Khabar Dabali Logo
  April 8, Wed

एउटा गुप्त व्यापारसँग सम्बन्धित अनौठा पात्रहरू

कामुक नृत्य गर्ने थाई युवती, भियतनामी अपराधी, धनाढ्य चिनियाँ, विपन्न मोजाम्बिकेली, दक्षिण अफ्रिकाका पूर्वप्रहरी र उत्तर कोरियाली कूटनीतिज्ञहरूको अफ्रिकी गैँडाको विनाशसँग  के सम्बन्ध होला त ?

यी सबै एउटा जटिल तस्करी गिरोहमा संलग्न पात्रहरूमध्ये केही हुन्। धेरै देश र असंख्य अपराधीहरूको संलग्नताका कारण प्रहरीका लागि यो गिरोह दु:साध्यप्राय ठहरिएको छ।

सन् २००७ देखि २०१४ सम्ममा गैँडाको चोरीसिकार ९००० प्रतिशतले बढ्यो। गैँडाको यो प्रजातिको अस्तित्व सङ्गठित अपराधका कारण जोखिममा परेको छ।

सन् २००७ – अवैध सिकारीहरूले दक्षिण अफ्रिकामा 
१३ वटा गैँडा मारे
 
सन् २०१४ – अवैध सिकारीहरूले दक्षिण अफ्रिकामा
१,२१५ वटा गैँडा मारे
 स्रोत: वातावरण मामिला विभाग, दक्षिण अफ्रिका

मक्माफियाहरू

गैँडाको चोरीसिकार गर्ने सञ्जालहरूको संरचना विश्वबजारमा भएका नयाँ माफियाहरूको जस्तै छ।

‘माफिया’ शब्द ‘द गड्फादर’मा मार्लोन ब्रान्डोले अभिनय गरेको डन कार्लिअोनी वा ‘न्यू जर्जी’मा टोनी सप्र्यानोले अभिनय गरेको गिरोहको नाइकेको जस्तो चरित्र बुझाउन प्रयोग गरिन्छ। तर सन् १९९० को दशकको पूर्वार्धतिर माफियाहरूले पनि विश्वव्यापीकरणको नयाँ युगमा आफूलाई अनुकूल बनाउन थाले।

बहुराष्ट्रिय संस्थाहरू जसरी प्राय: अपारदर्शी हुन्छन् र विभिन्न देश एवम् सहुलियत कर भएका क्षेत्रमा फैलिएका हुन्छन्, नयाँ माफियाहरू पनि त्यसरी नै सञ्चालित हुन्छन्।

मैले १४ वर्षअघि बहुराष्ट्रिय सङ्गठित अपराधको नयाँ स्वरूपबारे अनुसन्धान गर्न थालेको हुँ। अपराधी र कानुन पालना गराउने अधिकारीहरूसँग अन्तर्वार्ता गर्दै संसारभरिको यात्रा गर्दा नयाँ माफियाहरू कसरी आधिकारिक व्यापारिक शाखाका रूपमा काम गर्दारहेछन् भन्ने पत्तो पाएँ।

मिशा ग्लेनीको पुस्तकमा आधारित टेलिशृङ्खलामा कलाकार जेम्स नर्टन 

मिशा ग्लेनीको पुस्तकमा आधारित टेलिशृङ्खलामा कलाकार जेम्स नर्टन 

बहुराष्ट्रिय अपराध र रुसको सुरक्षाबारेका विशेषज्ञ मार्क ग्यालिओटीले माफियाहरू कसरी काम गर्छन् भनेर व्याख्या गरेका छन्। मस्कोमा सक्रिय शक्तिशाली सङ्गठित अापराधिक समूहमध्ये चेचेन् माफिया पनि एक थियो। त्यो समूहका अधिकांश सदस्यहरू अराजक चेचेन्या गणतन्त्रबाट आएका व्यक्ति थिए।

“चेचेन माफिया एउटा ‘ब्रान्ड’ नै बनिदियो। मक्माफियाको आधिकारिक शाखाजस्तो,” ग्यालिओटीले भने। “उनीहरू अरू सहरका गिरोहलाई पैसा लिएर र वाचा गराएर ‘चेचेन्’ नाम नै बेच्थे। यदि कुनै समूहले ‘चेचेन सम्बन्ध’ दाबी गर्‍यो तर दिएको धम्की पूरा गरेन भने त्यसले ब्रान्डको अवमूल्यन गरेको ठहरिन्थ्यो। अनि उनीहरूलाई मूल समूहले खेद्थ्यो।”

यस्तो संरचना सन् १९९० को दशकमा रुसमा सुरु भयो। तर अहिले यो संसारभरि फैलिसकेको छ। विभिन्न आपराधिक धन्धाहरू – कोलम्बियाका लागुऔषध तस्करहरूको गिरोहदेखि सङ्कटापन्न वन्यजन्तुको अवैध व्यापार गर्ने भियतनामी समूहरूसम्म – सबैमा।

अनि तपाईँ एउटा ‘माफिया राज्य’ बनेको भेट्नुहुन्छ। यस्तो राज्य जसलाई शक्तिशालीहरूको एउटा सानो समूह वा भ्रष्ट नेताहरूको संयन्त्र र गुप्तचरहरूले सङ्गठित अपराधीहरूको सञ्जालसँग मिलेर सञ्चालन गर्छन्।

भ्लादिमिर पुटिनको नेतृत्वमा रहेको रुसलाई बारम्बार यस्तो आरोप लाग्ने गरेको छ।

त्यसैगरी उत्तर कोरियालाई पनि।

किम जङ अनको सरकारको सन्दर्भमा चाहिँ उत्तर कोरिया विश्व अर्थ प्रणालीसँग समायोजित हुन नसक्ने हुँदा। प्योङ्याङविरुद्ध नाकाबन्दी चलिराख्दा उसले नगद हात पार्ने भनेको आपराधिक माध्यमबाट नै हो।

उत्तर कोरियासँगको सम्बन्ध

उत्तर कोरियाली नेता किम जङ अन

प्रहरीले मोजाम्बिकको राजधानी मपूटोमा सन् २०१५ मा एउटा समूहबाट गैँडाको एउटा खाग, ठूलो परिमाणमा डलर, थोरै स्थानीय मुद्रा र छक्क पार्ने गरी चार बोरा चामल बरामद गर्‍यो।

पक्राउ परेका चार पुरुषमध्ये दुईजना आफूहरू दक्षिण अफ्रिकामा खटिएका कूटनीतिज्ञ भएको दाबी गर्ने उत्तर कोरियाली थिए। उनीहरूलाई ३०,००० डलर जमानत राख्न भनियो। त्यो रकम तुरुन्तै जम्मा गरेर उनीहरूले देश छोडे।

अफ्रिकी देशहरूमा भएका उत्तर कोरियाका दूतावासले गैँडाको खाग, चुरोट र खनिज पदार्थको अवैध व्यापारका लागि अन्तर्सम्बन्ध बुनेका छन्।”

जुलिएन राडमेयर

खोज सम्वाददाता जुलिएन राडमेयरले ती गिरफ्तारीबारे एउटा समाचार देखेपछि त्यसमा थप खोजी गरे। अन्तत: उनले आफ्नो महत्त्वपूर्ण अध्ययन ‘डिप्लोम्याट्स एन्ड डिसीट‘ नामक पुस्तकमा प्रकाशित गरे।

म जोहानेस्बर्ग भ्रमणमा हुँदा राडमेयरबाट उनले आफ्नो विवरणमा उल्लेख गरेका यस्ता व्यापारमा उत्तर कोरियाको संलग्नताबारे सुन्दा छक्क परेको थिएँ।

“अफ्रिकी देशहरूमा भएका उत्तर कोरियाका केही दूतावासहरूले गैँडाको खाग, चुरोट र खनिज पदार्थको अवैध व्यापारका लागि अन्तर्सम्बन्ध बुनेका छन्,” उनले लेखे।

राडमेयरका अनुसार ती कूटनीतिज्ञहरू ब्यूरो ३८ अन्तर्गत काम गर्ने गर्छन्। ब्यूरो ३८ एउटा गुप्त सरकारी निकाय हो जसको मूल उद्देश्य नै नगद सङ्कलन गर्नु हो।

उनका अनुसार उसको परमाणु अस्त्रको क्षमतालाई भङ्ग गर्न निरन्तर लगाइएका कठोर अार्थिक अवरोधहरूका कारण उत्तर कोरियाली सरकारको संलग्नता अवैध गतिविधि र प्रायोजित आपराधिक सञ्जालहरूमा बढ्ने छ।

उत्तर कोरियाको कूटनीतिक सेवामा भएका राजदूतको औसत मासिक तलब १००० डलर हुन्छ। त्यति पैसाले अधिकांश देशका राजधानीहरूमा बस्न पुग्दैन। त्यसकारण उनीहरू स्वदेशमा भएका हाकिमहरूका लागि पैसा सङ्कलन गर्नेबाहेक आफ्ना लागि पनि केही जोहो गर्ने गर्छन्।

बेलाबेलामा उत्तर कोरियाली कूटनीतिज्ञहरू कर नतिरेको मदिरा र चुरोट बेचेको, हेरोइन र मेथम्फेटमिनको कारोबार गरेको र यौनधन्धाका लागि महिलाहरूको तस्करी गरेको आरोपमा समातिएका छन्। दक्षिण कोरियाको अनुमानमा उत्तर कोरियामा प्रत्येक वर्ष झन्डै एक अरब डलर राजस्व अवैध वस्तु र सेवाको कारोबारबाट सङ्कलन हुन्छ।

सन् २००६ मा उत्तर कोरिया छोडेर भाग्नेहरूले एउटा अनपेक्षित दाबी गरे – दिवङ्गत भएका निरङ्कुश नेता किम जङ इलले लागुपदार्थको व्यापारमा आफ्नो देशको संलग्नता अन्त्य गर्ने निर्णय गरेका थिए।

त्यस्तो व्यापारले आफ्नो देशको प्रतिष्ठा धेरै नै बिगारेको उनको बुझाइ भएको एउटा अनुमान छ। चीनमा लागुपदार्थ दुर्व्यसनीको बढ्दो दरका कारण बेइजिङले उत्तर कोरियालाई त्यसको व्यापार रोक्न दबाब दिएको भन्ने अर्को मान्यता पनि छ।

लागुऔषध तस्करीको अन्त्य गर्दा कूटनीतिज्ञहरूलाई झोलामा लुकाएर याम्फेटमिनका ३००० ट्याब्लेट ओसारपसार गरे जसरी आफ्नो आर्थिक आवश्यकता पूर्ति गर्न नसक्ने स्थिति उत्पन्न भयो।

त्यतिबेला अफ्रिकामा रहेका उत्तर कोरियालीहरूले नयाँ व्यापारको अवसर देखे।चिनियाँ र भियतनामी मध्यमवर्गको बढ्दो ऐश्वर्यले गैँडाको खागको माग ब्युँताइदिएको थियो।

सन् २००० को दशकको पूर्वार्धमा नयाँ बहुराष्ट्रिय आपराधिक गिरोहहरूले रुचाएका अवैध वस्तु र सेवाहरूको सूचीमा गैँडाको खाग थिएन। उनीहरू प्राय: महिला, लागुपदार्थ र हतियार नै बेचिरहेका हुन्थे।

सन् २००८ अघिका दुई दशकमा दक्षिणी अफ्रिका एवम् चीन र यमनका अधिकारीहरूले गैँडाको खाग र हस्तिहाडको अधिकांश व्यापार सफलतापू्र्वक निर्मूल गरिदिएका थिए। चीन र यमन ती वस्तुका लागि महत्त्वपूर्ण बजार मानिन्थे।

तर गैँडाको खागको माग सधैँ रहेको छ। चार शताब्दीभन्दा अगाडिदेखि खागको धूलो परम्परागत चिनियाँ औषधिमा प्रयोग हुँदै आएको छ।

सन् १९७० र १९८० को दशकमा यमनमा परम्परागत छुरी जाम्बियाको बिँड बनाउन खागको उच्च माग रहेको थियो। थोरै माग त अहिले पनि छ तर त्यहाँका ग्राहकहरू दक्षिणपूर्वी एसियामा तिरिने जति उच्च मूल्य तिर्न सक्दैनन्।

गैँडाको खाग परम्परागत यमनी छुरीको बिँड बनाउन प्रयोग हुन्छ

गैँडाको खाग परम्परागत यमनी छुरीको बिँड बनाउन प्रयोग हुन्छ

गैँडा र हात्तीको सङ्ख्या उल्लेख्य गतिमा बढ्दै थियो र सङ्कटापन्न वन्यजन्तु संरक्षणका लागि काम गर्ने संस्था ‘साइटिस’ले पनि तिनका केही प्रजातिलाई कम जोखिम रहेको बताएको थियो। तर सन् २००८ मा खागका लागि मारिने गैँडाको सङ्ख्या अकस्मात् कहालीलाग्दो गतिमा अकास्सियो।

हाल गैँडाको खाग कोकिनहेरोइन र सुनभन्दा मूल्यवान् छ। ठाउँ हेरेर यसले २५,००० देखि ६०,००० डलर प्रतिकिलोसम्म पाउँछ। यसको व्यापारमा हुने नाफा अद्वितीय छ।

सिकारीको सिकार

विपन्न अफ्रिकीहरू र पूर्वी एसियाका अपराधी एवम् गुप्तचरहरूसँग मिलेर काम गर्ने भ्रष्ट सरकारी कर्मचारीहरूको अन्तर्सम्बन्धले परम्परागत कानुन कार्यान्वयनलाई एउटा चुनौती दिन्छ। किनभने त्यसका लागि ठूलो स्रोत चाहिन्छ जुन धेरै अफ्रिकी देशहरूसँग छैन।

“बिग जो” न्यालुङ्गा हाल प्रतिवादीहरूको एउटा समूहसँगै गैँडाको चोरीसिकारकोमुद्दा चल्ने प्रतीक्षामा छन्। उनी दक्षिण अफ्रिकाका पूर्वप्रहरी अधिकृत हुन् र त्यहाँको कानुनी प्रणालीसँग परिचित छन्।

डिसेम्बर २०१२ मा पक्राउ परेको भए पनि अधिकांश समय उनी जमानतमा बाहिर बसेका छन्। अब उनको मुद्दा २०१८ को वसन्तमा चल्ने भएको छ। उनी आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्छन्।

बिग जोलाई गैँडा चोरीसिकारको ‘नाइके’ भएको आरोप छ। वन्यजन्तु कता छन् र तिनको सिकार कसरी गर्ने भन्ने ज्ञान भएका ग्रामीण समुदायका अतिनिर्धन स्थानीय बासिन्दालाई बिग जोहरूले सङ्गठित पार्छन्।

उनीहरू खाग दलाललाई बेच्छन्। र त्यो खाग प्राय: पूर्वी एसियातिर निर्यात हुन्छ। त्यहाँ त्यो ‘शुभ वस्तु’ बनाउन वा क्यान्सरदेखि नपुंसकत्वसम्मका सबै रोगको उपचार गर्न बनाइने परम्परागत औषधिमा प्रयोग हुन्छ।

सरकारी अभियोजनकर्ताहरूले बिग जोले यो व्यापारबाट ठूलो कमाइ गरेको अभियोग लगाएका छन्। यान्सी फेन्टर वन्यजन्युसँग सम्बन्धित अपराधहरू हेर्ने एउटी अभियोजनकर्ता हुन्। उनी केही वर्षदेखि बिग जोलाई कठघरामा उभ्याउन प्रयत्नशील छिन्। “काम गर्दा पाइने चर्चा मलाई मन पर्दैन। तर ती बिचरा गैँडाहरूको संरक्षण गर्न म त्यसका लागि पनि तयार छु,” उनले मलाई बताइन्।

यी अपराधहरूको क्रूरताबारे फेन्टर थप बताउँछिन्। ती भव्य जीवलाई अवैध सिकारीहरूले शक्तिशाली बन्दुक हानेर हलचल गर्न नसक्ने बनाउँछन् र ती होसमा र जीवित छँदै तिनको खाग करौँती लगाएर काट्छन्।

रगत बगेर पछि मरून् भनेर तिनलाई त्यतिकै छोडिन्छ। अवैध सिकारीहरूले गैँडालाई तत्कालै मार्दैनन् किनभने मरेको गैँडा भएको ठाउँमा गिद्धहरू घुम्छन्। त्यसो हुँदा वनरक्षकले चाल पाउन सक्छन्।

तर दक्षिण अफ्रिका र छिमेकी देश मोजाम्बिक एवम् जिम्बाब्वेमा उनीहरूका लागि काम गर्ने मान्छेहरूले ती नाइकेलाई रबिन हूडजस्तो उपकारी भन्ठान्छन्। आफ्नो समुदायलालाई दु:खमा त्यत्तिकै छोडेको तर धनी गोरा पर्यटकहरूका लागि वन्यजन्तु जोगाउन साधनस्रोत खर्च गरेको भनेर ग्रामीण क्षेत्रका गरिबहरू गुनासो गर्छन्।

[सिकारीहरू] प्राय: अशिक्षित र खाद्यशृङ्खलाको तल्लो तहमा हुने निर्धन व्यक्तिहरू हुन्छन् जो आयका लागि सधैँ लालायित हुन्छन्”

यान्सी फेन्टर, दक्षिण अफ्रिकी अभियोजनकर्ता

ठूलो सिकार पाउन सकिने र उल्लेख्य रकम तिरेर वन्यजन्तु हेर्न पर्यटक आउने दक्षिण अफ्रिकाको विशाल क्रुगर राष्ट्रिय निकुञ्ज वरिपरिका गाउँहरूबाट आफ्ना लागि काम गर्ने मान्छे छान्न नाइकेहरूलाई कुनै समस्या हुँदैन।

फेन्टर आफूले मुद्दा चलाएको एलियट मजिम्बा नाम गरेको एउटा सिकारीबारे मलाई बताउँछिन्। त्रिचालीस वर्षीय उक्त व्यक्तिलाई सात वर्ष जेल हालिएको थियो र उसका छ सन्तान छन्। ऊ क्रुगर राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाउँको बासिन्दा हो। मजिम्बा उनले भेट्ने प्रतिवादीहरूको प्रतिनिधिपात्र हो। “उनीहरू प्राय: अशिक्षित र खाद्यशृङ्खलाको तल्लो तहमा हुने निर्धन व्यक्ति हुन्छन् जो आयका लागि सधैँ लालायित हुन्छन्।”

क्रुगर राष्ट्रिय निकुञ्जमा अन्यत्रभन्दा ठूलो सङ्ख्या गैँडाहरू बस्छन्। त्यो संरक्षित क्षेत्रको सीमा जिम्बाब्वेसँग जोडिएको छ। कुनै बेला अफ्रिकाको खाद्यभण्डारका रूपमा चिनिने जिम्बाब्वे नयाँ सहस्राब्दीको आरम्भ हुँदा दोहोरो चेपुवामा पर्‍यो।

पहिलो – रोबर्ट मुगाबेको भूमिसुधार कार्यक्रमका कारण धेरै नाफामूलक कृषि व्यवसायहरू बन्द भए र ग्रामीण बेरोजगारी नाटकीय रूपमा बढ्यो।त्यसपछि सन् २००८ मा जिम्बाब्वे विश्व आर्थिक सङ्कट र वैदेशिक मुद्राका ठूलो स्रोत भएका वस्तुहरूको मूल्यमा भएको तीव्र पतनको मार पर्‍यो।

त्यो आर्थिक भद्रगोलले केही जिम्बाब्वेलीलाई आफ्नो कमाइ बढाउन गैँडाको चोरीसिकारतिर डोहोर्‍यायो। तर जिम्बाब्वेमा अलि थोरै गैँडा थिए। विश्व आर्थिक सङ्कटसँगै जिम्बाब्वेली सिकारीहरूले आफ्ना आँखा सीमापारि गाड्न थाले।

“दक्षिण अफ्रिकामा परिस्थितिमा अलि खुकुलो थियो,” एकजना सिकारीले भने,” त्यसैले हामीले त्यतापट्टि सर्ने निर्णय गर्‍यौँ। यहाँ जिम्बाब्वेमा गैँडाको सङ्ख्या थोरै छ, दक्षिण अफ्रिकामा जस्तो धेरै छैन।”

अनि जिम्बाब्वेलीहरूको मात्र हैन अरू विदेशीहरूको निशानामा पनि दक्षिण अफ्रिकाको यो जीव परेको थियो। त्यही समयमा पूर्वी एसियालीहरू पनि क्रुगर र वरपरको क्षेत्रमा देखा पर्न थालेका थिए।

तीमध्ये उत्तर कोरियाली कूटनीतिज्ञ, कामुक नृत्य गर्ने थाई युवती र भियतनामी गुन्डाहरू पनि थिए। बिग जो न्युलुङ्गासँगै दुई भियतनामी नागरिक पनि समातिएका थिए।

आखेटोपहार सङ्कलन गर्न सम्पन्न व्यक्तिहरूका लागि दक्षिण अफ्रिकामा वैधानिक रूपमै गैँडा, हात्ती र सिंहको सिकार गर्न सम्भव छ।

प्राय: सम्पन्न युरोपेली वा अमेरिकी अधबैँसे पुरुषहरू वैध सिकार गर्न अफ्रिका जान्छन्। मिनिसोटाका दन्त चिकित्सक वाल्टर पाल्मरले जिम्बाब्वेमा सेसिल नाम गरेको सिंह मारेपछि ठूलै समाचार बनेको थियो।

सौखिन सिकारी वाल्टर पाल्मर (देब्रे) एउटा सिंहसँग (सेसिल हैन)

सौखिन सिकारी वाल्टर पाल्मर (देब्रे) एउटा सिंहसँग (सेसिल हैन)

तर त्यस्तो घातक सफारीका दक्षिण अफ्रिकी आयोजकहरूले सन् २००६ मा नयाँ ग्राहकहरू फेला पारे । भियतनामी ‘व्यापारीहरू’ र झन् असामान्य रूपमा थाई युवतीहरू।

तीमध्ये कसैसँग पनि सिकार गर्ने वा गोली हान्ने सीप थिएन। उनीहरू वन्यजन्तु मार्न स्थानीय निसानेबाजहरूलाई काममा लगाउँथे। अनि मारिएका वन्यजन्तुअगाडि बसेर सफारी पोसाक लगाएका ती युवतीहरू सेल्फी खिच्थे।

पछि ती थाई युवतीहरू जोहानेस्बर्गका मदिरालयमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्छन् भन्ने खुल्यो। भियतनामी र लाओसीहरूले तिनलाई थप पैसाको प्रलोभन दिएर नयाँ काम लगाएका थिए। अपराधशास्त्री अनेट् ह्युब्श्लका अनुसार वन्यजन्तु तस्करी गर्ने लाओसी सञ्जालले एउटा कम्पनी देखाएर आफ्नो छद्म काम गरेको थियो।

थाई प्रतिनिधिमार्फत् दक्षिण अफ्रिकामै रहेका थाई यौनकर्मीहरूलाई भर्ती गरिन्थ्यो। तिनलाई दक्षिण अफ्रिकी मध्यस्थकर्तासँगै निजी सिकार आरक्ष र खेतीहरूमा लगिन्थ्यो। र, तिनलाई आखेटोपहारका सिकारी भएको अभिनय गर्न लगाइन्थ्यो। यसरी वन्यजन्तु तस्करहरूले दक्षिणपूर्वी एसियादेखि दक्षिण अफ्रिकासम्म यात्रा बेहोर्नु पर्ने खर्च जोगाउँथे,” उनले भनिन्।

पछि सूचनादाता बनेका एकजना पूर्व गैँडा व्यापारीका अनुसार ती युवतीहरूलाई त्यो कामका लागि ५,००० र्‍यान्ड अर्थात् ४०० डलरजति दिइन्थ्यो। तीमध्ये अधिकांश अवैध माध्यमबाट दक्षिण अफ्रिका ल्याइएका हुन्छन् र त्यसरी आउँदा परेको ऋण तिर्न दलालहरूसँग काम मिलेर काम गर्न बाध्य हुन्छन्।” दुई अापराधिक व्यापारहरूको यो सङ्गम आधुनिक माफियाको साझा विशेषता हो।

एउटा नयाँ युद्ध

विश्वव्यापी माफियाहरूको अर्को विशेषता के हो भने तिनीहरू प्राय: कानुन कार्यान्वयन गराउने निकायहरूभन्दा स्रोतसम्पन्न र लाखौँ डलरका उद्यम हुन्।

हात्ती र गैँडा खोज्न अवैध सिकारीहरू सैन्य शैलीका हतियार, गाडी र हेलिकप्टरहरू प्रयोग गर्छन्। तिनीहरूलाई रोक्ने प्रयास गर्ने वन्यजन्तु सुरक्षाकर्मीहरू यसो हुँदा हताश हुन्छन्।

सशस्त्र हिंसाबारे अध्ययन गर्ने स्मल आर्म्ज सर्भेका वरिष्ठ अनुसन्धाता ख्रिस्टोफर कार्ल्सनले संयुक्त राष्ट्रसङ्घको एउटा बैठकमा भनेका छन् – अफ्रिकामा चोरी सिकार भएका ठाउँमा भेटिएका गोलीगट्ठा र बरामद गरिएका हतियारको विधिवत् अन्वेषण गर्दा अवैध हातहतियारहरूको ओसारपसार पत्ता लगाउन र रोक्न सकिन्छ।

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्ज र त्यसको वरिपरि रहेका निजी सिकार आरक्षहरूले चोरीसिकारप्रतिरोधी एकाइहरूलाई सेनाको जस्तै साधनस्रोत दिएका छन्। अहिले उनीहरू विमान, ड्रोनहरू र आधुनिक हातहतियारले सुसज्जित छन्।

अनि अमेरिकाको ‘भेट्पअ’ जस्ता संस्था पनि छन्। भेट्पअले वन्यजन्तुको चोरीसिकार रोक्न परिचालित सुक्षाकर्मीलाई तालिम दिन इराक र अफगानिस्तानको युद्धमा भाग लिएका अवकाश प्राप्त सैनिकहरू पठाउँछ। तपाईँहरू तिनलाई ट्विटर्‌मा फलो गर्न सक्नुहुन्छ। कालो चस्मा र सैनिक पोसाक लगाएका र हतियारले सुसज्जित पुरुषहरूले आफ्ना बन्दीसँगको तस्बिर हाल्छन्। र लेखिएको हुन्छ – “गोचा!” अर्थात् भेटियो। केही विशेषज्ञहरू अवैध सिकारी र वन्यजन्तु सुरक्षाकर्मीबीच शस्त्रको प्रतिस्पर्धा विकसित भएको हो कि भनेर चिन्ता व्यक्त गर्छन्।

सङ्गठित अपराधविरुद्ध दिइने बलियो जबाफ गैँडाको व्यापारमा मात्र सीमित छैन। अमेरिकाले नेतृत्व गरेको लागुऔषधविरुद्धको लडाइँ त्यही बाटोमा दशकौँदेखि चलिराखेको छ। त्यो लडाइँमा मेक्सिको, कोलम्बिया र ब्राजिलजस्ता देशहरूमा दशौँ हजार मान्छे मारिएका छन्।

लिबियामा भएका मानवतस्करीका गिरोहलाई नियन्त्रण गर्न युरोपेली सङ्घले भर्खरै नौसेनाका जहाजहरू परिचालित गरेको छ। जीर्ण डुङ्गा चढाएर ती गिरोहहरूले अफ्रिकी आप्रवासीहरूलाई भूमध्यसागर पार गराउँदा ठूलो नाफा कमाउँछन्। यसै क्रममा डुङ्गा पल्टेर नियमित रूपमा भयानक दुर्घटनाहरू हुने गरेका छन्।

यी सबै दृष्टान्तले मक्माफियाको संस्कृति व्यापक भएकोमा संसारभरि उठेका चिन्ता र चासो देखाउँछन्।

अपराध विशेषज्ञ ट्यूज्डे रीटानोको तर्क गर्छन् – यसले सैन्य बलहरूलाई अपराधविरुद्ध लड्ने दीर्घकालीन भूमिका लिन बाध्य बनाउन सक्छ जसका लागि उनीहरूलाई खासै तयार पारिएको छैन।

अनि अर्को डर पनि छ – सङ्गठित अपराधीहरूले आफूविरुद्ध लड्ने सैन्यबलका महत्त्वपूर्ण व्यक्तिलाई लोभलालचमा पारी प्रभावित गर्न सक्छन्।

रीटानो ‘द ग्लोबल इनिशिअटिभ अगेन्स्ट ट्रान्स्नेश्नल अर्गनाइज्ड क्राइम’का लागि काम गर्छन्। सो संस्था आपराधिक गिरोहको प्रभाव कम पार्ने प्रतिबद्धतासहित संसारभरि काम गर्छ। तर उनलाई गैँडा संरक्षण अभियानको सैनिकीकरण प्रत्युत्पादक हुन्छ कि भन्ने चिन्ता छ।

“हात्ती र गैँडाको चोरीसिकार रोक्न थालिएका सैन्य अभियानहरूकै कारण पूर्वी अफ्रिकामा हतियारहरू फैँलिदैछन्,” उनले भनिन्। “कार्यान्वयन गर्नुअगाडि नै हामीले यस्ता रणनीतिहरूका अनपेक्षित तर सम्भावित परिणामहरूको आकलन र अध्ययन गर्नुपर्छ।”

बहुराष्ट्रिय सङ्गठित अपराध अहिले जलवायु परिवर्तन, महामारीहरू र आमविनाशका हतियार जस्तै ठूलो चुनौती भएको कुरामा सुरक्षा विशेषज्ञ र कानुन पालना गराउने अधिकारीहरू सहमत छन्। तर गैँडाको नियतिले हामी समस्या समाधान गर्ने बाटोभन्दा धेरै टाढा रहेको देखाउँछ ।

मिशा ग्लेनी बीबीसीका पूर्वपत्रकार हुन्। उनको गैरआख्यानात्मक पुस्तक‘मक्माफिया’मा अाधारित भएर बनाइएको टेलिशृङ्खला ‘बीबीसी वन’मा हाल प्रसारण हुँदैछ।

फागुन २ गते, २०७४ - १२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   

प्रधानमन्त्री ओलीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा आज ११ बजे सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको...   

अपडेट : हेर्नुहोस् २०८ देशको अवस्था, कोरोनाको प्रभाव कहाँ कति ?

काठमाडौं । विश्वका २ सय ८ वटा मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ । २ सय ८ वटै मुलुकमा गरेर १३ लाख ४६ हजार...   

‘फुर्सदिला’ बनेका मन्त्रिहरुलाई थप जिम्मेवारी –कसले के पाए ?

काठमाडौं । कोरोना भाईरसका कारण गत ११ गतेदेखि देश लकडाउन भएपछि ‘फुर्सदिला’ भएका मन्त्रिहरुलाई थप जिम्मेवारी...   
महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

काठमाडौं । आज बसेको सरकारको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ...   
एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं । आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले आगामी एकहप्ता लकडाउन थप्ने निर्णय गरेको छ । सरकारले...   

एप्पलले बनायो कोरोना विरुद्धको फेससिल्ड (कायकारी अधिकृतको भिडियो हेर्नुहास्)

काठमाडौं । नयाँ प्रोडक्ट ल्नच गर्ने तयारी गरिरहेका बहुचर्चित एप्पल कम्पनि र कुरिरहेका पाठकहरुलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top