Khabar Dabali Logo
  October 21, Wed

प्याजमा भारतको भर : पाँच वर्षमा २२ अर्बको आयात

दुुई महिनामै सवा अर्बको प्याज आयात, प्याज उत्पादनका सबै प्रयास असफल

काठमाडौं । भारतले हरेक साल जस्तै यसपटक पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा हाहाकार भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भारतले आन्तरिक बजारमा भाउ बढेको भन्दै दुई साताअघि निर्यातमा बन्द गरेपछि प्याजको नेपालमा मूल्य अकासिएर डेढ सय रुपैयाँ प्रतिकिलो नाघेको छ । मुलुकको उत्पादनले ग्रामीण क्षेत्रको घरायसी उपभोगलाई मात्रै धान्ने भएपछि बजारको मागमा मुलुक पूणर्तया भारतमा निर्भर छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका आलु, प्याजको थोक विक्रेता प्रकाश गजुरेल भन्छन्, ‘स्वदेशी प्याज सहरी उपभोक्ताको भान्सामै पुग्दैन । ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाटै आयात भइरहेको छ,’ उनले भने, ‘काठमाडौंमा मात्रै दैनिक ४० देखि ५० हजार किलो प्याज भारतबाट ल्याएर बिक्री भइरहेको छ ।’

तर, भारतले हरेक सालजसो प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरेको छ । प्याजको अभाव भयो भने त्यहाँको राजनीति नै प्रभावित हुने कारणले खासगरी चुनावका वेला भारतमा प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरिन्छ ।

अहिले भारतले अचानक प्याज निर्यातमा प्रतिबन्ध लगाउनुलाई बिहारको चुनावसँग जोडेर हेरिएको छ । चुनावअघि प्याजको मूल्य नबढोस् भन्ने उद्देश्यका साथ सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको विश्लेषकहरू बताउँछन् । सन् २००४ को चुनावमा तत्कालीन सत्तारुढ भारतीय जनता पार्टीको हार हुनुमा प्याजको मूल्यलाई नै कारकका रूपमा मानिएको छ ।

गत वर्ष पनि प्याज निर्यातमा भारतले करिब दुई महिना रोक लगाउँदा १४ मंसिर ०७६ मा प्याजको मूल्य अकासिएर प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पुगेको थियो । १२ मंसिर ०७५ बाट भारतको केन्द्रीय वाणिज्य मन्त्रालयले मुलुकभित्रै प्याजको अभाव भई मूल्य अनियन्त्रित भएकाले अर्को निणर्य नभएसम्म निर्यात रोक लगाउने निणर्य गरेको थियो । त्यसको प्रभावस्वरूप नेपाली बजारमा प्याज हाहाकार भएको थियो ।

मंसिर २०७४ मा नेपालमा प्याजको भाउ १ सय ४० रुपैयाँ पुगेको थियो । भारतीय बजारमा प्याजको न्यूनतम समर्थन मूल्य ८ सय ५० डलर प्रतिटन तोकिएपछि प्याजको भाउ अकासिएको थियो । उक्त समयमा भारतमा प्रतिकिलो ४ देखि १० भारुमा नेपाली व्यवसायीले प्याज खरिद गर्दै आएका थिए । तर, भारतीय सरकारले नै उच्च मूल्य तोकिदिएपछि प्रतिकिलो आयात मूल्य नै ३५ भारु पुगेको थियो ।

त्यस्तै, १० वर्षअघि सन् २०१० मा पनि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । भारतमा प्याजको मूल्य अत्यधिक बढेपछि प्याज निर्यात बन्द गरिएको थियो । भारतका सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्यहरू महाराष्ट्र र कर्नाटकमा हिउँदमा ठूलो पानी परेपछि भारतमा प्याजको भाउ अत्यधिक बढेको थियो ।

भारतले २०७२ मा नाकाबन्दी गरेपछि नेपालमा आत्मनिर्भरताको लोकप्रिय नारा निकै लागे पनि त्यहीबीचमा नेपालीले करिब २२ अर्ब रुपैयाँबराबरको आयातीत प्याज खाएका छन् । नेपालीको भान्सामा भारतबाट आयातीत प्याज बढी पाक्ने गरेको भन्सार विभागका महानिर्देशक सुमनप्रसाद दाहालले बताए ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७२-७३ देखि ०७६-७७ सम्ममा २२ अर्ब ४ करोड ८१ लाख रुपैयाँबराबरको प्याज (हरियो र सुुकेको) आयात भएको छ । केही मात्रामा चीनबाट पनि नेपालमा प्याज आयात हुन्छ ।

यस अवधिमा नेपालमा कुल ८३ करोड २२ लाख ९ हजार केजी प्याज आयात भएको हो । यसबाट राज्यले कुल ९८ करोड ७० लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । सरकारले कृषि सुधार शुल्कको नाममा कृषि वस्तु आयातमा ९ प्रतिशत शुल्क लिने गरेको छ ।

दुुई महिनामै सवा अर्बको प्याज आयात

चालू आर्थिक वर्षको पहिलो दुुई महिनामै नेपालमा सवा अर्ब रुपैयाँ बराबरको प्याज आयात भएको छ । विभागका अनुसार भदौ मसान्तसम्ममा ५८ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ९५ हजार केजी हरियो प्याज (छ्यापी समेत) आयात भएको छ ।

त्यस्तै, ५७ करोड ७४ लाख रुपैयाँबराबरको १ करोड ५६ लाख ९५ हजार केजी सुकेको प्याज आयात भएको छ । भदौ मसान्तसम्ममा सरकारले प्याजको आयातबाट १० करोड ४६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ । चालू आवको साउन महिनामा ६२ करोड ८९ लाख रुपैयाँ र भदौमा ९५ करोड ६ लाख रुपैयाँ बराबरको प्याज आयात भएको हो ।

प्याज उत्पादनका सबै प्रयास असफल

प्याजखेतीका लागि तराई र भित्री मधेसको जग्गा उर्वर मानिए पनि नेपालमा व्यावसायिक खेती न्यून छ । किसानले मौसमी बालीका रूपमा लगाएको प्याज सहरी क्षेत्रका उपभोक्ताका लागि बजारसम्म आइपुग्न सकेको छैन ।

सरकारी तथ्यांकअनुसार गत वर्ष २० हजार ९ सय ८ हेक्टरमा ३ लाख मेट्रिकटन प्याज उत्पादन भएको थियो । उत्पादन लिन लामो समयसम्म कुनुपर्ने र पहिलो तीन महिना निरन्तर सिँचाइ सुविधा पुर्‍याउनुपर्ने कारण किसानहरू प्याजखेतीमा खासै आकर्षित हुन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

प्याजखेतीलाई प्रवर्धन गर्दै आएको मन्त्रालयमातहतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत भरत आचार्यका अनुसार नियमित सिँचाइ हुने क्षेत्रमा मात्र प्याजखेती हुने भएकाले तराईमा विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन भइरहेको छ ।

मन्त्रालयका अनुसार ६ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा प्याजखेतीको सम्भावना छ । तर, अहिले देशभर करिब २१ हजार हेक्टरमा मात्र नियमित प्याजखेती भइरहेको छ । ‘पछिल्लो ५ वर्षयता सुस्त गतिमा प्याजखेतीको क्षेत्रफल विस्तार भइरहेको छ, तर यो पर्याप्त होइन,’ आचार्यले भने । भारतमा ठूलो संख्यामा दुई सिजन प्याज उत्पादन हुने हुँदा नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्ने डरका कारण पनि उत्पादन बढ्न नसकेको उनको भनाइ छ ।

आर्थिक वर्ष ०६३-६४ मा पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने दाबीसहित ‘मिसन कार्यक्रम’ लागू गरिएको थियो । प्याज बढी उत्पादन हुने १० जिल्ला सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया र दाङमा यो कार्यक्रम लागू गरिएको थियो ।

५ वर्षको अवधिमा प्रतिजिल्ला करिब ५ करोडका दरले खर्च भए पनि उत्पादनमा सुधार नभएर आलोचना हुन थालेपछि कार्यक्रम बन्द गरियो । भारतले वेला-वेला प्याज आयातमा अवरोध गर्ने र नेपाली बजारमा मूल्य बढ्न थालेपछि गत आव ०७६-७७ मा प्याजको बिउ र दाना उत्पादन बढाउन पुनः कार्यक्रम राखियो ।

‘रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा प्याज आत्मनिर्भर कार्यक्रमअन्तर्गत दाना उत्पादन कार्यक्रम राखिएको थियो,’ आचार्यले भने, ‘रुकुममा बिउ उत्पादनको कार्यक्रम समेटिएको थियो । तर, कार्यक्रम सञ्चालनको कार्यविधि नै बनाउन सकिएन । त्यसैले यो कार्यक्रम लागू भएन ।’

सरकारले यो वर्ष पनि अनुदानमा आधारित प्याज उत्पादन वृद्धि कार्यक्रम राखेको छ । तराईका १० जिल्ला छनोट गरी १ करोड ससर्त अनुदानसमेत पठाइसकेको छ ।

कृषि मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर नगरपालिका, सिराहाको कल्याणनगर नगरपालिका, सर्लाहीको लालबन्दी नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको वणर् गाउँपालिका, पर्साको बहदरमाई नगरपालिका, रुपन्देहीको मर्चमारी गाउँपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाँकेको जानकी गाउँपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकामा प्याज उत्पादनका लागि कार्यक्रम राखिएको छ ।

प्याजखेतीको उपयुक्त मौसम कात्तिकदेखि वैशाखसम्म मानिन्छ । भारतका १५ भन्दा बढी राज्यमा यही समयमा ठूलो स्केलमा प्याजखेती गर्छन् । त्यसपछि साउनदेखि कात्तिकको बेमौसमी सिजनमा पनि भारतका ८ देखि १२ राज्यका किसानले प्याजखेती गर्छन् ।

गत वर्ष भारतीय किसानले बेमौसमी प्याजखेती गरी १२ लाख टनभन्दा बढी उत्पादन गरेका थिए । तर, भारतको प्याजको डर मान्नुभन्दा भारतबाटै प्रविधि सिकेर भए पनि नेपालले प्याज उत्पादनमा फड्को मार्नुको विकल्प नभएको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे बताउँछन् ।

अशोज १६ गते, २०७७ - ०६:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं। कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र...   

गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे…

काठमाडौं । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री...   
बडादशैंको आज पाँचौ दिनमा स्कन्दमाताको पूजा आरधना गरि मनाउदैँ

बडादशैंको आज पाँचौ दिनमा स्कन्दमाताको पूजा आरधना गरि मनाउदैँ

काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना तथा दर्शन...   

बुटबलमा कोरोना संक्रमित थप २ जनाको मृत्यु

बुटवल । बुटवलमा कोरोनाले थप २ जनाको ज्यन गएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा...   

दसैं भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

काठमाडौं । कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैं भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा...   
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

जुम्ला । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी...   

जनताको उपचारमा पैसा छैन तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब

काठमाडौं । महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउन समेत नसक्ने घोषणा गरेको सरकारले साधारण...   

दसैंमा घर जानेबाट कोरोना गाउँ–गाउँ फैलिने जोखिम

काठमाडौं । दसै नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ । बाहिरिने र भित्रिनेको...   

तीन महिनापछि ओली–नेपाल संवाद : नयाँ समीकरणका लागि ओलीको प्रस्ताव

काठमाडौं । स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर पार्टीभित्र मतभेद सिर्जना भएकै वेला नेकपा अध्यक्ष...   

वीरको अक्सिजन प्लान्ट सात महिनादेखि अलपत्र, ३५ लाखमा बन्न सक्छ, तर बनाइएन

काठमाडौं । जनताको स्वास्थ्यप्रति सरकारको संवेदनशीलता हेर्न अन्त कतै जानु पर्दैन, वीर अस्पतालको अक्सिजन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top