शंकर पोखरेलसँग अन्तरवार्ताः पार्टी एकता भाँडाकुटी खेलेजस्तो होइन, पहिला सरकार गठन अनि एकता
माघ २३ गते, २०७४ मगलवार 6th February, 2018 Tue०७:५८:५५ मा प्रकाशित
केही दिनमैं सातै प्रदेशमा मुख्यमन्त्रीको अन्तिम टुंगो लाग्दै छ । साबिकका तीन अञ्चल लुम्बिनी, राप्ती र भेरीका केही जिल्ला समेटिएको प्रदेश नम्बर ५ बाट एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने लगभग पक्का छ । दाङ प्रदेश राजधानी बन्ने चर्चा रहे पनि सरकारले रुपन्देहीको बुटवललाई अस्थायी राजधानी तोक्यो । दाङनिवासी पोखरेलले यसलाई कसरी हेरेका छन् ? समग्र प्रदेशको समृद्धिका लागि के–कस्ता योजना बनाइरहेका छन् ? अथवा, आगामी दिनमा प्रदेशको विकास तथा समृद्धिमा उनको भूमिका कस्तो रहन्छ ? यसै विषयमा अाजको नयाँ पत्रिकाले गरेको कुराकानीको सम्पादित अंश :केन्द्रीय राजनीतिबाट प्रदेश हाँक्न आउनुभएको छ । केन्द्रबाट हेर्दा र प्रदेशमा आएर राजनीति गर्दा के–कस्तो भिन्नता पाउनुभयो ?
हामी नयाँ शासन प्रणालीको अभ्यासमा छौँ । एकात्मक राज्य प्रणालीबाट संघात्मक राज्यको अभ्यासमा छौँ । प्रदेश संरचना आफैँमा नयाँ हो । मैले अहिलेसम्म केन्द्रमा नीति–निर्माण तहमा नेतृत्वदायी भूमिका खेलेको हो । अब भने फरक भूमिकाका साथ आफ्नो सोचलाई कार्यान्वयन गर्ने तहमा नेतृत्व पाउने अवसर आएको छ । संघीयताका बारेमा मेरा आफ्नै सोच र बुझाइ छन् । यसलाई प्रयोग गर्ने मेरो दृढता रहनेछ । यस अर्थमा मेरा लागि यो चुनौतीपूर्ण अवसर हो ।
प्रदेश हाँक्ने जिम्मेवारीमा जाँदै हुनुहुन्छ, ५ नम्बर प्रदेशमा तपाईंका प्राथमिकतामा के–कस्ता विषय छन् ?
मुख्य प्राथमिकता विकास र समृद्धि नै हो । तर, त्यसका लागि गर्नुपर्ने काम धेरै छन् । सबैभन्दा पहिले प्रदेशको फाउन्डेसन तयार गर्नुपर्ने छ । कानुन निर्माण गर्नुपर्ने छन् । प्रदेशको मास्टरप्लान बनाउनुपर्ने छ । यसको जगमा अशिक्षा, बेरोजगारीको समस्यालाई सम्बोधन गर्नुपर्छ । यसपछि मुलुकका समृद्धिका लागि प्राथमिकताका क्षेत्र पहिचान गर्नुपर्छ ।
हाम्रो प्रदेशको महत्वपूर्ण आधार कृषि नै हो । कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्नु नै पहिलो प्राथमिकता हुन्छ । रोजगारी सिर्जनाका लागि आफ्नै खनिज सम्पदामा आधारित र आफ्नै उत्पादनमा आधारित औद्योगिकीकरणलाई अघि बढाउनुपर्छ । भविष्यको समृद्धिका आधारका रूपमा पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ । कृषिबाट हाम्रो अर्थतन्त्र अगाडि बढ्छ र पर्यटनमा गएर स्टेबल हुन्छ । यस्तो खालको सोच मैले बनाएको छु ।
५ नम्बर प्रदेशलाई मूलतः तीनवटा सेन्टरका रूपमा विकसित गर्नुपर्छ । एउटा बुटवल, भैरहवासहितको पेरिफेरी, दाङ, तुलसीपुर, घोराहीलाई आधार मानेर अर्को सेन्टर बनाउने, नेपालगन्ज करिडोरआसपास मिलाएर तेस्रो सेन्टर निर्माण गर्नुपर्छ । यी क्षेत्र महानगरका लागि आवश्यक पर्ने वस्तु र सेवाको पकेटका रूपमा सिंगो ५ नम्बर प्रदेशसँग जोड्न सकिन्छ ।
यी राजनीतिक सेन्टर हुन्छन् कि समृद्धिका ?
राजनीतिक होइन, समृद्धिका सेन्टर हुनेछन् । महानगर भनेका वस्तु र सेवाको उपभोग गर्ने केन्द्र हुन् । उत्पादन पकेट यीभन्दा बाहिर पनि हुन सक्छन् । तरकारी, दूध, मासुजन्य पदार्थको उत्पादन गर्ने अर्को पकेट हुन्छ । खाद्यान्न उत्पादनको अर्को पकेट हुन्छ । सेवा डेलिभर दिन जनशक्ति विकासका पकेट हुन्छन् । महानगरको समृद्धिलाई गाउँसम्म पुर्याउन पहाडी क्षेत्रलाई मुख्य स्टेसनको रूपमा विकास गर्छौं । जसले गर्दा महानगरमा थुप्रिएको पैसालाई गाउँसम्म फर्काउने काम गर्छौं । यसका लागि स्वाभाविक रूपमा पूर्वाधार निर्माण महत्वपूर्ण पक्ष हो । सडक यातायात, हवाई यातायात, रेल्वे यातायात र उच्च पहाडी भूभागमा केबलकारलाई यातायातको साधनका रूपमा विकास गर्छौं । यस्ता संरचनाको फाउन्डेसन निर्माणमा ध्यान केन्द्रित गर्छौं । जसबाट सबै क्षेत्रका जनता विकासको प्रवाहमा जोडिन सक्छन् ।
संघीयता आफैँमा खर्चिलो व्यवस्था हो । खर्च धानेर जनतालाई नतिजा दिने गरी काम गर्नुपर्ने अवस्था छ । यसका लागि स्रोत कसरी जुटाउनुहुन्छ ?
समृद्धिसँगै स्रोत जुट्छ । स्रोतको अभाव गरिबीमा हुने हो, समृद्धिसँगै स्रोतको अभाव हुँदैन । हामी सधैँ पछौटे अवस्थामा रहने हो भने अभाव सधैँ भइरहन्छ । भएको साधन–स्रोतलाई प्रयोग गरी समृद्धिको बाटोमा अघि बढ्ने हो भने यसले स्रोत निर्माण गर्छ । समृद्धिका स्रोत जनता हुन् भन्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ । जनतालाई सक्षम बनाएपछि समृद्धि हासिल हुन्छ । यो बाटो जाँदा प्रदेश नम्बर ५ को समृद्धि सम्भव छ ।
अरू प्रदेशसँग तुलना गर्दा प्रदेश नम्बर ५ सँग विशेष के छ ? स्रोत कस्ता छन् ?
सबैभन्दा ठूलो स्रोत भनेको जनशक्ति हो । प्रदेश नम्बर ५ का जनता विकास र समृद्धिको सन्दर्भका लागि सकारात्मक छन् । यो नै हाम्रो तागत हो । यहाँ रहेका बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक अवस्थितिको परिचालन र पर्यटन विकास अर्को महत्वपूर्ण आधार हो । आधुनिक दुनियाँमा कल्चरल हेरिटेजलाई पर्यटनको आधारका रूपमा लिइन्छ, जुन चिज हामीसँग छ । ऐतिहासिक सम्पदा छन् । लुम्बिनी, कपिलवस्तु, बुद्धको एक मात्र अस्तुधातु रहेको स्तूपा रामग्राममा छ । यो दुनियाँमा कहीँ छैन । यसलाई उजागर गर्न सक्छौँ । बुद्धले २९ वर्ष बिताएको ठाउँ हामी भर्खरै उत्खनन् गर्दै छौँ । यसलाई प्रमोट गर्न सक्छौँ । एसियाकै महत्वपूर्ण दाङ भ्याली छ । जुन जैविक विविधताको हिसाबले महत्वपूर्ण छ । तराई र भित्री मधेसलाई पहाडको सेतुको रूपमा विकास गर्न सक्छौँ । यो आफैँमा मानव विकासको आधार बन्न सक्छ । दुई राष्ट्रिय निकुञ्ज बर्दिया, बाँके यो पर्यटनको अर्को महत्वपूर्ण आधार हो । नेपालकै चर्चित ढोरपाटन सिकार आरक्षको ठूलो भाग पनि हामीसँगै छ, यसले पनि हाम्रो समृद्धिमा ठूलो योगदान दिन सक्छ । किनकि पूर्वाधार विकास हुँदा यस्ता ठाउँको विकास हुन्छ ।
हामीसँग ऐेतिहासिक स्थल पनि उत्तिकै छन् । रुरु सभ्यता, पाल्पाको उत्तिकै महत्व छ, प्राचीन ऋषिमुनीहरूले तपस्या गरेका थुप्रै ठाउँ छन् । यिनीहरूलाई स्थापित गर्न सकिन्छ । प्राक्ऐतिहासिकदेखि आधुनिक सभ्यतासम्मका सभ्यता र इतिहास हामीसँग छन् । यिनीहरूलाई भविष्यको पर्यटनको केन्द्र बनाउन सकिन्छ ।
प्रदेशको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै तपाईंले हामीले शून्य संरचनाबाट काम थाल्नुपर्छ र हाम्रा लागि यो चुनौतीसँगै अवसर पनि हो भन्नुभएको छ । तपाईं अब केही दिनमै मुख्यमन्त्री बन्दै हुनुहुन्छ, यस्तो शून्य संरचनामा कसरी नतिजा दिने गरी काम गर्नुहुन्छ ?
सामान्यतया हामीकहाँ डिमान्डबेस परियोजना तयार गर्ने परिपाटी छ । पहिले घर बन्छ, त्यसपछि बाटो पुर्याउँने, त्यसपछि बिजुली–पानी पुर्याउने अवस्थाबाट हामी गुज्रेका छौँ । यस्तोमा पूर्वाधारमा धेरै लगानी गर्नुपर्ने अवस्था छ । यसलाई प्लान बेसमा लाँदा कम खर्चमा व्यवस्थित बस्ती निर्माण गर्न सकिन्छ । यस अर्थमा जनताका आकांक्षालाई योजनामा ढाल्ने र योजनालाई बोकेर अगाडि बढ्ने परिपाटी विकास गर्नुपर्छ । शून्य संरचनाबाट अगाडि बढ्दा भिजनसहित अगाडि बढ्न पाइन्छ । जनशक्तिलाई सकारात्मकतिर मोटिभेसन गर्न सक्छौँ । प्रदेश नम्बर ५ मा जो आउँछ, यो प्रदेशका लागि केही गर्नुपर्छ भन्ने प्रतिज्ञाबाट हामी काम सुरु गछौँ । मुख्यमन्त्रीदेखि हरेकले सामान्य शपथ होइन, समृद्धिका लागि शपथ खानुपर्छ । यो मुख्यमन्त्रीदेखि सामान्य तलब खाने कर्मचारीसमेतले गर्नुपर्छ । यस्तो शपथले सकारात्मक काम गर्नुपर्ने मनोविज्ञान तयार गर्छ । हामी यो ढाँचाबाट अघि बढ्छौँ ।
राजधानीको विषयमा निकै रस्साकस्सीबीच अस्थायी राजधानी बुटवल तोकियो । यसमा दाङको असन्तुष्टि छ, दाङलाई कसरी मिलाएर लान सकिएला ?
स्वाभाविक रूपमा यसको समाधान संविधानले तय गरिसकेको छ । प्रदेश सभालाई यो अधिकार प्राप्त छ । हामी यस्तो प्रकारको विधि र प्रक्रिया तयार गर्छौं कि जनताले स्पष्ट रूपमा महसुस गर्नेछन्, निर्णय सही मापदण्डबाट गरिनेछ । किनकि पारदर्शी ढंगले काम गरियो भने मानिसले चित्त बुझाउँछन् । जनतालाई गुमराहमा राखेर निर्णय गरियो भने मानिसमा असन्तुष्टि बढ्छ । यसकारण पनि पारदर्शी बनाउनुपर्छ कि जनतालाई यो कारणले हाम्रो ठाउँ पछाडि थियो, हामी पछाडि थियौँ, हाम्रो भन्दा अर्को ठाउँ उपयुक्त रहेछ भनेर जनताले प्रत्यक्ष महसुस गर्ने गरी निर्णय गरियो भने यसमा आपत्ति मान्नुपर्ने अवस्था केही छैन ।
राजधानीको विषयमा संसद्को दुईतिहाइले अन्तिम टुंगो लगाउँछ । दुईतिहाइले स्थायी राजधानी तोक्दा यसमा प्रश्न उठाउने ठाउँ रहन्छ कि रहँदैन ?
दुईतिहाइ भनेको सर्वसम्मत हो । यसमा कसले प्रश्न उठाउने ठाउँ रहन्छ र ?
अघि विज्ञसँग पनि छलफल हुन्छ भन्नुभयो । दुईतिहाइ एकातिर हुँदा पनि विज्ञसँग छलफल हुन्छ?
विज्ञले भनेको रायमा दुईतिहाइले निर्णय गर्छ । सांसद भनेका विधि पुर्याउन जनताले चुनेका प्रतिनिधि हुन् । उनीहरूले तथ्य प्रमाणभन्दा बाहिर गएर फैसला गर्छन् भन्ने लाग्दैन । स्वाभाविक रूपमा इमोसनल रूपले नेताहरूलाई प्रोत्साहित गर्ने प्रवृत्ति पनि नदेखिएका होइनन् । तर, हामीले के ठान्नुपर्छ भने अर्को काठमाडौं जन्माउने होइन । हामीले गर्न खोजेको व्यवस्थित योजनासहितको राजधानी निर्माण गर्न सकिन्छ कि भन्ने हो । यो सोच्दा त्यति धेरै विवाद होला भन्ने लाग्दैन ।
राजधानीका लागि घोषणा हुने अन्तिम दिनसम्म पनि दाङको चर्चा भयो । उच्च अदालत भएकाले पनि दाङ नै हुने भनियो । तर, बुटवलले बाजी मार्यो नि ?
अहिले ठाउँ विशेषका बारेमा म चर्चा गर्न चाहन्नँ ।
व्यक्तिगत रूपमा बुटवलमा राजधानी आउँदा कस्तो लाग्यो ?
म यो बारेमा टिप्पणी गर्न चाहन्नँ । किनकि अहिले जे बहस भइरहेको छ, यसबारे भइरहेका बहसमा सच्चाइ छ । सच्चाइविनाका बहस भइरहेका छैनन् । तर, पनि यसलाई कसरी हल गर्ने भन्नेमा वैधानिक व्यवस्था छ । हामी यसबाटै अघि बढ्छौँ ।
राजधानीका विषयमा अझै विवाद र लफडा आउला कि नआउला ?
विवाद नआउँने गरी हामी जान चाहन्छौँ । तर, विवाद आएको छ, यसलाई व्यावहारिक रूपले
हल गर्छौं ।
तपाईं दाङबाट प्रतिनिधित्व गर्नुहुन्छ, यस्तो अवस्थामा आफैँले चाहिँ कत्तिको दबाब महसुस गर्नुभएको छ ?
दबाब महसुस गरेको छैन । किनकि निर्णय गर्ने कुरामा दबाब लिइयो भने सही निर्णय गर्न सकिन्न।
राजधानी बुटवल नै कायम भए सन्तुलनका लागि केही कार्यालय दाङ पनि राख्ने विकल्प हुन सक्छ?
हामी यस्तो विकल्पमा सोच्दैनौँ । केही कार्यालय भैरहवामा राख्ने विकल्पमा पनि म छैन । किनकि त्यति परसम्म लान हुँदैन । धेरै सोच्दा तिलोत्तमासम्म लान सकिन्छ । दैनिक प्रशासन चलाउने ठाउँ धेरै टाढा लानु हुँदैन ।
यहाँको नेतृत्वको मन्त्रिमण्डलको आकार कस्तो हुन्छ ? कत्रो हुन्छ ?
स्वाभाविक रूपमा अहिले हामीले वामपन्थी गठबन्धनबाट चुनाव जितेका छौँ । यो सहकार्यबाट अघि बढ्नुपर्छ भन्ने सन्देश पनि हो । दुई पार्टीबीच सहमति भइसकेको छ । सानो आकारबाटै काम थाल्नुपर्ने हुन्छ । ठूलो बनाउँदा आवश्यक सुविधा पनि दिन सक्ने अवस्था छैन । कतिसम्म भने अफिस राख्ने ठाउँ पनि छैन । यसैले सानो आकारबाट काम सुरु गर्नुपर्ने अवस्था छ । एकैपटक धेरैलाई मन्त्री बनाउने हो भने सीमित संरचनामा गाईजात्रा देखिन थाल्न । मन्त्रीलाई नै बस्ने ठाउँ हुँदैन । चढ्न गाडी हुँदैन । हामी यस्तो खालको बिजोग देखाउन चाहँदैनौँ । हामीसँग भएको साधन–स्रोतले थेग्ने आकारको बनाउँछौँ । बिस्तारै बढाउँदै जान्छौँ ।
तपाईंहरू माओवादीसँग मिलेर निर्वाचनमा जानुभयो । स्थिर सरकार दिन पनि मिलेरै जानुपर्ने अवस्था छ । वाम गठबन्धनलाई पार्टी एकतासम्म लाने घोषणा गर्नुभयो । तर, पार्टी एकतामा त अझै शंका छ नि ?
अलग–अलग पार्टी भएपछि अलग–अलग मनोविज्ञान त हुन्छ नै । तर, हामी अलग मनोविज्ञान होइन, सहमतिको साझा मनोविज्ञान खोज्दै पार्टी एकता गर्छौं । अहिले पनि असहमतितिर जाँदैनौँ, सहमतिका कुरा के छन्, त्यसैमा अघि बढ्छौँ । सहमतिमा अघि बढ्न समस्या छैन ।
केन्द्रमा प्रभाव राख्ने नेता हुनुहुन्छ । पार्टी एकता दुई पार्टी अध्यक्षमा आएर अड्किएको हो ?
यो मिडियाको कुरा हो । छलफल त्यहाँ पुगेको छैन । दीर्घकालीन रूपमा एउटै पार्टी बनाउने, परस्परमा विश्वास दिलाउने प्रक्रियामा दुई नेता छलफलमा हुनुहुन्छ । इतिहासको दुई नेता छलफल गर्दै हुनुहुन्छ । यस अर्थमा विश्वास बन्दै गयो भने अरू सबै चिज स्वतः हल भएर जान्छन् । दुई नेताहरू यो काममा लागिरहनुभएका वेला को प्रधानमन्त्री हुने को अध्यक्ष भन्ने विषय गौण भएको उहाँहरूले नै भन्दै आउनुभएको छ । आममिडियामा यही चिजलाई प्रचार गर्ने, समाचार बेच्ने खालको कुरा ज्यादा भएको छ । तथ्यमा नगई अनुमानका भरमा चर्चा र परिचर्चा गर्ने काम भएको छ ।
अर्कोतिर आफ्नै नेतामाथि भरोसा नगर्ने र नेताहरूले भनेका भन्दा अरू कुरालाई ज्यादा महत्व दिने काम भइरहेको छ । नेपालका नेताहरूले भनेको नपत्याउने, विदेशीले भनेको कुरालाई पत्याउने, वाहवाही गर्ने दबित मनोविज्ञान नेपाली समाजमा छ । यसको प्रतिबिम्ब मिडियामा आएको हो, यो ठीक होइन । यस्तो पाटोलाई मिडियाले सुधार्नुपर्छ । राष्ट्रिय स्वाधीनता, स्वाभिमानको पक्षमा, पार्टीहरू मिल्नुपर्छ भन्ने मान्यताका आधारमा प्रयास गर्नुपर्छ । सधैँभर पार्टी र नेतृत्वलाई कमजोर पार्ने होइन, बलियो पार्नमा आमसञ्चारले पनि ध्यान दिनुपर्छ ।
कसरी टुंगिएला, कति समय लाग्ला पार्टी एकता हुन ?
पार्टी एकता भनेको भाँडाकुटी खेलेजस्तो होइन । एकैछिनमा भाँडा बनाइहाल्यो, पकाइहाल्यो, खाइहाल्यो । यसका निश्चित विधि र प्रक्रिया हुन्छन् । विधि र प्रक्रिया पूरा गर्दा समय लाग्छ । हामी छिटो होस् भन्ने अपेक्षा गर्छौं ।
एकता केन्द्रीय सरकार गठनअघि होला कि पछि ?
छिटो गर्न खोज्दा खोज्दै पनि सरकार गठनको प्रक्रिया छिटो आउला भन्ने लाग्छ ।
विपक्षी कांग्रेससँग प्रदेशमा कसरी समझदारी कायम गर्नुहुन्छ ?
विकास र राजनीतिका विषयलाई आजको सन्दर्भमा हेर्नुपर्छ । विकासमा असहमति राख्नुपर्ने कुरा केही छैन । हामी कांग्रेसलाई साथ लिएरै जान तयार छौँ । उहाँहरूले पनि साथ दिनुपर्छ । सहकार्यको वातावरण बनाउँछौँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: