Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दसैं होइन, दशा टार्न मुग्लान जानेको ताँती

धनगढी । दसैं-तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन् बढ्दै छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । महिनौं बेरोजगार बस्दा छाक टार्न समेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ ।

धनगढीको त्रिनगर नाकाबाट मात्र पछिल्ला दुई दिनमा तीन हजार नेपाली भारत गएका छन् । ‘पहिले दुई-चार सय हुन्थे, बीचमा हजारको संख्या थियो, हिजोआज दैनिक डेढ हजारसम्म भारत जाने गरेका छन्,’ सीमामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू भन्छन्, ‘उताबाट भने दिनमा करिब तीन सय जनासम्म आइरहेका छन् ।’

धनगढी उपमहानगरपालिका- १ का रमेश विकले धनगढीमै अटोरिक्सा चलाउन थालेको पाँच वर्ष भएको थियो, सबै ठीकै थियो । तर, चैतबाट लकडाउन सुरु भएपछि उनी झन्डै सात महिना कामविहीन भए । लकडाउन खुले पनि यात्रु छैनन्, आम्दानी नभएपछि उनी अटो साहुलाई बुझाएर आइतबार भारततिर लागेका छन् ।

‘लकडाउनको वेला ऋण गरेर घरखर्च चलाउनु पर्‍यो, खुलेपछि पनि कमाइ हुन सकेन,’ त्रिनगर भन्सार नाकामा सयौं नेपालीसँगै लाइनमा भेटिएका उनले भने, ‘साँझ-बिहान के खाने भन्ने समस्या हुन थाल्यो । उपाय केही देखिएन, परिवार पाल्नका लागि भारत जानुको विकल्प देखिएन ।’

नेपालमै यो हालत भयो, भारतमा के हुने हो, उनलाई थाहा छैन । तर, मुम्बईमा रोजगारी खोज्ने उनको योजना छ । ‘जीवनका १५ वर्ष भारतमा कठिन श्रम गरेको हुँ, अब जस्तोसुकै काम भए पनि आफ्नै देशमा गर्छु भनेर पाँच वर्षअघि स्वदेश फर्केको हुँ, तर मैले गल्ती सोचेको रहेछु, स्वदेशमा हारेर फेरि विदेश जाँदै छु,’ उनले भने । उनी सीमा कटेका छन्, अब घरमा श्रीमती र चारजना नाबालक छोराछोरीको साँझ-बिहानको छाक सुखले टर्ला कि भन्ने आशा पलाएको छ ।

भारत जानेकै लाइनमा थिए- रोल्पाको गंगादेव गाउँपालिका-७ का दीपेन्द्र ओली । बाध्यता उही हो, कमाइ नहुँदा घरमा छाक टार्ने समस्या भयो । ‘अघिपछि भए दसैँ-तिहार आयो भनेर रमाइलो मान्दै गाउँ आउने वेला हो, तर यसपालि यही वेला घर, परिवार र देश छाडेर जानुपर्ने भयो,’ उनले भने, ‘हामी जस्ता गरिबलाई दसैं होइन, दशा आउँदै छ, दशा टार्न बिदेसिन लागेको छु ।’

दीपेन्द्रका घरमा वृद्ध आमाबुबा, बहिनी र भाउजू छन् । भारतमा भएका उनका दाइ पनि कोरोनाको त्रासले घर फर्केका थिए, तर आर्थिक संकट चर्किएपछि उतै फर्किएका छन् । उनले भने, ‘दाइ बीचमै पढाइ छोडेर भारत जानुभो । दाइको कमाइले मात्रै परिवार चलेन । पढाइ छोडेर म पनि भारततिर गएँ ।’

कक्षा १० मा पढ्दापढ्दै चार वर्षअघि भारत पसेका थिए दीपेन्द्र । त्यसयता कहिलेकाहीँ घरमा आउने-जानेबाहेक भारतमै मजदुरी गर्छन् । ‘घरमा साँझ-बिहानको चुलो बाल्न दुःख थियो, त्यसैले पढ्न पाइनँ । अहिले संकटमा परेको वेला ओत लागौँ भनेर देश आएको, ओत पाइएन,’ उनी विरक्तिए । स्याउ टिप्ने र बोक्ने वेला भएको सिम्ला जान लागेको उनले सुनाए । उनको गाउँका मात्र सात जना सिम्ला हिँडेका छन् । गरिबीका कारण भारत जान लागेका उनीहरू सबै १७ देखि २२ वर्ष उमेरका थिए ।

कोरोनाको डरले ६ महिनाघि भारतबाट फर्केका बाजुराको कुलदेवमाडौंका रूप नेपाली आइतबार पुनः भारत जाँदै थिए । दिल्लीस्थित एक होटेलमा काम पाउने आशा गरेका छन् । ‘कमाएर ल्याएको पैसा घर फर्केको दुई-तीन महिनामै सकियो । ऋण निकालेर गुजारा चलाएको थिएँ,’ उनले भने, ‘दसैँ-तिहार आएको सबैलाई थाहा छ, चाडपर्व आएर के गर्नु ? गाउँमा ऋण पाउने अवस्थासमेत नभएपछि भारत जान थालेको छु ।’

आफ्नै गाउँमा आपत्मा परेर बिदेसिन लागेका यी मजदुरको भारत यात्रा पनि सजिलो छैन । सीमापारि यात्रा सुरु नहुँदै उनीहरूमाथि ठगी सुरु हुन्छ । भारतीय गौरीफन्टा नाकामा उनीहरूका लागि बस पर्खिएका छन्, तर भाडा दोब्बर माग्न थालिएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका- ७ का मानबहादुर विकले गत चैतमा मुम्बईबाट भारतीय बजार गौरीफन्टासम्म आउँदा गाडी भाडा १७ सय भारु तिरेका थिए । अहिले त्यही रुटबाट फर्कन ३५ सय भारुको टिकट काटेका छन् । ‘घरमा पैसा थिएन, ऋण गरेर ल्याएको सीमित पैसा पनि यसरी ठगी हुन्छ, अब बाटोमा खाजा खाने खर्च पनि छैन,’ उनले भने ।

भारत जाने नेपालीको टिकट काट्ने एजेन्टहरू त्रिनगर नाकादेखि धनगढी बसपार्कसम्म घुमिरहेका छन् । औपचारिक रूपमा नाका बन्द रहेकाले दुई देशका नागरिकलाई एक-अर्काको देश जान प्रतिबन्ध छ, त्यसैले पारिको प्रहरी प्रशासनसँग मिलेका एजेन्टले सोझासीधा नेपालीबाट फाइदा उठाइरहेका छन् ।

‘गाउँमा दुःख भयो भनेर बाटो लागेका नेपाली जति पैसा तिरेर पनि टिकट काट्न बाध्य हुन्छन्, त्यसैको फाइदा उठाएर हामीलाई बेखर्ची गराइएको छ, तर बोलिदिने को छ र ?’ नाकामै भेटिएका कैलाली अत्तरियाका भीम नेपालीले भने । उनले सुरतसम्मका लागि साढे तीन हजार भारुको टिकट काटेका छन् । लकडाउनकै वेला सुरतबाट फर्कंदा अहिलेको भन्दा आधा भाडा तिरेका थिए ।

वारि नै टिकट काटेर गएमा सीमाको भारतीय प्रहरीले रोक्दैन भन्ने निश्चित गरिएको छ । आफूले टिकट काटेकालाई नाकामा लाइन लगाउन तथा पार गराउन टिकट काट्ने एजेन्ट पनि सक्रिय हुन्छन् । पारि गौरिफन्टा बसपार्क पुगेर सस्तोमा टिकट काटौँला भन्नेलाई भने प्रहरी र एजेन्ट मिलेर सताउने गर्छन् ।

त्रिनगर नाकामै भेटिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक । कारागारको अनुगमन गर्न आएका उनले सिमानामा लाइन लागेका नेपालीसँग पनि संवाद गरेका थिए । ‘बढी भाडा असुल भइरहेको रहेछ । यसबारे आजै स्थानीय प्रशासनसँग हामी छलफल गरेर बढी भाडा लिन नदिन भन्छौँ,’ उनले भने, ‘नाकामा भौतिक दूरी कायम नगरेर सयौँको लाइन छ । यो जोखिमपूणर् छ । यसलाई पनि प्रशासनले व्यवस्थित गर्नुपर्छ ।’

यता मध्यपश्चिमको नाका रुपैडिहाबाट पनि भारत पस्ने नेपालीको संख्या घटेको छैन । लकडाउनका वेला स्वदेश फर्किएका दाङ घोराही उपमहानगरपालिका-२ रामपुरका ४९ वर्षीय भक्तबहादुर ओली रुपैडिहा नाकाबाट फेरि भारत गएका छन् । बाबुको पाला लागेको ऋण तिर्न उनी १८ वर्षअघि भारत पसेका थिए । ‘अब पुग्यो भनेर आउँछु, घरको परिस्थितिले फेरि उतै धकेल्छ,’ नाकामै उभिएर उनले भने ।

सुरुमा उनले दिल्लीको एक व्यापारीको घरमा एक वर्ष बिताए । त्यतिवेला उनले भारतीय पाँच सय रुपैयाँ तलब पाउँथे । ‘त्यतिवेला मैले दुई वर्षमा १०-११ हजार भारतीय रुपैयाँ कमाएर घरमा ल्याएँ । त्यही रुपैयाँले ऋण तिरेँ,’ उनले भने ।

बाबुको पालाको ऋण तिरे पनि आफ्ना पाला ऋण पाँच दोब्बर भएको उनले बताए । ‘भारतमै काम गरें, नेपालमा पनि मजदुरी गरें, तर अवस्था सुध्रिएन । अहिले ५५ हजार ऋण लागेको छ, त्यसैले दसैंको मुखमा भारततिर लाग्दै छु,’ उनले भने ।

महाबु गाउँपालिका- १ खरीगैरा दैलेखका प्रेम सेन ठकुरी पनि १५ वर्षदेखि भारतको गुजरातमा काम गर्छन् । भारतमा लामो समय बसेका कारण उनीसँग भारतीय आधार कार्ड र प्यान कार्ड पनि छ । ‘कोरोनाका कारण भारतमा लकडाउन भएपछि बेरोजगार भएँ । भारतमा बस्दा खान-लाउन समस्या भएपछि पाँच दिन लगाएर गुजरातबाट नेपालगन्ज आएँ ।

दैलेख पुग्न तीन दिन लाग्यो । गाउँमा पनि १४ दिन क्वारेन्टिनमा बसें,’ उनी सम्झन्छन् । यसरी एक महिनाको महाभारतपछि घर पसेका उनी अहिले त्यही घर छाडेर मुग्लान हिंडेका छन् । भारतमा कमाएर ल्याएको रुपैयाँ लकडाउनमा सकिएपछि भारत जान उनले मासिक अढाई रुपैयाँ ब्याजमा साहुसँग ऋण लिएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies