Khabar Dabali Logo
  December 3, Thu

कामरेड बामदेवको राजनीति अवसान

‘प्रधानमन्त्री’को बिष हालेको ललिपोप खान प्रचण्ड-माधव नेपाल मोर्चाबाट हठात् बाहिरिए पछी अब बामदेव के गर्लान ? ओलिले साँच्चै प्रधानमन्त्री बनाउलान् त ? यसको उत्तर जटिल छ।

भनिन्छ ईतिहास दोहोरिदैन। मात्र केही संयोगहरु मिल्न जान्छन् । तर बामदेव गौतमको हकमा के भएको हो यसै भन्न सकिएन। पटक पटक उहाँलाई नियतीले जिस्क्याएको छ भाग्यले छलेको छ र यो पटक त झन राजनीतिक अवसानको दिशा तिर धकेलेको छ।

भर्खरै सकिएको सत्तारुढ् नेकपाको सचिवालय बैठकले उहाँलाई उपयुक्त समयमा चुनाव लढाइ प्रतिनिधि सभा सदस्य जिताइ प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। तर त्यो उपयुक्त समय कहिले हो त्यसको कुनै आँकलन् छैन। एक महिना पछी पनि हुन सक्छ १ वर्ष पनि लाग्न सक्छ। एकै चोटि अब ३ वर्ष पछीको आम चुनावपनी हुन सक्छ। कहिल्यै नहुन पनि सक्दछ। बामदेव गौतम आफ्नै अती महोत्वकान्क्ष्याले गर्दा राजनीतिक रुपमा सक्किने अवस्थामा यसरी आईपुग्नु भएको छ ।

त्यो कसरी ?

प्रधानमन्त्री केपी ओलिको मनोमानी र स्वेच्छाचारीताको बिरुद्ध बनेको बिपक्षी मोर्चाले ओलिको सत्ताअवतरन सम्मको हदमा पुगिसकेको थियो। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायण काजी श्रेष्ठ मिल्दा सचिवालयमा ओली स्पस्ट अल्पमतमा पुगेका थिय। स्थाइ कमिटी, केन्द्रिय कमिटीमा ओली स्पस्ट अल्पमतमा छन। सम्सदिय दलमा पनि ओलीको बहुमत नरहेको देखिन थालेको थियो। यस्तो अवस्थामा ओलिको दम्भ र घमण्ड स्वेच्छाचारीता अन्त्य गर्ने ठुलो मौका बिपक्षी मोर्चालाई थियो। स्थाइ कमिटी बैठक अविलम्ब बोलाउन लगाउने र त्यसबाटै ओलीलाई राजिनामा दिन बाध्य पार्ने सम्मको बिपक्षी योजना थियो। यो कुराको राम्रो सँग चाल पाएका ओली सकेसम्म् स्थाइ कमिटी बैठक नबोलाउने र बोलाउनै परे आफुले सामना गर्न सकिने गरी शक्ती आर्जन गरी मात्र बोलाउने प्रपञ्चमा थिए। यसका लागि बिपक्षी गठबन्धन भत्काइ कम्तिमा एक जनालाई तत्कालका लागि आफुतिर तान्न सके सचिवालयमा आफु बहुमतमा पुगिने र बिपक्षी गठबन्धनको दबदबा ओइलाउने ओलिको प्रक्षेपण थियो। यसकै लागि उनले सचिवालय बैठक समेत् पटक पटक टार्दै अल्झाउदै सार्दै आएका थिय। उनी उपयुक्त समयको पर्खाइमा थिए र आफ्नो योजना अनुसार बामदेवलाई प्रधानमन्त्री बनाउने पासा फ्यांके।

एक पटक प्रधानमन्त्रीको कुर्सिको स्वाद चाख्न ब्याकुल बामदेव सहजै यो पासोमा फसे। बिगतमा पटक पटक आफु माथि भएको धोका र जाल्साजी मसक्कै बिर्सिए। साच्चिकै प्रधानमन्त्री बनाउन हो कि फेरी एक पटक भकुन्ड्याउन यो पासो फालिएको हो उनी गहिराइमा पटक्कै जान चाहेनन्।‘लाटा’ले पनि भेउ पाउने यस्तो पासोको उनी तुरुन्तै ‘फ्यान’ बनिहाले। र बिर्से आफ्नो गठबन्धन। भुले कि यो लडाईं पदका लागि होइन पद्दतिका लागि हो। शिकारीले चारो मुन्तिर जाल पनि थापेको हुनसक्छ भन्ने उनलाई हेक्कै भएन। प्रधानमन्त्रीको कुर्सीमा बसेको सपनामा मनमगन लिप्त भए। अनी कारुणिक रुपमा शिकार भए। यता शिकार अनुसार जाल थाप्न सिपालु शिकारी ओली आफ्नो मिसनमा साविक झैं ‘सफल’ भए।

‘प्रधानमन्त्री’को बिष हालेको ललिपोप खान प्रचण्ड-माधव नेपाल मोर्चाबाट हठात् बाहिरिए पछी अब बामदेव के गर्लान ? ओलिले साँच्चै प्रधानमन्त्री बनाउलान् त ? यसको उत्तर जटिल छ। ओलीको यो रणनितीक चाल होइन थियो भने बामदेव आज राष्ट्रिय सभाका सदस्य भैसकेका हुन्थे। सचिवालयको ‘सर्वसम्मत’ रुपम उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। यिनै ओलीले नमानेकाले यो निर्णय क्रियान्वयन हुन सकेन। तर यो सत्यलाई आत्मसाथ गर्नुको सट्टा बामदेव फेरी जानी जानी बिष हालेको मिठाइ खान तयार भए।

बामदेव उता लागेपछी प्रचण्ड-माधव मोर्चा पक्कै पनि कमजोर बनेको छ। सचिवालयमा बहुमत गुमाउन पुगेको छ। तर तत्कालिन रुपमा बहुमत गुमाए पनि यो मोर्चालाई हाइसन्चो भएको छ। बामदेवको प्रधानमन्त्री बन्ने ब्यग्र इच्चा न पुरा गर्न सकिने खालको थियो न सहि थियो। प्रतिनिधि सभामा पराजित भए पछी पनि उनको यो टोकसोले प्रचण्ड-माधव मोर्चा आजित थियो। नसकिने नहुने कुरा पनि सचिवालयमा बहुमत कायम राख्न हुन्छ हुन्छ भनीराख्नु परेको थियो। अब यो टन्टै साफ भएको छ ।

बामदेवलाई पुर्याउन नसकिने बाचा बांधेर आफुतिर ‘तान्न’ सफल प्रधानमन्त्री ओलीलाई अब ‘पल्ला घरको नरे वल्लो घर सरे’ भएको छ। हुन त उनले पुर्याउन गरेको बाचा नै होइन तर पनि बामदेव आफु माथि चिसो पानी खन्याइएको प्रस्ट नहुन्जेल ओलीलाई दुई चार दिन प्रधानमन्त्री कि प्रधानमन्त्री भनेर किचकिच गरिराख्ने छन। अर्को कुरा ओलीले सच्चिकै बनाउन चाहे पनि त्यो कम्तिमा यो संसद अवधी भर सम्भव छैन। अहिले प्रतिनिधि सभा सदस्य जित्ने ग्यारेन्टि पनि छैन न संबिधान संसोधन गर्न दुई तिहाइ पुर्याउन सम्भव देखिन्छ। उपयुक्त समयमा चुनाव लडाएर जिताएर प्रधानमन्त्री बनाउने अमुर्त ‘निर्णय’ गरेर ओलीले ‘बांदर बाठो भयो भने के जाती च्यापिएर मर्छ’ भन्ने जनाउ दिइसकेका छन। अर्को कुरा आफ्नो मोर्चालाई ‘धोका’ दिएर जानेलाई ओलीले साँच्चीकै बनाउन प्रयास गरे पनि प्रचण्ड- माधव नेपालले पनि अब समर्थन कदापी नगर्लान्। यसरी भिरको चिन्डो हुनु नै बामदेवको नियती फेरी एक पटक बनेको छ ।

प्रचण्ड, माधव, झलनाथ, बामदेव, नारायण काजीको एउटै स्वर हुँदा तल देखी माथि सम्म ओली आच्छु आच्छु भैसकेका थिय। सब भन्दा कमजोर अवस्थामा थिए। आफ्नो र आफ्ना वरपरकाले मच्चाएका लथालिँगका कारण उत्तर दिन सक्ने अवस्थामा ओली थियनन्। यस्तो बेला उनले क्याम्प किन परिवर्तन गरेर किन ओली तिर लागे ? स्वभावैले मान्छे शक्तिवालाको नजिक रहन खोज्दछ। यो बेला भैसेपाटी गठबन्धन नै बलियो रहेको अवस्था थियो। बलियो समुहको बलियो सदस्य हुँदा हुँदै किन कमजोर क्याम्प बामदेवले रोजे ? यसको पछाडि दुइटा कारण हुन सक्छ। पहिलो आफु रहेको गठबन्धन प्रती उनलाई विश्वाश नभएर वा दोश्रो ओली सँग अझै पनि केही आस बाँकी रहेर। तर जे कारण भए पनि उनैका कारण गठबन्धन कमजोर बन्न पुग्यो त्यसको सब भन्दा ठुलो घाटा आँफैलाई भयो। गठबन्धन नत्यागेको भए कम्तिमा उनको बोली बिक्थ्यो। तर अब उनी घरको न घाटको बन्न पुगेका छन। पछील्लो सचिवालय बैठकले उनलाई प्रधानमन्त्रीका लागि ठोस प्रस्ताव गर्ने अपेक्ष्या गरिएको थियो। तर कसैले त्यो बिषयमा एक शब्द चुइक्क नगरे पछी लाजके मारे आँफै ’मलाई प्रधानमन्त्री बनाउने कुरो के भो’ भनेर बैठक सकिन लाग्दा आँफै बोल्नु परेको थियो ।’उपयुक्त समय’ मा गरिने भनेर उपेक्ष्यायुक्त शब्द संगै सकिएको बैठक पस्चात आफु माथि चिसो पानी खन्याइएको भेउ पाए।

यसरी अब केपी ओलीको गोटी हुनु भन्दा उनको अरु हैसियत नरहने देखिईसकेको छ । किनभने पार्टीभित्र वा संसदीय दलमा उनको नगन्य उपस्थिती छ। उनको निर्णायक मत वा ‘ब्याकसपोर्ट’ थियन, छैन। पार्टीमा अन्तर संघर्ष चर्किदै गर्दा अन्तिम अन्तिममा सचिवालयमा बहुमत पुर्याउन मात्र प्रधानमन्त्री ओलीले प्रयोग गरेका थिए। यसरी फेरी एक पटक आफ्नै होस्ल्यांगे प्रवृतिको फाईदा उठाइ भकुन्डो बनाएका छन। यसरी आफुलाई ओलीले पटक पटक धोका दिएको सहजै बिर्सन सकेहोलान् भन्ने आम चासो छ। छोरो पाउनु कहिले हो कहिले भोटो सिलाउन अहिल्यै थाल्दा छोरो नै कहिल्यै नजन्मिने देखिएको छ। ओलीले प्रयोग गर्नु थियो गरे। अब खास्सै महत्व दिदैनन्। आवश्यक पनि छैन। पुरानो गठबन्धनले त झन अब फुट्या आँखाले पनि हेर्न चाहदैन्। चिण्डो बनिराख्नु नै उनको नियती बनेको छ। जसरी पनि प्रधानमन्त्री खाने लालसाले गर्दा अब राजनीतिक अवसानको सन्निकट आइपुगेका छन।

बैशाख २२ गते, २०७७ - १७:३० मा प्रकाशित

मैनाली समसामयिक विषयमा तिखो कलम चलाउँछन् । युवा लेखक मैनाली विभिन्न संचारमाध्यममा नियमित लेख्ने लेखक हुन् ।

कामरेड बामदेवको राजनीति अवसान

कामरेड बामदेवको राजनीति अवसान

भनिन्छ ईतिहास दोहोरिदैन। मात्र केही संयोगहरु मिल्न जान्छन् । तर बामदेव गौतमको हकमा के भएको हो यसै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top