काठमाडौं । नागढुङ्गा क्षेत्रमा केही दिनदेखि भइरहको लामो ट्राफिक जामका कारण काठमाण्डू आइरहेका एकजना बिरामीको निधन भएको खबर आएपछि जाम कम गर्ने कदमहरू चालिएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार जाम कम गर्न शुक्रवार बिहानैदेखि ठूलो सङ्ख्यामा ट्राफिक प्रहरी खटाइएको र बाटोमा बिग्रिएर बसेका सवारी साधनहरू पन्छाउने काम सुरु भएको छ।
देशका विभिन्न क्षेत्रबाट राजधानी काठमाण्डू भित्रिने मुख्य नाका नागढुङ्गा क्षेत्रमा घण्टौँ जाममा बस्नु परेको भन्दै सर्वसाधारणहरूले चाहिँ सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन्।
कतिपयले त्यस क्षेत्रमा ३० किलोमिटरसम्म ट्राफिक जाम भएको गुनासो गरेका छन्।
मृत्युको खबर
काठमाडौं आउदैँ गरेका रौतहटका ३५ वर्षीय रुपलाल साहको ट्राफिक जामकै कारण शुक्रवार बिहान मृत्यु भएको भन्दै विभिन्न सञ्चारमाध्यमले खबरहरू सार्वजनिक गरेका छन्।
गाडीमा काठमाडौं आउँदै गरेका उनको धादिङको महादेवबेंसीमा निधन भएको बताइएको छ।
प्रहरीले भने उनको ट्राफिक जामका कारण निधन नभएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायव उपरिक्षक रुपक खड्काले भने, उहाँको बिहान ४ बजेतिर निधन भएको हो, त्यसबेला जाम थिएन खासमा उहाँ पहिलेदेखि नै क्यान्सरको बिरामी हुनुहुन्थ्यो भन्ने कुरा आएको छ।
उनले जाम कम गर्नका लागि कदमहरू चालिइसकेकाले भोलिदेखि जाम नहुने दाबी गरे।
के गर्दैछन् अधिकारीहरू?
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि ट्राफिक जाम कम गर्न विभिन्न स्थानमा जारी सडक मर्मत कार्य बन्द गराइएको बताए।
उनले यतायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यलाय काठमाण्डू र धादिङको सहकार्यमा मालवाहक सवारी साधनलाई निश्चित समयमा मात्र नागढुङ्गातर्फ जान पाउने व्यवस्था गरिएको जानकारी दिए।
हामीले राति ९ बजेपछि मात्र काठमाडौंबाट नागढुङ्गातर्फ र यता धादिङबाट नागढुङ्गातर्फ मालवाहक सवारी साधनलाई जान पाउने व्यवस्था गरेका छौँ, उनले भने, अहिले मालवहाक सवारी साधनहरू जोगिमारा र धार्के क्षेत्रमा नै रोकिएका छन्।
शुक्रवारदेखि उक्त नियम लागु गरिएकाले शनिवारदेखि जाम नहुने अधिकारीहरूको तर्क छ।
नागढुङ्गामा वर्षैभरि जस्तो जाम हुने गर्छ। तर दशैँ-तिहार जस्ता चार्डपर्व सुरु हुन लागेका बेला सबैभन्दा बढी जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक नियम सिकाउँदै जापानी कठपुतली
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता रविकुमार पौडेल भन्छन्, नागढुङ्गामा अन्य बेलाको तुलनामा दशैँ अगाडि निकै जाम हुने गरेको छ तर हामी त्यसलाई व्यवस्थापन गर्न जुटिरहेका छौँ।
जामको कारणहरू
नागढुङ्गा क्षेत्रमा जाम हुने विभिन्न कारणहरू रहेको अधिकारीहरू र ट्राफिक प्रहरीहरू बताउँछन्।
यस क्षेत्रमा वर्षौदेखि लामो जाम हुदैँ आएको छ।
त्यसको समाधान ननिकालिएको भनेर सर्वसाधारणहरूले आलोचना गर्ने गर्छन्।
तर केही दिनदेखि जारी जाम भने अल्पकालीन भएको अधिकारीहरूको दाबी छ।
उनीहरूका भनाइमा अरू बेला यस्तो जाम हुने गर्दैन।
धादिङका सरकारी अधिकारीहरूका अनुसार दशैँअगावै सक्ने भन्दै विभिन्न स्थानमा सडकको मर्मत जारी राखिएकाले यसपटक जाम बढेको हो।
प्रमुख जिल्ला अधिकारी तामाङले भने, तर अहिले हामीले यस्तो मर्मत बन्द गराइसकेका छौँ। अहिले कतै पनि मर्मत जारी छैन।
उनका अनुसार केही दिन अघि विभिन्न स्थानमा खाल्टाखुल्टी टाल्न पनि सुरु गरिएको थियो।
सडकमा मर्मत गर्दा दुईलेनको बाटो एक लेनमा सीमित भयो। त्यसले गर्दा जाम भएको अधिकारीहरू बताउँछन्।
मालवाहक सवारी साधन
नागढुङ्गा क्षेत्रमा जाम हुने अर्को कारण मालवाहक सवारी साधनको चाप पनि भएको अधिकारीहरूले बताए।
ट्राफिक प्रवक्ता पौडेलका अनुसार पानी परिरहेकाले नागढुङ्गा क्षेत्रको उकालो र घुमाउरो बाटो निकै चिप्लो छ।
उनले भने, गह्रुङ्गो भारी बोकेर आएका मालवाहक सवारी साधन चिप्लो र उकालो बाटोमा अघि बढ्नै सक्दैनन्। त्यसैले गर्दा कतिपय गाडी बाटोमै अड्किन्छन्। तीनलाई तान्नका लागि हामीले केही मेसिनहरू नै राखेका छौँ।
उनका अनुसार केही दिन यता केही यस्ता सवारी साधन बाटोमै बिग्रिएर बसेकाले जाम थप बढेको हो।
तर ती सबैलाई तानेर निकालिएको उनले दाबी गरे। यही समस्या कम गर्न अब राति ९ बजेपछि मात्र यस्ता सवारी साधनलाई आवतजावत गर्न अनुमति दिने निर्णय गरिएको उनले बताए।
बढ्दो सवारीको चाप
नागढुङ्गामा दशैँ अगाडि जाम हुनुको अर्को कारण काठमाण्डूबाट बाहिरिने मानिसहरूको सङ्ख्या बढ्नु पनि रहेको अधिकारीहरूले बताए।
उनीहरूका अनुसार अहिले हरेक दिन करिब एक लाख जना जति मानिसहरू नागढुङ्गा हुँदै बाहिरिने गरेका छन्।
अन्य बेलामा भने दैनिक करिब ६० हजार जना जति मानिसहरू मात्र उपत्यकाबाट यो नाका हुँदै बाहिरिने गरेको ट्राफिक प्रवक्ता पौडेल बताउँछन्।
उनी भन्छन्, यसरी बाहिर जानेहरूले आफ्ना निजी सवारी साधनहरू पनि साथैमा लिएर जान्छन्। त्यसले गर्दा जाम बढाउन भूमिका खेलेको छ। बिबिसी नेपाली सेवाबाट
प्रतिकृया लेख्नुहोस्: