Khabar Dabali Logo
  October 22, Thu

क्यापिटल मर्चेन्ट ठगी प्रकरण : योजनाकार उम्किए, पीडित अझै कारागारमा, कसैको भागाभाग

काठमाडौं। ०६५ मा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडबाट ऋण लिँदा काभ्रे बुडोलका राजेश केसी १८ वर्षका थिए । भरखरै कक्षा–१२ सकेका उनको चाहना अमेरिका गएर उच्च शिक्षा अध्ययन गर्ने थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – क्यापिटल मर्चेन्टका सञ्चालक पवनकुमार कार्कीका ससुरा शम्भुबहादुर केसी उनका बाबु मोहनका मामा पर्थे । आफ्नै कम्पनी खोलेर कारोबार भएको देखाउँदा अमेरिकी दूतावासले सजिलै भिसा दिने भन्दै शम्भुले राजेशलाई फकाए ।

शम्भुले नै राजेशको नाममा ‘क्रिस्टा टी उद्योग प्रालि’ नामक कम्पनी खोलिदिए । र, कम्पनीको नाममा क्यापिटल मर्चेन्टबाट नौ करोड ७५ लाख रुपैयाँ ऋण निकाले । शम्भुको जालमा परेका उनले न त अमेरिका जान पाए, न स्वदेशमै भविष्य बनाउन । प्रहरीको फरार सूचीमा रहेका उनी कतिवेला पक्राउ परिने हो भन्ने त्रासमा छन् ।

जालसाजी गरेर शम्भुले ठूलो परिमाणमा ऋण निकालेको जानकारी राजेशले आफ्नो नाम कालोसूचीमा परेपछि मात्र पाए । ‘गाउँका अरूको नाम पनि कालोसूचीमा आयो, केहीलाई प्रहरीले समात्यो, भागाभाग सुरु भयो, सबैले अत्याए । म अदालतसमेत जान पाइनँ । आफ्नो कुरा पनि राख्न पाइनँ,’ राजेश भन्छन् ।

राजेशका बाबु मोहन गाडी चालक हुन् । शम्भुको इमानदार छविका कारण उनले खासै चासो लिएनन् । किनकि, उनी शम्भुप्रति नतमस्तक थिए । त्यसको कारण थियो– छोरो अमेरिका जान पाउने आशा । ‘मलाई यो कुरा खासै थाहा थिएन,’ मोहन भन्छन्, ‘घरमा खासै बस्न पाउँदिनथेँ, शम्भु राम्रो र सज्जन मानिन्थे ।’

छोरालाई यति ठूलो समस्या आइलाग्ला भन्ने उनले सोचेका पनि थिएनन् । ‘सूचना निस्किँदा काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स पढ्दै थिएँ । कति पटक लुकीलुकी पढ्न गएँ । प्रहरी, सिआइबीका टोलीले लखेटे,’ राजेश पश्चात्ताप मान्छन्, ‘एउटा सिग्नेचरले गर्दा भविष्य नै डामाडोल भयो ।’

समस्याग्रस्त क्यापिटल मर्चेन्टका सञ्चालक कार्की र उनका ससुरा शम्भुको जालसाजीमा परेका काभ्रे बुडोलका बासिन्दामध्ये प्रतिनिधि हुन्, राजेश । उज्ज्वल भविष्यको आशामा त्यस संस्थासँग जोडिएका उनी अहिले प्रहरीबाट लुकीछिपी हिंड्न बाध्य छन् ।

दोषी उम्किए, पीडितलाई सजाय

वित्त कम्पनीलाई स्तरोन्नति गरेर वाणिज्य बैंक बनाउने खेलमा क्यापिटल मर्चेन्टका लगानीकर्ता र कर्मचारीले अपनाएको गलत बाटोका कारण ऋणी र जमानीकर्तासहित करिब दुई सय जना बैंकिङ कसुर मुद्दामा फसेका छन् ।

प्रत्यक्ष ऋणी दरिएर संस्थालाई हानि पुर्‍याएको ठहरसहित तीमध्ये ४५ जनालाई जेल सजाय तोकिएको छ । तीमध्ये १७ जना कारागार चलान भएका छन् । अन्य सबै फरार सूचीमा छन् । पीडित सबै संस्थाका तत्कालीन लगानीकर्ता तथा पूर्व प्रबन्ध सञ्चालक कार्की र उनका ससुरा शम्भुका आफन्तजन हुन् ।

काठमाडौं बानेश्वरका कार्की यो प्रकरणका दोषी समातिन थालेपछि अमेरिका पलायन भएका छन् । शम्भु भने साढे पाँच वर्ष जेल बसेर रिहा भएका छन् । उनीविरुद्ध ४५ जना नक्कली ऋणीका अलग–अलग मुद्दामा उनी जोडिएका थिए । ती सबैमा डेढ–डेढ वर्ष सजाय तोकियो । तर, एकमुष्ठ साढे पाँच वर्ष जेल सजाय हुने फैसला अदालतले दियो ।

शम्भु, पवन, संस्थाकी अधिकृत तण्डुकार र नक्कली ऋणीहरूको नाममा ५४ वटा अलग–अलग मुद्दा पुनरावेदन अदालतमा दायर भएको थियो । राष्ट्र बैंकले मुख्य दोषीका रूपमा शम्भु, पवन तथा सहयोगी कर्मचारीका रूपमा रीना र कर्जा अधिकृत मनोज खनाललगायतविरुद्ध किटानीसहित मुद्दा दायर गरेको थियो ।

नक्कली ऋणी प्रकाश खत्रीको मुद्दामा पुनरावेदनबाट भएको फैसलामा धितो मूल्यांकनकर्ता सञ्जय उप्रेतीलाई छुट नै दिइएको छ । खाली चेकमा हस्ताक्षर भएसँगै चेकको कारोबार गर्दै आएकी रीना तण्डुकारले भने अदालतमा अनुपस्थित भएकै अवस्थामा समेत सफाइ पाएकी छन् ।

पुनरावेदन अदालतले सबैजसो ऋणीलाई तीन वर्ष काराबास र ऋण दायित्व बराबर बिगो भराएको छ । तर, बिगो तिर्न नसकेकै कारण ऋणीहरूले चार वर्षको थप सजाय पाएका छन् । शम्भु, मनोज, पवन, अर्का सञ्चालक शिवराज जोशीलाई सबै मुद्दामा डेढ वर्षको सजाय र ऋण रकमको आधा दामासाहीमा बिगो तोकिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले ऋणीबाहेक अन्यलाई सजाय कम भएको तथा सजाय छुट पाएका मूल्यांकनकर्ता, अधिकृत तण्डुकारलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै सर्वोच्चमा पुनः मुद्दा दायर गरेको छ ।

कम्पनीमा शम्भु प्रत्यक्ष संलग्न देखिँदैनन् । तर, उनकै कारण सर्वसाधारण यो प्रकरणमा मुछिएका छन् । यस प्रकरणका मुख्य योजनाकार कार्कीसँग उनको मिलेमतो रहेको पीडित बताउँछन् । गाउँमा इमानदार छवि बनाएर शम्भुले परिवार र नातेदारलाई नै ठगेको पीडित बताउँछन् । यो मुद्दामा पीडितलाई पूरै सजाय तोकिएको छ । मुख्य योजनाकार, कर्जा स्वीकृत गर्ने सञ्चालक समिति अध्यक्ष र धितो मूल्यांकनकर्ताले भने सजाय छुट पाएका छन् ।

शम्भुको पृष्ठभूमि जग्गा दलाली हो । त्यतिवेला काठमाडौं पुतलीसडकमा मुख्यालय रहेको क्यापिटल मर्चेन्ट ०५८ सालमा स्थापना भएको हो । छोरी ज्वाइँ कार्कीको लगानी भएकाले फाइनान्सलाई वाणिज्य बैंकमा स्तरोन्नति गराउने खेलमा शम्भुको मुख्य भूमिका थियो ।

त्यसपछि नक्कली ऋणी खडा गर्दै कर्जा जारी गर्ने क्रम चल्यो । त्यो कर्जा रकम पुनः आफैँले प्रयोग गर्ने, अर्को जग्गा खरिद गर्ने र फेरि धितो राखेर कर्जा निकाल्ने सिलसिला चलाएर बैंकिङ ठगी गरियो । शम्भुले आफ्नै नातेदारहरूलाई नक्कली कम्पनीको मालिक बनाउँदै ज्वाइँको कम्पनीबाट ऋण जारी गर्न लगाए ।

राष्ट्र बैंकले ०६५ मा स्थलगत अध्ययन गर्दासम्म ४५ जना नक्कली ऋणीका नाममा ऋण जारी भइसकेको थियो । तीमध्ये १७ जना कारागार चलान भए । जेल परेकामध्ये पनि केही सजाय भुक्तान गरेर रिहा भएका छन् । एकजनाको कारागारमै मृत्यु भएको छ ।

यस प्रकरणमा फसेका सर्वसाधारणमध्ये कतिपयले छोराछोरीलाई विदेश पठाउन सहज हुने आशामा साथ दिएको देखिन्छ । कतिपयले भने धितो शम्भुको भएकाले ऋण पनि उनकै हुने भ्रममा कागजातमा हस्ताक्षर गरिदिएको देखिएको छ ।

कानुनी छिद्र, कमजोर नियमन

असार ०६७ मा राष्ट्र बैंकले तल्लोस्तरका वित्तीय कम्पनी स्तरोन्नति हुन सक्ने व्यवस्था ल्यायो । त्यससँगै कतिपय वित्तीय संस्था जसरी पनि पुँजी पु¥याउने र वाणिज्य बैंक बन्ने होडमा लागे । त्यही होडमा सामेल भए, त्यतिवेला भर्खरै सञ्चालनमा आएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सञ्चालक पनि ।

३० करोड चुक्ता पुँजी भएका वित्त कम्पनीले वाणिज्य बैंक बन्न दुई अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने प्रावधान थियो । निक्षेपकर्ता र ऋणी गरी २५ हजार ग्राहक भएको तथा निक्षेप र कर्जाको जोड न्यूनतम चुक्ता पुँजीको १५ गुणा भएमा स्तरोन्नति हुन सक्ने व्यवस्था थियो ।

क्यापिटल मर्चेन्टका सञ्चालक कार्की नक्कली ऋणी खडा गर्ने र कम्पनीकै रकम कर्जाका रूपमा झिकेर धितो खरिद गर्दै त्यही धितो राखेर नयाँ कर्जा जारी गर्ने रणनीतिमा लागे । र, कम्पनीलाई स्थापनाकालदेखि नै जालसाजीमा लगाए । संस्था स्थापना गर्ने क्रममा श्रीराम खत्रीलाई विना लगानी कम्पनीको सेयर लगानीकर्ता बनाइएको देखिन्छ ।

‘मेरा भन्दाइ नाताका शम्भु र उनका ज्वाइँ कार्कीले मैले कुनै लगानी गर्नु नपर्ने र सबै लगानी उहाँहरूले नै गर्ने तथा केवल संस्थापकको संख्या पुर्‍याउन आफन्तको नाममा राख्नुपर्ने कुरा गरेर शम्भुले तयार गरेर ल्याएको कागजात पढ्दै नपढी सहीछाप गरी दिएको हो,’ खत्रीले पुनरावेदन अदालत, पाटनमा पेस गरेको पत्रमा उल्लेख छ ।

यसरी ठगिए सर्वसाधारण
बुडोलकै हरिचन्द्र केसी पेटको क्यान्सरका बिरामी थिए । शम्भुको जालमा फसेका उनी बैंकिङ कसुर मुद्दामा थुनामा परेको करिब चार महिनामा कारागारभित्रै बिते । उनकी श्रीमती मन्दिरा केसीलाई समेत जेल सजाय तोकिएको छ । उनी पनि हुँदै नभएको ‘घराना डेभलपर्स प्रालि’ की सञ्चालक बनाइएकी छन् । उनको नाममा क्यापिटलबाट चार करोड रुपैयाँ ऋण जारी भएको छ ।

‘एक साँझ मेरो जेठाजु नाताका शम्भु आए, मसँग नागरिकता र फोटो मागे,’ मन्दिरा भन्छिन्, ‘श्रीमान् पशु सेवा विभागमा काम गर्नुहुन्थ्यो । त्यतिवेला नौबिसेमा कार्यरत हुनुहुन्थ्यो । मैले सोध्दा नागरिकता र फोटो दिन भन्नुभयो, १५ दिनमा फिर्ता गर्छु भन्दै शम्भुले कागजात लगे ।’ शम्भुले नागरिकता र फोटो मात्र लगेनन्, मन्दिरालाई सादा कागजमा हस्ताक्षर पनि गराए । शम्भु त्यतिमै रोकिएनन्, मन्दिराको नाममा कम्पनी खडा गरिएपछि धितोका लागि जग्गा पनि खरिद गराए ।

‘शम्भुकी छोरी रञ्जना कार्की अमेरिकामा थिइन्,’ मन्दिरा भन्छिन्, ‘उनको नाममा रहेको जग्गा मेरो नाममा सार्नुपर्‍यो भन्दै घरमै आएर काम गराए ।’ रञ्जनाको नाममा धेरै जग्गा रहेको र माओवादीले हदबन्दी लगाउन सक्ने बताउँदै शम्भुले मन्दिरालाई मनाएका थिए ।

सोही जग्गा धितो राखेर मन्दिराको नाममा कर्जा निकालिएको थियो । संस्थामा एकपटक ६१ लाख ७२ हजार रुपैयाँ सावाँसमेत सोही जग्गा राखेर तिरिएको थियो । तर, यो कारोबारको जानकारी मन्दिरालाई थिएन । ‘म मालपोतसमेत गएकी थिइनँ,’ मन्दिराको दाबी छ, ‘क्यापिटल पनि गएकी थिइनँ, शम्भुका ज्वाइँ पवनकै संस्था भएकोले सबै कुरा उनीहरू नै मिलाए छन् ।’

तथ्यांकमा क्यापिटल मर्चेन्ट ठगी प्रकरण

खडा गरिएका नक्कली कम्पनी (ऋणी) संख्या – ४६

कुल नक्कली कर्जा लगानी (ब्याजबाहेक) –३ अर्ब १ करोड ४२ लाख

संस्थाले भुक्तान गर्न बाँकी निक्षेप दायित्व – ७३ करोड

संस्थामा बाँकी नोक्सानी – १ अर्ब ९२ करोड

कारागार चलान भएका नक्कली ऋणी संख्या – १७

फरार नक्कली ऋणी संख्या – करिब २७

धितो रहेको जमिन – १ सय ८८ रोपनी

धितो बिक्रीबाट भएको असुली – २ अर्ब ४४ करोड

ऋण असुल भएका ऋणी – १४ जना

एउटा जग्गाबाट ऋण लिँदै अर्को घडेरी खरिद

आफन्तका नाममा ऋण निकाल्दै त्यसबाट अर्को नयाँ जग्गा खरिद गर्ने शृंखला नै चलाए, शम्भु र पवनले । नयाँ जग्गा धितो राखेर थप कर्जा जारी गर्न थाले । नातेदार भएकाले उनीहरूको विश्वासमा यो गतिविधि सबैले बेवास्ता गरे ।

क्यापिटलको ऋणी दरिनुअघिसम्म बुडोलकै आनन्द केसीको जीवन वास्तवमै आनन्दमय थियो । सगोलमा रहेका उनीहरूको कुखुरा फारम थियो, गाडी थियो, दाना उद्योग थियो । व्यवसाय राम्ररी चलेको थियो ।

पहिलो पटक क्यापिटलबाट उनीहरूले ३–४ लाख ऋण पनि लिएका थिए । त्यो ऋण तिर्न पनि उनीहरूले कार्यालय धाउनुपरेन । बनेपाबाटै सावाँ र ब्याजसमेत भुक्तानी गरे । यहीबीचमा शम्भुले आनन्दको परिवारले पहिले ऋण लिँदा पेस गरेको कागजातकै आधारमा दोस्रोपटक आफैले पाँच करोड ७५ लाख रुपैयाँ ऋण निकालेछन् ।

‘शम्भु केसी सासूकी मितिनीका देवर–जेठाजु पर्ने हुन् । दाइका, हाम्रा बच्चाहरूलाई विदेश पठाउन सहयोग हुन्छ, कारोबार ठूलो देखिन्छ भनेर ललाइफकाई गरेका रहेछन्,’ आनन्दकी श्रीमती दीपा केसी भन्छिन्, ‘हामी त्यत्रो पुँजी भएका मानिस होइनौँ । बैंक भएको मान्छे यति सहयोग गर्दैमा सजिलो हुन्छ भनेर सही गरेका थिए । लोभ भनेको त्यति मात्रै थियो ।’

धितो राखिने जग्गा पनि शम्भुकै र कर्जा रकम पनि उनैको भन्ने सोचमा धेरैले विषयको गाम्भीर्यलाई बुझ्ने प्रयास नै गरेनन् । शम्भुले आनन्दको नामबाट कर्जा निकालिरहँदा धितोको रूपमा कुखुरा फारमको मूल्यांकन गर्न संस्थाबाट केही मानिस पनि आए । उनीहरूले पछि समस्या हुन सक्ने संकेत समेत गरेका थिए ।

‘आनन्दजी तपाईंले विश्वासमा यत्रो दिनु भएको रहेछ,’ दीपाले त्यतिवेला आएका कर्मचारीको भनाइ उद्धृत गर्दै भनिन्, ‘भोलि बैंक डुब्यो भने त तपाईं समस्यामा पर्नुहुन्छ पनि भनेका थिए । त्यति बेला श्रीमान् अलि झसङ्ग हुनुभएको थियो । तर, उसको धितो, उसैले कर्जा लिएकाले तिर्छ भन्ने भएछ ।’

शम्भु आफै र उनले खटाएका व्यक्तिहरूले आनन्दबाट चेक, कागजातमा २–३ वटा हस्ताक्षर गराएर लैजान्थे । दीपाका अनुसार त्यसैलाई आधार बनाएर संस्थाबाट कति ऋण झिकियो भन्ने उनीहरूले थाहै पाएनन् । गाउँमा जब बैंक डुब्न लागेको खबर सुन्न थालियो, आनन्दले एकपटक शम्भुसँग के–कति ऋण झिकिएको हो भन्ने प्रश्नसमेत गरेको दीपा बताउँछिन् ।

‘शम्भुले २०र३० लाख झिक्छु भनेका रहेछन्,’ उनी भन्छिन्, ‘उहाँले शम्भुलाई तपाईंले यत्रो पैसा झिक्नुभएछ, ब्याज तिरेको छैन भनेर सोध्नुभएको थियो । तैले पीर गर्नुपर्दैन, सबै भइरहेको छ भनेर शम्भुले भनेका थिए, तर ब्याज पनि तिरेको रहेनछ ।’

चैत ०६६ मा आफ्नो नाममा पाँच करोड ७५ लाख रुपैयाँ कर्जा झिकिएको आनन्दले पछि मात्र थाहा पाए । त्यसमध्ये एक करोड ६९ लाख रुपैयाँ सावाँ तिरिएको रहेछ । पछि ऋण उठाउन बनेको समितिले जग्गाहरू बिक्री गरेर पनि कतिपयको ऋण तिरिदिएको थियो । आनन्द ८ जेठ ०७२ देखि कारागारमा छन् ।

उनको परिवारले अन्य बैंक र वित्तीय संस्थाबाट एक करोड रुपैयाँ ऋण लिएको थियो । आनन्द कारागार चलान भएपछि परिवारले जग्गा बिक्री गरेर त्यो ऋण चुक्ता गरे । ‘आफैले लिएको कर्जा तिर्न नसकेर एक करोडको कर्जामा ब्याज थपिएर दुई करोड नै पुग्यो,’ दीपा भन्छिन्, ‘आफ्नो ऋण जग्गा बेचेर तिर्‍यौँ । क्यापिटलबाट हामीले ऋण लिएको होइन, चलाएको पनि होइन, त्यसैले तिरेका छैनौँ । अब हामीसँग बेच्न जग्गा पनि छैन । हामीले क्यापिटलको एक रुपैयाँ खाएका छैनौँ ।’

सादा कागजमा हस्ताक्षर

गाउँका मानिससम्म ऋणका लागि शम्भु आफू मात्र पुग्दैनथे, कर्जाका लागि आवश्यक कागजात र चेकमा हस्ताक्षर गराउन अन्य व्यक्ति पनि खटाउँथे । तिनैमध्येका थिए, बुडोलकै पुरुषोत्तम केसी । पुरुषोत्तम शम्भुले खोलेको माउन्टेन सहकारीमा काम गर्थे ।

सअघिसम्म अर्को सहकारीमा दुई हजार रुपैयाँ पारिश्रमिक लिएर काम गरिरहेका उनी पाँच हजार तलब पाउने भएपछि शम्भुको पुतलीसडकस्थित सहकारी कार्यालयमा काम गर्न थाले । ‘दुई श्रीमती भएकाले शम्भु काठमाडौं नै बस्थे,’ पुरुषोत्तम भन्छन्, ‘मलाई कार्यालयबाट घर निस्कने वेला ठूलो खाममा कागजपत्र राखिदिएका हुन्थे । केही खाली कागज हुने गर्थे । त्यस्तो खाम एकपटकमा एक–दुई जनालाई पठाइएको हुन्थ्यो । मैले गाउँमा कुरा गरिसकेको छु, सही गरिदिन्छन्, ल्याउनु भनेर लगाउँथे ।’

हाल बनेपास्थित एक सहकारीका लेखा अधिकृत पुरुषोत्तम आफूले खाम ओसारपसार मात्र गरेको दाबी गर्छन् । ‘कतिपटक खाम ल्याउने–लैजाने गरेँ, याद छैन,’ उनी भन्छन्, ‘सबै कुरा पछि मात्र थाहा पाएको हुँ, मेरै नाममा पनि कर्जा लिएको रहेछ । धेरै अगाडि भुक्तान पनि गरेका रहेछन् र म फसिनछु ।’

नक्कली ऋणी बनाइएका सबैले विषयको गाम्भीर्य नबुझेरै हस्ताक्षर गरेको उनको बुझाइ छ । ‘जसले मेरोबारेमा पोल लगाए, के तिनीहरू मालपोत नै गएनन् ? के कम्पनी रजिस्ट्रारको कार्यालय नै गएनन् ?’ पुरुषोत्तम भन्छन्, ‘धेरैले उसैको धितो, उसैको ऋण भन्ने सोचे । सबैजसो गाउँलेले विश्वासमा सही गरिदिए ।’

शम्भुले बुडोलका मात्रै होइन, साँखु, भक्तपुर र काठमाडौंका बासिन्दालाई पनि यसैगरी फसाए । फसेका कसैले संस्थाबाट कुनै लाभ नलिएको नदेखिने त्यतिवेला राष्ट्र बैंकका एक पूर्वउच्च अधिकारी बताउँछन् । भन्छन्, ‘अदालतमा रहेको यो मुद्दामा मैले धैरै कुरा गर्न मिलेन । तर, यसमा मुख्य दोषी शम्भुबहादुर केसी र उनका ज्वाइँ पवन कार्की नै हुन् ।’

क्यापिटल मर्चेन्टका बहालवाला एक उच्च अधिकारी पनि यस प्रकरणमा मुख्य नाइके शम्भु केसी र उनका छोरीज्वाइँ पवन कार्की देखिने संकेत गर्छन् । ‘७५ हजारको जग्गा राखेर १६ करोडसम्म मूल्यांकन देखाई ८० प्रतिशत कर्जा जारी भएको देखिन्छ,’ उनी भन्छन्, ‘हाल धितोमा रहेको जग्गामा समेत पुराना जग्गाधनीको बसोवास देखिएको छ ।’

राष्ट्र बैंककै २० करोड फस्यो

०७१ मा पुनरावेदन अदालतमा पेस भएको ‘कर्जा असुली विवरण’अनुसार शम्भु र पवनको मिलेमतोमा क्यापिटल मर्चेन्टबाट १ साउन ०६५ देखि नक्कली ऋणी खडा गर्ने र कर्जा जारी गर्ने क्रम सुरु भएको देखिन्छ । यो प्रवृत्ति २१ जेठ ०६८ सम्म चल्यो । यसबीचमा अलग–अलग मितिमा ४६ जनाको नाममा कम्पनी खोलेर तीन अर्ब एक करोड ४२ लाख रुपैयाँ कर्जा जारी भएको उक्त विवरणमा उल्लेख छ ।

आवश्यकताभन्दा अधिक संख्यामा वित्त कम्पनी खुलेसँगै राष्ट्र बैंकको नियमन पाटो कमजोर भयो । यही मौकाको फाइदा उठाउँदै केसी समूहले गैरकानुनी काम गरिरहे, जसको पत्तो राष्ट्र बैंकले पाएन । कतिसम्म भने राष्ट्र बैंककै कर्मचारी कल्याण कोषमा जम्मा भइरहेको रकमबाट २० करोड रुपैयाँ क्यापिटलले लिलाम बढाबढमा भाग लिएर निक्षेप राख्न पायो । त्यो रकम संस्थामा फसेको छ ।

राष्ट्र बैंकले ०६७ मा गरेको स्थलगत निरीक्षण प्रतिवेदनमा संस्थाको कुल कर्जा लगानी दुई अर्ब ४६ करोडमध्ये १० ठूला ऋणीलाई मात्रै ३५ दशमलव ६० प्रतिशत कर्जा गएको र जोखिम अधिक रहेको उल्लेख छ । त्यसका बाबजुद सोही वर्ष संस्थाले सेयरधनीलाई चार करोड ९२ लाख रुपैयाँबराबरको लाभांश बाँड्न राष्ट्र बैंकबाटै अनुमति पायो । ०६८ मा राष्ट्र बैंकले गरेको अर्को अध्ययनबाट मात्र क्यापिटल मर्चेन्टमा समस्या रहेको उजागर भएको हो ।

२ कात्तिक ०६८ मा शम्भुले ४४ जनामा गएको ऋण संस्थाको हितका लागि बैंककै रकमबाट इष्टमित्र र नातेदारको नाममा जग्गा खरिद गरेको तथा फर्म, कम्पनीसमेत खोलेर ऋण निकालेको साँचो भएको राष्ट्र बैंकमा लिखित कबुल गरे । सोही आधारमा राष्ट्र बैंकले शम्भु र नक्कली ऋणी सबैविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गराएको हो ।

जग्गा बिक्री गर्न पाउँ, ऋण तिरिदिन्छौँ : शम्भुबहादुर केसी, योजनाकार

०६५र६६ मा हामीले जग्गा कारोबार गरिरहेका थियौँ । संस्थाका लागि जग्गाको काम गर्दा हामीले आफ्नो मान्छेको नाममा जग्गा राखेकै हो । यी हाम्रै मान्छेहरू हुन् । कम्पनी रजिस्ट्रारको कार्यालय नपुगी कसैको नाममा पनि कम्पनी दर्ता हुँदैन ।

उहाँहरूले आफ्नो नागरिकता दिनुभएको छ र मसँगै गएर आफ्नो नाममा कम्पनी दर्ता गर्नुभएको छ । सबै राजीखुसीले नै भएको हो । केहीले हामीबाट पैसासमेत लग्नुभएको थियो । सबैको नाममा मैले कम्पनी खोलेकै हो । मैले नै जग्गा किनेको पनि हो, कम्पनीको मालिक उहाँहरू पनि हो ।

सबै ऋण हामी नै चुक्ता गरिदिन्छौँ भनेका छौँ । हामी हालै क्यापिटलमा एक अर्ब ५८ अर्ब राखेर धितो बिक्री गर्ने अनुमति माग्न गएका थियौँ । तर, अब दुई अर्ब चाहिन्छ भन्न थाल्नुभएको छ । क्यापिटलले मान्छ भने हामी यो रकम राखेर धितो बिक्री गर्दै ऋण तिर्न तयार छौँ । ती जग्गा मेरो नाममा छैनन्, सबै ऋणीकै नाममा छन् ।

हामीले जग्गा बेचेर ऋण तिर्न पायौँ भने त्यही समाधान हो । फरार रहेकाको हकमा भोलि सर्वोच्चले सजाय दिए उनीहरू कारागार बस्छन् नै, तर कमसेकम कसैले बिगो तिर्न नसकेको कारण थप कारागारमा बस्नु त पर्दैन । ६ सय रोपनी जग्गा बिक्री गरिसकिएको छ । अझै ६–७ सय रोपनी जग्गा बाँकी छ । हामीलाई त्यो बिक्री गर्न दिनुपर्छ । त्यसो भयो भने सबै ऋणीलाई हामी एक–एक करोड बाँड्नेछौँ ।

भदौ २ गते, २०७७ - ०७:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य सुरक्षाका लागि बसभित्र मौन बसौं

काठमाडौं । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य...   

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले...   

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले...   
दुई प्रहरीको हत्याले आशंका

दुई प्रहरीको हत्याले आशंका

धनगढी। कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले...   

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने: बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । आजको अन्नपूर्ण...   

बडादसैंको आज छैटौं दिनमा कात्यायनी देवीको पूजा गरिँदै

काठमाडाैँ । हिन्दुहरूकाे महान चाड बडादसैंकाे आज छैटौं दिन कात्यायनी भगवतीको पूजा तथा अर्चना गरी मनाइदैँ...   

रेडपाण्डाको छालासहित चार पक्राउ

दैलेख । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२...   

सेयर लगानीकर्ताको ‘बायोमेट्रिक’ विवरण नराखिने

प्रणाली विकासमा निजी क्षेत्र प्रवेश गराउनबाट पनि पछि हट्यो बोर्ड काठमाडौं । सेयर लगानीकर्ताको दशवटै...   

कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने भारतीय सेना प्रमुख नरवणे १८ कात्तिकमा आउँदै

काठमाडौं । नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र भएपछि त्यसलाई चिनियाँ इसारामा भएको...   
कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

काठमाडौं । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top