Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

खबरडबली संवाददाता

काठमाडौँ । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ । 

नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताए। “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उनले भने। 

आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ । उनका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् । 

हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ छ दशमलव ४१५ किलोमिटरमध्ये तीन दशमलव १३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दशमलव ३५५ किलोमिटर लामो महादेवटार सुरुङमा एक दशमलव ४९० किलोमिटर निर्माण भएको छ । यस्तै एक दशमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा आठ सय छ मिटर तथा एक दशमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङमा आठ सय ५७ मिटर निर्माण भइरहेको छ । 

सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए। आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ ‘पाइल’मध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ । 

दु्रतमार्गमा ८२ मिटर अग्ला ‘टावर’ तथा चार सय मिटरभन्दा लामा पुल निर्माण हुनेछन् । सेनाले उक्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नेगरी १३ वटा प्याकेज बनाइ निर्माणलाई अगाडि बढाएको छ । प्याकेज नं १ देखि ७ सम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् । 

आयोजनाको पुरक विस्तृत परियोजना प्रतिवेदन समयमै स्वीकृत नहुँदा आयोजनाको बाँकी जग्गा अधिग्रहण एवं वातावरणीय प्रभाव मूल्याङ्कन तथा रुख कटानमा जटिलता थपिएको सेनाले जनाएको छ । यसअघि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा आयोजनाको दुवैतर्फका प्रवेश बिन्दु तथा विश्रामस्थलमा इन्टरचेञ्ज तथा टोल प्लाजाको व्यवस्था नभएकाले सेनाले पूरक विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृतिका पठाएको थियो । 

सो पूरक ‘डिपिआर’ स्वीकृत नहुँदा बाँकी प्याकेजमा ठेक्का लगाउन नसकिएको सेनाले जनाएको छ । पूरक डिपिआर स्वीकृतिका लागि सम्बन्धित निकायसमक्ष समन्वय भइरहेको र त्यसम्बन्धी कार्य छिट्टै निष्कर्षमा पुग्ने सेनाले विश्वास लिएको छ । आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहणमा देखिएका समस्याको हालसम्म निक्र्योल हुन नसक्दा भने आयोजनालाई तीव्रता प्रदान गर्ने कार्यमा केही बाधा अड्चन पुगिरहेको छ ।

सेनाले भने सो खोकना इलाकामा दु्रतमार्गको सुरु बिन्दु निर्धारण, सवारी अवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात् खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जनाएको छ । 

सरकारले विसं २०७४ वैशाख २१ गते काठमाडौँ र तराई–मधेसलाई जोड्ने सो रणनीतिक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । विसं २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढबाट सो आयोजनाको शिलान्यास गरेको थिए । 

सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत गरेको थियो । उक्त डिपिआरअनुसार द्रुतमार्गको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ । आयोजनामा छ वटा सुरङमार्ग रहेका छन् । सुरुङमार्गको कूल लम्बाइ १० दशमलव ०५५ किलोमिटर रहेको छ । 

देविचौरमा एक, सिसौटारमा शून्य दशमलव ३९, चन्द्राम भिरमा दुई दशमलव २५, महादेवडाँडामा तीन दशमलव ३५५, धेद्रेमा एक दशमलव ६३० र लेनडाँडामा एक दशमलव ४३० किलोमिटर लामा सुरुङ निर्माण हुनेछन् । अहिले लेनडाँडा, महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त द्र्रुतमार्ग ‘एसियन हाइवे’ मापदण्डको हुनेछ । सो सडकमा दुईपाङ्ग्रे सवारी गुडाउन निषेध गरिनेछ । 

आयोजनामा १२ दशमलव ८८५ किलोमिटर लम्बाइका विभिन्न ८९ वटा पुल निर्माण गरिनेछ । मकवानपुरको बुदुनेमा सडकको दुवै किनारामा दुई विश्रामस्थल हुनेछन् । ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहनेछ । 

द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिनसक्ने ‘इन्टरचेञ्ज’को व्यवस्था हुनेछ । सो सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन । यस्तै उक्त सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एकरएक वटा ‘टोल प्लाजा’ हुने सेनाले जनाएको छ । कूल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिनेछ ।

उक्त आयोजना विसं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रू दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending