Khabar Dabali Logo
  September 23, Wed

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई कारबाही होइन, रेलमार्ग बनाउने जिम्मेवारी ?

जनतालाई मुआब्जाभन्दा पहिल्यै ठेकेदारलाई नगद दिने खेल हुँदा कहाँ छ देशको कानुन ? कहाँ छ अख्तियार ?

झापा । सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको ठेक्का पाउन मिलेमतो गरिसकेका ‘भाग्यमानी’ तिनै ठेकेदार हुन् जसले पुल, सडक र सिँचाइको परियोजना अलपत्र पारेका छन् ।

इनरुवाबाट झापाको काँकडभिट्टा जाने रेलको ठेक्का पाउने मिलेमतो गरिसकेका रवि सिंहको कम्पनीले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको कन्काई नदीको पुल १० वर्षदेखि अलपत्र पारेको छ । चार वर्षभित्र सम्पन्न गर्ने गरी ०६८ जेठमा सिंहको महादेव खिम्ती र पप्पु कन्स्ट्रक्सनले ३४ करोडमा ठेक्का लिएका थिए ।

तर, एक दशकसम्म पुलको प्रगति ४९ प्रतिशत मात्रै छ । देशको दुर्भाग्य ! सात सय २४ मिटर लम्बाइको पुल समयमा बनाउन नसकेर अलपत्र पारेको सिंहकै कम्पनीले अर्को कम्पनी मैनाचुलीसँग मिलेर सरकारकै हस्तक्षेपमा इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणमा पनि दुई अर्ब १० करोडको ठेक्का पाउँदै छ । रवि सिंह अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष छन् ।

सिंहसँग सहकार्य गरिरहेको पप्पु कन्स्ट्रक्सनले देशभरि दर्जनौं आयोजना अलपत्र पारेपछि सरकारले कालोसूचीमा राखेको छ । त्यसैले गत वर्षदेखि महादेव खिम्तीले मात्रै काम गरिरहेको छ । तर, सिंहले पनि मदन अधिकारीको मैनाचुली निर्माण सेवालाई पेटी ठेक्का दिएको हुलाकी सडकका इन्जिनियर नन्दकुमार गुप्ताले बताए ।

कन्काई नदीमा अलपत्र पुल
हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा गौरीगन्ज र झापागाउँपालिका जोड्ने पुल ०७२ जेठ मसान्तभित्रै निर्माण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पुलका पिलर बनाउनेबाहेक अरू काम भएको छैन । सम्झौताको म्याद सकिएपछि दुई वर्षका लागि ठेक्काको समय थप गरिएको थियो, तर थपिएको म्याद सकिएको पनि दुई वर्ष बितिसकेको छ ।

सिंहसँगै उनले पनि रेलमार्ग निर्माणमा एक अर्बभन्दा माथिको ठेक्का पाउने मिलेमतो भइसकेको छ । ठेक्का लिने र अलपत्र पार्नेमा उनी चर्चित छन् । उनकी पत्नी गीता अधिकारी दमक नगरपालिकाको उपमेयर छिन् ।

हुलाकी सडकका इन्जिनियर गुप्ताका अनुसार पेटी ठेक्का लिएका अधिकारीले पनि सन्तोषजनक काम गरेका छैनन् । समयमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा दैनिक जोखिम मोलेर डुंगामा नदी वारिपारि गर्न बाध्य छन् ।

‘नदी ठूलो हुन्छ । बर्खामा नाउ लगाउनुपर्छ । खोलाले नाउ बगाएर लान्छ कि भन्ने त्रास सधैँ हुन्छ । छेउमै रहेको पुलको पिलर हेरेर नाउ कुदाउँदै आएका छौँ,’ माईनदीमा डुंगा चलाउँदै आएका ईश्वर माझीले भने, ‘हिउँदमा हामीले नै बाँसको पुल बनाउने गरेका छौँ । त्यहाँबाट हिँड्न पैसा उठाउनुपर्ने बाध्यता छ ।’

रवि सिंहको कम्पनीले रौतहटमा अलपत्र छाडेको लालबकैया नदी नियन्त्रण आयोजना

सिंहको कम्पनीले कन्काई मात्रै होइन, रौतहटको लालबकैया नदी नियन्त्रण आयोजना, खोटाङको सडक निर्माण र सर्लाहीमा तटबन्ध निर्माण कार्य पनि अलपत्र पारेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको करुनियामा १६ वटा स्पर ०७२ जेठभित्र निर्माण गर्ने गरी उनले तीन करोड ६८ लाखमा लालबकैया आयोजना ठेक्का लिएका थिए ।

तर, थप चार वर्ष बित्दा पनि आयोजना अझै पूरा भएको छैन । पटक–पटक ठेक्काको समय थप गर्दा पनि निर्माण सम्पन्न भएन, बरु रुग्ण ठेक्काको परिचय बनाएको छ । स्पर निर्माण नहुँदा हरेक वर्ष गाउँ बाढीको चपेटामा पर्ने गरेको स्थानीय शेख फुलबाबुले बताए ।

त्यस्तै, सिंहले ०७० मै सक्ने गरी खोटाङको जिल्ला सडक निर्माणको पनि ठेक्का लिएका थिए । तर, अहिलेसम्म त्यसको प्रगति ६० प्रतिशत मात्रै छ । पछिल्ला ६ वर्षमा त कुनै काम नै नगरेर सिंहले सडक नै अलपत्र पारेका छन् ।

सिंहकी पत्नीको नाममा रहेको अञ्जना निर्माण सेवाले सर्लाही नौलखामा स्पर निर्माण गर्न लिएको ठेक्का पनि अलपत्र छ । उनले स्थानीय पेटी ठेकेदार हरेश महतोलाई जिम्मा दिएकी छिन् । तर, महतोले पनि समयमा काम नगरेकोे जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बताए ।

इनरुवा–काँकडभिट्टा रेलमार्गमा एक अर्ब ४१ करोड ६ लाखको ठेक्का पाउने मिलेमतो गरिसकेका लुम्बिनी कन्स्ट्रक्सन (बिल्डर्स)का सञ्चालक विष्णु शर्माले पनि धेरै आयोजना अलपत्र पारेका छन् । तिनैमध्येको एक हो, कञ्चनपुरको देखतभुली–पर्सिया सडकखण्डमा निर्माणाधीन दोदा नदीको पुल ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शर्माले ०७२ पुसमा ज्वाइन्ट भेन्चरमा २४ करोड ५२ लाख ६१ हजारमा ठेक्का लिएका थिए । उनीसँग डडेल्धुराको परशुराम नगरपालिका मेयर भीम साउदको निर्माण कम्पनीले साझेदारी गरिरहेको छ ।

तर, साढे चार वर्ष बित्दा पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । अहिलेसम्म चारवटा पिलर मात्रै निर्माण गरिएका छन् । प्राविधिक समस्या देखाएर निर्माण कम्पनीले दुई वर्षदेखि पुलको काम नै गरेको छैन ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर लक्षणदत्त जोशीले चार पिलर निर्माण गरिए पनि बाँकी दुई पिलरमा समस्या देखिएको बताए । ‘पिलर निर्माण गर्दा जमिनमुनि पानीको समस्या देखियो,’ उनले भने, ‘सोयल टेस्टका लागि विभागमा पठाएका छौँ ।’

विभागले ती ठाउँमा पिलर बनाउन नमिल्ने राय दिए कि त पुल बांगो बनाउनुपर्ने, कि पुनः प्राविधिक अध्ययन गरेर शून्यबाट सुरु गर्नुपर्ने जानकारहरू बताउँछन् । उनका अनुसार ०७५ पुसमा म्याद सकिएपछि ठेक्काको समयावधि एक वर्ष थप गरिएको थियो ।

लुम्बिनी कन्स्ट्रक्सनले अलपत्र पारेको पुल : तीन वर्षभित्र सम्पन्न गर्ने गरी ०७२ मा ठेक्का लागेको कञ्चनपुरको दोदा नदीको पुलको पाँच वर्षमा ५०५ मात्रै प्रगति
पूर्ण डिजाइन विना नै सडक डिभिजनले हचुवाका भरमा ठेक्का दिएर समस्या भएको स्थानीयको आरोप छ । स्थानीय जनकराज जोशीले पुल निर्माणमा ढिलाइ हुनुमा सडक डिभिजन र ठेकेदार कम्पनी दुवै दोषी भएको बताए । ‘पुल निर्माण गर्नुपर्ने स्थानको पहिल्यै प्राविधिक अध्ययन गर्नुपर्ने थियो, गरिएन,’ उनले भने, ‘सुरुमै त्रुटि गर्दा अहिले यो परिणाम आयो ।’

निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले प्राविधिक त्रुटिका कारण निर्माण कार्य रोकिएको बताए । त्यसमा निर्माण कम्पनीको कुनै कमजोरी नभएको उनको दाबी छ । ‘प्राविधिक समस्या चाँडै हल हुन्छ होला, हामीलाई काम गर्न आदेश आएको करिब डेढ वर्षभित्रै पुल तयार गर्छौँ,’ उनले भने, ‘अवरोध नआएको भए म्यादभित्रै पुल निर्माण गरेर हस्तान्तरण गरिसक्थ्यौँ ।’

स्थानीयले पुल निर्माणका लागि पटक–पटक सडक डिभिजन कार्यालय कञ्चनपुरमा ज्ञापनपत्र बुझाएका छन् । ‘म्यादभित्रै काम सम्पन्न गर्नका लागि हामीले सम्बन्धित पक्षलाई घचघच्यायौँ, तैपनि सुन्दैनन्,’ स्थानीय अर्जुन साउदले भने, ‘सबैतिर कमिसनको खेलले पुल अलपत्र परेजस्तो लाग्छ ।’

सरकारी निकाय र जनप्रतिनिधिको गैरजिम्मेवारीपनका कारण काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न नसक्दा पुल अधुरै रहेको उनको आरोप छ । ‘ठेकेदारहरूले ठाउँ–ठाउँमा ठेक्का लिने, पेस्की लिने, तर लगानी र स्रोत–साधन नलगाउने गरेका कारण पनि दोदामा समयमै बन्नुपर्ने पुल बनेन,’ उनले भने ।

पुल निर्माण नहुँदा सर्वसाधारण भने ज्यान जोखिममा राख्दै ट्युबमा शुल्क तिरेर आवतजावत गर्न बाध्य छन् । ‘हिउँदमा पनि पानी हुन्छ, नदी तर्न सकिँदैन,’ लालझाडी गाउँपालिका–४ देखतभुलीका सुन्दर रानाले भने, ‘बर्खामा झनै समस्या हुन्छ, ज्यान जोखिममा राखेर हिँड्नुपर्छ ।’

शंकरपुरका स्थानीय अगुवा अमरसिंह रानाले पुल अभावमा बिरामीलाई राति उपचार गर्न पनि लैजान नपाइने बताए । ‘नदीमा दिउँसो मात्रै ट्युबले तराउँछन्, राति कोही बिरामी भयो भने घरमै मर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

हिउँदमा इटाह बाबा मन्दिर समितिले काठेपुल निर्माण गर्दै नागरिकलाई सुविधा दिँदै आएको छ । वर्षात्मा स्थानीय युवाहरू रामबहादुर राना, नरेश राना, जितबहादुर राना र रामु राना मिलेर १४ हजार लागतमा चार ट्युबको परम्परागत डुंगा बनाएर चलाउँछन् ।

उनीहरूले एक व्यक्तिको २० रुपैयाँ, साइकलसहित ५०, मोटरसाइलकसहितको दुई सय रुपैयाँ लिएर तराउने गरेका छन् । ‘हाम्रो उद्देश्य पैसा कमाउने होइन, बर्खामा नदी तर्दा कोही मर्नु नपरोस् भनेर चलाएका हौँ,’ रामबहादुरले भने ।

शर्माको कम्पनीले धरान–चतरा–हेटौँडा मार्गको सिन्धुली हत्पतेस्थित कमला नदीको पुल निर्माण पनि अलपत्र पारेको छ । ३४ करोड आठ लाख रुपैयाँको पुलको ठेक्का सम्झौताअनुसार ०६८ असारमा सम्पन्न गर्नुपर्ने थियो, तर अझै सम्पन्न गरेको छैन । ७० प्रतिशत मात्र कामै भएको छ ।

दोदा नदीमै अर्काे पुल अलपत्र

रमेश शर्माको शर्मा एन्ड कम्पनीले पनि कञ्चनपुरको दोदा नदीमै अर्को पुल अलपत्र पारेको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी उनले ०७२ मंसिरमा २६ करोड ७१ लाख ८८ हजारमा ज्वाइन्ट भेन्चरमा ठेक्का लिएका थिए । तर, अहिलेसम्म ६० प्रतिशत काम मात्रै भएको छ । ०७५ मा म्याद सकिएपछि एक वर्ष थपेर ०७६ मंसिरसम्म पुर्‍याइएको थियो । तैपनि अपेक्षित प्रगति भएको छैन ।

पूर्वदेखि पश्चिमसम्म ठेकेदार कम्पनीको लापरबाही, अलपत्र छन् पुल, भत्किँदै छन् नहर

सर्लाही धन्कौल गाउँपालिकाका बासिन्दाले मनुसमारा खोलापारिको खेतमा पुग्न स्थानीय युवालाई पैसा तिर्नुपर्छ । स्थानीय युवाले नदी तर्न बाँसको पुल बनाएका छन् । बाढीले त्यही पनि भत्काइदिन्छ । अर्को पुल बनाउन भन्दै पैदलयात्रीसँग १० र मोटरसाइकलसँग ५० रुपैयाँ उठाउँछन्, युवाले । ‘आफ्नै खेतमा आउजाउ गर्न पनि दैनिक पैसा तिर्नुपर्छ,’ स्थानीय रामवती देवी भन्छिन्, ‘नत्र जान दिँदैनन् ।’

धन्कौल–४ मैहिनाथपुरस्थित मनुसमारा खोलामाथि निर्माणाधीन पुल भदौ ०७२ मै सम्पन्न हुनुपर्ने हो । भदौ ०७१ मा ठेक्का लागेको पुल निर्माण फागुन ०७३ देखि मात्र सुरु भएको थियो । रमेश अधिकारी सञ्चालक रहेको एपेक्स निर्माण सेवाले पाँच करोड ४८ लाख रुपैयाँ लागतमा ठेक्का पाएको हो । तर, अहिलेसम्म ४१ प्रतिशत मात्र काम भएको छ ।

रमेश अधिकारीको एपेक्स निर्माण सेवाले ठेक्का लिएको पुलको दुर्दशा : सर्लाहीको मनुसमारास्थित यो पुल ०७१ मा ठेक्का भएर एक वर्षभित्र सक्नुपर्ने थियो । तर अहिलेसम्म बनेन ।

पुलका तीनवटा पिलर निर्माण भएका छन् । जाली र ढुंगाको समेत सकेर निर्माण रोकिएको छ । पुलमा प्रयोग भएका फलामे डन्डी खिया लागेर कामै नलाग्ने भएका छन् । ठेकेदार कम्पनीहरूको चरम लापरबाहीको यो एक उदाहरण हुन सक्छ । देशभरका आयोजनाको प्रगतिमाथि नजर दौडाउने हो भने यसभन्दा रुग्ण चित्र आँखा सामुन्ने आउँछन् । त्यसमध्येको अर्को दृश्य हो, सर्लाहीकै बैरिया–रामनगर–बहुअर्वा–खैर्वा सडक ।

ठेकेदार कम्पनीले काम गरेको भए स्थानीय बासिन्दा असार ०७३ देखि नै कालोपत्रे सडकमा हुइँकिन पाउँथे । एक वर्षभित्र सम्पन्न गर्ने गरी असार ०७२ मा ठेक्का लागेको थियो ।
तर, हालसम्म ३० प्रतिशत मात्र काम भएको छ । अर्थात्, कालोपत्रे गर्नुपर्ने सडकमा ग्राभेल बिछ्याएर छाडिएको छ । त्यो पनि अब काम नलाग्ने बनेको छ । सञ्जय गुप्ता सञ्चालक रहेको रोशन कन्स्ट्रक्सनले ४ करोड ८९ लाख रुपैयाँ लागतमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो ।

ठेकेदारलाई पटक–पटक आग्रह गर्दा पनि निर्माण अगाडि नबढाएको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्मा बताउँछन् । भन्छन्, ‘सडक कालोपत्रे हुने त टाढाको कुरा, कम्पनीका प्रतिनिधिको अनुहारसमेत नदेखेको धेरै भइसक्यो ।’

सिक्टामा कालिकाको लापरबाही

पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सिक्टा सिँचाइ आयोजनाको दुर्दशा : यो आयोजनाअन्तर्गत बाँकेको ढकरी क्षेत्रमा बनाइएको नहर गुणस्तरहीन कामका कारण भत्किएको छ ।

०३८ मै खन्न थालिएको सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण भारतीय पक्षको अवरोधका कारण लामो समय अलपत्र पर्‍यो । ०६२ मा पुनः नहर निर्माण सुरु भयो । माघ ०७० भित्र १२ अर्ब ७० करोड लागतमा निर्माण सक्ने लक्ष्य थियो ।

आयोजनाको पश्चिमी मूल नहर निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ, जसका मुख्य सञ्चालक राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे हुन् । उनीमाथि राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेर दुई अर्ब १३ करोड भ्रष्टाचार गरेका मुद्दा चलिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरी २२ मंसिर ०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दामा पाण्डेलाई दुई वर्ष कैद सजाय माग गरिएको छ ।

सरकारी कर्मचारीसँगको मिलेमतोमा कालिकाले गुणस्तरहीन काम गर्दा नहरमा समस्या आएको स्थानीय बासिन्दाको ठम्याइ छ । पश्चिमी नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टरमा सिँचाइ सुविधा पुग्ने अनुमान छ ।

मंसिर ०७६ सम्ममा आयोजनाको निर्माण ८० प्रतिशत मात्र पूरा भएको छ । त्यसका लागि १६ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ । नहरका लागि सरकारले बर्सेनि करिब डेढ अर्ब रुपैयाँ छुट्याउँछ । आयोजनालाई चालू आर्थिक वर्ष ०७७–७८ मा पनि एक अर्ब ५२ करोड रुपैयाँ छुट्याइएको थियो ।

प्रतिसेकेन्ड ५० हजार लिटर बहाव क्षमता बताइएको पश्चिमी मूल नहरले परीक्षणकालमै प्रतिसेकेन्ड चार हजार लिटर पानीको दबाब थेग्न सकेन । सोहीकारण १४ असार ०७६ मा ढकेरीमा मूल नहर भत्कियो । दोस्रो पटक ७ साउन ०७५ मा ढकेरीको चंगाई खोलानजिकै मूल नहर फेरि भत्कियो । समस्या आएपछि डेढ वर्ष नहरमा पानी चलाइएन ।

गत मंसिर पहिलो सातादेखि एक हजार लिटर प्रतिसेकेन्ड पानी छाडेर नहर सञ्चालनमा ल्याइएको छ । ढकेरी क्षेत्रको ६ किलोमिटर नहर मर्मत गरी सञ्चालनमा ल्याइए पनि ठाउँ–ठाउँमा भत्किने गरेको आयोजना प्रमुख लोकबहादुर थापा बताउँछन् । भन्छन्, ‘घुलनशील माटो भएकाले पानी चुहिने समस्या छ ।’

माटो परीक्षणविनै हचुवाका भरमा काम गरिएकाले पटक–पटक नहरमा समस्या देखिएको राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत बताउँछन् । भन्छन्, ‘मर्मत गरिएको क्षेत्रमा पनि नहर टिकाउ हुने छाँट छैन । हिउँदमा टालटुल गरिन्छ, वर्षायाममा भत्किन्छ ।’

१० वर्षमा ५० प्रतिशत निर्माण

विष्णु शर्माको लुम्बिनी कन्स्ट्रक्सनले अलपत्र पारेको पुल : १० वर्षअघि ३४ करोडमा ठेक्का भएको सिन्धुलीस्थित कमला नदीको पुलमा ५०५ मात्रै प्रगति ।

सिन्धुली दुधौली नगरपालिका हतपतेस्थित कमला नदीमा निर्माणाधीन पुलको उस्तै तीतो कथा छ । यो पुल राष्ट्रिय गौरवमा सूचीकृत धरान–चतरा–हेटौँडा सडकमा पर्छ । ३४ करोड आठ लाख लागतमा असार ०६८ मा सक्ने गरी पप्पु कन्स्ट्रक्सनले ठेक्का पायो ।

तर, आठ वर्षसम्म पुल निर्माण गरेन । त्यसपछि ठेक्का रद्द गरेर सरकारले विष्णु शर्मा सञ्चालक रहेको लुम्बिनी कन्स्ट्रक्सनलाई ५ वैशाख ०७६ मा निर्माण अगाडि बढाउने जिम्मा दियो । माघ ०७७ सम्ममा निर्माण सक्नुपर्ने समयसीमा छ । तर, हालसम्म ५० प्रतिशत मात्र काम सकिएको कम्पनीका इन्जिनियर पुष्पेन्द्र यादव बताउँछन् ।

लकडाउनले गर्दा निर्माणमा ढिलाइ भएको यादवको भनाइ छ । १४ वटा स्पान रहेको पुलको हालसम्म आठवटाको स्ल्याप ढलान सकिएको छ । पप्पु कन्स्ट्रक्सनले गरेको गल्तीका लागि लुम्बिनी कन्स्ट्रक्सनले चार करोड रुपैयाँ जरिवाना तिरेको छ । पप्पुले तीनवटा स्पान ढलान सकेको थियो ।

पप्पुले बनाएका दुईवटा गडर (वाल) लुम्बिनीले भत्काउनुपरेको छ । पप्पुले भुक्तानी लिइसकेका काम लुम्बिनीले फेरि दोहोर्‍याएर गरेको छ । सुरुमा पप्पु–लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । पछि फेरि पप्पुले आफैँ निर्माण गर्ने बतायो । पप्पुले अलपत्र पारेपछि फेरि लुम्बिनीको जिम्मामा आयो । विश्व बैंकको ३२ करोड अनुदानमा आव ०७२÷०७३ मै निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।

रानीजमराको तटबन्ध एक वर्षमै कटानमा

दीपक गौतमको गजुरमुखी निर्माण सेवाले कर्णाली नदीमा बनाएको रानीजमरा तटबन्धको बेहाल

दीपक गौतमको गजुरमुखी निर्माण सेवाले कर्णाली नदीमा बनाएको रानीजमरा तटबन्धको बेहाल : गुणस्तरीय तटबन्ध नबन्दा कैलालीको टीकापुर–२ मुलपानी क्षेत्र कर्णाली नदीले कटान गर्ने गरेको छ ।

कर्णाली नदीमा निर्मित तटबन्ध कटान हुदै जाँदा कैलाली टीकापुर डुबानको उच्च जोखिममा छ । टीकापुर २ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कर्णाली नदीले कटान गरिरहेको छ । उक्त तटबन्ध गजुरमुखी सिद्धी साई प्रकाश जेभीले बनाएको हो । कर्णालीले तीन दिनयता झन्डै ५० फिट लामो र २० फिट चौडा तटबन्ध कटान गरिसकेको छ ।

कटान समयमै नियन्त्रण नभए टीकापुर २, ५, ७ र ८ डुबानको जोखिममा छन् । कर्णालीको भंगालो कैलालीको टीकापुरतिर सोझिएपछि नियन्त्रणका लागि पहल र समन्वय भइरहेको नगर प्रमुख तपेन्द्रबहादुर रावल बताउँछन् ।

रानीजमराकै एउटा ठेक्का एक अर्ब ७३ करोड ३४ लाख रुपैयाँमा ऋषि सुवेदी प्रमुख रहेको तुदी कन्स्ट्रक्सनले पाएको छ । असार ०७४ भित्र सम्पन्न गर्ने सीमा रहेको काम हालसम्म ५० प्रतिशत मात्र भएको छ ।

रानीजमरामै पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्स्ट्रक्सनले एक अर्ब ७१ करोड ७९ लाख रुपैयाँ लागतको अर्को ठेक्का लिएको छ । असार ०७५ मा सम्पन्न हुनुपर्ने काम ०७७ का पाँच महिना बित्न लाग्दा पनि ५० प्रतिशत मात्र सकिएको छ ।

११ वर्षमा ७५ प्रतिशत काम

धीरेन्द्र दाहालको रौताहा कन्स्ट्रक्सनले अलपत्र पारको दोलखास्थित भोर्ले खोलाको पुल : दुई वर्षभित्र सक्नेगरी ०६६ माघमा ठेक्का भएको यो पुल ११ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

धीरेन्द्र दाहाल सञ्चालक रहेको रौताहा कन्स्ट्रक्सनले दोलखास्थित तामाकोसी नदीको भोर्ले पुल निर्माणका लागि माघ ०६६ मा ठेक्का पायो । चार करोड पाँच लाख लागतको पुल दुई वर्षमै सकिनुपथ्र्यो । तर, ११ वर्षमा पनि जम्मा ७५ प्रतिशत काम भएको छ । डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख विजय महतो भने पुल निर्माण ९० प्रतिशत सकिएको दाबी गर्छन् ।

कालो सूचीमा परेका ठेकेदारलाई नै रेलमार्गको जिम्मा

देशभर दर्जनौं आयोजना अलपत्र पारेर राज्यको ढुकुटी दोहन गरेका ठेकेदारहरूलाई नै सरकारले इनरुवा–काँकडभिट्टा रेलवे ट्रयाक बेड निर्माणको जिम्मा लगाउने तयारी गरेको छ । सरकारसँगकै मिलेमतोमा ठेकेदारहरूले एक सय ६ किलोमिटर लामो रेलमार्गका ५४ प्याकेजहरू भागबन्डा गरिसकेका छन् ।

राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनलाई एक अर्ब ३७ करोड ४२ लाखको ठेक्का भाग परेको छ । जब कि, उनीमाथि राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेर दुई अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्दा चलिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरी २२ मंसिर ०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दामा पाण्डेलाई दुई वर्ष कैद सजायको माग समेत गरिएको छ ।

सार्वजनिक खरिद कानुनअनुसार अदालतमा मुद्दा रहेका ठेकेदार कम्पनीले ठेक्कामा भाग लिन पाउँदैन । सार्वजनिक खरिद नियमावलीको छैटौँ संशोधनले त्यस्ता ठेकेदारले ठेक्का प्रक्रियामा भाग लिनै नपाउने व्यवस्था गरेको थियो । तर, शक्तिशाली ठेकेदारहरूकै दबाबमा गत वर्ष भएको नियमावलीको आठौं संशोधनमा त्यसलाई ‘सरकारले गर्ने निर्णयअनुसार हुने’ व्यवस्था गरियो ।

संशोधित व्यवस्थाअनुसार ठेक्का लगाउने निकायले विभागीय मन्त्रीसमक्ष खरिद मूल्यांकनमा सहभागी गराउने वा नगराउने भनेर स्वीकृति लिनुपर्ने हुन्छ । त्यही कानुनी छिद्रको प्रयोग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भ्रष्टाचार मुद्दा खेपिरहेको पाण्डेको कम्पनीलाई पनि खरिद मूल्यांकनमा सहभागी गराउन स्वीकृत दिएका छन् । ‘होइन भने मुद्दा चलिरहेको ठेकेदार कम्पनीले ठेक्कामा भाग लिए पनि उसको प्रस्ताव मूल्यांकनमा समावेश पर्ने सम्भावना नै हुँदैन,’ स्रोतले भन्यो ।

रमाइलो त के छ भने दुई महिनाअघि मात्रै प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयले पाण्डेको कम्पनीलाई प्रदेश सरकारका ठेक्कामा भाग लिन रोक लगाएको छ । तर, संघीय सरकारले भने त्यही प्रदेशको ठूलो आयोजना निर्माणको जिम्मा दिने तयारी गरेको छ ।

‘अदालतमा भ्रष्टाचार मुद्दा रहेका कारण प्रदेश १ सरकारले कालिका कन्स्ट्रक्सनलाई खरिद प्रक्रियामा सहभागी नगराउने भनेको छ,’ यस विषयका जानकार प्रधानमन्त्री कार्यालयअन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘तर, केन्द्र सरकारले दिने ठेक्का उनले पनि पाउने पक्का भयो भन्ने सुनिन्छ ।’

कालोसूचीमा रहेको रमण कन्स्ट्रक्सनलाई समावेश गर्न ठेक्काको म्याद थप जिम्मा लिएर हुलाकी राजमार्ग निर्माण कार्य अलपत्र पारेपछि रमण कन्स्ट्रक्सनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले हुलाकी राजमार्ग निर्देशनालयको सिफारिसमा ६ भदौ ०७६ मा एक वर्षका लागि कालोसूचीमा राखेको थियो । २१ साउन ०७७ पछि मात्रै कम्पनी कालोसूचीबाट हट्दै थियो । पवन महतोको कम्पनीलाई रेलमार्गको ठेक्का प्रक्रियामा सहभागी गराउन रेल विभागले ठेक्काको म्याद नै थपेको स्रोतको दाबी छ ।

कालोसूचीमा रहेको कम्पनीले तोकिएको अवधिसम्म ठेक्कामा भाग लिन नपाउने व्यवस्था खरिद कानुनमा छ । तर, रमण रेलमार्ग निर्माणमा भने योग्यता पुगेको कम्पनी हो । विभागले आह्वान गरेको टेन्डरको म्याद १३ र १६ साउनमा सकिएपछि रमणलाई पनि सहभागी गराउन २३ साउनसम्म म्याद थप गरेको स्रोतको दाबी छ ।

यद्यपि, विभागले तोकिएको समयमा प्रस्ताव बुझाउन नसक्ने छिटफुटका लागि म्याद थप गरिएको बताएको थियो । यसरी म्याद थपिएपछि रमण कन्स्ट्रसनले पनि एक अर्बभन्दा बढीको ठेक्का हात पार्न मिलेमतो भएको छ ।

भदौ १७ गते, २०७७ - ०६:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति...   
लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट हुम्ला । नेपाल–चीन सीमा छुट्याउने...   

वामदेवले प्रधानमन्त्रीलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई...   

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने

काठमाडौं। कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई...   

बंगलादेशबाट ५० हजार टन युरिया कात्तिकमा भित्रने, ८ महिनामा पैंचो तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ । आजको नयाँ...   
उपचारका लागि होइन, पिसिआरका लागि यो दुःख

उपचारका लागि होइन, पिसिआरका लागि यो दुःख

काठमाडौं। मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई...   

इ–पासपोर्ट छपाइमा खेलबाड : दोस्रो पटक टेन्डर रद्द, नयाँ टेन्डरको छैन भर

काठमाडौं । विद्युतीय राहदानी (इ–पासपोर्ट) का लागि सरकारले अघि बढाएको प्रक्रिया दोस्रो पटक रद्द भएको...   

विद्यार्थीका लागि सरकारले निकालेको लिम्पियाधुरा समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीकै निर्देशन

काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक...   

निर्धारित समयमै क्लिन फिड लागू गर्ने

काठमाडौँ । सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको...   

चाडपर्व नजिकिँदै गर्दा आकाशियो तरकारीको भाउ

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top