काठमाडौं । नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाएर आर्थिक समृद्धि हासिल गर्ने उदेश्यसहित सरकारले अघि सारेको जनताको जलविद्युत कार्यक्रममा राजनीतिक दल तथा देशको महत्वपूर्ण पदमा रहेका व्यक्तिहरुले पनि लिए पछि यसमा सबैकाे चासाे बढेकाे छ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मुल नाराका साथ अघि बढाइएको यो अभियानमा सभामुख कृष्ण बहादुर महरा पनि सहभागि भएका छन् । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत दोस्रो चरणमा सेयर निष्काशन गरेका रसुवागढी हाइड्रो पावर र साञ्जेनको प्राथमिक सेयरमा आवेदन दिंदै उनी सेयर बजारमा प्रवेश गरे ।
दुई आयोजनामा गरी सभामुख महराले डेढ लाख रुपैयाँको आवेदन दिएका छन् । उनले रसुवागढीमा एक लाख रुपैयांको एक हजार कित्ताका लागि र साञ्जेनमा ५०० कित्ता अर्थात ५० हजार रुपैयाँको आवेदन दिएका हुन् । त्यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि सोही परिणामको सेयर खरिदका लागि आवेदन दिइन । पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नी राधिका शाक्यले पनि सेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशुली थ्री बीको सेयरमा आवेदन गरेका उनीहरुले २० कित्ता सेयर प्राप्त गरेका थिए ।
त्यस्तै ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले र पूर्वसभामुख समेत रहेकी उनकी धर्म पत्नी ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख रुपैयाँको १ हजार कित्ता सेयर आवेदन दिए भने साञ्जेनमा पाँच सय अर्थात ५० हजार रुपैयाँको आवेदन दिए । मन्त्री पुन र पूर्वसभामुख घर्ती पहिलो आयोजना माथिल्लो त्रिशुली थ्री बीको २० कित्ता सेयरधनी भइसकेका छन् । महराको सेयर बजारमा पहिलो इन्ट्री अर्थमन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका सभामुख महरा पहिलो पटक सेयर बजारमा प्रवेश गरेको बताएका छन् ।
उनले भने, \'अर्थमन्त्रालय त सम्हालियो तर सेयरमा प्रवेश गरिएको थिएन । वास्तवमा सेयर बजारमा प्रवेश गरेको पहिलो चोटी हो ।\' उनले थपे, \'मलाई सेयर बजारमा सहभागि गराउनु भएकोमा ऊर्जामन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।\' सभामुख महराले पूँजी बजारलाई गतिशील बनाउन सकेमात्रै संविधानले परिकल्पना गरेको साम्यवाद आउने उल्लेख गरे । विगतमा बन्द अवस्थामा रहेको पूँजी बजारलाई गतिशील बनाउनु पर्ने उनको भनाई थियो । नेपालमा जलविद्युतको पर्याप्त संभावना रहेको र जनता नै मालिक हुने जनताको जलविद्युत कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए ।
प्रतिकृया लेख्नुहोस्: