‘पार्टीको विधान, नियमावली कार्यान्वयनमा लाने चरणबाट सुरु गर्ने वा त्यस अगाडि नै पनि गर्ने नीतिगत निर्णय भइसकेको छैन। यो कसरी मिलाउने हामीले अझै निर्णय लिइसकेका छैनौं।’ -नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपानेकपाको विधानमा दुई अध्यक्षलाई समान अधिकार हुने गरी अधिकार क्षेत्र, काम, कर्तव्य र अधिकारको व्याख्या गरिएको छ। पार्टी विधानमा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठकको अध्यक्षता गर्ने, पार्टीका प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, ती बैठकका निर्णय कार्यान्वयन गर्ने, गराउने, पार्टी विधान कार्यान्वयन गर्ने गराउने, केन्द्रीय कमिटीका तर्फबाट राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी कमिटीले तोकेका अन्य कार्य गर्ने जस्ता अधिकार समान रूपमा तोकिएको छ। त्यस्तै पार्टीका आधिकारिक निर्णयमा औपचारिक रूपमा दुवै अध्यक्षको हस्ताक्षर हुने उल्लेख छ। स्थायी समितिका दुई एजेन्डा तय सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समिति बैठकका लागि दुई एजेन्डा पनि तय गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म केन्द्रित ब्रिफिङ गर्ने छन्। ‘प्रधानमन्त्रीको चीन भ्रमण, अहिलेको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रहेर अध्यक्षद्वयबाट पार्टी बैठकलाई ब्रिफिङसहित रिपोर्टिङ पहिलो एजेन्डा हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यस्तै दोस्रो एजेन्डा पार्टी संगठनको प्रस्तावित नियमावलीमा छलफल गरेर स्थायी समितिको सुझाव लिनु हुनेछ।’ प्रधानमन्त्री ओलीले असार ५–९ सम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा थिए। चीन भ्रमणबारे उनले पार्टी बैठकलाई ब्रिफिङ गर्न भ्याएका छैनन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत असार ४–१७ सम्म पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेकाले नेकपाको बैठक बस्न सकेको थिएन। बुधबारको सचिवालय बैठकमा ओलीले सामान्य ब्रिफिङ गरेका छन्। बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका विषयमा सचिवालय बैठकमै ब्रिफिङ गर्न खोज्नु भएको थियो, केही कुरा गर्नु पनि भयो, तर डिटेलमा स्थायी समिति बैठकमा एकैपटक गरौं भन्ने भयो, अब बिहीबारको स्थायी समिति बैठकमै एकैचोटी ब्रिफिङ गर्नुहुन्छ।’ ओलीले भ्रमण फलदायी र सकारात्मक भएको, चीनबाट रसुवा केरुङ हुँदै काठमाडौंसम्म रेल आउनेदेखि चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण सम्मका विषयमा चीनका राष्ट्रपतिसँग छलफल भएको बुधबारको सचिवालय बैठकमा बताएका थिए। ‘प्रधानमन्त्रीले भ्रमण राम्रो भयो, रेल पनि आउँछ, राष्ट्रपति सि पनि आउनुहुन्छ भन्नुभयो’, बैठकमा सहभागी अर्का एक नेताले भने।
प्रतिकृया लेख्नुहोस्: