नेपालगञ्ज । विभाग नेपालगञ्ज कार्यालयले अवैध कारोवार गर्ने ११ औषधि पसलविरुद्ध मुद्दा दायर गरेको छ । मानव स्वास्थ्यमाथि खेलबाड गर्दै नेपालमा दर्ता नभएका र प्रतिबन्धित लागुऔषध तथा मनोद्दीपक पदार्थ अवैध रुपमा बिक्री गर्ने औषधि पसलमाथि जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरिएको विभाग नेपालगञ्ज कार्यालयका निरीक्षक गौतमले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म यस क्षेत्रमा अवैध कारोवारमा संलग्न बाँकेका तीन, बर्दियाका दुई, कैलालीका चार तथा कञ्चनपुर र डोटीका एकएक गरी ११ मुद्दा दर्ता गरिएको हो । कोरोना सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा अत्यावश्यकीय औषधिमा कालोबजारी गर्नेलाई नियमानुसार जरिवाना गएिको छ । गत आर्थिक वर्ष कार्यालयले चार मात्रै मुद्दा दर्ता गरेको थियो ।
नेपाल औषधि व्यवसायी सङ्घ भेरीका अध्यक्ष अभयकुमार बस्नेतले सङ्घीय संरचनापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा रहे पनि सबै ले अनुगमन समिति नबनाएका कारण कार्यालयलाई बोझ पर्ने गरेको बताए । उनले औषधि व्यवसाय मानव स्वास्थ्यसँग जोडिएको सेवामूलक भएकाले यसमा हुने अवैध तथा गलत कार्यलाई निरुत्साहन गर्न सङ्घ सदैव प्रतिवद्ध रहेको उल्लेख गरे।
कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दी शुरु भएयता जिल्लास्थित संयुक्त बजार अनुगमन समितिमार्फत औषधि पसलको अनुगमन तीव्र बनाइएको निरीक्षक गौतमले जानकारी दिए । बन्दाबन्दीमा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अभियोगमा नेपालगञ्जका तीन औषधि पसललाई रु चार लाख ५० हजार जरिवाना भएको छ ।
गौतमका अनुसार अत्यावश्यक स्वास्थ्य सामग्री स्याननिटाइजरलगायतमा कालोबजारी गरेको अभियोगमा नेपालगञ्जस्थित हिल्स मेडि सप्लायर्स र लाइफ केयर सर्जिकललाई रु दुई लाखका दरले जरिवाना गरिएको छ भने कमला मेडिसिनलाई रु ५० हजार जरिवानासहित कारवाही गरिएको छ ।
अन्य बेला जनशक्ति र स्रोत अभावका कारण पर्याप्त मात्रामा अनुगमन हुन नसक्ने भए पनि अहिले कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि संयुक्त रुपमा अनुगमन भइरहेको गौतमको भनाइ छ । नियमित अनुगमनले औषधिको सहज बिक्रीवितरण हुनाका साथै कालोबजारी रोक्न सघाउ पुगेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: