Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रुसी सेनामा भर्ना भएका नेपालीलाई सकुशल फर्काउँछौं : प्रधानमन्त्री

खबरडबली संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन् ।  बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए ।

‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीको भनाइ छ । 
सम्बोधनको पुर्णपाठसहित
माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री प्रमिला कुमारीज्यू
यस समारोहका प्रमुख अतिथि डा. गौरीशङ्करलाल दासज्यू
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यू
विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माज्यू
विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. अच्युतप्रसाद वाग्लेज्यू 
विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी
तथा आज दीक्षित हुने प्रिय विद्यार्थी एवं अभिभावकज्यूहरू
सञ्चारकर्मी मित्रहरू 
उपस्थित सम्पूर्ण महानुभावहरू !

काठमाडौं विश्वविद्यालयमा मङ्सिर महिनामै दोस्रोपटक आउँदै गर्दा उपकुलपतिज्यूले आफ्नो सम्बोधनमा भनेझैं मलाई पनि आफ्नै घर आएजस्तो महसुस भइरहेको छ । अघिल्लोपटक म मङ्सिर ८ गते यहाँ विशिष्ट सम्मेलनमा सहभागी भएको थिएँ, जहाँ नेपालभरका दुई दर्जन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीहरूको बृहत् उपस्थितिमा नेपालको उच्च शिक्षाको सुदृढीकरण र अन्तर्राष्ट्रियकरणका विषयमा गहन छलफल भएको थियो । नेपालको उच्च शिक्षाको वर्तमान र भविष्यप्रति साझा चिन्तनका लागि त्यो राम्रो अवसर थियो । काठमाडौं विश्वविद्यालयले यस्तो अभियानको नेतृत्व लिएर जसरी उच्च शिक्षा सुधारका लागि नीतिगत र व्यावहारिक छलफलको अवसर जुटायो, त्यसबाट उच्च शिक्षाको अबको बाटो तय गर्न विश्वविद्यालयहरूलाई मात्र नभएर नेपाल सरकारलाई समेत सहयोग पुग्ने विश्वास मैले लिएको छु । 

त्यस सम्मेलनमा उठाइएको नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई मैले गम्भीरतापूर्वक लिएको छु । आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छँदैछ, साथसाथै अन्तर्राष्ट्रिय स्तरको पनि हुनु अत्यावश्यक छ । त्यस सम्मेलनबाट आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने मेरो तर्फबाट हरसम्भव प्रयास हुनेछ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री त्यस सम्मेलनमा र आज पनि उपस्थित हुनुभएको हुँदा उहाँले यी विषयलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनतर्फ लैजान ठोस कदम चाल्नुहुनेछ ।

उपकुलपति प्राध्यापक भोला थापाज्यूले नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण र नेपाली विद्यार्थीलाई नेपालमा नै रोजगारी तथा उच्च शिक्षाको अवसर दिलाएर युवा ऊर्जा र सिर्जनशीलतालाई मुलुकभित्रै राख्नका लागि जुन खाका पेस गर्नुभएको छ, त्यो मलाई सराहनीय लागेको छ । 
प्राध्यापक थापाले भनेजस्तै दुबईमा आज समापन हुँदै गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको उपस्थिति गहन र बलियो रह्यो । त्यहाँ मैले जलवायु, न्याय र क्षतिपूर्तिको विषयलाई गम्भीरतापूर्वक उठाएको छु । नेपालको यो प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुटेरेसको विशेष साथ र समर्थनबाट पनि पुष्टि हुन्छ । 

मलाई अझ खुसी के कुरामा लाग्छ भने काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहनुभएका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ । कोप–२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊर्जा सङ्क्रमण ९इनर्जी ट्रान्जिसन० मा यस विश्वविद्यालयले हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल हुनुभएको छ । त्यसले बृहत् रूपमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पनि पाएको छ । त्यसका लागि म विश्वविद्यालय परिवारलाई धन्यवाद तथा बधाई दिन चाहन्छु । 

विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न, विशेषत: स्थानीय समुदायहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न एवम् नेपालका तर्फबाट हाम्रा खास मुद्दा र चासोहरूलाई मुखरित पारिरहन म विश्वविद्यालयका प्राध्यापक तथा अध्येताहरूलाई यस विश्वविद्यालयको कुलपतिको हैसियतले विशेष आग्रह पनि गर्दछु ।

काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय छ । यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको छ । त्यसैले नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न समेत म अनुरोध गर्दछु ।

काठमाडौं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको सर्वविदित नै छ । तर पछिल्ला दशकमा विश्वविद्यालयले जसरी बहुमुखी रूपमा आफ्नो प्राज्ञिक दायरा विस्तार गरेको छ, त्यसबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको छ । त्यसैको एक उदाहरण चिकित्सा र कलाको सुन्दर संयोजनमार्फत सुरु भएको ब्याचलर इन योगिक साइन्स एन्ड वेलबिइङ कार्यक्रम हो । यो कार्यक्रम नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरणको एक कडी पनि हो । 

अझ पछिल्लो समय काठमाडौं विश्वविद्यालयले एक हजार शैयाको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुसी लागेको छ । काठमाडौं विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु । स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ । यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु ।

विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु । म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौं विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु ।
काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका छन् । भविष्यमा पनि थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रमहरू लागू गर्न म विश्वविद्यालय परिवारलाई अनुरोध गर्दछु ।

नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ ।

आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६।१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु । यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो । अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ ।  

आज दीक्षित हुने विद्यार्थीलाई म विशेष अनुरोध गर्न चाहन्छु — तपाईंहरू यहाँ आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने प्रयत्न गर्नुहोस् । काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश जानुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्दछु । 

अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ । 

अन्त्यमा, आज दीक्षित हुनुभएका सबै विद्यार्थीलाई बधाई दिँदै र उहाँहरूलाई गुणस्तरीय शिक्षा दिन अभिभावक र विश्वविद्यालयले गरेको योगदान र परिश्रमको उच्च कदर गर्दै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद !

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

हामी प्यानल बनाउँदैनौं, व्यक्तिगत रूपमा उपमहासचिव उम्मेदवारी दर्ता गरेको छु: योगेश भट्टराई

काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...

लेखराज भट्टलाई उपमहासचिव पदका उम्मेदवार बनाउन ओली तयार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...

पार्टीलाई सामूहिक नेतृत्वमा विधिपूर्वक चलाउन अध्यक्षमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...

दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो: महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending