिक कुराकानी गर्न प्रस्ताव राखे । युद्धको बेलादेखि, भूमिगत, शान्ति प्रक्रिया हुँदै विभिन्न पदमा रहेका बेलादेखि अहिले संविधान निर्माणको कामले पूर्णता पाउनै लागेको अवस्थासम्म आउँदा उनको अनुभवका बारेमा नै चासो थियो । अनौपचारिक कुराकानी भन्दा पनि औपचारिक रुपमा नै प्रश्न तेर्सिए पनि अनौपचारिक रुपमै जवाफ आयो । ‘स्कुले विद्यार्थी बेलादेखि नै राजनीतिमा लागेको, बाबुरामसँग नियमित १२ वर्षदेखि सँगै रहेको, प्रचण्ड–बाबुराम स“गस“गै रोल्पा–रुकुमदेखि विभिन्न स्थानमा हिँडेको, शान्ति प्रक्रियादेखि अहिलेसम्म सँगै रहेको यही त हो मेरो अनुभव’, उनले अलिक कुटील जवाफ दिए । हुन त यसरी उनीमाथि नै केन्द्रित रहेर औपचारिक कुराकानी यसअघि भएको थिएन । कुनै कुनै प्रसँगमा अनौपचारिक रुपमा कुराकानीहरु भए पनि यसखालको कुराकानी भएको थिएन । पहिले–पहिले कुराकानी हुँदा तत्कालीन ७ संसदीय राजनीतिक दल र विद्रोही माओवादीबीच सम्पन्न १२–बुँदे समझदारी–पत्र टाइप गरेका प्रसंगमा निकै बेर कुराकानी भएको थियो । पहिलो पटक प्रचण्डसँग भेट भएर पनि नचिनेको र पछि गइसकेपछि मात्रै थाहा पाएका लगायतका धेरै प्रसंगमा कुराकानी भएका थिए । युद्धकालमा नै बाबुरामलाई पार्टीले कारबाही गर्दा उनी निकै रोएका थिए । फेरि पनि उही कुरामा जोड थियो तर उनले त्यति चासो देखाएनन् । ‘अहिले ती विषयमा कुराकानी गर्ने समय पनि भएको छैन र अहिले मसँग त्यसका लागि समय पनि छैन, त्यसैले त्यतापट्टि नजाऊँ होला’, उनी अन्यत्रै कुरा मोड्ने मुडमा देखिए । बेलाबेला उनको मोबाइलमा सन्देशहरु आइरहेझैं लाग्थ्यो, उनी मसँग थिए सँगसँगै आफ्नो काम पनि गरिराखेका हुन्थे । मोबाइलमा आएका सन्देशको जवाफ दिन्थे । उनी एकैपटक धेरैतिर कुरा गरिरहेका थिए, मोबाइल सन्देशमार्फत । ००० उनले सानै उमेरदेखि ठूला–ठूला जिम्मेवारी लिए र पूरा गर्दै आए । अहिले त उनलाई बानी नै परिसक्यो, वर्षौंदेखिको काममा अभ्यस्त भइसके । राष्ट्रिय राजनीतिको जिम्मेवारी र समयका कारण चाहेजति सबैलाई भेटाउन सम्भव पनि हुँदैन । तर विषयबस्तु र संवेदनशीलता हेरेर प्राथमिकताअनुसार सबैलाई नेतासँग भेटाउने कोशिश गर्नु, सँगसँगै समयको व्यवस्थापन गर्नु, प्राथमिकता क्रम निर्धारण गर्नु जस्ता कुरामा ठूला नेताको सचिवालयको कुशलता जोडिएको हुन्छ । यी कुरामा बाबुरामको सचिवालय कुशल छ भन्दा अतियुक्ति नहोला । आफ्नो निर्वाचन क्षेत्रमा जाने, संविधान निर्माणमा केन्द्रित रहने, राजनीतिज्ञ भन्दा बाहिरका अन्य विषयका विज्ञहरुसँग छलफल गर्ने देखि कार्यकर्ता भेटघाटसम्मको समय सचिवालयले मिलाइराखेको देखिन्छ । यी सबैको पृष्ठभूमिमा विश्वदीपकै व्यवस्थापन क्षमताले काम गरेको छ । धेरै माओवादी नेताहरुका स्वकीय सचिव परिवर्तन भए पनि युद्धकालदेखि अहिलेसम्म बाबुरामको स्वकीय सचिवका रुपमा विश्वदीप लगातार सक्रिय छन् । यसो हेर्दा भट्टराई र विश्वदीपको सम्वन्ध नेता र कार्यकर्ताजस्तो होइन कि बाबुछोराको जस्तो छ । सोचेर आएजस्तो कुराकानी अघि बढेन तर उनमा केही परिवर्तन भने महसुस भयो । पहिले भन्दा अलिक परिपक्वताको विकास भएको महसुस भयो, उमेरका कारण पनि हुनसक्छ र जिम्मेवारीमा खारिँदै गएको पनि हुन सक्छ । त्यसमाथि केही समययता पारिवारिक जिम्मेवारी पनि थपिएको छ, आफ्नो व्यक्तिगत समयको व्यवस्थापनको कुरा पनि उनमा थपिएको छ । तर उनले आफ्नो व्यक्तिगत कुराबाट बाबुरामको सचिवालयमा प्रभाव पर्न नदिने प्रतिबद्धता गरेका रहेछन् । उनको विहेको कुरालाई केही सञ्चारमाध्यममा विवादास्पद पनि बनाइएको थियो । तर सञ्चारमाध्यममा आएका धेरै कुरामा तथ्यलाई बङ्ग्याइएको विवाहमै सहभागी नेताहरु बताउँछन् । त्यतिबेलै समाचारमा आएपछि विवाहमा सहभागी एक नेताले टिप्पणि गरेका थिए – ‘अहिले धेरैमा बाहिर देखाउने एउटा भित्र गर्ने अर्को हुन्छ । विश्वदीपले त सबैका अगाडि, स्पष्टसँग देखाएर विहे गरेका हुन् । त्यस्तो तडकभडक त केही लागेन अनि केटा र केटी दुबै जना पार्टी जिम्मेवारीमा रहेका कमरेडहरुको जनवादी विवाहजस्तो पनि थिएन । मिडियालाई मसला भयो नै ।’ ००० उनीसँग सोचेजस्तो औपचारिक कुराकानी त हुन सकेन । पहिले–पहिले भन्दा उनमा अर्को परिवर्तन पनि देखियो । पहिले उनी मिडियामा फरक ढंगले समाचार आउँदा अलि बढी आत्तिन्थे, सधैं बाबुरामसँगै हुने भएकाले पनि वास्तविक तथ्य उनैले बुझेका हुन्थे । तर अहिले अभ्यस्त भएछन् । मिडियाको प्रवृत्ति पनि राम्रैसँग बुझेछन् क्यार । तर आवश्यक पर्दा प्रचार शैलीमा उनी निकै माहिर छन् । उनमा व्यवस्थापक मात्रै भन्दा पनि अलि बढी राजनीतिक चरित्रको विकास पनि हुन थालेछ । जीवनको महत्वपूर्ण समय राजनीतिमा नै खर्च गरेका उनको अनुभव, लगानी जे भने पनि राजनीति नै हो । कुरा सकिएको थिएन । उनीसँग केही सबालहरु बाँकी थियो । केही प्रश्नहरु थिए । उसो त उनि सूरुबाटै अहिले आफ्नो र इतिहासका बारेमा बोल्ने बेला भइनसेको भन्दै आलटाल गरिरहेका थिए । त्यतिबेलाका लागि तय भएको भेटघाटको क्रम सकिएको थियो । उनले अब निस्कनुपर्ने जनाउ दिए । ००० सुरक्षाकर्मी र गाडी रेडि पोजिसनमा थिए । हतार–हतार उनी माथि उक्लिए र तुरुन्तै बाबुरामसँगै हातमा एउटा फाइल ब्याग झुण्ड्याएर गाडितर्फ लागे । अगाडि नेपाल प्रहरीको, बीचमा बाबुराम चढेको गाडी र पछाडि सशस्त्र प्रहरीको गाडि गेटबाट बाहिर निस्कियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies