चितवन, ९ चैत । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरलाई स्मार्ट सिटी बनाउन तीन पांग्रे सवारी साधनलाई व्यवस्थित गरेको बताएकी छिन् ।
शनिबार मुक्तिनगर यातायात प्रालिको उद्घाटन गर्दै उनले बजारमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न, महानगरको मुख्य सहरलाई सफा, सुन्दर र हराभर सहर बनाउन तीन पांग्रे सवारी साधनलाई मुख्य राजमार्गमा रोक लगाइएकी हुन् ।
उनले महानगरपालिका सदैव यातायात श्रमिकको हितमा लागिरहेको बताउँदै भनिन्, ‘अटो व्यवस्थापनको निर्णय एक्लो मेयरले मात्र गरेको होइन, जिल्लाका राजनीतिक दल, ट्रेड युनियन व्यवसायी, श्रमिक नेतागढ सबैको सहमति र सम्वादले तीन पांग्रे सवारी साधानको व्यवस्थापन गरेका हौँ ।’ दाहालले गाउँगाउँमा सडकहरु निर्माण भएका अब तीन पांग्रे सवारी साधन त्यतातर्फ ढल्कन सुझाव दिइन् ।
‘सहरलाई मर्यादित र सुन्दर बनाउन केही न केही सबैबाट त्याग भएको छ, यसलाई अझ मर्यादित बनाउनछ,’ उनले भनिन्, ‘राजमार्गमा अटो चलाउन नपाउँदा अटो व्यवसायीहरुलाई कुनै मर्का परेको छ भने महानगर त्यसको संवोधन गर्न तयार हुन्छ । वार्ता र संवादबाट हामी समाधान गर्न चाहन्छौँ ।’
राजमार्गमा अटो व्यवस्थापन हुँदा सहर सफा, सुन्दर देखिएको बताउँदै उनले नीति नियमभित्र जोकोही पनि बाँधिन आवश्यक रहेको बताउँदै उनले नियमलाई छोडेर कसैलाई पनि बाहिर जान छुट नहुने बताइन् ।
यस्तै महानगर उपप्रमुख पार्वती शाहले परिवर्तन गर्न सुरु आफैँबाट गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘समाज परिवर्तन गर्नुछ भने पहिला सुरु आफैँबाट गर्नुपर्छ अनि अरुलाई भन्न सकिन्छ ।’
प्रदेश ३ का ट्रापिक प्रमुखएसपी नवीनराज राईले ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको बताए । दुर्घटना आकस्मात हुने भएकाले सचेत भएर सवारी हाँक्न सुझाव दिए । कुल मृत्युदरको २९ प्रतिशत मृत्यु सवारी दुर्घटनाबाट हुने उनको दावी छ ।
चितवन जिल्ला ट्राफिक कार्यालयका प्रमुख चन्द्रराज गिरीले चितवनमा १८ वर्षभन्दा कम उमेरका चालकहरुले पनि तीन पाङ्ग्रे चलाइरहेको बताए । उनले भने, ‘नीति नियमभन्दा बाहिर जान मिल्दैन, त्यस्ता चालकहरुलाई कारबाहीको दायरामा ल्याउछौं ।’
मुक्तिनगर यातायात प्रालिका अध्यक्ष लक्ष्मणप्रसाद भट्टराईले सरकारको नीतिअनुसार मुक्तिनगर यातायात प्रालिमा गएको बताए । उनले भने, ‘लगानी सुरक्षित हुने र कमाइ राम्रो हुने हो भने अटो व्यवसायीहरु राजमार्ग छोड्न तयार छन् ।’
प्रतिकृया लेख्नुहोस्: