Khabar Dabali Logo
  April 2, Thu

चर्चित कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीको प्रेम कहानी : भैरहवा जेल भेटले जुर्यो सम्बन्ध !

काठमाडौं । भनिन्छ, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । एशियाका नेल्सन मण्डेलाको उपनामले चर्चित पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीको हकमा पनि यहि कुरा सिद्ध भएको छ ।

वि.सं. १९९४ साल पुष ९ गते काठमाडौंको डिल्लीबजार मामाघरमा जन्मेका उनी सानैदेखि विद्रोही स्वभावका थिए । सानैदेखि कम्युनिष्ट आन्दोलनमा लागेका उनी ०२८ सालको झापा विद्रोहका प्रमुख योद्धा थिए ।

कुनै बेला मोहनचन्द्र भनेपछि सामन्ती राज्यशत्ताका शासकहरुको मुटुमा ढ्याँग्रो ठोक्थ्यो । झापा विद्रोहमा वर्गशत्रु सफायाको अभियान चलाएका उनले तत्कालिन सामन्ती राज्य व्यवस्थाको आडमा ब्रम्हलुट मच्चाउने शोसक सामन्तीहरुलाई ‘मुला गिडेजसरी’ गिड्दै हिडेका थिए ।

त्यतिबेला उनलाई साथ दिनेमा कम्युनिष्ट नेताहरु वर्तमान प्रधानमन्त्री केपी ओली, सीपी मैनाली, आर्के मैनाली, रामनाथ दाहाललगायत धेरै नेता थिए । तत्कालिन निरङ्कुश पञ्चायती शासकको आँखाको कसिङ्गर बनेका उनी ०३० सालमा सुराकीको आधारमा रौतहटबाट पक्राउ परेपछि झण्डै १७ वर्ष जेलजीवन बिताएका थिए ।

पञ्चायती सुरक्षाकर्मीले पक्राउ गरी उनलाई भैरहवा जेलमा लगिएको थियो । त्यही जेलबाट नै उनको जीवनले नयाँ मोड लिन पुग्यो । त्यहि जेलमा उनको एक युवतीसँग भेट भयो । तीनै युवतीसँगको भेटपछि जीवनभर विवाह नगर्ने सोंचमा पुगेका अधिकारी विवाह गर्ने मुडमा पुगे ।

अन्ततः आजीवन काराबासको सजायँ पाएका उनले ५३ बर्षको उमेरमा उनीभन्दा झण्डै २५ बर्ष कम उमेरकी केटीसँग बिवाह बन्धनमा बाँधिन पुगे । यो बिवाह कसरी सम्भव भयो ? विवाह नगर्ने भनेर बसेका मोहनचन्द्रले आफुँभन्दा आधा उमेरकी युवतीसँग कसरी विवाह गरे ? अनि विवाहको चाँजोपाँचो कसरी भयो ? यसै विषयमा खबरडबली संवाददाता गणेश पाण्डेले अधिकारी निवास नैकापमा पुगेर अधिकारी र उनको धर्मपत्नी बालकुमारी खनालसँग रोचक प्रेमसम्बन्धबारे कुराकानी गरेका छन् ।

माइतीपक्षको पेलानको कारण जबरजस्ती विवाह गर्न बाध्य भएँ : बालकुमारी खनाल

कम्युनिष्ट आन्दोलनका योद्धा मोहनचन्द्र अधिकारीलाई तत्कालिन पञ्चायीत शासकले आजिवन काराबास सजाँय सुनाएको थियो । उहाँसँग तपाईको भेट कसरी सम्भव भयो ?

म त्यतिबेला पाल्पामा शिक्षिका थिएँ । हाम्रो देशव्यापिरुपमा शिक्षक आन्दोलन चर्किएको थियो । आन्दोलनको दौरानमा मलाई प्रहरीले पक्राउ गरी भैरहवा जेल चलान गरेको थियो । उहाँपनि भैरहवा जेलमा हुनुहुँदो रहेछ । उहाँको नाम त हामीले विद्यार्थी जीवनमानै सुनेका थियौं । उहाँ पनि छन् भनेपछि उहाँलाई भेट्न म उत्साहित भएको थिएँ । तर, उहाँलाई भेट्ने अनुमति थिएन । एक दिन बाहिर म डुलिरहेको थिएँ । मलाई त्यति सञ्चोपनि थिएन । उहाँले भित्र जेलको सानो ढोकाबाट तपाई कसरी जेल पर्नुभयो भनेर मलाई सोध्नुभयो । मैले शिक्षक आन्दोलनबाट पक्रिएर काठमाडौं हनुमान ढोका ल्यायो । त्यहाँ तीनचार दिन राखेर यहाँ ल्यायो भने । त्यो दिन त्यतिकै कुराकानी रोकियो ।

तपाई शिक्षक आन्दोलनमा पक्राउ परि त्यहाँ पुगेको एकजना महिला, उहाँ राजनीतिक बन्दीकोरुपमा आजीवन काराबासको सँजाय भोगिरहेको व्यक्ति तपाईहरुलाई जेलप्रशासनको कर्मचारीले केहि भनेन् ?

किन नभन्नु नि । त्यो सम्वादपछि मलाई जेलरले खुबै गालि गर्यो । आजीवन जेलमा बस्ने मानिससँग भेट गर्नुभयो भने राम्रो हुँदैन भनेर हप्काउनु भयो । आइन्दा उसँग सम्पर्क नगर्नु भनेर चेतावनी दियो । र, एउटा सानो कुनामा लगेर थुनिदियो ।

त्यसपछि तपाईहरुको सम्पर्क कसरी भयो त ?

०४२ सालको कुरा हो । त्यतिबेला पत्रपत्रिका पढ्ने सुविधा पनि थिएन । विस्तारै जेलरले मेरो बायोडाटा लियो । एकदिन उसले मलाई कति पढेको छ भनेर सोध्यो । मैल डिग्री गरेको छु भने । तर, उसले यो सबै कुरा उहाँलाई भन्दो रहेछ । त्यतिबेला उहाँले जेलरको छोरालाई पढाउनुहुँदोरहेछ । जेलरले मेरो श्रीमानलाई त्यो महिलाले त डिग्री पास गरेको रहेछ नि भनेर गफ दिदो रहेछ । त्यसपछि मलाई जेलरले मेरो छोरा पढाइदिनोस भनेर भन्यो । मैले हुन्छ पठाइ दिनोस भने । दिनहरु यत्तिकै वितिरहेको थियो ।

त्यसबीचमा उहाँसँग प्रत्यक्ष भेटघाट भयोकि भएन ? भेटमा कस्तो कुरा हुन्थ्यो ? जेलरले कस्तो व्यवहार गथ्र्र्यो ?

जेलरको छोरालाई मैले पढाउने भएकोले होला । हाम्रो हकमा खासै कडा व्यवहार देखाएन । हामी समसामायिक बिषयमा उहाँसँग लुकिछिपी छलफल गथ्यौं । उहाँ त मेरो अविभावकजस्तो हुनुहुन्थ्यो । मलाई भैरहवा लगेदेखिनै मोटो चामलको भात खान दिएको थियो । आफुले मोटो चामल कहिल्यै नखाएको । त्यसको दुईतीन दिनपछि उहाँले तपाईंले कस्तो खाना खाइरहनुभएको छ, भनेर सोध्नुभयो । मैले मोटो चामल खान नसक्ने भन्दै अञ्चलाधीसको कार्यलयमा निवेदन लेखेर पठाको छु भने । उहाँको त स्पेसल चामल रहेछ । त्यसपछि उहाँले जेलरलाई भन्नुभएछ । त्यतिबेला काँग्रेको नेता रामकृष्ण ताम्राकार पनि थिए । त्यसपछि उहाँसँगै खाना खान थालें । एवंमरितले उहाँले सधैं मलाई खानुभयो भनेर सोध्नुहुन्थ्यो ।

उहाँले तपाईप्रति देखाएको चासो र हेरचाहले तपाई कस्तो महशुस गर्नुहुन्थ्यो ? त्यसबीचमा उहाँले मायाँप्रेमको कुरा ल्याउनुभयो कि भएन ?

अहँ त्यस्तो कुनै कुरा हुँदैनथ्यो । उहाँ अति अनुशासित मान्छे । मैले उहाँलाई गार्जेन्ट मान्थें । उहाँले मलाई विद्यार्थीको जस्तो व्यवहार गर्नुहुन्थ्यो ।

उहाँ बोलेको देखेर मलाई अचम्म लाग्थ्यो । ओहो, मोहनचन्द्र अधिकारी पनि मसँग बोल्नुभयो जस्तो लाग्थ्यो । हामी त विद्यार्थी जस्तो मान्छे । उहाँ त ठुला व्यक्तित्व मसँग बोल्दा अचम्म लाग्थ्यो । त्यतिबेला महिला पक्राउ परेको भनेपछि देशै हल्लिएको थियो । मलाई भेट गर्न आउनेको ठुलो भिड थियो ।

उनीहरुले भेट गर्न आउँदा विभिन्न किसिमका खानिकुरा ल्याउँथे । बेलाबेलामा उहाँलाई पनि दिन्थें । उहाँ जस्ता बरिष्ठ नेता पनि बोल्दा रहेछन् जस्तो लाग्थ्यो । नेता भनेको यस्तो पो हुँदोरहेछ भन्ने कन्सेप्ट मेरो मनमा गढेको थियो । उहाँकोजस्तो व्यवहार अहिले अरु नेतामा छैन ।

तपाईलाई भैरहवा कति राखेको थियो ?

एक महिना जस्तो राख्यो ।

त्यसपछि तपाई दुईबीचको सम्बन्ध कसरी बढ्योे ?

मेरो त छुट्नेबेला भइसकेको थियो । त्यसबेला मैले उहाँलाई एउटा अविभावक सम्झे । हुन त भविष्यको अविभावकनै रहेछन् । पछि मलाई लिन मेरो मामा आउनुभएको थियो । उहाँले ल भान्जी छुट्नुपर्यो भन्नुभयो । मेरो दाजुहरु छुट्नुभएको थिएन । मेरो स्कुलको सबै पक्राउ परेका थिए । म अलमलमा परें ।

मैले उहाँलाई भेटेर छुट भन्नुभएको छ, के गर्ने होला भने ? जवाफमा उहाँले मलाई यस्तो अवस्थामा आमा, मामा कसैसँगपनि विश्वास गर्नुहुदैन भन्नुभयो । तपाई जुन उदेश्यले जेल पर्नुभयो, दुःखकष्ट भोग्नुभयो । पुलिस हिरासतमा बस्नुभयो । यसरी छुट्दा तपाई गएको कुनै औचित्य हुँदैन भन्नुभयो ।

मामालाई भेटेर जुनबेला मेरा साथी र दाजुहरु छुट्दैनन् तबसम्म म छुट्न सक्दिन भनेपछि मामा रिसाएर हिड्नुभयो । त्यसको केहिदिनपछि मलाई पाढाएका र सँगै पढाउने सर आउनुभयो । उहाँले हामी सबै छुटिसक्यौं भनेपछि म पनि छुटें । यो कुरा मैले उहाँलाई भने । उहाँले तपाईहरुको सबै साथीहरु छुटेको भए जानोस भन्नुभयो । छुट्नेबेलामा उहासँग मैले बिदाइ भेट गरें । मसँग भएको कोसेली सबै उहाँलाई छोडिदिएँ । त्यसपछि जेलबाट निष्किएँ ।

जेलबाट छुटेपछि कता जानुभयो ?

म पाल्पा आएँ । पाल्पामा पहिलेदेखिनै चल्तापुर्जाको महिला थिएँ । म मावि लेबलमा पढाउँथ्ये । बालकुमारी मिस पनि रिहाइ हुनुभयो भनेपछि विद्यार्थीहरुले प्रत्येक कोठामा हरियो घाँस राखेका रहेछन् । त्यसो किन गरेको भन्दा तिमिहरु पशुबराबरको भयो भनेर कक्षानै बहिस्कार गरेका थिए ।

जेलबाट छुटेपछि उहाँलाई भेट गर्न जानुभयो कि भएन ? तपाईहरुको सम्बन्ध कसरी अगाडि बढ्यो त ?

म जेलबाट छुटेपछि शिक्षक आन्दोलनमै लागिरहें । एकचोटी उहाँले दशैंको बेलामा मलाई शुभकामना कार्ड पठाउनुभएको रहेछ । मैले चिनेको एकजना दाई झपेन्द्र जिसी भन्ने जिल्ला विकास समितिका अध्यक्ष हुनुहुन्थ्यो । उहाँले एकजना कामरेडले शुभकामना पठाउनु भएको छ भन्नुभयो । म त दङग परें । उहाँजस्तो नेतालेपनि मलाई सम्झिनु हुँदोरहेछ जस्तो लाग्यो । यो कुरा मैले मेरा दाजुहरुलाई सुनाएँ ।

खनाल परिवार सबैजस्तो शिक्षित थिए । त्यो जमघटमा दाजुहरुले अहो तिमीले त सबै कुरा जान्यौ । ठुला व्यक्तिसँग चिनजान भयो भन्नुभयो । उहाँले पठाएको कार्ड मैले मेरा दाजुलाई देखाएँ । मलाई दाजुहरुले अहिले पनि यिनिहरु चिनजानको आधारमा कार्ड आयो भनेको त साँच्चिकै बिहे पो भयो भनेर जिस्काउनु हुन्छ ।

उहाँले शुभकामना कार्डसँगै अरु केहि खुराक पनि पठाउनुभएको थियो कि थिएनन् ?

त्यस्तो अरु केहिपनि पठाउनुभएको थिएन । चिनजानको हिसाबले शुभकामना सन्देश पठाउनुभएको थियो ।

उहाँ त प्रजातन्त्र पुर्नबाहाली नभएसम्म जेलमै रहनु भएको थियो । यो बीचमा तपाईको सम्बन्ध कसरी अगाडि बढ्यो ?

हो । उहाँ ०४६ सालको जनआन्दोलन सफल भएपछि मात्र छुट्नु भयोको हो । त्यसबीचमा म शिक्षक आन्दोलनमै थिएँ । यो अवधिमा हाम्रो कुनै सम्पर्क भएन ।

तत्कालिन परिस्थितिमा तपाईहरुबीचमा कुनै भेटघाट गर्ने अवसर नपाएपनि प्रत्येक बर्ष शुभकामना कार्ड चाहिँ पठाउनुहुन्थ्यो हैन ?

उहाँले शुभकामना कार्ड एक पटक मात्रै पठाउनुभएको हो । झपेन्द्र दाईमार्फत एकदुई बर्षमा खबरहरु चाहिँ पठाइरहनु हुन्थ्यो ।

जेलबाट छुटेपछि तपाईसँग बिवाह गर्ने प्रस्ताव कसरी आयो ? किनभने तपाई र उहाँबीचको उमेर धेरै फरक रहेको छ । यो कसरी सम्भव भयो ?

यो चाहिँ कस्तो भयो भने, त्यस बर्ष मेरो विवाहको प्रस्ताव धेरै ठाउँबाट आएको थियो । मैले मानिन । म पीएचडी गर्न भनेर लागेको थिएँ । पढाइ नसकी विवाह नै गर्दिन भने । दाजुहरु मेरा सबै कम्युनिष्ट थिए । मोहनचन्द्र भनेपछि अहिलेका जस्ता छाडा नेता थिएनन् । दाजुहरुले अब बिवाह गर्नु पर्छ भन्नुभयो । मेरो मामा पुष्पलाल समूहका थिए । मनमोहन बुवाले नेतृत्व गरेको पार्टीको नेता हुनुहुन्थ्यो । उहाँ मनमोहन बुवाको भतिजो पनि मोहनचन्द्र अधिकारीको नामले पनि कहलिएको, त्यो हिसाबले कुरा चल्दै थियो ।

म माक्र्सवादीको जिल्ला सचिव थिएँ । महाधिवेशनको तयारीकोलागि म पोखरा आएँ । पोखरामा मालेको तर्फबाट राधाकृष्ण दाईलाई बोलाइएको थियो । त्यहि शिलशिलामा बिवाहको कुरा चल्यो । कुरा पहिल्यै चलेको हुनुपर्छ । कुरा चलेपछि अध्यक्ष विनय कसजुलगायतले गंगा कसजुसँग कुरा चलाउनुभएछ । महाधिवेशनमा गंगा दिदी र म सँगै सुत्थ्यौं । उहाँले मलाई भन्नुभयो बालकुमारी जी तपाईंलाई मैले एउटा प्रस्ताव गर्छु तपाईले मान्नुपर्छ भन्नुभयो ।

दिदीजस्तो मान्छेले भने पछि मैले हुन्छ भनिदिएँ । उहाँले यस्तोउस्तो प्रस्ताव केहि भन्नुभएन । उहाँले नो भन्न पाइन्न भन्नुभयो । उहाँले त्यस्तो अप्ठ्यारो प्रस्ताव केहि ल्याउनुहुन्न जस्तो लाग्यो, मैले हुन्छ भने । त्यसपछि उहाँले मोहनचन्द्र अधिकारीबारेमा यस्तो उस्तो भनेर पुरा बखान गर्नुभयो । मैले हुँदैहुँदैन भने । उहाँको प्रस्ताव ठाडै अस्वीकार गरिदिएँ ।

पीएचडी नगरी म विवाह गर्दिन भने । उहाँले पीएचडी सिएचडी त्यहिँ हुन्छ भन्नुभयो । मैले गर्दै गर्दिन भनेर ढिपीं गरें । उहाँले नगरी सुखपाउनुहुन्न भन्नुभयो । त्यति गर्दागर्दै अँ पनि भनिन हँ पनि भनिन ।

भैरहवा जेलले प्रेमसम्बन्ध जुरायो : माेहनचन्द्र

तपाई त विवाह गर्दिन भन्नुभएको थियो भन्नुहुन्थ्यो रे । त्यतिबेला तपाईको उमेर पनि ५३ बर्षको भइसकेको थियो । कसरी तपाईं विवाह गर्ने मुडमा पुग्नुभयो ?

खासमा कुरा यस्तो हो । एकदिन म जेलमा घाम तापिरहेको समयमा जीवराज कामरेडले जेलबाट छुटेपछि तपाईको पनि विवाह भैहाल्छ नि केटी जतिपनि पाइन्छ भन्नुभयो । जवाफमा मैले उनलाई तपाईले केटी खोज्नु पर्दैन म आफै खोज्न सक्छु भने । बाला जीले बिवाह गरेको छैन भनेको थापाएपछि मैलेनै जीवराज आश्रित जीलाई यो कुरा भनेको थिएँ ।

भित्रभित्र तपाई उहाँप्रतिको मायाँ प्रेममा फसिसक्नु भएको रहेछ हैन त ?

त्यस्तो त केहि होइन । उहाँपनि अनम्यारिड म पनि अनम्यारिड भएको हुनाले उहाँले मानेको खण्डमा बिवाह गर्छु भन्ने मनमा सोच आयो । साथीहरुले पनि जेलबाट छुटेपछि बिवाह गर्नुपर्छ भन्नुहुन्थ्यो । यदि उहाँले विवाह गर्न चाहनुभयो भने सँगै बसेको र चिनजान भएको आधारमा बालासँगै विवाह गर्छु भनेको हुँ ।

त्यसपछि जीवराजले के भन्नुभयो त ?

जीवराज जीले उहाँको मामालाई चिन्छु मामासँगै मदनपोखरामा सँगै बसेको पनि हो । तर, उनको विवाह भएको नभएको थाहा भएन भन्नुभयो । त्यसपछि हामी मदन भण्डारी कामरेडसँग पोखरा गयौं । माले, माक्सवादीका सबैजना जस्तो नेताहरु पोखरामा जम्मा भएका थिए ।

त्यसैबेला मैले भरतमोहन दाजुलाई तपाईको चेलीसँग बिवाह गरुँजस्तो लाग्यो भने । तपाईको चेली माग्न पर्लाजस्तो भने । उहाँले केहि जवाफ दिनुभएन । त्यसपछि जीवराज जीले मेरो मामे ससुरासँग बिवाहको प्रस्ताव राखेको हो । यो सबै तारतम्मे मामाबाट भएको हो ।

विवाहको दुईपक्षिय बिवाहको कुरा पोखरामै टुंगियो कि केटी पक्षबाट कस्तो प्रतिक्रिया आयो त ?

हाम्रो विवाहको कुरा उनको मामाले अगाडि बढाइरहनुभएको रहेछ । मलाई थाहा थिएन ।

त्यतिबेला म डेरामा सरेको थिइन । म र गंगा कसजु अफिसमा सँगै काम गथ्यौं । एकदिन उनी अफिसमा आउनुभयो । उनले तपाईंसँग एउटा प्रस्ताव लिएर आएको छु भन्नुभयो । के कस्तो प्रस्ताव ल्याएछनन् भन्ने भयो ? किनभने यस्तो प्रस्ताव पार्टीमा धेरै आइरहन्थ्यो । त्यसपछि उनले तपाईले मेरो साथीलाई विवाह गर्न रोज्नु भएछ । किन रोज्नु भयो ? उनीमा त्यस्तो के देख्नुभयो भन्नुभयो ।

मैले जवाफमा तपाईंको साथीको सिंगार, अनुहारको बनोट, रुपरंग देखेर विवाह गर्न खोजेको होइन । उहाँ पनि अविवाहित म पनि अविवाहित भएको र उहाँले विवाह गर्न चाहनु भयो भने मैले विवाह गर्छु भनेको हुँ । आधाघण्टापछि त्यहाँबाट निष्कनुभयो । त्यसपछि के कसो केहि पनि थाहा भएन ।

एकैचोटी बुटवलमा हाम्रो कार्यक्रम थियो । जीवराज जी र म गएको थियौं । मदन पोखराबाट धेरै शिक्षक आएका थिए । म त पानको पारखी यसो पान खाँदै जाँदा एउटा महिला पनि देखेंं । उहाँ बाला जीनै थिए । पानसान खाएँ । भाषण गर्न मञ्चमा गएँ । अनि साँझ परेपछि सिद्धिलाल जीले बाला जीलाई सँगै ल्याएर ल दुई जना कुरा गर्नुहोस भनेर छोडेर जानुभयो ।

त्यसपछि कुरा त गर्नुपर्यो । एकछिन कुराकानि गरेपछि उहाँले पनि हुन्छ भन्नुभयो मैले पनि हुन्न भने । विवाह गर्न हामी दुवैजना राजि भयौं ।

बालकुमारी……..

तपाईले पोखरा महाधिवेशनमा बिवाह प्रशंगको कुरा गरीरहनुभएको थियो । त्यसपछि कुरा कसरी अगाडि बढ्यो ?

पोखरा महाधिवेशनपछि हामी छुट्टियौं । मसँग एकजना मामा थिए । फर्किदा मामाभान्जी मात्र थियौं । बाटोभरी मामाले बिवाह गर्नुपर्छ भन्दै बिवाहको प्रशंगमात्र ल्याउनुभयो । मैले बाटो भरी हुँदैन भने । म अहिले विवाह गर्दिन । पढाइ सकेपछि विवाह गर्छु भने । तर, मामाले बिवाह नगरी हँुदैन भन्नुभयो ।

यो कति सालको कुरा हो । ठ्याक्कै मिति याद छ ?

उहाँ जेलबाट छुटेको एक बर्षपछि हुनुपर्छ । ०४७ साल माघमा त हाम्रो विवाह नै भयो । त्यस्तै दुईतीन महिना अघि हुनुपर्छ ।

भनेपछि बाटाभरी मामाको गालि खानुभयो ?

अँ, मामाले त्यो केटासँग बिवाह गर्नै पर्छ । उमेरले के गर्छ भन्नुभयो । महिला दुईवटा बच्चा पाएपछि बुढि देखिन्छ । एजेड भएको मान्छेले पो राम्रोसँग ब्यवहार गर्छ भन्नुभयो । पोखराबाट घर आउँदा सम्म विवाह गर्नेभए गर नत्र तिमिले जानेको गर भन्नुभयो । त्यसपछि म घर आएँ । धेरै सोचमग्न भएँ । मलाई त कस्तो लाग्यो भने कता हिडेको मान्छे कता पुगें जस्तो भयो । जीवनसाथी रोज्ने अधिकार त मेरो हो नि । घरको म एक्ली छोरी । घरमा पनि धेरै खलबल भएछ । घरमा मलाई बालु भनेर बोलाउँथे । मैले मानिन भनेपछि बनारसबाट मेरो सानोबुवा आउनुभयो । मेरा सबै नातेदार मेरा घरमा उपस्थिति भए । घरमा जो आयो उहाँकोमात्र कुरा गर्ने । भाग्यलेमात्र यस्तो केटा पाउँछ । कोही मानिस धनी होला, धनले के गर्छ ? नाम ठुलो कुरा हो, आदिइत्यादी कुरा गर्नथाले । सबैको प्रेसर थेक्न नसकेपछि मैले हुन्छ भन्दिएँ । त्यसपछि मात्र म बुटवल गएको हुँ ।

विवाहचाहिँ काहाँ कसरी गर्नुभयो नि ?

बुटवलमा भेटघाट भएको दुई महिनापछि हाम्रो विवाह भयो । म त पाल्पामा कहलिएर बसेको बिवाहमा दुईवटा बसमा मानिस आएका थिए । हाम्रो बिवाह पाटनको सैनिकमञ्चबाट भएको हो ।

विवाहमा कोको उपस्थित थिए ? बिवाहको ब्यवस्था कसले मिलाएका थिए ?

विवाहको सम्पूर्ण व्यवस्था मदन भण्डारीले गरेका हुन् । विवाह समारोहमा प्रधानमन्त्री किसुनजी लगायत पार्टीका सबै नेताहरु उपस्थिति रहेको थियो । राजा विरेन्द्रलाई पनि बोलाउने भन्ने थियो । तर, कम्युनिष्टको बिवाहमा राजालाई नबोलाउने भन्ने भएर उनलाई बोलाइएन । उनी बाहेक सबैजनाको उपस्थिति रहेको थियो ।

जनवादी विवाह गर्नुभएको भन्नुभयो कसरी गर्नुभयो ? उहाँले बिवाहमा केहि बोल्नुभएन ?

उहाँ त के बोल्ने भनेर अकमक्क पर्नुभयो । उहाँ भाषण गर्नमात्र सिपालु । बिवाहको सन्दर्भमा कुनै मेलो पाउनुभएन ।

त्यसोभए तपाईले चाहिँ भाषण गर्नुभयो होला नि हैन ? के भन्नु भयो ?

मैले त मज्जाले भाषण गरें । मामाले मञ्चमा गएपछि बोल्नुपर्छ भन्नुभएको थियो । मलाई यस्तो यस्तो बोल्नु भनेर हिन्स दिनुभएको थियो । मैले उहाँ जस्तो व्यक्तित्वलाई जीवनसाथी पाउनु मेरो भाग्य हो भने ।

तपाईको श्रीमानचाहिँ कस्तो मुडमा हुनुहुन्थ्यो ?

उहाँ त पुरै नर्भस घोप्टीर बस्नुभएको थियो । पछि बोल्न खोज्नुभएको थियो । त्यहिबेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले माइक खोसेर अब त मेरो पालो भन्नुभयो । एकछिन त हाँसोको फोहोरा नै छुट्यो । बिवाह त एकदम रमाइलो भयो ।

आफुले अविभावक मानेको व्यक्ति साँच्चिकै जीवनसाथी पाउँदा कस्तो लाग्यो ? विवाहबाट कतिको खुशी हुनुहुन्छ ?

धेरै खुशी छु । उमेरको अन्तरालमा मान्छेमा प्रेम नबस्ने भन्ने हुँदैन । माधब कामरेडलगायत प्रायजस्तोले उहाँ अलि रिसाह छ भन्थे । त्यत्रो लामो समय जेलजीवन विताएको मानिस समाजमा फर्किदा स्वभाविकरुपमा जोकसैलाई पनि यस्तो हुन्छ । त्यसलाई अन्यथा लिनु हुँदैन । अहिले म रिसाउँछु उहाँ रिसाउनुहुन्न । माघमा २८ बर्ष बर्षगाँठ मनाउँदै छौं । यसबीचमा हामीबीच बादविवाद हुने झगडा गर्ने केहि गर्दैनौं ।

उहाँको राम्रो पक्ष र नराम्रो पक्ष केके रहेको छन् ?

उहाँको अधिकांश राम्रा पक्ष छन् । तर, कहिले काहिँ झनक्क रिसाउनु हुन्थ्यो, त्यो पनि कम भैसकेको छ । नराम्रोमा उहाँ व्यबहारिक पक्षमा सारै कमजोर हुनुहुन्छ । व्यवहार मिलाउन जान्नुहुन्न । हाम्रो दाम्पत्य जीवन राम्रो चलेको छ । यसमा हामी खुशी छौं ।

सहयात्राको लामो अवधिमा सबैभन्दा दुःख र सुखका क्षण केहि छन् ?

खासै भन्नुपर्दा विवाह पश्चात उहाँ एकदम गम्भिर बिरामी पर्नुभयो । त्यो घटना काहालीलाग्दोनै थियो । उहाँलाई धेरैदिन हस्पिटल राख्नुपरेको थियो । यदिसम्मकी डाक्टरहरुले पनि उहाँको मायाँ मारिसकेका थिए ।

तपाईको श्रीमानले लामो समय जेलजीवन बिताउनुभयो, जेलबाट छुटेपछि पनि राजनीतिमै व्यस्त रहनुभयो । कुनै लाभको पदपनि लिनुभएको छैन । तपाईं एकजनाले कसरी घरव्यवहार चलाउनुभएको छ ?

उहाँले ०४८ तिर पार्टी छोड्नुभएपछि घरव्यवहार चलाउन निकै कष्ट भयो । मेरो पनि कुनै प्रमोसन भएको थिएन । तलब थोरै थियो । साथीभाइले भाडा तिरिदिन्थे । मेरो ठुलो छोरो त सुखलेनै हुर्कियो । तर, सानो छोरा जन्मिदा दुध किन्ने पैसासम्म पनि थिएन । माइतिमा पनि दुःख नकाटेको छोरी माइतमा पनि आमालाई दुःख देखाउन मन लागेन । किनभने बुवा पूँजीवादी चिन्तनमा हुर्किएको मानिस दुःख देखाउन मन लागने । दुःख कष्ट धेरै भोगियो । साथीभाइ, इस्टमित्रसँग श्रृणधन गरी गुजरा चलाइयो । पछि जागिर प्रमोसन भएपछि स्थिति सहज हुँदै गयो । उहाँलाई त पार्टीले जम्मा पाँचहजार दिन्थ्यो । त्यसले उहाँलाई औषधीपनि पुग्ने थिएन । दुःखको दिन सम्झिदा आँखाबाट आँशु आउँछ ।

तपाईकै सहयोद्ध अहिले राष्ट्रपति, प्रधानमन्त्री देखि राज्यको विभिन्न ओहोदामा हुनुहुन्छ, उहाँले केहि सहयोग गर्नुभएको छैन ?

जुन गर्नुपर्ने दुःखको समयमा त पार्टीले केहि गरेन भने अब गर्छभन्ने आशा छैन । जिनतिन गुजारा चलेकै छ । दुईवटै छोराहरु बुज्झकी छन् । उनीहरुको केही गर्लान् भन्ने आशा छ । हामीलाई नेताहरुसँग कुनै पद पाइएन भन्ने गुनासो छैन । यत्रो बलिदान गरेको व्यक्तिलाई यिनीहरुले गरेको व्यवहार सम्झिदा घृणा लागेर आउँछ । तर, नेताहरुको छोराछारीलाई अनुदान र छात्रावृत्तिमा विभिन्न देशमा पढाएका छन् । हामीलाई कुनै वास्ता गरेनन् । यसमा हाम्रो गुनासो छ ।

पुस १४ गते, २०७६ - १५:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको...   

नेपालमा भेटिए कोरोनाका छैंटौं संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...   
महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन...   
ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

काठमाडौं । उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट...   
यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

काठमाडाैं । धेरै मानिसहरु काेराेना भाइरसकाे नाम सुन्नै वित्तिकै अत्तालिन थाल्छन् । डराउन थाल्छन्...   
मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

काठमाडाैं । विवादास्पद मेडिकल उपकरण खरिद प्रक्रियाबारे उपप्रधानमन्त्रीसमेत रहेका कोभिड–१९ सक्रमण,...   

सीमानामा नेपालीलाई अलपत्र छोडिनु सुन्नै नसकिने कुरा : नेकपा प्रवक्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपालीहरुलाई...   
फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

काठमाडाैं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्ल‌ंघन गर्नेलाई गोली हान्न आदेश...   

सातवटै प्रदेशबाट कोरोना परीक्षण सुरु, नमुना काठमाडौं ल्याउनु नपर्ने

काठमाडाैं । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणका लागि...   
एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

काठमाडाैं । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top