प्रदीप नेपाललाई प्रश्न : वामदेवलाई खुलामञ्चबाट किन भ्रष्टाचारी घोषणा गर्नु भो ?
जेष्ठ १९ गते, २०७५ शनिवार 2nd June, 2018 Sat०७:५६:४१ मा प्रकाशित
कठघरामा प्रदीप नेपाल अभियोग : १तपाईं ढोंगी हुनुहुन्छ । ६० वर्ष कटेपछि सक्रिय राजनीतिबाट रिटायर्ड हुनुपर्छ भनेर लेख नै लेख्नुभयो । बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार बन्दा ‘सक्रिय राजनीतिमा यो मेरो अन्तिमपटक हो’ भनेर भोट माग्नुभयो । तर, पाँच वर्षपछि काठमाडौंमा भएको नवौँ महाधिवेशनमा पनि उपाध्यक्षको उम्मेदवार बन्नुभयो । त्यति मात्रै होइन, तत्कालीन एमालेको पोलिटब्युरो सदस्य हुँदै अहिले बनेको नेपाल कम्युनिस्ट पार्टीको समेत नेतृत्वमा बस्नुभएको छ ।
एउटा कर्मचारी ५८ वर्षको उमेरमा रिटायर्ड हुन्छ, केही जागिरेहरूले ६३ मा अवकाश पाउँछन् । सर्वोच्चका न्यायाधीशहरू सायद ६५ वर्षमा सेवानिवृत्त हुन्छन् । धेरै साथीहरू अवकाश हुन्छन् भने उनीहरूलाई नेतृत्व गर्ने नेताहरू किन बुढेसकालसम्म नेता भएर बस्ने ? पार्टीले ६० वर्षे अवकाश चलाउनुपर्छ भनेर मैले बाहिर त थोरै, भित्र धेरै लामो समय लडेँ । म एक्लै परेँ, हारिगएँ, छाडिदिएँ । लास्टमा ७० वर्ष उमेरहद पार्टीले पारित ग-यो । त्यो ७० वर्ष अहिलेको नेकपाले काटिदियो । नेताको कुनै उमेरहद हुँदैन भन्यो । ७० वर्षे ल्याएकोमा मलाई खुसी पनि लागेको थियो । कमसेकम नेताहरूले ८४ वर्षको रोगी हुन्जेलसम्म त बस्नुपर्दैनथ्यो नि ।
अाजको नयाँ पत्रिकामा लेखिएको छ-पार्टीको नवौँ महाधिवेशनमा उठ्ने मेरो कुनै मनस्थिति थिएन, इच्छा थिएन । तर, केपी ओलीलाई जिताउनुपर्छ भन्नेमा थिएँ । बालकोटमै गएर मैले केपी ओलीलाई ‘म उम्मेदवार बन्दिनँ, तपाईंलाई जिताउने जिम्मा भने लिन्छु’ पनि भनेँ । उहाँलाई ‘तपाईंका गोठालाहरूले त हामी बलिया छौँ, ६३ प्रतिशत प्रतिनिधि हामीसँग छन् भनिरहेका छन् । त्यो गलत हो । मैले माधव नेपालका धेरै नेता–कार्यकर्ता चिनेको छु । तपाईंहरूको हारजित १०–१० प्रतिशतको मात्रै हो । त्यसैले त्यो उमंगमा नलाग्नुस् । मिहिनेत ग-यो भने जित्नुहुन्छ ।
५० भोटले मात्रै भए पनि जित्नुहुन्छ । तर, मचाहिँ उम्मेदवार बन्दिनँ’ भन्ने कुरा प्रस्ट राखेर गोठाटार फर्किएँ । मदन–आश्रित प्रतिष्ठानको अध्यक्ष पनि हुँ । त्यसैको काममा लागेँ । पछि, भृकुटीमण्डपबाट रामनाथ ढकालले फोन गरे । मरेका मान्छेलाई साक्षी राख्नुहुँदैनथ्यो । हामीलाई चिन्ने मान्छेलाई थाहा छ, रामनाथ ममाथि अधिकार राख्ने क्षमताको मान्छे थिए । उनले ‘तपाईं जुनसुकै हालतमा तुरुन्त भृकुटीमण्डप आउनुप-यो, साधन छैन भने पठाउँछु, म आफैँ लिन आउँछु । यहाँ आएर उम्मेदवारी फारम भर्नुप-यो, छाड्न पाउनुहुन्न’ भने । मैले ‘कसले भन्यो’ भनेर सोधेँ । रामनाथले ‘जसले भने आउनुप-यो, यहाँ केपी कमरेड कस्तो अँध्यारो भइसक्नुभयो’ भने । उनले भनेपछि ‘नाइँ’ भन्न सकिनँ । तर, मेरो उठ्ने कुनै मनस्थिति थिएन ।
६० वर्ष उमेर कटेपछि कसरी राम्रो काम गर्न सकिएला भन्ने मान्यता राख्थेँ । रामनाथले भनेपछि बाध्यताले उम्मेदवार बनेँ । केपीले भन्दा त नमानेको हुँ । उहाँले ‘उठ्नुपर्छ, तपाईं उठ्नुभएन भने म कसरी जित्छु ? कसरी काम गर्न सक्छु’ भन्नुभएको थियो । मैले ‘तपाईंलाई म जिताउँछु । अहिलेसम्म जो–जोलाई जिताउँछु भनेर लागेको छु, सबैलाई जिताएको छु, तपाईंलाई पनि जिताउँछु, तर म उम्मेदवार बन्दिनँ’ भनेको हुँ । तर, रामनाथलाई ‘नाइँ’ भन्न सकिनँ । त्यो मान्छेले मलाई हरेक अप्ठ्यारोमा साथ दिएको थियो । यो कुरा जो पायो त्यहीले बुझ्दैनन् ।
नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा यसरी आइयो । पोलिटब्युरोमा पनि जाने कुनै रहर थिएन । चाहना पनि थिएन । ‘आइज फारम भर्न’ भनेर पार्टीबाट बोलाएको बोलायै गरे, तर पनि म गइनँ । अन्तिममा शंकर पोखरेलले फोन गरेर ‘तपाईंको कारणले पोलिटब्युरोको चुनाव भएन, तपाईंले फारम भर्दिनँ भनेपछि अरूले पनि निहुँ खोजे । त्यसपछि स्थायी समितिले सीधै छान्यो’ भन्नुभयो । यसरी म पोलिटब्युरोमा पनि रहिरहेँ । पछिल्लो काल यो नेकपामा रहेको कुरा त के भन्नु ? यो भद्रगोल ताल हो । भद्रगोलमा जे पनि हुन्छ ।
म जहिले पनि तल हेर्छु, माथितिर होइन । मान्छेमा महत्वाकांक्षा हुन्छ, तर मेरो दिमागमा कहिले पनि म माथि पुगूँ भन्ने महत्वाकांक्षा जागेन । पहिलेदेखि युवाहरूलाई ‘तिमीहरू अगाडि बढ, तिमीहरू गर’ भन्ने गरेको छु । साथीहरूजस्तै सम्बन्ध राखेँ । कहिले पनि नेताजन्य व्यवहार गरिनँ । त्यही भएर अहिले पनि धेरै युवा मलाई मन पराउँछन् । यज्ञराज सुनुवारलाई मैले नै ‘यहाँ हल्लिएर बस्ने होइन, उतै भूगोलमा गएर राजनीति गर्नुपर्छ’ भनेको हुँ । जाजरकोटका सिपी घर्ती गए । यस्ता सयजनाभन्दा धेरै युवा–विद्यार्थी नेता छन्, जो आफ्नो कार्यक्षेत्रमा खटिए । ‘फलानो कमरेडले भनेर यहाँ पुगियो’ भनेर अहिले पनि भन्छन् उनीहरू । मैले पठाएँ, उनीहरूले कामै गरेर जितेका हुन् । तर, जसचाहिँ मलाई दिन्छन् । अनि, उनीहरू सबैले मलाई मन पराउन थालेपछि नेताहरूलाई चित्त दुख्छ ।
अभियोग : २तर, सबै नयाँ पुस्ताका नेताहरूप्रति त सहिष्णु हुनुहुन्न । आफूलाई मन नपर्ने युवा नेताहरूको हुर्मत पनि लिनुभएको छ । नेपालगन्ज महाधिवेशनमा योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायत युवालाई ‘गुन्डा’ भनेर महाधिवेशनस्थलबाटै निकाल्नुभयो ।
त्यतिवेला मैले गुन्डा कसैलाई भनेको छैन । योगेशहरूको त अझ कुरै छाडिदिनु । बरु, पार्टी विभाजन भएपछि जतिवेला रूपनारायणहरूले समूह बनाएर प्रदीप ज्ञवालीलाई कुटेर घाइते बनाए, हामीले टिचिङ अस्पतालमा ल्याएर उपचार ग-यौँ । हो, त्यतिखेर ‘रूपनारायण गुन्डा हो’ भनेकै हो । तर, अहिले पनि रूपनारायण मसँगै छ । म देखेको बोल्ने र रिसराग नराख्ने मान्छे हुँ । रूपनारायणलाई पनि ‘तिमी यहाँ(काठमाडौं) किन बस्छौ ? बदनाम हुन लाग्यौ । सबैले पैसा उठाउन थाल्यो भन्छन् । चुप लागेर आफ्नो क्षेत्रमा जाऊ, त्यहाँबाट जितेर आऊ र अर्को वर्ष केन्द्रीय कमिटीमा आउँछौँ’ भनेर मैले पठाएको हुँ । उसलाई वामदेवले वा उसको गुटको अरू कसैले पठाएकै होइन । ‘तिमी अब कसैको जागिरदार नहोऊ । भूगोलमा जाऊ, आफैँ नेता बन’ भनेर मैले पठाएको हुँ ।
नेपालगन्ज महाधिवेशनमा हलबाहिर झडप भयो, जसले माले–एमाले बनायो । त्यसमा भीम रावल र रूपनारायणबीच हात हालाहाल भयो । रूपनारायण त्यसै जन्ड । घोचाघोचमा भीम रावलको कोटको एकापट्टिको बाहुला नै फुस्किएछ । त्यही अवस्थामा हलमा आएर असाध्यै उत्तेजित भाषण पनि ग¥यो भीमले । त्यसक्रममा ‘गुन्डाहरूले घेरे’लगायत धेरै कुरा भन्यो पनि होला । तर, मेरो मुखबाट कसैप्रति त्यस्तो शब्द निस्केन । यिनीहरू सबै जिउँदै त छन्, सोध्दा थाहा भइहाल्छ ।
अभियोग : ३तपाईं असहिष्णु, तर सम्झौतावादी हुनुहुन्छ । पार्टी विभाजन हुँदा तत्कालीन मालेका महासचिव वामदेव गौतमलाई खुलामञ्चबाट देशकै ठूलो भ्रष्टाचारी घोषणा गर्नुभयो । तर, तिनै वामदेव पछिल्लोपटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुँदा उनकै सल्लाहकार हुन पुग्नुभयो । जब कि तपाईं पटक–पटक मन्त्री भइसक्नुभएको थियो ।
होइन, वामदेवभन्दा अगाडि १ नम्बर भ्रष्टाचारी खुमबहादुर खड्का हुन् भनेको हुँ । बिचरा अहिले त बितिसक्नुभयो । २ नम्बरमा केशव स्थापितलाई भनेको हुँ, उनी अहिले हाम्रै पार्टीमा छन् । ३ नम्बर भ्रष्टाचारी वामदेवलाई भनेको हुँ ।
वामदेवलाई मैले भ्रष्टाचारी घोषणा गरेँ, मैले नै पार्टीमा फर्काएको हुँ । उहाँसँग मेरो व्यक्तिगत रूपमा राम्रो सम्बन्ध छ । त्यही दिन राति पनि मसँग फोनमा कुरा भएको थियो । ‘तपाईंले किन यस्तो गर्नुभयो’ भनेर सोध्नुभयो । मैले ‘पार्टीले निर्णय गरेको हो, अरूले घोषणा गर्ने आँट गरेनन्, मैले गरेँ’ भनिदिएँ ।
मैले लुम्बिनीमा काम गर्दा वामदेवकी श्रीमती तुलसी थापाको घरमा धेरै लामो सेल्टर लिएँ । त्यहीँबाट मैले सञ्जय थापा भन्ने नाम राखेको हुँ । उहाँलाई म दिदी भन्छु । एकपटक फोन गरेर ‘तपाईं र म पनि टाढा हुनुप-यो ? चिया खाने गरी हाम्रो घर आउनुस् न’ भन्नुभयो । म गएँ । वामदेवले ‘मिलाउनुप-यो पार्टी’ भन्नुभयो । भाषा नै त्यही हो उहाँको । ‘किन मिलाउनु मैले ? ठुल्ठूला जंगी नेताहरू छन्’ भनेँ । उहाँ झलनाथसहित अरू नेताहरूकहाँ पनि जानुभएको रहेछ । त्यो पनि सुनाउनुभयो । र, भन्नुभयो ‘म अन्त पनि गएँ, कसैले मिलाउँदैनन्, तपाईंले मिलाउनुप-यो ।’ मैले उहाँलाई भनेँ, ‘मैले मिलाएँ भने तपाईंलाई बर्दियाको तपाईंको निर्वाचन क्षेत्रको गाउँ कमिटीको सचिव मात्रै बनाउने हो । माथि त ल्याउने नै होइन, यत्रो नोक्सान गर्नुभयो ।’ वामदेवले ‘ठीकै छ, म मुनि नै गएर काम गरुँला, तर पार्टी मिलाउनुप-यो’ भन्नुभयो । त्यसपछि म मिलाउनतिर लागेँ । वामदेव काम गर्ने मान्छे । भूमिगत कालमा वामदेव, ईश्वर पोखरेल र म समान हैसियतका मान्छे । संगठन बनाउने ।
नेताहरू सबैसँग वामदेवको कुरा भइसकेको रहेछ । तर, आँट नगर्ने । झलनाथले त ‘प्रदीप नेपालले नमानेसम्म यो हुँदैन, तपाईं आउने उहाँ जाने भएपछि त घाटा भयो नि हामीलाई’ भन्नुभएछ । मैले सबै नेताहरूलाई ‘वामदेव जति जन्ड भए पनि ल्याउनुपर्छ’ भनेँ । सजिलै कुरा मिल्यो ।
तेस्रोपटक गृहमन्त्री हुँदा वामदेवले बैठकमा ‘दुईपल्ट म गृहमन्त्री भएर बदनाम भएँ, तेस्रोपल्ट सुध्रिन चाहन्छु’ भन्नुभयो । पहिलो मान्छे मै हुँ उनलाई बैठकमा समर्थन गर्ने । प्रचण्डको सरकारमा जानु छ । जो पायो त्यहीलाई डसेर खाइदिन्छन् । ‘वामदेव जक्कु हुनुहुन्छ, उहाँलाई पठाइदिऔँ,’ भनेँ मैले । जान पाउनु पनि भयो । त्यसपछि वामदेवले ‘यसपटक म सफल हुन चाहन्छु, तपाईं सघाउनुस्’ भन्नुभयो । त्यसपछि म उहाँको सल्लाहकार हुन राजी भएको हुँ ।
सल्लाहकार भएपछि केही काम छुट्याएर यी काम गर्नुपर्छ भनेर उहाँलाई दिएँ । पासपोर्ट बनाउनेहरूको लामो लाइन देखेर मलाई खिन्न लाग्थ्यो । त्यसलाई सहज बनाउन मैले प्रमाणीकरणको व्यवस्था यहीँ पनि गरौँ भन्ने प्रस्ताव गरेँ । ६७ जिल्लामा त अनलाइन सम्पर्क थियो, बाँकी आठ जिल्लामा मात्रै थिएन । त्यसमा म फेल भएँ ।
अर्को, राष्ट्रिय अनुसन्धानमा बेथिति देखेँ । ९ कक्षा पढेको डिएसपी देखेँ । यस्तो पनि कहीँ हुन्छ ? यसलाई सुधार्नुपर्छ, योग्यताको आधारमा राख्नुपर्छ भनेर वामदेवसँग भने । उहाँ पनि त्यसमा राजी हुनुहुन्थ्यो । तर, उहाँले भनेर मात्रै भएन । आइजिपीलाई पनि बोलाएर तीनजना छलफल ग-यौँ । ‘अयोग्य मान्छेलाई निकालिदिनुस्’ भनेर वामदेवले निर्देशन पनि दिनुभयो । तर, तलकाले मानेनन् । आइजिपीले सकेनन् । ‘के गरेको यो ?’ भनेर सोधेको त ‘के गर्नु हजुर सबै नेताजीहरूले दुई–दुईजना माग्नुभएको छ, तपाईंहरूकै नेताहरूले पनि माग्नुभएको छ ।
मन्त्रीज्यू रिसाएर मात्रै के गर्नु ? हामीले त सबै नेताजीहरूसँग राम्रो सम्बन्ध राख्नुपर्छ’ भन्नुभयो । यो पनि नहुने भयो भन्ने भयो । मेरो तेस्रो प्रस्ताव थियो, गृह मन्त्रालयलाई पुरै कम्प्युटराइज्ड गरौँ । गृह मन्त्रालयमा कागज चाहिँदैन भन्ने बनाऔँ भनेँ । यो प्रस्ताव त झन कसैले मानेनन् । सचिव नै ‘त्यस्तो कहाँ हुन्छ ? कागजविनाको पनि मन्त्रालय हुन्छ ?’ भन्छन् । त्यसपछि मैले वामदेवलाई ‘तपाईंलाई मैले ६ महिना सघाएँ, अब मलाई बिदा दिनुस्’ भनेँ ।
अभियोग : ४ तपाईंमा म मात्रै जान्ने छु भन्ने घमन्ड छ, दम्भ छ । एमाले नेताहरूले माक्र्सवाद पढेकै छैनन्, नेताहरू पढ्दै पढ्दैनन् भनेर सार्वजनिक रूपमै बोल्नुभयो । आफूले जानेको माक्र्सवाद पनि उपयोग गर्नुभएन । अरू नेताहरूलाई सिकाउनुभएन ।
हो, बोलेको छु । लेखेको हुँ । अहिले पनि लेखिरहेको छु । म पढ्छु । पढ्छु भनेपछि म पढ्छु किन नभन्नु ? उहाँहरू पढ्दै पढ्नुहुन्न । अब उहाँहरूलाई पढ्नुहुन्छ भनेर कसरी भन्नु ? उहाँहरूकै अगाडि भन्ने गरेको मैले यो कुरा त । सार्वजनिक रूपमा भन्न केको आपत्ति ?
महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्ष रहेका एकजना विद्यार्थी नेता थिए । पछि, उनी अमेरिका गए । उनले मलाई एउटा सानो पुस्तक पठाइदिए । ३८ पेजको छ । त्यसमा कार्ल माक्र्सले के भनेका छन् भने ‘हामी यहाँ दुईखाले कम्युनिस्ट छौँ । एक, जो ब्यारेकमा मान्छेहरूलाई राख्न चाहन्छन् । समाजवाद नाम गरेको ब्यारेकमा राख्न चाहन्छन्, गोदाममा राख्न चाहन्छन् । उनीहरू समानता पहिले र त्यसपछि स्वतन्त्रता आउँछ भन्छन् ।
हामी(एंगेल्स र म) चाहिँ त्यस्तो होइनौँ । हामी स्वतन्त्रता प्राप्त मान्छेले मात्रै समानताको ग्यारेन्टी गर्न सक्छ भन्ने विश्वास राख्छौँ । त्यसैले तपाईं स्वतन्त्रता रोज्नुहुन्छ कि समानता भन्दा उनीहरू समानता भन्छन्, हामी स्वतन्त्रता भन्छौँ ।’ त्योचाहिँ १८४७ मा लेखिएको निबन्ध रहेछ । त्यसकारण माक्र्सलाई संसारको पहिलो प्रजातन्त्रवादी नेता भन्नुपर्छ हामीले भन्ने मेरो निष्कर्ष । पुँजीवादीहरू अब्राहम लिंकनलाई भन्छन् । जब कि उनी १९६४ का हुन् । २३ वर्षअघि नै कार्ल माक्र्सले त्यसो भनेका रहेछन् ।
त्यो सामग्री मैले स्थायी समितिका सबै नेताहरूलाई पढ्नुस् भनेर दिएँ । पढ्नुपर्छ पनि भनेँ । तर, कसैले पढ्नुभएन । जब कि मेरोभन्दा धरैैको अंग्रेजी राम्रो छ । झलनाथजीको राम्रो छ, माधवजीको राम्रो छ । पढेको भए त उहाँहरूले पनि भन्नुहुन्थ्यो नि ‘हाम्रो पहिलो माग स्वतन्त्रता हो, त्यसपछि समानता’ भनेर । त्यसकारण म पढ्छु । पढ्छु भनेपछि पढ्छु ।
उहाँहरू पढ्दै पढ्नुहुन्न । उहाँहरूले स्टालिनको माक्र्सवाद पढ्नुभयो, त्यसपछि ब्रेक गर्नुभयो । अब पढ्न जरुरी छैन, सबै जानियो भन्नभयो । उहाँहरू र मेरो मत केमा मिल्दैन भने उहाँहरू स्टालिनलाई महान् नेता मान्नुहुन्छ, म स्टालिनलाई हाम्रो गोर्खा सैनिकको नेताजस्तो मात्रै मान्छु । किनभने, हिटलरलाई हराउने रुसी र गोर्खाली सेना मात्रै हुन् ।
त्यसकारण स्टालिन विश्वयुद्धका नायक त हुन्, तर पार्टीभित्रका निरंकुश तानाशाह पनि हुन् । उनलाई नेताका हिसाबमा सम्मान गर्न कुनै जरुरी छैन भन्छु म । तर, उहाँहरू फोटो टाँगेको टाँग्यै हुनुहुन्छ । मचाहिँ माक्र्सबाहेक कसैको फोटो राख्नुहुन्न भन्ने मान्यता राख्छु । अर्को कुरा, उहाँहरू अद्यावधिक पनि हुन चाहुनुहुन्न । जस्तो अहिले इराकमा कम्युनिस्ट पार्टीले किन जित्यो ? मैले सबै नेताहरूलाई सोधेँ । तर, कसैले पनि बताउन सक्नुभएन । चासो नै छैन । मैले एनडी टिभीको अनलाइनमा पढेपछि गुगल गरेँ, विकिपिडियामा खोजेँ । त्यति मिहिनेत त गर्नुप-यो नि । तर, गर्दैनन् । त्यसैले उहाँहरूलाई नै भनेको कुरा बाहिर भन्न मलाई केको अप्ठ्यारो ? यसकारण तपाईंको आरोप म स्विकार्छु ।
अभियोग : ५वेला–वेला धम्की दिएर र घुक्र्याएर पनि पद प्राप्त गर्नतिर लाग्नुहुन्छ । पाँचौँ महाधिवेशनपछि तत्कालीन महासचिव मदन भण्डारीले केन्द्रीय सदस्य नबनाएपछि पत्रकारहरूसँग ‘अब म एमालेको नेतृत्वमा रहिनँ’ भनेर नेताहरूमाथि दबाब बनाउनुुभयो । केन्द्रीय कमिटीमा ल्याएपछि चुप लाग्नुभयो । तर, अचेल घुर्कीले पनि काम गर्न छाडेपछि शिथिल बन्नुभएको छ ।
त्यतिखेर मलाई लेखा आयोगको अध्यक्ष बनाएका थिए । लेखाको अध्यक्ष पनि केन्द्रीय सदस्यसरह हुन्थ्यो । त्यतिखेर मैले ‘अब नेतृत्वमा रहिनँ’ भनेर राससलाई प्रेस नोट नै दिएको हुँ । त्यतिखेर ममाथि जुन खालको व्यवहार गरियो नि, त्यो व्यवहार हेर्दा त्यो मान्छेको मुख हेर्न पनि मन लाग्दैन । कसले त्यस्तो ग-यो भन्ने मैले मान्छे पनि चिनेँ । किन काटियो मेरो नाम भन्ने पनि थाहा पाएँ । भएको के थियो भने धेरै उम्मेदवार भएपछि मिलेर एउटा टिम बनाउनुस् भन्ने हलको आवाज आयो ।
त्यो टिम बनाउँदाखेरि मदन भण्डारीले २७ जनाको नाम तयार गर्नुभयो । नाम घोषणा गर्न त्यो कागज भीम आचार्यको हातमा दिनुभयो । त्यसमा मेरो नाम ८ नम्बरमा थियो । भीम आचार्यको हातबाट केशव स्थापितको हातमा गयो । केशवले माथि बसेर तल सबै उम्मेदवारलाई राखेर त्यो नाम पढ्यो, त्यसमा पनि मेरो नाम ८ नम्बरमा थियो । त्यसपछि ड्यासबाट घोषणा गर्न त्यो कागज राधाकृष्ण मैनालीको हातमा गयो । राधाकृष्णले घोषणा गर्दा त मेरो नाम नै छैन ।
त्यसपछि राधाकृष्णलाई सोध्न पर्खिएँ । आएपछि ‘मेरो नाम किन नपढेको’ भनेर सोधेँ । ‘तपाईंको नाम त काटेको छ यी’ भनेर कागज देखाउनुभयो । अब उहाँलाई गाली गर्ने त कुरो भएन, उहाँ त घोषणा गर्ने मान्छे मात्रै । ‘मेरो नाम काट्ने मान्छे को हो ? त्यो चाहियो । तपाईं, केशव स्थापित र भीम आचार्य को हो ?’ भनेर सोधेँ । उहाँले ‘होइन, यो कागज त मैले माधव नेपालबाट लिएको हुँ, केशवबाट होइन’ भन्नुभयो । ‘त्यसो भए भीम, केशव, तपाईं र माधव नेपाल कसले काट्यो त्यो चाहियो’ भनेँ । कोही देखिँदैनन् काट्नेमा । मैले चाहिँ राधाकृष्णलाई त छाडिदिइहालेँ । किनभने, छक्कापन्जा गर्ने, मान्छेलाई खेलाउने उहाँको कहिल्यै सोच रहेन । पार्टीमा राइट–राइट ट्र्याकको त हो, तर जालसाजी गर्ने मान्छे होइन । अनि, मैले सबैलाई सोधेँ, कोही बोलेनन् ।
त्यो काम सकिएपछि म हिँडे । किन बसूँ त्यहाँ ? अरूले मदन भण्डारीबाट शपथ लिनुभएछ । मदनले राधाकृष्णलाई ‘खोइ प्रदीप’ भनेर सोध्नुभएछ । ‘नाम काटेको थियो, सल्लाहले नै काटेको होला भन्ने ठाने’ भनेर जवाफ दिनुभएछ । राधाकृष्ण जीवितै हुनुहुन्छ । मदन भण्डारीले ‘होइन, प्रदीप नहुँदा त काम गर्न गाह्रो हुन्छ मलाई’ भन्नुभयो अरे । त्यसपछि मलाई बागबजार बोलाइयो । ‘आत्मालोचना गरे केन्द्रीय कमिटीमा राख्ने निर्णय भएको छ, प्रदीप कमरेड बस्नुप-यो’ भन्नुभयो ।
मैले ‘के गल्ती गरेको छु र आत्मालोचना गरूँ ? बरु, म बस्दिनँ । मसँग अरू धेरै अवसर छन्, विकल्प छन्’ भने । मदनले ‘म मिलाएर आत्मालोचना लेख्छु, तपाईं सही गरेर बस्नुस् । किनभने, अहिले मदन भण्डारीलाई तपाईं जस्तो मान्छेको आवश्यकता छ । होइन भने हाम्रो पार्टी सकिन्छ’ भन्नुभयो । त्यसपछि मैले नपढीकनै त्यसमा सही गरेँ । त्यसमा के लेखिएको थियो भन्ने अहिलेसम्म पढेको छैन ।
त्यतिखेर मैले घुर्की लगाएको होइन । ममाथि गरिएको व्यवहारले भित्रैसम्म छोयो क्या । त्यत्रो काम गरेको मान्छे हुँ । म त को–अर्डिनेसन कालदेखिको मान्छे हुँ नि त । मेरो नाम काटेर अहिलेका फाच्चेफुच्चेको नाम राखेको देख्दा किन बस्नु भन्ने दिग्दारी लागेर हिँडेको थिएँ । आउने पनि मेरो इच्छा थिएन । राधाकृष्ण हाम्रो गुरु । उहाँले पनि भन्नुभयो, ‘मदन भण्डारीलाई अहिले तपाईंको आवश्यकता छ, जे गरेर भए पनि छिर्नुस् ।’ त्यसकारण बसेको हुँ । राधाकृष्ण जिउँदै हुनुहुन्छ, सोध्दा हुन्छ ।
अभियोग : ६मौका पर्दा पदीय दुरुपयोग गर्न पनि पछि पर्नुहुन्न । लोभी हुनुहुन्छ । सरकार कामचलाउ भइसकेपछि तपाईं शिक्षा तथा खेलकुदमन्त्रीको हैसियतमा चीनमा सम्पन्न ओलम्पिक प्रतियोगिताको उद्घाटनमा सहभागी हुन खोज्नुभयो । जसका विरुद्ध विमानस्थलमै तपाईंविरुद्ध नाराबाजी भयो ।
दुईवटा विषय जोड्नुभयो । त्यतिखेर हाम्रो सरकार नै कामचलाउ भइसकेको थियो । मभन्दा अगाडि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीकै हैसियतमा सार्कमा भाग लिन जानुभएको थियो । म चीन जाने दिन नै उहाँ फर्किंदै हुनुहुन्थ्यो । रामचन्द्र पौडेल कार्यवाहक प्रधानमन्त्री हुनुहुन्थ्यो । मैले चुप लागेर रामचन्द्र पौडेललाई भेटेँ । यस्तो–यस्तो कार्यक्रम छ भनेर बताएँ । चीन राष्ट्रपति जानुपर्ने हो ।
राष्ट्रपतिले जान सक्दिनँ भन्नुभयो । मेरो नाम पहिलेदेखि त्यहाँ गएको छ । त्यसैले ‘बिदा माग्न आएको हुँ’ भने । उहाँले ‘हुन्छ, जानुस्’ भन्नुभयो । त्यसपछि जाने तयारी गरेँ । खेलाडीहरूको झगडा चलिरहेको थियो । ‘यो झगडामा तपाईं मेन गेटबाट नआउनुस्, आर्मीको गेटबाट पसेर घुमेर आउनुस्’ भने मलाई खेलाडीहरूले । मैले ‘त्यताबाट त जान्नँ’ भने ।
मलाई झलनाथजीले रोक्न खोज्नुभएको हो । ‘कामचलाउ भएर तपाईं किन जान लाग्नुभएको ? पर्दैन चीन जान, तपाईं किन जानुहुन्छ ?’ भन्नुभयो । मैले उहाँलाई ‘कामचलाउ त प्रधानमन्त्री पनि हुन्, उहाँलाई चाहिँ सार्कमा पठाउने । रामशरणलाई पठाउने, सुजातालाई पठाउने, मलाई चाहिँ किन रोक्नुहुन्छ ? म एयरपोर्टतिर जाँदै छु ।
यदि तपाईं चिनियाँ राजदूतलाई हाम्रो देशबाट मन्त्रीको पनि प्रतिनिधित्व हुँदैन भन्नुहुन्छ र उनी ठीक छ भन्छन् भने फर्किन्छु’ भनेँ । ‘त्यो त यो अन्तिम घडीमा कहाँबाट भन्नु’ भन्नुभयो । ‘हो, मलाई पनि त्यही अन्तिम घडीमा जानुपरेको हो’ भनेर चीन लागेँ । मलाई लोभसोभ त केही थिएन । आज गएँ, भोलि उद्घाटन भयो, पर्सिपल्ट त फर्किहालेँ । जबकि त्यहाँ बस्यो भने त तीन सय डलर भत्ता त पाउँथेँ नि । यो कुरा सबैलाई थाहा छ, पैसा भन्ने चिजसँग मेरो कहिल्यै पनि मोह रहेन । अब त झन् रहेन ।
त्यही केसमा मलाई स्थायी कमिटीमा कारबाही गर्ने कुरा गरेका थिए, तर पछि भएन । त्यतिसम्म पेलियो मलाई । चीनबाट फर्केपछि झलनाथजी भेट्न गएँ सरासर । ‘मलाई कारबाही गर्ने, गिरिजाप्रसाद कोइराला कामचलाउ सरकारको प्रधानमन्त्री भए पनि सार्क सम्मेलनमा भाग लिन जाने सहमति भन्नेमा त तपाईंको हस्ताक्षर छ । हामीले तपाईंलाई किन कारबाही नगर्ने ? मलाई जवाफ दिनुस्’ भनेर भनेँ । म त अरूजस्तो ‘कमरेड गल्ती भयो’ भनेर त भन्दिनँ ।
अभियोग : ७नैतिकताको कुरा गर्नुहुन्छ । तर, स्वास्थ्योपचार गर्न पार्टीले आफूलाई सांसद बनाउनुपथ्र्यो भनेर पनि सार्वजनिक रूपमा बोल्नुभयो । र, राजनीति भनेको आर्थिक आम्दानीको स्रोत पनि हो भनेर प्रमोसन गर्नुभयो ।
अब त्यस्तो बुझिन्छ भने त ‘सरी’ । मैले केही कुरा कहिल्यै लुकाएको छैन, लुकाए पनि पछि खुलिहाल्छ । मलाई ट्युमरको समस्या छ । यो त सबैलाई थाहा छ । यो ०७४ सालभरि नै म बिरामी भएँ । मैले केपी ओली र माधव नेपाललाई भनेको हुँ । ‘मसित पैसा छैन कमरेड । संसद्मा गए भने ऋण पाउन पनि सकिन्छ, ऋण तिर्ने आधार पनि हुन्छ । सरकारले टिकट पनि काटिदिन्छ । म उपचार गर्न थाइल्यान्ड जान्छु । यसकारण मलाई सांसद बनाइदिनुस्’ भनेकै हुँ । बनाउनुभएन, सिद्धिहाल्यो । समानुपातिकमा राखौँला भनेका थिए, पछि नाम काटिदिए । त्यसपछि त हो वामदेवले मलाई ‘मेरो गुटमा भएको भए जसरी पनि राखिहाल्थेँ, मेरो गुटमा बस्नुभएन । अब कसैले पनि तपाईंलाई मान्दैनन्’ भनेको ।
अभियोग : ८एक जमानामा तपाईं र ईश्वर पोखरेलको चर्चित जोडी थियो । निकै मिल्ने साथीका रूपमा हेरिन्थ्यो । तर, अवसरका लागि अति मिल्ने सहकर्मीसँगै आठौँ महाधिवेशनमा महासचिवमा भिड्नुभयो । र, मित्रता नै खलबलियो ।
तिक्तता त थपिहाल्यो नि । तीन महिनाअघिदेखि म र भरतमोहन महाधिवेशन तयारीमा त्यहाँ गएका थियौँ । जानुभन्दाअघि नै स्थायी कमिटीमा मैले ‘यसपालि मेरो अन्तिम हो, मलाई महासचिवमा साथ दिनुस्, अर्कोपटक म महासचिव मात्र होइन, केन्द्रीय कमिटी नै छोड्छु । सल्लाहकारमा जान्छु’ भनेँ । सबैले बधाई दिनुभयो, ईश्वरले पनि हात मिलाएर बधाई दिनुभयो ।
नोमिनेसन गर्ने वेलामा थाहा पाएँ, ईश्वर पनि छन् । मेरो फेरि ठाडै जवाफ हुन्छ । त्यहीँ भनेँ, ‘म उठ्छु भनेको भए, म उठ्दै उठ्दिनथेँ नि । तपाईंंले अहिले आएर किन भाँजो हाल्नुभएको ?’ उहाँले ‘तपाईंं उपाध्यक्ष हुनुस्’ भन्नुभयो । ‘म किन हुने ? तीन महिनादेखि कराएर सबैतिर प्रचार गर्दै हिँडेको छु । जित्न त तपाईंं जित्नुस्, म हार्छु । किनभने, म गुटबन्दीमा लाग्दिनँ । तपाईंंलाई अहिले केपीले पनि च्यापे, झलनाथले पनि च्यापे । दुवैजनाको साझा क्यान्डिडेट हुनुहुन्छ, तपाईंंले जित्नुहुन्छ’ भनेँ । तर, त्यतिवेलै सिद्धियो हाम्रो तिक्तता ।
अहिले पनि केही–केही कुरामा हाम्रा विमति छन् । पहिले पनि हाम्रो संगठनात्मक क्षमताका कारण सबैले हामीलाई एक ठाउँ राखेका हुन् । त्यसबाहेक उहाँ र मचाहिँ एउटै मावली गाउँका भानिज हौँ । त्यो खालको आत्मीयता कहिले टुट्दा पनि टुटेन, त्यतिखेर पनि मैले भनेर पनि टुटेको थिएन मेरोमा चाहिँ । उहाँको पनि थिएन, हाँस्नुभएको थियो । ‘साथीहरूले दुइटैलाई उठ भन्नुभयो, त्यसैले मचाहिँ उठ्या हो’ भन्नुभएको थियो । हामीबीच पारिवारिक खालको जे थियो, त्यो अहिले पनि छ ।
अभियोग : ९आफ्नो स्वार्थपूर्तिका लागि गलत व्यक्तिलाई पनि संरक्षण गर्नुहुन्छ । साझा प्रकाशनको सञ्चालक समितिमा हुँदा आर्थिक दुरुपयोगको आरोप लागेका महाप्रबन्धकलाई संरक्षण गर्नुभयो ।
आरोपित त कहीँबाट प्रमाणित हुनुप-यो नि । उनीसँग मेरो चिनजान भएको ०६५ सालमा हो । त्यतिखेर उनले ‘तपाईंंका किताब रिप्रिन्ट गर्छु । नयाँ किताबलाई १६ प्रतिशत र पुरानालाई १३ प्रतिशत रोयल्टी दिन्छु’ भने । एउटा लेखकले सबै जिम्मा लिइदिने प्रकाशक भएकोमा गइहाल्छ । पछि, तिनी साझा जाने भने । मैले ‘साझा नजानुस्, तपाईंंको आफ्नो सबै कारोबार चौपट हुन्छ’ भनेँ । पछि, दीनानाथ शर्मालाई लिएर आए । ‘भाइ हो, सघाउ कमरेड’ भन्नुभयो उहाँले । उहाँको नाता पनि रहेछ । त्यसपछि एकजना बराल सर हुनुहुन्थ्यो, उहाँ आउनुभो ।
‘हामी मिलेर सघाऔँ, साझा उठ्छ’ भन्नुभयो । मैले ‘साझाचाहिँ उठ्दैन, तर यो भाइचाहिँ म छोड्न सक्दिनँ । यो हतास भयो भने यसको सबै चौपट हुन्छ । ६–७ करोडको उसको कारोबार छ, बचाऔँ’ भनेँ । त्यसपछि तीनजनाचाहिँ त्यत्तिका लागि लागेको हो । अब त्यो गलत हो कि सही हो ? न अख्तियारले सोधेको छ, न कसैले सोधेको छ । सबै कुरामा उसले क्लिनचिट पाएको छ । त्यो मान्छे कस्तो हो भने म्यानेजरियल ढंग नभएको, तर अत्यन्तै उत्साही ।
अभियोग : १०खरो बोल्नुहुन्छ । जसका कारण वेला–वेलामा विवादमा आउनुका साथै राजनीतिक हानि पनि व्यहोर्नुहुन्छ । स्थानीय निर्वाचनताका ‘केपी ओली र झलनाथ खनाल मेरा नेता होइनन्, समकक्षी हुन्, नेता त मदन भण्डारी हुन्’ भनेर अन्तर्वार्ता दिनुभयो । त्यही भएर पछिल्लो संसदीय निर्वाचनमा टिकटसमेत पाउनुभएन ।
हो, म देखेको कुरा सीधा–सीधा भन्छु । तपार्इंले भनेको कुरा पनि मैले भनेकै हो । अब केपी र झलनाथ समकक्षी नै हुन् त कसरी नेता भनूँ ? म नेता मदन भण्डारीलाई नै मान्छु । त्यही कुरा मैले भनेको हो । त्यतिवेला केपीले फोन गरेर ‘किन यस्तो बोलेको’ भनेर सोध्नुभयो । मैले ‘साँचो कुरा त्यही हो त, किन नबोल्ने ?’ भनेर जवाफ दिएँ । उहाँले ‘हामीलाई अप्ठ्यारो हुन्छ’ भन्नुभयो । बरु, उहाँहरूभन्दा माधव नेपाललाई केही कुरामा मान्छु । उहाँ अहिलेका नेताहरूमध्ये दलहरूको बैठकमा समन्वय गर्ने स्वभावका र निष्कलंकित हुन् । संगठन गर्ने कुरामा माधव पनि त्यति होइनन् ।
अभियोग : ११तपाईंले भनेजस्तै मेरो यो स्वभावका कारण वेला–वेला हानि पनि व्यहोरेको छु । पछिल्लो चुनावका वेला त वामदेवले ‘मेरो गुटमा भएको भए जसरी पनि सांसद बनाउँथेँ, मेरो गुटमा लाग्नुभएन’ भनेर भन्नुभयो । यस्ता घटना त कति छन् कति ?
तपाईंमा परिवारवाद पनि हाबी छ । शिक्षामन्त्री हुँदा भाइ र भान्जालाई आफ्नो सचिवालयमा राख्नुभयो । उनीहरूले एमालेनिकट शिक्षकलाई नै दुःख दिएको गुनासो धेरै आयो । शिक्षकहरू रुष्ट बने । पहिलो संविधानसभा निर्वाचनमा पराजित हुनुमा त्यो पनि एक कारण बन्यो ।
एउटा सत्य हो । परिवारकै सदस्य स्वकीय सचिवालयमा थिए । स्वकीय सचिवालयमा नर्मल्ली परिवारकै मान्छे राख्छन् । हाम्रोचाहिँ सिस्टम कमिटीले पठाउनुपर्ने हो । मेरो भाइलाई पेसागत कमिटीले पठाइदियो । इलाका कमिटीले मेरो भान्जालाई पठाइदियो । मलाई पनि परिवारकै मान्छे भए सजिलो हुन्छ भन्ने लाग्यो । शिक्षकहरू रिसाएको कारण अर्कै छ, योसँग सरोकार नै गर्दैन । मलाई विश्व बैंकको नेपाल कन्ट्री डाइरेक्टरले भेट्न चाहे । अनि मैले भेटेँ ।
उनले मसित के प्रस्ताव राखे भने ‘तैँले म्यानेजमेन्टचाहिँ पब्लिकलाई दिइस् भने म तँलाई ६० मिलियन डलर दिन्छु र जुन–जुन स्कुल त्यो म्यानेजमेन्टमा छन्, पब्लिक म्यानेजमेन्टमा जान्छन्, तिनीहरूलाई दुई–दुई कोठा बनाइदिन्छु । यो प्रस्ताव उनले त्यसअघिका मन्त्रीसँग पनि राखेका रहेछन् । आमोदले त स्वीकार पनि गरेका रहेछन् । मैले सचिवहरूसँग कुरो त गर्नुप-यो, यस्तो–यस्तो प्रस्ताव छ भनेर । हामीजस्तो गरिब देशलाई न सरकारले पूरा हुने गरी बजेट दिन्छ । बैंकले सित्तै त पैसा दिँदैन नि, त्यो पनि सबैलाई थाहा छ । मेरोविरुद्धमा पार्टीमा मुद्दा चल्यो । विश्व बैंकको पछाडि लाग्यो यो, योचाहिँ खतरा हो ।
संगठित सदस्यसमेत भएका साथीहरूले मुद्दा हाले । मुद्दा हालेपछि मलाई कठघरामा उभ्याइयो । तर, फेबर गर्ने कारणचाहिँ धेरैको हुँदो रहेछ । पुरुषोत्तम पौडेलले तीनवटा बोर्डिङ नै हटाइदिनुभएछ । आमोदजीको पालामा यो सुरु भएको, बीचमा रोकियो । मैले फेरि सुरु गरेँ । सुरु गर्दाखेरि ती स्कुलमा पुगेँ, जो आमोदजीको पालामा पब्लिक म्यानेजमेन्टमा गएका थिए । पढाइ पनि राम्रो भएको छ, विद्यार्थीको हाजिरी पनि राम्रो छ । शिक्षक पनि नियमित आउँछन् । यी सब कुराबाट म प्रभावित भएँ । तर, सिद्धान्तको नाममा मसँगै काम गर्ने मान्छेले यो पुँजीवादी शिक्षा प्रणाली आयो र प्रदीप नेपालले ग-यो भनेपछि पार्टीको बैठक बस्यो । बैठकमा त्यसको पक्षमा बोल्ने म र पुरुषोत्तम अर्याल । उहाँले ‘जे–जे प्रणाली भए पनि यसमा बच्चा पनि राम्रो पढ्छन्, अभिभावकको चासो पनि हुन्छ । स्कुल पनि चल्छ । त्यसैले उहाँले जे गर्नुभयो, ठीक गर्नुभयो’ भन्नुभयो । अरू सिंगै केन्द्रीय समिति विरोधमा गयो । तर, मैले अटेर गरेर चलाएँ ।
अभियोग : १२गरिब र निमुखाका लागि क्रान्ति गर्ने भन्नुहुन्छ । तर, आफैँ सुविधाभोगी हुनुहुन्छ । काठमाडौंमा चाँडो घर बनाउने नेतामध्ये पर्नुहुन्छ । मोबाइल भित्रिँदा एक नम्बरमै बोक्नुभयो । जसको पार्टीभित्रै आलोचनासमेत भयो ।
एउटा कुरा दुनियाँलाई थाहा छ, पार्टीमा पनि थाहा छ, श्रीमतीको एउटा प्राइभेट स्कुल थियो, त्यो ०४१ सालमा स्थापना भएको थियो । मेरो पारिवारिक आर्थिक पृष्ठभूमिमा चाहिँ सबै श्रीमतीको हात छ । मलाई अहिले पनि घर कसरी बन्ने थाहा छैन । पत्याउँदैनन् कसैले । अहिले जुन घर बन्यो, त्यस्तो घर बनेपछि घरै बनाउनु हुँदैन भन्ने मान्यता राख्छु म । त्यसको बोझ, कति टन सिमेन्ट, कति टन छड । छड र सिमेन्टको वजन हेर्दाखेरि त धर्तीमा यो गर्नै नहुने काम भन्ठान्छु । आर्थिक पाटो मसँग कहिले पनि जोडिएन । हिजो पनि उनैको(पत्नी) हो, अहिले पनि उनैको हो । बाँचुन्जेल भोलि पनि उनैको हुने हो ।
मोबाइल बोकेकामा त मलाई गर्व लाग्छ । म पहिलोपटक सञ्चारमन्त्री हुँदा ०५१ मंसिरमा मन्त्रालयमा लबिङ गर्नेहरूको पूरै माछा बजार छ । ‘के हो यो’ त टेलिफोनको तोक लाउने लाइन भन्छन् । त्यतिखेर मैले राम्रो निजी सचिव पाएको थिएँ, महेन्द्र उपाध्याय भन्ने । अहिले सायद सर्वोच्चतिर कता हुनुहुन्छ ? उहाँले एउटा राम्रो सुझाब दिनुभयो, ‘हजुरले तोकचाहिँ लाउने नगर्नुस्, हामी बाहिर नोटिस टाँस्छौँ । मन्त्रालयमा एउटा पनि तोक लाग्दैन । तोकको लागि दूरसञ्चार संस्थानका कार्यालयहरूमा जानुस् भनेर हामी काम गथ्र्यौं । हजुरले एकजना पनि इन्टरटेन गर्नुभएन ।’ मलाई पनि राम्रो सल्लाह लाग्यो । त्यहीअनुसार काम गरेँ ।
विजय गच्छदारको पालामा तीन सय टेलिफोन बेचियो भनेर आरोप लगाउँछन् । यो समस्या समाधान गर्न योजना बनाआैँ भनेर मैले दूरसञ्चार संस्थानका १३ जना इन्जिनियरलाई बोलाएर कुरा राखेँ । उनीहरूले भने, ‘मन्त्रीज्यू, धेरै विकसित मुलुकमा मोबाइल फोन भन्ने हुन्छ । त्यो ल्याइयो भने फोनको कुनै टेन्सन हुँदैन ।’ मलाई त्यसबारे केही थाहा थिएन, जनरल म्यानेजरलाई पनि थाहा थिएन । मोबाइल ल्याउने त्यत्ति एजेन्डा बोकेर म मदन भट्टराई भन्ने परराष्ट्रको सहसचिव हुनुहुन्थ्यो, उहाँलाई लिएर चीन गएँ । हामीले त्यहाँको सञ्चारमन्त्रीसँग ‘यो समस्या भएर आएको, हामीलाई चीनले सहयोग गर्नुप-यो’ भन्यौँ । ‘हुन्छ, हामी गरिहाल्छौँ नि’ भन्नुभयो । हामी ५० हजार सेट माग्न आएको भन्यौँ ।
‘तपाईंहरू सांघाई जानुस्, तोधोङमा कारखाना नै छ, त्यहाँ कुरा गर्नुस् । एक मिलियनभन्दा कम सेट हो भने हामी तपाईंहरूलाई उपहार दिन्छौँ’ भनेर मन्त्रीले भने । हामी कारखाना नै पुग्यौँ । ‘कति उत्पादन हुन्छ’ भनेर सोधेको त ‘पर डे नौ मिलियन हुन्छ’ भने । अनि मदनजीले ‘एक लाख त मागौँ न’ भन्नुभयो । उहाँकै सल्लाहअनुसार एक लाख माग्यौँ ।
फर्केर आउँदा हामी हङकङमा हुँदाखेरि नै मेरो मन्त्री पद गयो । तर, पछि हामीले भनेको आएन, इजरायलको नोडेल कम्पनीको मोबाइल आयो । दूरसञ्चारकै त्यही भाइले ‘हजुर मोबाइल आयो, २० वटा बाँडियो, २१ नम्बरमा हजुरलाई राखियो, पैसा चाहियो’ भन्यो । पहिलो पब्लिक मोबाइल मेरै हो । त्योचाहिँ मैले बुझेरै चलाएको हो । लोभलालचभन्दा पनि म अलिकति टेक्नोलोजीमा रमाउने मान्छे हो । हाम्रो पार्टीमा सबैभन्दा पहिला कम्प्युटर चलाउने मान्छे पनि म नै हो । यो मोबाइल त म जसरी पनि लिन्थेँ नै ।
त्यसको पार्टीभित्रै पनि धेरै आलोचना भयो । सबैभन्दा धेरै बिबिसीले आलोचना ग-यो । अन्तर्वार्ता लिन आउँछु भनेर रवीन्द्र मिश्रले ‘कम्युनिस्ट पार्टीको नेताको हातमा मोबाइल’ भनेर सोधे । मैले ‘तपाईंलाई मोबाइल किन चाहियो ? तपाईंभन्दा हाम्रो पार्टीको सम्पर्क दशगुणा बढी छ’ भनेँ । माधव नेपाललाई अझ धेरै -याख-याख्ती पारेछन् । यसमा त म गर्व गर्छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: