Khabar Dabali Logo
  October 28, Wed

जेलमा ज्यादती : ३५० को क्षमताको कारागारमा १,१४१ कैदीबन्दी, सात जनामा संक्रमण, दुई सयमा लक्षण, तर परीक्षण १७ जनाको मात्रै

झापा। देशभरका कारागारको क्षमता १६ हजार कैदीबन्दी अटाउने हो, तर अहिले कोचाकोच गरेर २४ हजार सात सय ७३ जना राखिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भिडका कारण कतिपय कारागारमा कैदीबन्दीले सुत्नसमेत पालो कुर्नुपर्छ । सामान्य अवस्थामा त उनीहरू जसोतसो बसेकै थिए, तर कारागारभित्रै कोरोना संक्रमण देखिएपछि भने त्रास बढेको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार अहिलेसम्म १५ कारागारका सात सय ५३ कैदीबन्दीमा संक्रमण देखिइसकेको छ । आठजनाले त ज्यान नै गुमाइसकेका छन् । संक्रमितमध्ये एक सय ८४ जना भने निको भएका छन् । नियन्त्रण र रोकथामका लागि राज्यले चासो नदिँदा कारागारहरू संक्रमणको ‘हटस्पट’ बन्दै छन् ।

किनभने संक्रमण देखिएका कारागारका सबै कैदीबन्दीको समेत परीक्षण गरिएको छैन । धेरै कारागारमा कैदीबन्दीलाई मास्क, स्यानिटाइजर, साबुनलगायतका सुरक्षा सामग्री पनि दिइएको छैन । ठेलमठेलमा बसिरहेका उनीहरूले भौतिक दूरी कायम गरेर संक्रमणबाट जोगिने कुरा कल्पना मात्रै हुन्छ ।

भद्रपुरलगायत केही कारागारका कैदीबन्दीमा ज्वरो, रुघाखोकी, टाउको दुख्नेलगायत लक्षण देखिँदा पनि कोरोना परीक्षण गरिएको छैन । संक्रमण हुने डरभन्दा पनि उपचार नै नपाएर मरिन्छ कि भन्ने त्रास अझ धेरै छ उनीहरूमा ।

आफूहरूको स्वास्थ्यप्रति राज्यले चासो नै नदिएको उनीहरूको आरोप छ । ‘सबै नागरिकलाई बाँच्न पाउने हक हुन्छ । स्वास्थ्य त संविधानको मौलिक हकमै छ होइन र ?’ भद्रपुर कारागारका कैदी युवराज गिरीले भने, ‘कोरोनाले हामी कैदीबन्दी मर्ने भयौँ, हाम्रो जीवन रक्षा गरिदेऊ सरकार !’

गिरीका अनुसार कारागारका सात कैदीबन्दीमा संक्रमण देखिएपछि दुई सयजनालाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने समस्या देखिएको छ । तर, कारागार प्रशासनले अहिलेसम्म १७ जनाको मात्रै पिसिआर परीक्षण गराएको छ । अहिले सबै संक्रमित निको भइसकेका छन् ।

सबैभन्दा भद्रगोल त सिराहा कारागारको अवस्था छ । पाँच सय ८७ कैन्दीबन्दीमध्ये पाँच सय १८ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये ३२ जना निको भइसकेका छन् । सबै संक्रमितलाई कारागारभित्रै राखिएको छ । बरु, संक्रमण नभएकालाई भने आइसोलेसनमा राखिएको छ ।

तीन हजारभन्दा धेरै कैदीबन्दी रहेको काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा पनि करिब पाँच सयको मात्र परीक्षण भएको छ । गत महिना एकैपटक धेरैमा रुघाखोकी तथा ज्वरोको समस्या देखिएपछि केहीको मात्र परीक्षण गरिएको थियो ।

कारागारहरूमा संक्रमण बढ्न थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले ‘दु्रत अनुगमन’ थालेको छ । धेरै कारागारमा पूर्वतयारी नभएकाले संक्रमण फैलने जोखिम उच्च रहेको आयोगका सदस्य सुदीप पाठकले बताए । ‘परेपछि गरौँला भनेर धेरै कारागारमा केही पनि तयारी नगरेको पाइयो,’ अनुगमनकै क्रममा जिल्लामा रहेका पाठकले भने, ‘कुनै विशेष व्यवस्था नभएकाले सबै जेलहरूमा उच्च जोखिम देखियो ।’

पाठक नेतृत्वको टोलीले इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, रौतहट, पर्सा, रुपन्देही, बाँके, कैलाली, सुर्खेत, कञ्चनपुर र जुम्ला गरी १३ कारागारको अनुगमन गरिसकेको छ । धेरै कारागारमा आइसोलेसन तथा क्वारेन्टिन नबनाएको, स्वास्थ्य मापदण्ड लागू नगरिएको तथा भवनहरू समेत जीणर् रहेको आयोगले जनाएको छ । त्यस्तै, निर्देशक यज्ञ अधिकारीको टोलीले मकवानपुर, धादिङ र चितवनका कारागारमा अनुगमन सकेको छ ।

हालसम्म अनुगमन गरिएका कारागारमध्ये इलाम, झापा, मोरङ पर्सा र रुपन्देहीका कारागारमा मात्र आइसोलेसनको व्यवस्था गरिएको पाठकले बताए । ‘सबैभन्दा भयाभह अवस्था सिराहा कारागारमा पाइयो,’ पाठकले भने, ‘त्यहाँ रहेका पाँच सय ८७ कैदीबन्दीमध्ये पाँच सय १८ जना संक्रमित छन् । डरलाग्दो कुरा सबै संक्रमित कारागारभित्रै छन्, संक्रमण नभएकाहरूलाई चाहिँ आइसोलेसनमा राखेको पाइयो ।’

कारागार व्यवस्थापन विभागका महानिर्देशक पोखरेलले भने सबैजसो कारागारमा पूर्वतयारीको काम भइरहेको दाबी गरे । ‘केन्द्रीय कारागारमा मात्र दुई सय ६० क्षमताको आइसोलेसन निर्माण भएको छ,’ उनले भने, ‘अन्य कारागारहरूमा पनि पूर्वतयारीको काम भइरहेको छ ।’

अहिलेसम्म पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौंको नख्खु कारागार, केन्द्रीय कारागार, डिल्लीबजार कारागार, स्याङजा, बाँके र जुम्ला कारागारमा संक्रमण देखिएको छ । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार हाल देशभरी ७४ कारागार छन्, जसमध्ये ७१ वटामा कैदीबन्दी राखिएका छन् । सर्लाही, मुगु र हुम्लामा कारागार निर्माणकै क्रममा रहेकाले कैदी राखिएको छैन ।

३५० को क्षमता भएको भद्रपुर कारागारमा ११४१ कैदीबन्दी, सातजनामा संक्रमण देखियो, करिब दुई सयमा लक्षण, तर परीक्षण १७ जनाको मात्रै

तीन सय ५० जनाको क्षमता भएको झापा भद्रपुरस्थित कारागारमा एक हजार एक सय ४१ कैदीबन्दी राखिएका छन् । सात कैदीमा संक्रमण देखिइसकेको छ । तर पनि कारागार प्रशासनले सुरक्षाका लागि मास्क, स्यानिटाइजर मात्रै होइन, हात धुन साबुनसमेत दिएको छैन ।

‘सबै कैदीबन्दीले मास्क किनेर लाउन सक्दैनन् । कसैको मुखमा मास्क देखिँदैन । साबुन समेत राज्यले दिएको छैन । हात धुन एउटै धारा छ, त्यहाँ पनि लाइन हुन्छ । स्यानिटाइजर त कैदीले देखेकै छैनन्’ कैदी युवराज गिरीले भने, ‘११४१ जनाको हुलमा भौतिक दूरी कायम गरुँला भन्नु त कल्पना र सपनाको कुरा मात्र हो । संक्रमणले कारागारभित्रै मरिन्छ कि भनेर निद्रै लाग्न छाडेको छ ।’

कारागारभित्र भौतिक दूरी कायम गरेर संक्रमणबाट जोगिने कुरा कल्पना मात्रै भएको अर्का कैदी रमेश पोखरेलले बताए । ठेलमठेल कैदीबन्दी भएका कारण पालो गरेर सुत्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘भौतिक दूरीको त कुरै नगरौँ । सुत्न पालो कुर्नुपर्छ, निद्राले पिरोले मान्छेमाथि मान्छे खप्टिएर सुत्नुपर्ने अवस्था छ । कारागारका नौवटा ब्लकमध्ये कुनैमा त दुई सयभन्दा धेरै कैदी राखिएका छन्,’ पोखरेलले भने, ‘मिल्दोजुल्दो लक्षण देखिँदा पनि परीक्षण गरिएको छैन । यस्तो हुलमा के हामी संक्रमणमुक्त छौँ होला त ?’ कैदीबन्दीमा उपचारै नपाएर मरिन्छ कि भन्ने त्रास बढेको उनले बताए ।

जेलर राजेन्द्रकुमार गौतमले ज्वरो, रुघाखोकीलगायतका लक्षण देखिएका कैदीबन्दीको निरन्तर उपचार भइरहेको दाबी गरे । ‘कतिपय ज्वरो आएका कैदी निको पनि भए । केही फेरि बिरामी भएका छन्,’ उनले भने, ‘कारागारमै एचए हुनुहुन्छ, उहाँले नै उपचार गर्दै हुनुहुन्छ ।’ यसअघि संक्रमण देखिएका सातजनामा कुनै लक्षण नदेखिएको उनले बताए ।

वृद्धवृद्धाका लागि छुट्टै आइसोलेसन

कारागारभित्र सबैभन्दा जोखिममा दीर्घरोगी र वृद्धवृद्धा छन् । उनीहरूलाई राख्न कारागार भवनको माथिल्लो तलामा जस्ता लगाएर आइसोलेसन बनाइएको छ । ‘माथिल्लो तलामा वृद्धवृद्धा र दीर्घरोगीलाई राख्छौँ, करिब दुई सय कैदीबन्दी त्यहाँ अट्छन् । छुट्टै बस्ने व्यवस्था गरिँदा संक्रमणको जोखिमबाट केही हदसम्म उहाँहरूलाई जोगाउन सकिन्छ भन्ने लागेको छ,’ जेलर राजेन्द्रकुमार गौतमले भने ।

सिराहा कारागारका ५८७ कैदीबन्दीमध्ये ५१८ संक्रमित संक्रमित कारागारमै, संक्रमण नभएका आइसोलेसनमा

क्षमताभन्दा धेरै कैदीबन्दी रहेको जिल्ला कारागार सिराहा कोभिड- १९ को ‘हटस्पट’ बनेको छ । यहाँ क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी छन् । १५ जना महिला र एक सय ३५ जना पुरुष गरी एक सय ५० जना राख्ने क्षमता भए पनि यहाँ दुईजना आश्रितसहित पाँच सय ८७ जना कैदीबन्दी छन् ।

अशक्त रहेका कैदीबन्दीलाई सुत्न ४० वडा खाट भए पनि अन्य कैदीबन्दी भुइँमै सुत्दै आएका छन् । १० महिला, एक सय ८२ पुरुष गरी एक सय ९२ कैदी तथा १० महिला र तीन सय ८३ पुरुष गरी तीन सय ९३ थुनुवा छन् ।

कारागारमा अहिले पाँच सय १८ जना कोरोना संक्रमित भएका छन् । तिमध्ये ३२ जना निको भएका छन् । संक्रमितलाई नियमितबाहेक खाद्यान्नमा समेत कुनै सुुविधा छैन । त्यसैले संक्रमितहरू पौष्टिक आहारबाट वञ्चित भएका छन् । कारागारका नाइके श्रीदेव कापरले संकटका वेला कोरोनासँग जुध्न कठिन भएको बताए ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

मोरङ कारगारमा तीन सयजनाको क्षमता भए पनि नौ सय २२ कैदीबन्दी छन् । यहाँ धेरै कैदीबन्दी भएकाले कोरोना संक्रमणको उच्च जोखिम छ, तर पर्याप्त सावधानी र सतर्कता छैन । ५० जनाको क्षमता भएको महिला विभागमा ४६ कैदी र ३५ बन्दी छन् ।

दुई सय ५० जना क्षमता भएको पुरुष विभागमा चार सय ९४ कैदी र तीन सय ४८ बन्दी छन् । जसमध्ये ४९ भारतीय र १० जना भुटानी नागरिक छन् । कारागार प्रशासनको भन्दा पनि आफ्नै सतर्कताले कैदीबन्दी अहिलेसम्म कोरोना संक्रमणबाट जोगिएका छन् । संक्रमण देखिएका एक जनाको भने मृत्यु भएको छ । अरुमा संक्रमण देखिएको छैन् ।

तीन सय क्षमताको नेपालगञ्ज कारागारमा ७८६ कैदी र थुनुवा,महिला बन्दीगृहमा समेत पुरुष कैदी

तीन सयजनाको क्षमता नेपालगन्ज कारागारमा चार सय पाँच कैदी र तीन सय ८१ थुनुवा गरी सात सय ८६ जना राखिएका छन् । स्थान अभावका कारण महिला बन्दीगृह भवनमा पुरुष बन्दीलाई समेत राखिएको छ । त्यस्तै, दुई सय २५ जना कैदी-थुनुवालाई अस्थायी टहरामा राखिएको छ ।

कारागारभित्र कोरोना संक्रमणको जोखिम पनि उत्तिकै छ । संक्रमणबाट गत ५ भदौमा एक कैदीको मृत्यु भइसकेको छ । अन्य ८ कैदीबन्दी र एक प्रहरीमा पनि संक्रमण देखिएको थियो, तर उनीहरू सबै निको भइसकेको कारागार प्रशासनले जनाएको छ ।

‘संक्रमण देखिएका सबै निको भइसकेका छन् र कैद भुक्तानका लागि फेरि कारागार फर्किएका छन्,’ निमित्त जेलर दीपेन्द्रप्रसाद पौडेलले भने, ‘त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य तीनजनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । त्यसपछि थप स्वाब परीक्षण गरिएको छैन ।’

निमित्त जेलर पौडेलका अनुसार ठाउँको अभावमा केही कैदीबन्दी त्रिपालमुनि बस्दै आएका छन् । केहीलाई टिनको छानोमुनि राखिएको छ । स्थान अभावकै कारण केही समयअघि ३० कैदी-थुनुवालाई दैलेख र १५ जनालाई बर्दिया कारागारमा स्थानान्तरण गरिएको थियो । उनीहरूको साथमा दुई जना आश्रित नाबालक पनि रहेको पौडेलले बताए ।

वीरगन्ज कारागारका ३४ कैदीबन्दीमा संक्रमण, कैदीबन्दी भेट्न रोक

क्षमताभन्दा बढी कैदीबन्दी रहेको वीरगन्ज कारागारमा त कोरोना भाइरसको संक्रमण फैलिएको छ । बिहिबारसम्म ३४ जनामा संक्रमण देखिएपछि कैदीबन्दीलाई भेट्न रोक लगाइएको छ ।

वीरगन्ज कारागारमा हजारजनाको क्षमता छ । तर, अहिले एक हजार दुई सय तीनजना कैदीबन्दी रहेको जेलर मातृका दाहालले बताए । जसमा एक हजार एक सय २० जना पुरुष, ८३ जना महिला र तीनजना आश्रित बालबालिका छन् । ‘संक्रमित कैदीबन्दीलाई राख्न कारागारभित्रै आइसोलेसन त बनाएका छौँ, तैपनि क्षमताभन्दा बढी भएकाले जोखिम उच्च नै छ,’ जेलर दाहालले भने ।

सबै संक्रमित निको भए पनि जोखिम कम भएको छैन । जसले गर्दा कैदीबन्दीलाई भेट्न रोक लगाइएको जेलर दाहालले बताए । ‘उच्च जोखिम भएकाले कैदीबन्दी भेट्न रोक लगाएका छौँ । कैदीबन्दीलाई स्वास्थ्य सतर्कता अपनाउन सचेत गराइरहेका छौँ,’ उनले भने । बस्तीको बीचमा रहेको, जीणर् भवन र कोच्चिएर बस्नुपर्ने भएकाले संक्रमणको जोखिम रहेको उनको भनाइ छ ।

पाँचथरको भूकम्पले जीर्ण कारागारमा ६ गुणा बढी कैदीबन्दी

नौ वर्षअघि आएको भूकम्पले पाँचथर कारागारको भवन चर्किएको थियो । त्यही भवनमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी राखिएको छ । त्यसैमा तीन जना कैदीबन्दीलाई कोरोना देखिएपछि त्रास फैलिएको छ । यद्यपी तीनै जना निको भइसकेका छन् ।

पाँचथर कारागार २५ जना क्षमताको हो । तर, अहिले एक सय ४१ जना कैदीबन्दी रहेको जेलर सुरेन्द्र मुखियाले बताए । जसमा १६ महिला र एक सय २५ पुरुष तथा एक आश्रित बालक छन् । ‘०६८ असोजमा आएको भूकम्पले भवन जीणर् बनेको छ । त्यसैमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले व्यवस्थापन गर्न अप्ठ्यारो भएको छ,’ जेलर मुखियाले भने, ‘एक जनामा कोरोना देखिएको थियो, कन्ट्याक्ट ट्रेसिङ गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको छ ।’

यसले गर्दा अन्य कैदीबन्दीमा पनि संक्रमण फैलिने जोखिम रहेको उनले बताए । तर, आर्थिक अभावका कारण कैदीबन्दीको थप परीक्षण गर्ने, क्वारेन्टिनमा राख्नेसहितका प्रबन्ध नहुँदा जोखिम बढेको उनको भनाइ छ । ‘जेनतेन सुरक्षा सावधानी अपनाएका छौँ, तर संकट टरेको छैन,’ जेलर मुखियाले भने ।

भौतिक पूर्वाधार अभावमा नयाँ आउने कैदीलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न नसकिएको उनले बताए । कारागारको आफ्नै १० रोपनी जमिन भए पनि नयाँ भवन बनाउन सकिएको छैन । ०३० मै बनेको पुरानो भवनमा बस्नुपरिरहेको कैदीबन्दीले बताएका छन् ।

अशोज १६ गते, २०७७ - ०६:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top