काठमाडौं । सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार हननका घटनालाई सम्बोधन गर्ने विधेयक (टीआरसी)का विवादित चार बुँदामा सहमति जुटेको छ । संसदको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले सहमति हुन बाँकी चार बुँदालाई थाँती राख्दै प्रतिवेदन वुझाएको थियो ।
उक्त प्रतिवेदनमा सहमति जुटाउन बनाइएको तीन दलीय कार्यदलले बिहीबार सहमति जुटाएको हो । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, नेकपा माओवादीबाट उपमहासचिव जनार्दन शर्मा र नेकपा एमालेबाट मुख्य सचेतक महेश बर्तौला छन् ।
उक्त तीन सदस्यीय कार्यदलको संयन्त्रले बिहीबार चार बुँदामै सहमति गरेको छ । सहमति भएको पहिलो बुँदामा परिभाषा छ । यसअघि परिभाषाका विषयमा फरक–फरक मत रहँदै आएको थियो । गम्भीर मानव अधिकार उल्लङ्घन र मानव अधिकार उल्लङ्घन भनी उल्लेख गर्न नहुने र सबैलाई गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने पीडित र मानव अधिकारकर्मीको तर्क थियो ।
तर राजनीतिक दलहरूले सबै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्न नमिल्ने भन्दै आएका थिए । सहमतिसँगै द्वन्द्वकालीन मानव अधिकार हननका घटना अब दुई वर्गमा परिभाषित हुने छन् । त्यही अनुसार सजाय दाबी अदालतमा हुनेछ ।
पहिला मानव अधिकार उल्लङ्घनका घटना उल्लेख हुने छन् । हत्या, लुटपाट, आगजनी, कुटपिटजस्ता घटना यसमा आउने छन् । दोेस्रोमा गम्भीर मानव अधिकार उल्लङ्घन (आर्बिटरी किलिङ) जसमा नियन्त्रणमा लिएर गरिएको हत्या, बर्बरतापूर्वक गरिएको हत्या, यातना दिएर गरिएको हत्या, बेपत्ता, बलात्कारजस्ता कुरा हुनेछन् ।
त्यस्तै सहमति भएको दोस्रो बुँदा हो बहिर्गमित लडाकु र सुरक्षाकर्मीका परिवारलाई सम्बोधन गर्ने कुरा । यसअघिको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग ऐनमा उनीहरूको बारेमा केही उल्लेख थिएन । त्यही कारण उनीहरूले लामो समय आन्दोलनसमेत गरेका थिए । तर यस पटक कार्यदलले उनीहरूलाई राहतदेखि ऐनभित्रै सम्बोधन गर्ने सहमति गरेका छन् । यो सहमतिसँगै द्वन्द्वकालमा बाल सेना भएको र पछि अयोग्य भइ बहिर्गमनमा परेकालाई पनि राहत हुने भएको छ ।
त्यस्तै द्वन्द्वकालमा परिवारका सदस्य गुमाएका सुरक्षाकर्मीका परिवारलाई पनि विधेयकले समेट्ने भएको छ । विधेयकमा उनीहरूलाई पनि समेट्दै परिपूरण लगायतका अन्य कुरामा समावेश गर्नेछ ।
सहमति भएको तेस्रो बुँदा हो सजायमा छुट दिने । द्वन्द्वकालमा भएका घटनाहरू नियमित नभइ विशेष परिस्थितिका घटना भएको ठहर समितिले गरेको छ । शासन परिवर्तनको लक्ष्यका साथ समाजका लागि लडिएको राजनीतिक घटना भएकाले यसमा संलग्नहरूलाई नियमित कानुन अनुसार सजाय गर्नेभन्दा साङ्केतिक सजाय गर्दै समाजमा मेलमिलाप गराउनुपर्ने भन्दै संयन्त्रले यस्ता घटनामा सजाय गर्ने तर कम गर्ने सहमति गरेको छ । जस अन्तर्गत घटना हेरेर ७५ प्रतिशतसम्म छुट दिने र २५ प्रतिशत सजाय भोग्न लगाउने सहमति गरेको छ । यसले गर्दा पीडकमाथि पनि कारबाही हुने अनि पीडितले पनि न्यायको महसुस गर्दै यो प्रक्रियालाई स्वीकार गर्नेछ ।
त्यस्तै सहमति भएको चौथो बुँदा हो माफीका लागि पीडितको सहमति अनिवार्य भन्ने ऐनको व्यवस्थामा केही परिर्वतन गर्दै सहमति नभएमा महान्यायाधिवक्ताले मुद्दा चलाउनेबारे निर्णय लिने ।
जस्तो कुनै मुद्दामा पीडितले माफी दिन अस्वीकार गरेमा वा पीडकसँग कुरा नै गर्न अस्वीकार गरेमा त्यसमाथि अनुसन्धान गरी मुद्दा चलाउने वा नचलाउने अधिकार ऐन अनुसार महान्यायाधिवक्ता कार्यालयलाई हुनेछ । महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाएमा मुद्दा चल्ने छ भने मुद्दा नचल्ने निर्णय गरेमा नचल्ने हुनेछ ।
यस्ता छन् सहमतिका चार बुँदा
१. आर्बिटरी किलिङ – गम्भीर मानव अधिकारका उल्लङ्घनका घटना, यौनजन्य, नियतवश वा स्वेच्छाले घटाइएको घटना
२. दोस्रोमा बहिर्गमित लडाकु र सुरक्षाकर्मीको परिवारलाई राहत दिने
३. घटी सजायमा २५ प्रतिशत राख्ने विषयमा सहमति
४. सहमति नभए महान्यायाधिवक्तालाई लेखी पठाउने ।
प्रतिकृया लेख्नुहोस्: