Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा र विकल्प हुनुपर्छ: स्वर्णिम वाग्ले

खबरडबली संवाददाता

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र राजनीतिक संस्कार परिवर्तनको दिशामा केन्द्रित रहेको बताएको छन् । पार्टीको चौथो वार्षिकोत्सवका अवसरमा चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति डा। वाग्लेले सो कुरा बताएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र विभिन्न राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहेको उद्घाटन सत्रमा मन्तव्य राख्दै डा. वाग्लेले रास्वपा सिङ्गो राष्ट्रको सङ्कल्प र आकाङ्क्षालाई न्याय गर्न जन्मिएको शक्ति भएको दाबी गरे। उनले भने, 'जब इमानदार मानिसले राजनीति असलका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले र नागरिक तथा राज्यबिचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यो विद्रोहको लोकतान्त्रिक आवाज रास्वपा बन्यो ।'

विगतका आन्दोलनले ल्याएको लोकतन्त्र, संविधान र समावेशिताको सम्मान गर्दै उनले लोकतन्त्रको संस्थागत गुणस्तर, उत्तरदायित्व र सार्वजनिक सेवाको प्रवाह भने अझै कमजोर रहेको औँल्याए। नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको जिकिर गर्दै उनले राजनीतिमा पहुँचवाला सफल हुने तर इमानदार छिर्नै नसक्ने प्रणाली बदल्नुपर्नेमा जोड दिए।

'हामी विवेक, विधि र नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागबण्डाबाट मेरिटोक्रेसीतर्फ र नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ,' डा। वाग्लेले भने, 'रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ, आलोचना मात्र होइन, विकल्प दिनुपर्छ र विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ ।' उनले रास्वपा अब आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइरहेको र नयाँ पुस्ताले प्रश्न मात्र नभई उत्तर र परिणाम पनि दिन सक्छ भन्ने प्रमाणित गर्ने बेला आएको उल्लेख गरे ।

उनले रास्वपाले परिकल्पना गरेको नेपालको मार्गचित्र प्रस्तुत गर्दै बहुमतले शासन गर्ने तर अल्पमत पनि सम्मानित हुने उदार लोकतन्त्र, पहुँच नभई क्षमताका आधारमा चल्ने प्रतिस्पर्धी अर्थतन्त्र, र प्रतिभाका आधारमा भविष्य निर्धारण हुने समन्यायिक समाजको वकालत गरे। युवाहरूले देश छाड्नु नपर्ने वातावरण निर्माण गर्न र नेपाललाई २१औँ शताब्दीको अग्रगामी तथा आत्मविश्वासी राष्ट्रका रूपमा स्थापित गर्न यो महाधिवेशनले राजनीतिक पुनर्जागरणको जग बसाल्ने विश्वास उनले व्यक्त गरे।

सम्बाेधनको पूर्णपाठ

आदरणीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताज्यू, विभिन्न राजनीतिक दलका नेतागण, प्रथम महाधिवेशनका प्रतिनिधि एवं यो ऐतिहासिक क्षणलाई आशाका साथ हेरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू।

आज असार ७ गते, पार्टीको चौथो वार्षिकोत्सव। हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ। हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी सिङ्गो राष्ट्रकै सङ्कल्प र आकाङ्क्षालाई न्याय गर्न जन्मिएको पार्टी हो। कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तिब्र आकाङ्क्षा, यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी।

जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले,

जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो,

जब नागरिक र राज्यबिचको विश्वासको पुल भत्किन थाल्यो,

त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हाे राष्ट्रिय स्वतन्त्र पार्टी। 

विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए। संविधान आयो। समावेशिताको आधार तयार भयो। यी उपलब्धिहरूको हामी सम्मान गर्छौं। तर लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन सकेन।

निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो।

संविधान बन्यो, संस्थाहरू बलिया भएनन्।

राज्यकाे आकार विस्तार भयो, राज्यको क्षमता बढेन।

अधिकार बढे, तर सार्वजनिक सेवाको गुणस्तर बढेन। 

आर्थिक गतिविधिहरूको स्वरूप फेरिए, तर मर्यादित रोजगारीका अवसर फैलन सकेनन्।

यही अन्तरविरोधबाट आजको सङ्कट पैदा भएको हो।

प्रिय साथीहरू,

नेपालको समस्या स्रोतको अभाव मात्र होइन।

नेपालको समस्या सम्भावनाको अभाव पनि होइन।

हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो।

राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो।

व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो।

राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने,

प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने,

अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो।

त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन।

यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो।

हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ।

भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ।

साथीहरू,

हामी आमूल सुधारको राजनीति मार्फत

कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ।

त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ।

आलोचना मात्र होइन, विकल्प दिनुपर्छ।

विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ।

आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं।

हामीले प्रमाणित गर्नु छ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ।

केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ।

केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ।

आजको महाधिवेशनको मूल प्रश्न यही हो - रास्वपाले नेपालको भविष्य कस्तो देख्छ?

हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्; जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस्।

हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्; जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्।

हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस्।

हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस्; जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसा योग्य साथ दिओस्।

हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्; जहाँ श्रम, सिप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस्।

यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्।

हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ, जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्; जसले आफ्ना नागरिकको क्षमता, आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै २१औँ शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस्।

साथीहरू,

इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ।

हाम्रो पुस्ताले त्यो अवसर पाएको छ।

अब प्रश्न केवल यति हो- के हामी यो दुर्लभ अवसरकाे उपयोग गरौँला? के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रूपमा इतिहासमा चिनिन सकौला?

म विश्वस्त छु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन केवल सङ्गठनात्मक कार्यक्रम होइन। यो नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्ने छ।

यो निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ, र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हो।

आउनुहोस्, निराशालाई आशामा बदलौँ, आक्रोशलाई निर्माणमा बदलौँ, र विद्रोहलाई रूपान्तरणमा बदलौँ।

नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अगाडि बढौँ। 

यो लामो यात्राका प्रारम्भिक पाइला यहीं चितवनबाटै चालौँ।

धन्यवाद।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

ऐतिहासिक जिम्मेवारी र चुनौती अब रास्वपामाथि पनि आइपुगेको छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।  राष्ट्र...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending