Khabar Dabali Logo
  February 26, Fri

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन आवातजावत गर्दा माटो सडकमा छरिन्छन् । निर्माण सामग्री बोकेका टिपर, ट्याक्टरबाट पनि सडकमा बालुवा, गिट्टी झर्छन् ।

आजको नागरिक दैनिकमा खबर छ – आर्थिक वर्ष २०७६–०७७ मा काठमाडौं उपत्यकामा भित्रिने सवारी धोएर मात्रै छिराउने भन्दै क्लिनिङ सेन्टर स्थापना गर्ने घोषणा गरिएको थियो । तर, डेढ वर्ष बितिसक्दा पनि सरकारले यसको तयारी थालेको छैन ।

काठमाडौं भित्रिने सवारीले चक्कासहित विभिन्न भागमा धुलो, माटो लिएर आउँछन् । त्यसलाई नियन्त्रण गर्न गाडी सफाइ केन्द्र खोल्न लागिएको हो । सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा सवारी–साधन धोएर मात्रै राजधानी प्रवेश गर्न दिने योजना बनाएको हो । क्लिनिङ सेन्टर खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले बताए ।

मन्त्रालय भने यस्तो केन्द्र सञ्चालनमा ल्याउने विषय जटिल भएको र पूर्वतयारीमा समय लिनुपर्ने बताउँछ । मन्त्रालयका प्रवक्ता सहसचिव सरोजकुमार प्रधानका अनुसार क्लिनिङ सेन्टरका लागि विभिन्न प्राविधिक विषय टुंगिनुपर्ने छ ।

उनले भने, ‘यसको लागि जग्गाको आवश्यकता पर्छ । राजधानीमा यस्तोखालको जग्गा पाउन गाह्रो छ । पानी कन्ट्रोल गर्न पनि उत्तिकै गाह्रो हुन्छ । क्लिनिङ सेन्टर सञ्चालनमा यस्ता किसिमका अनेक चुनौती रहेका छन् । नाकामै सवारी धुने व्यवस्था मिलाउन प्रभावकारी हुँदैन । भए पनि छिटो–छरितो रुपमा सवारी सफा नगरे सवारी जाम हुने समस्या निम्तिन्छ । लामो समय सवारी नाकामै रोकिनुपर्ने हुन्छ ।’

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ यसबारे महानगरमा पनि छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘उपत्यकामा छिर्ने मुख्य नाकामा अत्यधिक मात्रामा पानी चाहिन्छ । उक्त नाकामा पानीको स्रोत भेट्टाउन गाह्रो छ । पानीको स्रोत भेटिएपछि क्लिनिङ सेन्टर स्थापना गरिनेछ । धुलोधुवाँको विषयमा बु्रमरले दैनिक हजार टनको हाराहारीमा धुलो उठाइरहेको छ ।’

सडकबाट माटो नउठाएसम्म क्लिनिङ सेन्टर स्थापना गर्न हुँदैन
क्लिनिङ सेन्टर स्थापनाको विषयमा पूर्वाधारविद् आपत्ति जनाउँछन् । सडक विस्तार गर्ने नाउँमा खनिएका सडकमा हप्तौँ दिनसम्म माटो थुपारिएर राखिन्छ । बालुवा, गिट्टी पनि सडकमै हुन्छन् । पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य सडकको मर्मत–सम्भार नगरी क्लिनिङ सेन्टर मात्रै बनाएर नहुने बताउँछन् । ‘यही उपायले मात्रै सडक सफा हुने हो र ?,’ उनको प्रश्न छ । सडक मर्मतको काम सकाएर सबै ठाउँ बनिसकेपछि मात्रै धुलो हटाउन सकिने उनको भनाइ छ ।

‘विदेशमा सार्वजनिक निर्माणको काम गर्दा निस्किएको माटो वा फोहोरहरु जनताले देख्नुभन्दा पहिल्यै व्यवस्थापन गर्ने चलन छ । अहिले राजधानीका अधिकांश ठाउँमा केबल भूमिगत गर्न तीन हप्ताअघि खनेर निकालिएको माटोका थुप्रोहरु सडकमा यात्रुलाई अवरोध हुने गरी राखिएका छन् । ती माटाका थुप्रा नउठाएर नाकामा सवारी धोएर मात्रै सडक सफा हुने हो र ?,’ उनले भने, ‘सडकमा जथाभावी खाल्डा पर्न दिने र लामो समय फुटेका ढल व्यवस्थापन गरिँदैन । समस्या नहटाउने र वर्षायाममा भलको निकास नबनाई बस्ने हो भने गाडी धोएर सहर सफा हुनेवाला छैन ।’

ट्राफिक इन्जिनियर आशिष गजुरेलका अनुसार उद्योगधन्दा, कलकारखानाबाट धेरै प्रदूषण हुन्छ । उनले भने, ‘यसलाई नियन्त्रण गरी विस्तृत वैज्ञानिक नीति अवलम्बन गरिनुपर्छ । बु्रमरबाट पनि निरन्तर रुपमा सडक सफा गरिनुपर्छ । विभिन्न रुपमा सडक खनिएका छन् ।

मेलम्ची खानेपानी विस्तार, ढल निकास, केबल भूमिगत गर्न भन्दै सडक खन्दै बाटामा माटाका थुप्रा राखिएका छन् । पहिला सडकमा थुपारिएका माटाका थुप्रा उठ्नुपर्छ । धुलोधुवाँ र सडक मर्मत गर्नुपर्छ । अनि मात्रै बाहिरको सोच्नुपर्छ । नाकामा धोएका गाडी रिङरोडसम्म आउँदा पुरानै अवस्थामा आउँछन् । सडकमा रहेका सम्पूर्ण खाल्टाखुल्टी पुरेर मात्रै गाडी धुने अत्याधुनिक क्लिनिङ सेन्टर स्थापना गर्नु उपयुक्त हुन्छ ।’

सरकारले बनाइसक्यो मापदण्ड
मन्त्रालयले क्लिनिङ सेन्टरको मापदण्ड जारी गरिसकेको छ । वातावरणीय प्रदूषण न्यून गर्न भन्दै मन्त्रालयले ल्याएको मापदण्डमा क्लिनिङ सेन्टर स्थापना तथा सञ्चालनका विभिन्न नियम र व्यवस्थाहरु गरिएको छ । सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारी योजना छ । एम्बुलेन्स, शववाहन, वारुणयन्त्र र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई भने यसमा छुट छ ।

मापदण्डमा क्लिनिङ सेन्टरलाई तीन वर्गमा वर्गीकरण गरिएको । ‘क’ वर्गका सेन्टरले दिनमा ५०० वा सोेभन्दा बढी सवारी–साधन धुनुपर्ने छ । ‘ख’ वर्गका सेन्टरले दिनमा १०० देखि ५०० गाडी धोइपखाली गर्नुपर्ने छ भने ‘ग’ वर्गकाले दैनिक १०० वटासम्म धुनुपर्ने व्यवस्था मिलाइएको छ । क्लिनिङ सेन्टर खोल्न चाहनेले क्षमताअनुसार अनुमतिपत्र लिनसक्ने व्यवस्था छ ।

‘क’ वर्गको सेन्टरको अनुमतिपत्र यातायात व्यवस्था विभाग, ‘ख’ वर्गको प्रदेश सरकारअन्तर्गत तोकिएको निकायमा लिनसक्ने व्यवस्था मिलाइएको छ । ‘ग’ वर्गको केन्द्रले सम्बन्धित स्थानीय तहबाट अनुमतिपत्र लिन पाउने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सञ्चालन हुने सेन्टरले भने विभागबाटै अनुमति लिनुपर्ने व्यवस्था मापदण्डमा छ ।

अनुमतिपत्र दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । मापदण्डमा विभिन्न सर्त पनि छन् । राष्ट्रिय राजमार्गमा खोलिने केन्द्र पानीको स्रोतबाट न्यूनतम १०० मिटर र आवासीय क्षेत्र, अस्पताल वा विद्यालयबाट कम्तीमा १०० मिटर टाढा हुनुपर्छ । काठमाडौंका नाकाबाट बढीमा पाँच किलोमिटर र सडकसँगै जोडिएको वा १०० मिटरको दूरीभित्र हुनुपर्छ । वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर पास गरेको पनि हुनुपर्छ । पार्किङसहित क्लिनिङ सेन्टर सुविधाका लागि पर्याप्त क्षेत्र चाहिने भनिएको छ ।

दैनिक एक लाख लिटरभन्दा कम पानी खपत गर्ने सेन्टरले सवारी धोएको पानी निर्मलीकरण गरेर मात्र स्रोतमा मिसाउन सक्ने व्यवस्था गरिएको छ । त्योभन्दा बढी खपत गर्नेले निर्मलीकरण गरेर पुनः प्रयोगको व्यवस्था गर्नुपर्छ । यस्ता सेन्टरले ठूला सवारी अधिकतम पाँच मिनेट, मझौला सवारी तीन मिनेट र दुईपांग्रे सवारी ९० सेकेन्डभित्र धोइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

माघ ११ गते, २०७७ - ०७:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीमा ठगी : म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो

काठमाडौंं। बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ...   
विद्युतीय चुरोट  स्वास्थ्यकाे लागि  हानिकारक

विद्युतीय चुरोट स्वास्थ्यकाे लागि हानिकारक

काठमाडौं । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको...   

आठवटा खोप भण्डार गृह स्थापना सुरू

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस...   

रेल सञ्चालनमा अझै अनिश्चितता बढ्याे

काठमाडौं । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा...   

नेकपा विवाद टुंगो नलागेसम्म कांग्रेस कतै नलाग्ने

काठमाडौंं । गोरखाको पालुङटारमा तीन वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी...   
निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह

निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा...   
छोरीको दरबन्दीमा बाबु जागिरे

छोरीको दरबन्दीमा बाबु जागिरे

पर्सा । पर्साको ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा...   

के छ ओलीको अबको रणनीति ?

काठमाडौं। नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति...   

सरकारमा जाने लाइनमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ ।...   

सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति

काठमाडौं । सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top