Khabar Dabali Logo
  September 21, Mon

मार्क्सवाद सङ्घर्ष र मुक्तिको दर्शन हो, बुद्दीविलासको होइन–नारायणकाजी

‘‘मार्क्सवाद रुपान्तरणको दर्शन हो, जसले कम्युनिस्टहरुलाई पथप्रदर्शकको काम गर्दछ। मार्क्सवादलाई पथप्रदर्शक बनाउनुपर्छ, बुद्धिबिलासको विषय बनाउनु हुँदैन। यो सङ्घर्ष र मुक्तिको दर्शन हो। हामीले यसलाई केवल शास्त्रीय विषय होइन, जीवन व्यवहार बदल्ने दर्शनका रुपमा बुझ्नुपर्छ।’’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मार्क्सवाद बुद्धिबिलासको विषय नभएको र रुपान्तरणको दर्शन भएको बताएका छन्। लोकपाटी मिडियाको मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित पाँचौं चरणको १५ दिने मार्क्सवादी कक्षाको उद्घाटन सत्रमा बोल्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन्।

मार्क्सवादी कक्षाको उद्घाटन गर्दै नेता श्रेष्ठले भने, ‘‘मार्क्सवाद रुपान्तरणको दर्शन हो, जसले कम्युनिस्टहरुलाई पथप्रदर्शकको काम गर्दछ। मार्क्सवादलाई पथप्रदर्शक बनाउनुपर्छ, बुद्धिबिलासको विषय बनाउनु हुँदैन। यो सङ्घर्ष र मुक्तिको दर्शन हो। हामीले यसलाई केवल शास्त्रीय विषय होइन, जीवन व्यवहार बदल्ने दर्शनका रुपमा बुझ्नुपर्छ।’’

नेता श्रेष्ठको विचारको भावांश

पार्टीभित्र वैचारिक खडेरी देखिएको र अध्ययन, बहसलाई अघि बढाउने नेता–कार्यकर्ता तिरस्कृत हुनुपर्ने परिस्थितिमा लोकपाटी मिडियाको मार्क्सवादी ज्ञान केन्द्रले मार्क्सवादको अध्ययन र अनुसन्धानका लागि जुन अग्रसरता देखाएको छ, त्यसप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यसले कम्युनिस्ट पार्टीभित्र विचारधारात्मक चेतको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु। यो अभियानका लागि सम्पूर्ण आयोजक साथीहरुमा हार्दिक धन्यवाद दिँदै आफ्नो ठाउँबाट सधैं सहयोग रहने जानकारीसमेत गराउँछु।

मार्क्सवाद रुपान्तरणको दर्शन हो, जसले कम्युनिस्टहरुलाई पथप्रदर्शकको काम गर्दछ। मार्क्सवादलाई पथप्रदर्शक बनाउनुपर्छ, बुद्धिबिलासको विषय बनाउनु हुँदैन। यो सङ्घर्ष र मुक्तिको दर्शन हो। हामीले यसलाई केवल शास्त्रीय विषय होइन, जीवन व्यवहार बदल्ने दर्शनका रुपमा बुझ्नुपर्छ।

अहिले हाम्रो पार्टीभित्र दुई दृष्टिकोणका आधारमा बहस चलिरहेको छ। एउटा चिन्तन नेपालको पुँजीवादी जनवादी क्रान्ति मौलिक ढङ्गले सम्पन्न गर्‍यौं। तर, यहीँ रोकिनु हुँदैन। समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्छ भन्ने छ। अर्को प्रवृत्ति पनि छ। त्यो प्रवृत्ति भनेको हिजो क्रान्ति गर्‍यौं, यो उपलब्धी हासिल पनि गर्‍यौं। अब यो उपलब्धीको उपभोग हामीले नै गर्ने हो, यहीँ रमाउने हो भन्ने छ। नेकपाको विवाद मुलभूत रुपमा यही प्रवृत्तिको बहस हो।

पहिलो प्रवृत्ति क्रान्तिको पक्षमा छ, समाजवादको पक्षमा छ, क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको पक्षमा छ। दोस्रो प्रवृत्तिले अहिलेका उपलब्धीलाई नै सबथोक ठान्छ र यहीँ रमाउने कोशिस गर्दछ। यसले समाजवादी क्रान्तिको सेवा गर्न सक्दैन। त्यो प्रवृत्तिले पुँजीवादसँगै सहवरण गर्ने खतरा रहन्छ।

पार्टीको मुल प्रवृत्ति कम्युनिस्ट र वैज्ञानिक समाजवादी बनाएर मात्र हामीले क्रान्तिको नेतृत्व गर्न सक्छौं। त्यसका लागि अध्ययन, छलफल र बहसको प्रक्रियालाई तीव्र पार्न र तथ्यबाट सत्यसम्म पुग्ने बाटो पछ्याउनुपर्छ। यसका लागि यस्ता अध्ययन, बहसहरु अत्यन्तै उपयोगी हुन्छन्।

वैचारिक र सांस्कृतिक रुपान्तरणको माध्यमबाट मात्रै नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठित गर्न सकिन्छ। त्यसका लागि हामीले केही कार्यभार पूरा गर्नुपर्दछ। आजको हाम्रो पहिलो कार्यभार हो, क्रान्तिकारी प्रतिवद्धता। अध्ययन, छलफल त भयो। तर, क्रान्तिकारी प्रतिवद्धता भएन भने त्यस्तो छलफल र बहस केवल बुद्धिबिलास मात्र हुन पुग्दछ। यसलाई निष्ठा र क्रान्तिको विषय बनाउन अध्ययनलाई क्रान्तिकारी प्रतिवद्धतासँग जोड्नुपर्दछ।

वैचारिक, सांस्कृतिक रुपान्तरणको दोस्रो पक्ष हो, वैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण। क्रान्तिकारी प्रतिवद्धता पनि भयो। तर, दृष्टिकोण वैज्ञानिक भएन भने त्यस्तो प्रतिवद्धता अन्ततः व्यवहारवाद र अनुभववादमा फस्ने खतरा रहन्छ। लेनिनले क्रान्तिकारी सिद्धान्त र वैज्ञानिक दृष्टिकोणबिना क्रान्ति हुँदैन भन्नुको तात्पर्य पनि यही हो। त्यस्तो दृष्टिकोण संस्कृति र आचरणका रुपमा अभिव्यक्त हुन्छ। तसर्थ, हामीले राजनीतिक र सामाजिक जीवनमा कस्तो आचरण र व्यवहार गर्छौं भन्ने कुराले दृष्टिकोणको वैज्ञानिकतालाई मापन गर्दछ।

कम्युनिस्ट पार्टीभित्र मुलभूत रुपमा २ प्रवृत्ति छन्। एउटा प्रवृत्ति परम्परागत पुँजीवादी व्यवस्थामा रमाउन चाहन्छ। अर्को प्रवृत्ति समाजवादको दिशामा अघि बढ्न चाहन्छ। अहिले हाम्रो पार्टीमा चलेको छलफल यसैका वरिपरि केन्द्रित छ। यद्यपि, समाजवादी क्रान्तिमा जान चाहने प्रवृत्तिमा पनि थुप्रै समस्याहरु छन्। त्यहाँ पनि रुपान्तरणको जरुरी छ, आत्मालोचना जरुरी छ, सङ्घर्ष पनि जरुरी छ।

कम्युनिस्ट पार्टी कुनै ट्रेडमार्क होइन। यसले विचार र विधिको संयोजन गर्नुपर्छ। आज पार्टी गतिशील हुन नसक्नु, सरकार प्रभावकारी हुन नसक्नु, समग्रमा पार्टी र सरकार क्रान्तिकारी दिशामा जान नसक्नुमा थुप्रै समस्याहरु छन्। त्यसमध्ये मुख्य समस्या विचार र विधिको संयोजन र त्यसको दृढतापूर्वक कार्यान्वयनको प्रश्न हो। यो बहस अहिले नै पूर्ण भयो भन्ने पनि होइन। यो महाधिवेशनमा पुगेर पूर्ण हुने बहस पनि होइन। हामीले यसलाई वैचारिक, सांस्कृतिक रुपान्तरणको आन्दोलनका रुपमा बुझ्नुपर्छ।

हामी क्रान्ति संगठित गर्न चाहन्छौं। त्यो क्रान्ति हाम्रै विशेषता र मौलिकताको हुन्छ। नेपाली विशेषतासहितको समाजवादी क्रान्तिको तयारी हाम्रो कार्यभार हो। त्यसका लागि सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एक ठाउँमा राखेर विचारको विकास र क्रान्तिकारी पुनर्गठन जरुरी छ। यही बृहत् उद्देश्यमा केन्द्रित रहेर नै हामीले पार्टी एकता गरेका हौं। यसले कम्युनिस्ट आन्दोलनलाई केन्द्रिकरण गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्ने अवसर प्रदान गरेको छ।

Narayan-Kaji-Shrestha-

हामी मार्क्सवादलाई नै कसरी बुझ्छौं ? मार्क्सवाद मुलतः दृष्टिकोण र पद्धति विज्ञान हो। तसर्थ, यसलाई सिद्धान्त र निष्कर्षको थुप्रोका रुपमा बुझ्नु हुँदैन। यसलाई दृष्टिकोण र पद्धतिका रुपमा बुझ्न सकिन्छ। मार्क्सवाद द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र भौतिकवादी द्वन्द्ववादी पद्धति हो। यसरी बुझिएन भने यसलाई धर्मशास्त्र बनाउने खतरा रहन्छ। कम्युनिस्टहरुका निम्ति, सर्वहारा र श्रमजीवी वर्गका निम्ति यो एउटा ‘टर्चलाइन’ हो, पथप्रदर्शक सिद्धान्त हो। यसले हरेक देशको क्रान्तिलाई बाटो देखाउँछ। तर, यसले एउटा देशको क्रान्ति अर्को देशमा आयातनिर्यात हुने कुराको वकालत गर्दैन। क्रान्ति मार्क्सवादको आलोक र आफ्नै देशको मौलिकतामा हुन्छ र हुनुपर्छ।

भौतिक र सामाजिक विज्ञानमा आएको विकासअनुरुप मार्क्सवाद पनि विकसित हुँदै जान्छ। क्रान्तिको पनि विकास हुँदै जान्छ। क्रान्तिका अनुभवहरुले हामीलाई सन्दर्भको काम गर्छन्। तर, धर्मशास्त्रका रुपमा काम गर्दैनन्। तसर्थ, दृष्टिकोण र पद्धतिलाई गहिरो गरी बुझ्न जरुरी छ। मार्क्सवाद धर्मशास्त्र होइन, क्रान्तिको पथप्रदर्शक हो भन्नुको तात्पर्य पनि यही हो।

मार्क्सवादलाई बुझ्ने सन्दर्भमा दुईथरि अतिवाद छन्। मार्क्सवादलाई जडसुत्रका रुपमा बुझ्ने प्रवृत्ति पनि हामीकहाँ छ। जडसुत्रवादले मार्क्सवादलाई परिस्थितिका आधार विकसित हुने पथप्रदर्शक सिद्धान्त मान्दैन। अर्को प्रवृत्तिले मार्क्सवादको सिर्जनात्मक प्रयोगका नाममा यसको पथप्रदर्शकको महत्व नै अस्वीकार गर्दछ। तसर्थ, हामी जडसुत्रवाद र दक्षिणपन्थी संशोधनवादको बिचलनबाट बच्नुपर्छ।

मार्क्सवाद विज्ञान हो, यो गतिशील विज्ञान हो। यसलाई विज्ञानका रुपमा बुझ्नुको अर्थ यो पूर्ण छैन। मार्क्सवादप्रति नै आलोचनात्मक दृष्टिकोण राख्ने मात्रै मार्क्सवादी हुन्छ। मार्क्सवादले आलोचनात्मक चेतको माग गर्दछ। आलोचनात्मक चेत मरेपछि कोही पनि क्रान्तिकारी हुन सक्दैन। आलोचनात्मक चेतको जगमा नै मार्क्सवादको विकास हुँदै जान्छ र जानुपर्छ।

मार्क्सले गरेको औद्योगिक पुँजीवादको विश्लेषण लेनिनसम्म आउँदा नयाँ चरणमा पुग्यो। लेनिनले यसलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको विज्ञानका रुपमा विकसित गर्नुभयो। त्यो आलोचनात्मक चेतकै उपज थियो। माओले अर्धसामन्ती र अर्धऔपनिवेशिक विशेषताका आधारमा क्रान्तिलाई मौलिक ढङ्गले परिभाषित गर्नुभयो। सर्वहारा सांस्कृतिक क्रान्ति पनि मार्क्सवादको मौलिक र गुणात्मक विकास हो। यद्यपि, यसका थुप्रै कमिकमजोरीहरु छन्। तर, त्यसकै आधारमा सांस्कृतिक क्रान्तिको विचारधारात्मक योगदान र विकासलाई अवमूल्यन गर्न मिल्दैन। यसको अवमूल्यन गर्नुको अर्थ मार्क्सवादको विकास र क्रान्तिकारी पक्षधरतालाई अवमूल्यन हुन जान्छ।

आजको आवश्यकतासँग मेल खाने गरी मार्क्सवादको विकास र विचारको विकास दुवै जरुरी छ। आजको विश्वमा विज्ञान प्रविधि, सामाजिक विज्ञान, उत्पादन पद्धतिमा आएको परिवर्तन लगायतका विषयको गहिरो विश्लेषणका आधारमा मात्र हामीले त्यस्तो विचार र कार्यदिशाको विकास गर्न सक्छौं। त्यस्तो कार्यदिशाले मात्र हामीलाई समाजवादको मौलिक अभ्यास गर्दै साम्यवादमा पुग्ने बाटो खुला गर्दछ। नेकपाको दस्तावेजले यसबारे प्रष्ट दिशानिर्देश गरेको छ। हाम्रो समाजवाद हाम्रै विशेषताको हुनेछ, हाम्रै मौलिकताको हुनेछ।

आजको विश्वमा भौतिक विज्ञान र सामाजिक विज्ञानमा भएको विकास, भूमण्डलीकृत विश्व व्यवस्थाको प्रभाव, सुक्ष्म यान्त्रिकीको सिद्धान्त, कृतिम बौद्धिकता आदि क्षेत्रहरुले राजनीतिक क्रान्तिको क्षेत्रमा पनि गुणात्मक फेरबदल ल्याइदिएको छ। जैविक भाइरस आक्रमण सुरु भएको छ। यस्ता धेरै पक्ष छन्, जसले मार्क्सवादलाई थप विकास गर्न कम्युनिस्ट क्रान्तिकारीहरुका निम्ति जिम्मेवारी थपिएको छ। तसर्थ, हामीले वस्तुगत रुपमा देखा परेका नयाँ तथ्यहरुका आधारमा मार्क्सवादको विकास गर्नुपर्छ। मार्क्सवादको विकासका सन्दर्भमा हामीले ध्यान दिनुपर्ने पहिलो पक्ष यही हो।

दोस्रो कुरा, बीसौं शताब्दीमा स्थापित समाजवादी, नयाँ जनवादी सत्तामा आएको प्रतिक्रान्ति र त्यसका अनुभवहरुको शिक्षा हो। प्रतिक्रान्तिका अनुभव र शिक्षाका आधारमा मात्र हामीले विचार र कार्यदिशाको वैज्ञानिकता प्रमाणित गर्न सक्छौं। यहाँ हामी प्रतिक्रान्तिका लागि क्रान्ति हुने खतराबाट बच्न जरुरी छ। हाम्रो विचार र कार्यदिशाको विकासमा यो दोस्रो महत्वपूर्ण पक्ष हो।

हामीले नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबिच एकता ग¥यौं। यो एकताको महत्वलाई पनि हामीले ऐतिहासिक भौतिकवादी ढङ्गले बुझ्न जरुरी छ। पार्टी एकताका सन्दर्भमा कसैका व्यक्तिगत एवं निहित बुझाइ पनि होलान्, आग्रह र स्वार्थहरु पनि होलान्। तर, त्यो समग्र विषय होइन, मुख्य विषय पनि होइन। समग्रमा हामीले यसको ऐतिहासिक भौतिकवादी कोणबाटै विवेचना गर्नुपर्छ। त्यसरी मात्र हामी सही निष्कर्षमा पुग्न सक्छौं।

हामीले गरेको एकता पार्टी एकताको आदर्श मोडेल थिएन। तर, ऐतिहासिक आवश्यकता थियो। हामीले पूर्ववत पार्टीभित्र वैचारिक छलफल, अन्तरक्रियाका आधारमा साझा निष्कर्ष निकालेर, आ–आफ्ना अधिवेशन गरेर एकताको प्रक्रिया सम्पन्न गरेका थिएनौं। यस अर्थमा यो एकताको आदर्श मोडेल थिएन। पार्टी एकताले सधैं आदर्श मोडेल नै पछ्याउँछ भन्ने पनि छैन। लेनिनले ‘मजदूरहरुले ‘पार्टी एकता गर’ भने, अनि हामीले एकता गर्‍यौं’ भन्नुभएको छ। यसको अर्थ सबै एकता आदर्श मोडेलबाटै जान्छन् भन्ने हुँदैन। तर, यो एकता ऐतिहासिक आवश्यकता थियो। हामीले यसको महत्वलाई यसरी नै बुझ्नुपर्छ।

नेपालमा पुँजीवादी जनवादी क्रान्ति मौलिक ढंगले सम्पन्न भयो। यो रुसी बाटो र चिनियाँ बाटोको अवलम्बन होइन। जनयुद्ध र शान्तिपूर्ण संघर्षको संयोजनबाट पुँजीवादी जनवादी क्रान्ति भएको छ। अबको हाम्रो कार्यदिशा मौलिक कार्यदिशा हुन्छ। त्यसलाई हामीले समाजवादउन्मुख जनताको जनवाद भनेका छौं। यो जनताको बहुदलीय जनवाद पनि होइन, यो परम्परागत संसदीय लोकतन्त्र पनि होइन। जनयुद्ध र शान्तिूर्ण क्रान्तिको संयोजनमार्फत् हामीले हाम्रै मौलिकतामा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेका छौं। यो पार्टी एकताको प्रमुख आधार हो।

दोस्रो कुरा, पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व पुँजीपति वर्गको हातमा नजाओस् भनेर पनि पार्टी एकता गरिएको हो। अबको परिस्थितिमा सडकको मोर्चाबाट मात्र क्रान्तिका उपलब्धी जोगाउन सकिँदैन। त्यसका लागि पार्टी एकता जरुरी थियो। वैधानिक रुपमा नै राज्यको नेतृत्व गरेर क्रान्तिका उपलब्धी रक्षा गर्न एकता गरिएको हो।

नयाँ वैचारिक राजनीतिक कार्यदिशा विकास गर्न कम्युनिस्टहरुको एकता जरुरी थियो। तात्कालीन नेकपा एमालेको नवौं महाधिवेशन र तात्कालीन माओवादी केन्द्रको सातौं महाधिवेशनको निष्कर्षमा टेकेर हामीले संक्रमणकालीन कार्यदिशाको विकास गरेका छौं। हाम्रा समान निष्कर्षका आधारमा नै पार्टी एकता सम्भव भएको हो। तर, मुर्त र झन् उन्नत कार्यदिशा महाधिवेशनले तय गर्नेछ। महाधिवेशनमा हामी समाजवादी क्रान्तिको मौलिक कार्यदिशा विकास गर्ने ठाउँमा पुग्नेछौं। त्यही कार्यदिशाका आधारमा मात्र नेतृत्व विकास हुन्छ। कार्यदिशाले नै कार्यदिशाअनुरुपको नेतृत्व माग गर्दछ। यो नै आजको यथार्थ हो।

हामी रुपान्तरणका पक्षधर हौं। हामीले गरेको परिवर्तनलाई राजनीतिक क्षेत्रमा मात्र सीमित नराखी आर्थिक सामाजिक क्षेत्रको रुपान्तरण गर्न चाहन्छौं। त्यसकै बलमा समाजवादको आधार तयार पार्न सकिन्छ। हामीले राजनीतिक क्रान्ति त गर्‍यौं। तर, आर्थिक सामाजिक रुपान्तरण गर्न सकेनौं भने जनतालाई हाम्रो साथमै राख्न सकिँदैन। त्यसका लागि हामीले सरकारमार्फत् आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्नुपर्छ। यसर्थ पनि हामीले एकता गर्‍यौं।

एउटा कम्युनिस्ट क्रान्तिकारीका निम्ति सरकार, मन्त्री पद पनि क्रान्तिकै साधन हो। समाजवादी क्रान्तिको कार्यभार छोडिदियौं भने हामी कम्युनिस्ट हुन सक्दैनौं। हामीकहाँ मन्त्रीका निम्ति, सरकारका निम्ति हानथाप गर्ने परिस्थिति निर्माण भएको छ। यो क्रान्तिकारी तरिका होइन। मन्त्री पद क्रान्तिको जिम्मेवारी लिने मोर्चा हो। यसरी बुझेर मात्र हामीले साम्यवादको ध्येयलाई आत्मसात गरेको ठहर्छ।

हामीले नेपालमा नयाँ मोडेलको क्रान्तिको प्रयोग गरेका छौं। त्यो नयाँ मोडेलको क्रान्तिलाई सफल पार्न पार्टी एकता गरेका हौं। अहिले विश्वमा चीन, भियतनाम, क्युवा लगायतका देशमा समाजवादको ‘ब्यानर’मा क्रान्तिको अभ्यास भइरहेको छ। तर, हामीले त्यही बाटो पछ्याउन सक्दैनौं। २० औं शताब्दीकै अभ्यासबाट हामीले आजकोे क्रान्तिको नेतृत्व गर्न र त्यसको रक्षा गर्न सक्दैनौं। त्यसकारण हाम्रो प्रयोग नयाँ छ।

आज हामीलाई पुँजीवादी वर्गले शंकाको नजर हेरिरहेको छ। यिनीहरु पुँजीवादमा नै सहवरण होलान् कि कम्युनिस्ट नै भएर अघि बढ्लान् ? भन्ने कोणबाट हेरेका छन्। उनीहरु हामी पुँजीवादी पार्टीमा स्खलित भएको हेर्न चाहन्छन्। उनीहरु हामीलाई आफूजस्तै यथास्थिति र प्रतिक्रान्तिको पक्षमा उभ्याउन चाहन्छन्। अर्कोतिर, नेपाली जनता र विश्वभरिका कम्युनिस्टहरुले हामीलाई आशाको नजरले हेरिरहेका छन्। तसर्थ, हामीले साम्राज्यवादीको होइन, कम्युनिस्टहरुको अपेक्षा पूरा गर्नुछ। हामीले समाजवादी क्रान्तिको मार्गचित्र तय गर्नुपर्छ। त्यो समाजवाद वैज्ञानिक समाजवाद नै हो र हुनुपर्छ।

कतिपयले यो एकतालाई कांग्रेसलाई हराउने साधनका रुपमा मात्र बुझेका पनि होलान्। तर, कांग्रेसलाई हराउन र सत्ताको उपभोग गर्नका लागि एकता गरिएको होइन। यो एकता सत्ताको भोगका लागि पनि होइन। समाजवादी क्रान्तिका लागि हो। पुँजीवादी भएर त कांग्रेसलाई हराउन पनि सकिँदैन। कम्युनिस्ट भएर मात्रै नेकपालाई क्रान्तिकारी बनाउन सकिन्छ, वैज्ञानिक समाजवादमा जान सकिन्छ, कांग्रेसलाई हराउन पनि सकिन्छ।

गत निर्वाचनमा हामीले झण्डै दुईतिहाइ जनमत हासिल गर्‍यौं। सरकार पनि गठन भयो। तर, सरकार सञ्चालन सम्बन्धी स्पष्ट दिशानिर्देश हुन सकेन। हामीमा सरकारको दिशा, नीति र सञ्चालन प्रक्रियाबारे पर्याप्त छलफल र तयारी भएन। सुरुमै पार्टीका नेता र विज्ञ राखेर सरकार सफल पार्नेबारे बहस गर्नुपर्थ्यो। किनकि यो निरन्तरताको सरकार होइन। यो समाजवादका निम्ति सामाजिक आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्ने सरकार हो। हामीले त्यो गरेनौं। हामीले त्यहीँनेर गल्ती गरेका छौं।

सरकारबारे छलफल गर्दा, सरकारको दिशाबारे बहस गर्दा हामीले कम्तिमा पाँच कुरालाई ध्यान दिनुपर्छ। पहिलो, हाम्रो संविधानको आधार। हाम्रो संविधानको दिशानिर्देशका आधारमा सरकार सञ्चालन हुनुपर्छ। दोस्रो कुरा हो अहिलेको विश्वव्यवस्था। अहिलेको साम्राज्यवादी, नवउदारवादी विश्वव्यवस्थाको प्रभाव र त्यसबारे सरकारले लिनुपर्ने नीतिबारे हामी प्रष्ट हुनुपर्छ। तेस्रो पक्ष हो वर्गशक्ति सन्तुलन। हाम्रो वर्गको भौतिक शक्ति र आत्मगत अवस्था के छ, हामी कुन हदसम्मको क्रान्तिकारी कार्यक्रम लागू गर्न सक्छौं, त्यसबारे विचार गर्नुपर्छ। चौंथो पक्ष भनेको हाम्रो भूराजनीतिक परिस्थिति हो। भूराजनीतिक परिस्थितिमा हामी कहाँ छौं र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ। पाँचौं पक्ष हो हाम्रो उत्पादक शक्तिको अवस्था। हाम्रो उत्पादक शक्तिको अवस्था के छ, त्यसका आधारमा नै सरकारको नीति र कार्यक्रम तय हुनुपर्छ। यी पाँच कुरालाई ध्यान नदिँदा हामी पुँजीवादकै अभ्यास गर्ने वा दुर्घटनामा पर्ने खतरा रहन्छ। उल्लेखित पक्षका आधारमा वामपन्थी सरकारले संक्रमणकालीन नीति र कार्यक्रम तय गर्नुपर्थ्यो।

हामीले समृद्धिको मोडेल र आचरण दुवै पक्षमा छलफल गरेनौं। त्यसकारण, सरकार सफल हुन सकेन। सरकारले केही राम्रा काम गरेको छ। तर, समाजवादको तयारीका लागि ती काम गुणात्मक हुन सकेनन्। विकासका केही काम, राष्ट्रियता र भूमिको रक्षाको काम, मौलिक कानुनको निर्माण, मधेशलाई बिभाजनबाट रोक्ने लगायतका केही काम सरकारले गरेको छ। तर, कार्यभारका दृष्टिले जे काम गर्नुपर्थ्यो, त्यो काम सरकारले गर्न सकेन।

राज्यसत्ता प्राप्त नभएकाले काम गर्न सकिएन भन्ने पनि गरिएको छ। तर, यो कुरा मात्र साँचो होइन। कुनै पनि क्रान्ति शुद्ध हुँदैन। शुद्ध क्रान्तिको कल्पना गर्नु भनेको क्रान्ति नगर्नु हो। क्रान्ति आफ्नो विशेषता र मौलिकतामा हुन्छ। त्यसकारण, हामीले सम्भावनाको भरपूर उपयोग गर्‍यौं कि गरेनौं ? भन्ने प्रश्न मुख्य कुरा हो। यस दृष्टिले हामीले सम्भावनाको क्रान्तिकारी उपयोग गर्न सकेनौं।

अहिलेकै सन्दर्भमा सर्वहारा अधिनायकत्वलाई सापेक्षतामा बुझ्नुपर्ने भएको छ। अहिलेकै विचार, संस्कृति र नेतृत्वमा अधिनायकत्वको अभ्यास त झन् खतरा हुन सक्छ। वैचारिक र सांस्कृतिक रुपान्तरणबिना अधिनायकत्व लागू गरियो भने के होला ? यही विचार, प्रवृत्ति र संस्कृतिले सर्वहारा अधिनायकत्वको अभ्यास गर्न सकिँदैन। राज्यमा कम्युनिस्टहरुको ‘मोनोपोली’ भयो भने के गर्ने ? यही परिस्थितिमा झन् भ्रष्टिकरण गर्छ। तसर्थ, तत्कालका लागि यो झन् घातक हुन्छ।

भौतिक परिवेश जस्तो छ, आफू त्यस्तो हुने हो भने त्यो कम्युनिस्ट हुन सक्दैन। किनकि, कम्युनिस्ट पार्टीहरु सामन्ती र पुँजीवादी समाजमै जन्मिन्छन्। तर, कम्युनिस्टहरुले भौतिक परिवेश देखाएर सामन्ती वा पुँजीवादी हुन मिल्छ ? मिल्दैन। माओले भनेझैं आफू नै क्रान्तिको पहिलो निशाना हुनुपर्छ भन्नुको अर्थ पनि यही हो। यो रुपान्तरणको अवसर हो। हामी मौका नपाएका बेइमान होइनौं। तसर्थ, वैचारिक सांस्कृतिक रुपान्तरण गरौं। यसबाट नै वैज्ञानिक विचार र प्रणाली विकास गर्न सकिन्छ र सक्नुपर्छ।

भदौ १६ गते, २०७७ - २०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा संक्रमण

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य...   

धरानमा एक संक्रमितको मृत्यु

धरान । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको...   

भुकम्प अपडेट : ६ रेक्टरस्केल, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

काठमाडौं । एकाबिहानै गएको भुकम्प ६ रेक्टरस्केलको भएको भुकम्प मापन केन्द्रले बताएको छ । केन्द्रका...   

भूकम्पको ठुलै धक्का, मानिसहरू घरबाहिर

काठमाडौं। आज बिहानै काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मानिसहरू...   

यी हुन् सरकारका १० निर्णय : रेष्टुरेण्टदेखि हवाई यातायातसम्म अशोज १ बाट खुल्ने

काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने...   

कुलमानको नियुक्तिबारे प्रधानमन्त्री ओलीको कानुनी प्रश्न

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान...   

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात खुल्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन...   
थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा...   
उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top