काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताएका छन् ।
मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरूले राख्ने, बीचमा छलफल हुने, बहस हुने कुरालाई एकदमै स्वाभाविक रूपमा लिनुपर्छ । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हाले संसदीय दलको नेता बनाएको हो । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईंको आशीर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरूलाई पनि पक्कै स्मरण गर्नुहुनेछ । त्यो बेलामा उहाँहरूको नै आवश्यकता थियो । उहाँहरूको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ । पार्टी भन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरूको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ ।’
महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरूको साथ आफूलाई रहेको पनि बताए । उनले अधिकांश कांग्रेस सांसदहरूसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरूलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरूले सहयोगको वाचा गरेको बताए ।
प्रतिकृया लेख्नुहोस्: