Khabar Dabali Logo
  February 20, Thu

प्रचण्ड र विप्लव दुवैसँग एकता असम्भव

प्रचण्ड जीसँगको एकता बिलकुलै सम्भव छैन् । जसकाविरुद्व हामीले विद्रोह गरेर आयौं त्यहिँ जाने कुरा त पुरै असम्भव नै हुन्छ । अनि विप्लवजीहरुको राजनीतिक कार्यदिशा, सघंर्षको स्वरुप गलत दिशातिर छ । त्यो सच्चाउन उहाँहरुले आँट गर्नुपर्ने हुन्छ । यदि यहि अवस्थामा रहे उहाँसँग नजिक हुने सम्भावना रहन्न ।

अहिले विप्लवजीहरुले लिएको एकिकृत जनक्रान्तिको कार्यदिशा कहिँ कतै मिलेको छैन् । हामीले त्यसको आलोचना गर्दै आएका छौं । त्यसको एउटा निश्चित सेट छैन् । कहाँ प्रहार गर्ने ? कसरी जाने ? के गर्ने ? त्यसको लक्ष्य के हो ? त्यसको रणनीति के हो ? त्यसको कार्यनीति के हो ? यी समग्र पाटोमा त्यो पुरै अलमलिएको छ ।

काठमाडौं । जनयुद्वपूर्व राखिएका उद्देश्यहरु कति पुरा भए या पुरा भएनन् त्यो हिसाब किताब नभएपनि तत्कालिन युद्वको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सत्ता नजिक छन् । प्रचण्ड सँगैका नेता मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्द ‘विप्लव’ र गोपाल किँराती फरक–फरक पार्टीको नेतृत्व गर्दै आइरहेका छन् ।

हिजो जनयुद्वको उद्घोष गर्ने पार्टी र नेताहरु आज फरक–फरक पार्टीमा छन् भने हिजो जनयुद्व गर्ने माओवादी पार्टी विघटित र विभाजित अवस्थामा छ । हजारौंको त्याग र बलिदानबाट स्थापित भएको माओवादी पार्टी कसरी नरहने अवस्थामा पुग्यो ? किन यति धेरै संख्यामा हिजोको पार्टी विभाजित हुने अवस्थामा पुग्यो ?

हजारौंको त्याग र बलिदानबाट स्थापित नेकपा माओवादी र माओवादी आन्दोलनबारे हामीले त्यहि माओवादी पार्टीबाट विभाजित भएर बनेको नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’सँग कुराकानी गरेका छौं । खबर डबलीकाे तर्फबाट सन्देश अर्यालले जनयुद्व र पछिल्लो माओवादी आन्दोलनबारे नेता किरणसँग कुराकानी गरेका छन् । २५ औं जनयुद्व दिवसको अवसरमा जनयुद्व र पछिल्लो माओवादी आन्दोलनबारे नेता किरणसँग गरिएको कुराकानीको सम्पादित अंश :

आज २५ औं जनयुद्व दिवस, जनयुद्वको एक नेतृत्वकर्ताको हिसाबले दिवसलाई कसरी सम्झनुहुन्छ ?

हामीले जनयुद्वको सुरुवात पुरानो राज्यसत्तालाई समाप्त पारेर एउटा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने र वैज्ञानिक समाजवाद तर्फ मुलुकलाई अगाडि लैजाने भन्ने उद्देश्यबाट गरेका थियौं ।

जनयुद्व सुरु गर्दै गर्दा, हामीले त्यसको तयारी पनि राम्रै गरेका थियौं । माक्र्सवाद, लेनिनवाद र माओवादको आलोकमा दिर्घकालिन जनयुद्वको बीचबाट अगाडि बढ्ने भनेर हामीले जनमुक्ति सेना, देशव्यापी रुपमा आधार इलाकाहरु र जनसरकारको पनि निर्माण गरेका थियौं । हामीले गरेको जनयुद्वबाट नेपाल मात्र नभई विश्वभर क्रान्तिकारी आन्दोलनको एउटा राम्रो सन्देश गएको छ ।

तर जनयुद्व एउटा उत्सर्गमा पुग्ने बेलामा, ठूलो सहादत र बलिदानीपश्चात नेतृत्वको एउटा हिस्साले ठूलो बेइमानी गर्न पुग्यो । एउटा गम्भिर गद्दारी अनि धोका दियो । जसकोविरुद्ध हामीले संघर्ष गर्यौं उसैसँग आत्मसमर्पण गर्ने अवस्था बन्यो । यो आन्दोलनको अत्यन्तै नकारात्मक पक्ष हो ।

तर यस्तो भयो भनेर अगाडि नबढ्ने विषय रहने । हामीले ति अनुभवहरुलाई संगाल्दै सकारात्मक पाठ सिक्दै आन्दोलनलाई अगाडि बढाउनुपर्दछ भने अगाडि आएका छौं । अहिले कुनै रुपान्तरण भएको छैन् । जसका विरुद्ध लडेका थियौं त्यहि व्यवस्था पुर्नस्थापना भएको छ । हिजोको जनयुद्व हाम्रा लागि राम्रो मार्गदर्शन गर्ने पाठ बनेको छ ।

माओवादी जनयुद्वको शीर्ष नेता तपाईं, आज माओवादी पार्टी नै नरहने अनि माओवादी आन्दोलन नै धराशाही हुने अवस्था बन्यो । यस्तो किन भयो भन्ने लाग्छ ?

यो दुःखत वास्तविकता हो । हामी स्वीकार्न तयार छौं । हो आज जनयुद्ध र माओवादी आन्दोलनलाई नै गुमनाम बनाउन निकै कोशिस गरिएको छ । तर त्यो कोशिस सफल हुँदैन् । माओवादी आन्दोलन नेपाली राजनीतिको अत्यन्तै महत्वपूर्ण परिघटना हो ।

शहिदहरुको रगतको आहलमा बसेर त्यहि बलिदानीको ब्याज खाएर केहि व्यक्ति सत्ताका गएका छन् । तर उनिहरुको त्यो मिठो सपनाको महल छिट्टै ढल्नेछ । त्यो बलिदान र त्यागलाई गुमनाम बनाउन प्रयास गरेपनि नेपाली जनताले त्यसको हिसाब किताब अवश्य गर्नेछन् । अहिलेको परिघटनाले नेपाली क्रान्तिकारी आन्दोलनलाई विघटन होइन् उर्जा दिँदै अगाडि बढाउनेछ ।

हिजाको माओवादी पार्टी विभाजन हुनु र कतिपयले माओवादलाई नै पथप्रदर्शक सिद्वान्त नमान्नु अनि पार्टीको नाममा पनि माओवादी भनेर नलेख्ने अवस्था बनेको छ । माओवाद शब्द प्रति किन यति धेरै वितृष्णा ? तपाईंहरुले पनि जनयुद्वको पार्टीको नाम स्वीकार सक्नुभएन । कि यस्तो बन्यो ?

माओवादी नाम प्रति नै वितृष्णा पैदा भएको विषय साँचो हो । हामीले स्वीकार गर्दछौं । जनताले असाध्यै धेरै माया र विश्वास गरिरहँदा नेतृत्वबाट घात र गद्दारी हुँदा वितृष्णा पैदा हुन गएको हो ।

तर फेरि माओवादी आन्दोलनमा त्यो गलत प्रवृत्तिका विरुद्व लड्दै क्रान्तिको झण्डा उठाउँदै अगाडि बढ्ने परम्परा पनि छ । हो धेरै त्यस्तो अवस्था छ । तर हामी क्रान्तिकारी दिशातर्फ जाने कुरामा प्रतिबद्ध छौं । हामीले झण्डा उठाईसकेका छौं ।

रह्यो हिजोको पार्टीको नाम राख्ने विषयमा कतिपय प्राविधिक कारणले हामीले राख्न सकेनौं तर हामीले माओवाद छाडेका छैनौं । अनि छोड्ने विषय पनि आउँदैन ।

हामी क्रान्तिकारी माओवादीहरु र सच्चा माओवादीहरुलाई गोलबन्द गरेर जाने अभियानमा छौं । कतिपय छुटेका छन् ति छुट्छन् नै । जसका विरुद्व नै लडिएको थियो उसैसँग आत्मसमर्पण गरेपछि तिनीहरु जोडिने विषय प्राय रहँदैन् ।

जनताका समस्याहरु यथावत नै छन् । व्यवस्था उहि नै छ । त्यसकारण सच्चा क्रान्तिकारी माओवादीहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन् । फेरि माओवादीहरुलाई हेर्ने र बुझ्ने कुरा निश्चितै रुपमा सकारात्मक हुनेछ ।

४. तपाईंले भने जस्तै के तुरुन्तै जनताले पत्याउने अनि क्रान्ति भईहाल्ने स्थिति होला ? अहिलेको विभाजन, टुटफुटले तपाईंले भनेजस्तै क्रान्ति गर्न गाह्रो पर्ने वातावरण बनेको छैन् ?

क्रान्तिको सम्भावना नरहने भन्ने हुँदैहुँदैन् । के नेपालमा क्रान्ति आवश्यक छैन र ? के मानिसहरुले यहि व्यवस्था रुचाएका छन् त ? के यहि व्यवस्थाबाट जनताका समस्या समाधान हुन्छन् ? कदापि हुनेवाला छैन् । जनताका कुनै पनि समस्या छ समाधान भएको छैन । त्यसकारण नेपालका क्रान्ति आवश्यक छ र वातावरण पनि बन्दै गरेको छ ।

क्रान्ति त जनताका समस्यासँग, राष्ट्रिय स्वाधिनतासँग, जनतन्त्र र जनजिविकासँग जोडिएको हुन्छ । अहिले त देशमा ठूलो राष्ट्रघात हुँदैछ । लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमा सिधा–सिधा सिमा मिचिएको छ । हिजो राष्ट्रिय स्वाभिमान र स्वाधिनताका लागि लड्नेहरु देशको निमित्त गद्दारी गर्ने अवस्था तर्फ जाँदैछन् । यो स्थितिमा फेरि जनताले अवश्य लडाईं लड्छन् ।

अर्को कुरा अहिलेको सत्ताले जनताका हक अधिकारका कुराहरुप्रति कुनै सम्बोधन गरेको छैन् । त्यसकारण क्रान्तिको सुरुवात यिनै समस्याबाट सुरु हुन्छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धित मुद्दाको सुनुवाई सत्तामा गएकाबाट कुनै हालतमा हुनेवाला छैन् । त्यो स्थितिमा क्रान्ति त एउटा ऐतिहासिक आवश्यकता बन्छ । र त्यो सम्भव पनि छ ।

तपाईंले पार्टी गठन गरेलगत्तै पार्टी पुनः विभाजन तिर गयो । विप्लव जीले छुट्टै पार्टी निर्माण गर्नुभयो । यसरी विभाजन नै विभाजनबाट अगाडि बढ्दा के जनताले पत्याउने अनि तपाईंहरुले आह्वान गर्ने आन्दोलनमा सहभागि हुने अवस्था रहन्छ ?

हो यो एउटा महत्वपूर्ण पाटो हो । विभाजनले गर्दा जनतामा निकै निराशा देखिएको कुरा साँचो हो । तर त्यो सधैंभरि यसरी रहि रहँदैन् । एकताबद्ध हुने क्रान्तिकारीहरुलाई एउटा सहि विचारबाट, माक्र्सवाद, लेनिनवाद र एउटा सहि कार्यदिशाको आधारबाट अगाडि बढ्न हामीले प्रयत्न गर्छौं । विगतमा पनि क्रान्तिकारीहरु सानो सानो संगठनमा निर्माण भएका थिए । हामीले त्यो अनुभव गरेका छौं ।

हामीले सानो हुँदाखेरि के हुन्छ अनि ठूलो हुँदाखेरि के हुन्छ भनेर अनुभव गरेका छौं । तर यी सबै अस्थायी कुरा हुन् । तर जब हामीले जनताका कुराहरु लिएर अगाडि बढ्छौं त्यो बेलामा एकताबद्ध हुने कुरा स्वभाविक हुँदै आउँछ ।

प्रचण्डले बेला–बेलामा वैद्य जी र विप्लव जी पनि नेकपामै आउनुहुन्छ भन्नुहुन्छ । उहाँले तपाईंहरुसँग छिट्टै एकता हुन्छ पनि भन्नुभएको छ । के त्यो सम्भावना छ ? के तपाईं नेकपासँग एकता गर्नुहुन्छ ?

म सबैलाई प्रष्ट पार्न चाहन्छु प्रचण्ड जीसँगको एकता बिलकुलै सम्भव छैन् । सच्चा क्रान्तिकारीहरु त्यो संशोधनवादको आहलमा डुब्न चाहँदैनन् ।

दोस्रो कुरा उहाँहरु सरकारमा गएर, संसदमा भएर बडो धक्कु लगाउनुहुन्छ । तर एउटा बुझ्नुपर्ने कुरा यी कुरा पुरै अस्थायी हुन् । उहाँहरु सरकार र संसदमा सधैं बस्नेकुरा रहन्न । त्यसबेला कति मान्छे कहाँ पुग्छन् टुंगो छैन् । यो कुरा पक्का हो ।

प्रचण्डसँग एकता नहुने कुरा हजुरले बताईरहँदा के विप्लवसँग एकता हुन्छ ? के तपाईंहरु विप्लवसँग नजिक हो ?

त्यहाँ प्रचण्ड जि मात्रै होइन् ओली जि पनि हुनुहुन्छ । जम्मै धाराहरु छन् । उहाँहरुसँग त राजनीति पनि अलग भईहाल्यो । जसकाविरुद्व हामीले विद्रोह गरेर आयौं त्यहिँ जाने कुरा त पुरै असम्भव भईहाल्यो ।

दोस्रो कुरा, विप्लव जीहरुको राजनीतिक कार्यदिशा, सघंर्षको स्वरुप गलत दिशातिर छ । त्यो सच्चाउन उहाँहरुले आँट गर्नुपर्ने हुन्छ । हामीले पनि कोशिस गर्छौं । उहाँहरुले आँट गरेको अवस्थामा विप्लवजीहरु मात्रै नभई सच्चा क्रान्तिकारीहरु बीच राम्रो एकता निश्चित रुपमा हुन्छ ।

विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध नै लगाएको छ । यो अवस्थामा उहाँहरुले जसरी राजनीतिक गतिविधि गरिरहनु भएको छ, त्यो प्रति तपाईंहरुको असहमती हो ?

सरकारले प्रतिबन्धित गर्यो त्यो त एकदमै गलत कुरा हो । सरकारले यसरी विप्लव समुहमाथि प्रतिबन्ध लगाउनु हुँदैनथ्यो । उहाँहरुका नेता तथा कार्यकर्तालाई धरपकड गर्ने र पक्राउ गर्ने कुरा छ । राजनीतिक विषयलाई राजनीतिक रुपमा हल गर्नुपर्छ ।

फेरि एकता के हुन्छ भन्ने कुरामा, छलफल गर्दै बहस गर्दै अगाडि जाने कुरा हो । कोही भूमिगत हुन्छ, कोही प्रतिबन्धित हुन्छ, कोही के हुन्छ । त्यसले एकतामा फरक पार्दैन् । मुख्य कुरा विचार र राजनीतिक कार्यदिशा हो ।

विप्लवको अहिलेको बाटो कस्तो हो ? उहाँहरुले भनेको एकिकृत जनक्रान्तिप्रति तपाईंहरुको समिक्षा के छ ?

अहिले विप्लवजीहरुले लिएको एकिकृत जनक्रान्तिको कार्यदिशा कहिँ कतै मिलेको छैन् । हामीले त्यसको आलोचना गर्दै आएका छौं । त्यसको एउटा निश्चित सेट छैन् । कहाँ प्रहार गर्ने ? कसरी जाने ? के गर्ने ? त्यसको लक्ष्य के हो ? त्यसको रणनीति के हो ? त्यसको कार्यनीति के हो ? यी समग्र पाटोमा त्यो अलमलिएको छ ।

उहाँहरुलाई हामीले भनेका पनि छौं, यो तरिकाले हुँदैन् । एउटा कार्यदिशा बनाउने कुरामा तपाईंहरु पनि गम्भिर हुनुपर्छ भनेर हामीले पहिलेदेखि उहाँहरुलाई भन्दै आईरहेका छौं । त्यो कार्यदिशाबाट क्रान्ति या परिवर्तन सम्भव हुँदैन् ।

अलिक फरक प्रसङ्गमा, आमजनताले हिजोको माओवादी पार्टी भनेर खोज्दै गर्दा कसलाई भेटाउने ? जनयुद्वको बेला घाईते बनेका, अपाङ्गता भएका ति जनताले कसलाई आफ्नो गुनासो पोख्ने ? हिजोको माओवादी अहिले कुन हो ?

दुःख परेको बेलामा, अप्ठ्यारो परेको बेलामा साथीहरुले गुनासो गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ । क्रान्तिले धोका खाईसकेपछि जटिलता त भईहाल्छ नै । जनयुद्वको प्रक्रियामा सहिद परिवारजन, वेपत्ता योद्वाका परिवारजन, घाईते अपाङ्ग योद्वाहरुले देश र जनताको लागि ठूलै काम गर्यौं भनेर बुझ्न जरुरी छ । गर्वको अनुभूति गर्नपर्दछ ।

दोस्रो कुरा, जुन बलिदानी भएको छ त्यो कुनै हालतमा खेर जाँदैन् । भोलीको अवस्थामा परिवर्तनको निमित्त, क्रान्तिको निमित्त त्यसले उर्जा प्रदान गर्दछ ।

तेस्रो कुरा, उहाँहरुका जुन समस्याहरु छन् ती समस्यालाई हल गर्ने बारेमा सरकारले ध्यान दिन सकेको छैन् । र, दिने कुरा पनि भएन । त्यसको हामीले जोडदार रुपमा विरोध गर्दछौं । उहाँहरुका समस्या समाधान गर्ने विषयमा हामीले माग राखेर दृढतापूर्वक अगाडि जानुपर्ने हुन्छ ।

अझै पनि माओवादी जनयुद्वकै मुद्दाको आधारमा कतिपय नेता तथा कार्यकर्ता पक्राउ पर्ने स्थिति छ । उनिहरुलाई जनयुद्वकालिन मुद्दा लागिरहेको छ । यसलाई कसरी हल गर्ने ?

अहिले खासगरि विप्लव पक्षका साथीहरु पक्राउ पर्नुभएको छ । यो गलत छ । उहाँहरुले उठाएको मुद्दाहरुलाई राजनीतिक रुपले हेर्नुपर्दछ । यसरी नेता तथा कार्यकर्तालाई धरपकड गर्ने, दमन गर्ने कार्य बन्द गरिनुपर्दछ । यसको हामी जोडदार विरोध गर्दछौं । अन्य मुद्दाहरु अहिले खास देखिएका छैनन् । तर एउटा युद्वकालिन मुद्दालाई अन्य ढंगबाट लैजान खोजियो भने हामी चुप बस्दैनौं ।

अन्त्यमा, जनयुद्व दिवसको अवसरमा माओवादी आन्दोलनमा सहभागि भएका आम जनताप्रति तपाईंको सन्देश के रहन्छ ?

जनयुद्वका सुभेच्छुक, जनयुद्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आम जनसमुदाय, शहिद, वेपत्ता योद्धाका परिवारहरु, जनमुक्ति सेनाका कमरेडहरु, घाईते अपाङ्ग कमरेडहरु उहाँहरु सबै सबैलाई म यस अवसरमा सम्झन चाहन्छु ।

अबको कम्युनिष्ट आन्दोलन बांगा टिंगा मोडहरु पार गर्दै अगाडि बढ्नेछ । पुरानो प्रतिक्रियावादी राज्य सत्तालाई ध्वस्त पार्दै अगाडि बढ्छ । यो विषयमा हामी विश्वस्त छौं । अब पुरानो राज्यसत्ता रहँदैन् । यसलाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद र साम्यवादतर्फको दिशामा हामी निश्चित रुपमा अगाडि बढ्छौं । त्यो आवश्यक पनि छ । र त्यो सम्भव पनि छ ।

म सबै आम जनसमुदायलाई अन्तिम लडाईंका लागि सहभागि हुन आग्रह पनि गर्दछु ।

फागुन १ गते, २०७६ - १७:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ पे्रस खरिद प्रकृयामा सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   
बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग...   

नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले...   
सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   

बाँस्काेटाकाे बर्खास्तीकाे माग गर्दै कांग्रेसद्धारा राष्ट्रियसभामा अवरोध

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बर्खास्तीकाे माग गर्दै राष्ट्रियसभा...   

बालुवाटार छलफल, प्रचण्डले दिए बास्कोटालाई राजीनामा गराउने सुझाव

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियाे...   
के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टीङ प्रेसको...   

ओली-प्रचण्डबीच भेटवार्ता, बास्काेटाकाे अडियो प्रकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच...   
ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५...   

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top