Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

नयाँ गठबन्धन बनेपछि कांग्रेसभित्र ‘युद्धविराम’ भयो : प्रधानामन्त्री (पुर्णपाठसहित)

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेसभित्र ‘युद्धविराम’ भएको टिप्पणी गरेका छनन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले  आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए ।

‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ । तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु । मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला,’ उनले भने । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ हेर्नुहोस् 

सम्माननीय सभामुख महोदय,
नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानत: विश्वासको मत लिन म यो रोष्टममा उभिएको छु । 
सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित संसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसदमा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिवद्ध छु, त्यसका लागि यो सार्वभौम संसदको विश्वास चाहन्छु ।

प्रधानमन्त्रीका रुपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरतरुपमा लागे । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएका छन् । चालु आर्थिक बर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ भने, विदेशी विनिमय सञ्चिति १९।९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ । व्यापार घाटा १।८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५।१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४।७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।

बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।

मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ । 

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ । 

सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो वाध्यता रह्यो ।   

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरुको ठूलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो । तर, संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु । 

नेपाली कांग्रेसका साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।  

विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ ।  मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो । आज मलाई गाली गरिरहेका साथीहरुलाई म सोध्छु, मैले कहिल्यै यो संसद र बाहिर धोकाको शोकगीत गाएँ रु मैले कहिल्यै कसैलाई आरोप लगाएँ रु मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरुको मानमर्दन गरेँ रु गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन । 

धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन रु राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम रु महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन रु महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन रु तर, म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्छ । नेपाली कांग्रेसका साथीहरुबाट पनि म त्यही अपेक्षा गर्दछु । 

यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शतिm विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा ९एमाले०को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसदलाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरुको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनैपर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नैपर्छ । 

सभामुख महोदय,
सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ  र सम्भवत: आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् । राजस्वको लक्ष्य पुरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउनेछ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ । 

सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिनेछ । संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता हुनेछ । शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुनेछ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिक मैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ । 

संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न म संसदसँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसदको समर्थन चाहिएको छ ।  

म सम्मानित संसदलाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुन: स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ । 

सभामुख महोदय,
मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन ।  सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद । 


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...

एमबीबीएस–बीडीएस विद्यार्थीको प्रदर्शन, परीक्षा प्रणाली सुधार गर्न ६ बुँदे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending