Khabar Dabali Logo
  October 27, Tue

‘म उनको लोग्ने’

 म यो समाजको अपराधी होइन, न मेरी श्रीमती दोषी हो । तर, यत्तिका वर्षदेखि बस्दै आएको आफ्नै समाज आज पूरै ‘बिरानो’ झैं भएको छ, चिनेकाहरू नचिनेझैं गर्न थालेका छन् । मास्क लगाएर, फेटा बाँधेर र हुलिया फेरेर हिंड्नुपर्ने अवस्था मैले बेहोर्ने कि दोषीले ? अपराधी को— म या यो समाज  ?

‘म संसार जित्ने आस गर्दै छु
मात्र तिमी मेरो साथ बसिदेऊ…’

अाजको कोसेलीमा लेखिएको छ-फुर्सदमा वा बेफुर्सदमा पनि म यस्तै गीत सुनिरहन्थें । अथवा कम्तीमा मनमनै गुन्गुनाइरहन्थें । यो क्रम बढीजसो मेरो बिहाभन्दा अघि चलिरहयो । अघिल्लो वर्षको दसैंमा उनीसँग बिहा भएपछि भने बरु मेरो गीतको, लयको, आनीबानीको भाका अलिक फेरिएको हो कि ? अहिले म ‘लोग्ने’ भएको छु । उनका कति मन पर्ने अथवा मन नपर्ने कुराहरू पनि जोडेर म लोग्ने बनेको छु । झन्डै १०/१२ वर्षदेखि चिनेकी, नजिकबाट मन खाएकी उनलाई जीवनसाथी बनाएर ल्याएपछिको लोग्ने, म उनको लोग्ने !
म एकदमै निम्नवर्गीय परिवारको केटो हुँ । बाबाले एकदमै दु:ख गरेर हामी छोराछोरीलाई हुर्काउनुभएको हो । गोर्खाको पुरानो गाउँ छाडेर नवलपरासी हुँदै छोराछोरीलाई राम्रो स्कुलमा पढाउने भनेरै बाबाआमा ललितपुर आउनुभएको हो ।

अर्काको जायजेथा र जमिनमा ओत लाग्दै कहिले सोलार मेन्टिनेन्स, कहिले गार्डेनिङ काम गरेर मुस्किलले हुने १२/१५ हजार रुपैयाँको कमाइबाट हामी छोराछोरीलाई बोर्डिङ पढाउनुभयो । मेरो पूरा बाहुला भएको सर्टको कुइनो फाट्दा आमाले त्यसलाई हाफ–सर्ट बनाएर सिइदिनुहुन्थ्यो, एकपछि अर्को कक्षाको पढाइ यसैगरी टालटुल गरेरै टरिहाल्थ्यो । त्यो टालाटुलीमाझ मलाई गरिबी थाहा पत्तै भएन । बरु अहिले पो धेरै कुरा बुझ्दै छु ।

मसँग सपना हुँदै नभएको होइन, तर निम्छरो खालको थियो । गीत गाउने सोख थियो, स्कुल–कलेजका सोहरूमा गाएको पनि हुँ । बाजा बजाउने सोख पनि थियो । तर, एउटा गितार किन्नै पनि पैसो थिएन । अर्काको बगैंचामा गार्डेनर काम गर्ने बाआमाको कमाइसँग जोडिएर महँगा सपना देख्नै जानिएन । बरु चित्रकलामा रुचि बढ्यो । बुझाइमा यो अलिक सस्तो खालको सपना थियो । एउटा पेन्सिल र सादा कपी भए भैहाल्थ्यो । स्कुलका शिक्षकले पनि मेरा चित्रहरू मन पराएर कक्षाकोठाका भित्तोमा अझै टाँगिएको छ ।

एक पटक आमाले शिव भगवान्को चित्र कोर्न लगाउनुभयो । कोरें पनि । अनुहार भने अलिक केटी–केटीजस्तो भएछ । तैपनि आमाले आफ्नो कोठाको भित्तामा राखेर त्यहीं चित्रमा पूजा गर्नुहुन्छ । सुरुमा अरूका चित्र हेरेरै कपी गर्ने अथवा रंगमा खेल्ने बानी थियो । कुनै दिन आफूलाई मन पर्ने गायक/गायिकाको पोट्रेट बनाउनुपर्ला भन्ने सोचेको थिएँ ।

नवीन भट्टराई, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान वा सविन राईको अनुहार उतार्नुपर्ला भन्ने थियो । नारायणगोपाल वा दीप श्रेष्ठलाई पोट्रेटमा सम्झेको हुँ । अस्ति मंसिरको पहिलो साता मात्रै ठमेलको एउटा कलाकारकहाँ गएर चित्रमा आइपर्ने छाया, उज्यालोबारे सिक्दै–बुझ्दै थिएँ । तर, त्यही बेला जीवनमा नसोचेको घटना ममाथि आइपर्‍यो । म यसबारेमा बिस्तारमा भन्नेछु ।

सम्झनाहरूलाई अँगाल्दै…
ललितपुरको एक कलेजबाट होटल म्यानेजमेन्ट विषयमा १२ कक्षा पढेपछि मलाई पनि बिदेसिएर कमाइ गर्ने धुन चल्यो । कति बाबाआमाको कमाइमा खाइखेली गर्नु भनेर म आफैं इच्छामा बिदेसिन लागेको थिएँ । मेरो नाताका एक जना मामा दुबईमा थिए, उनैले ‘हुन्छ नि भान्जा’ भनेसि मैले भने कतारका लागि ट्राई गरें । झन्डै एक लाख रुपैयाँ खर्चेर म तीन वर्षअघि कतार पुगेको थिएँ । ‘स्टोन एन्ड डेकोरेसन’ को डिजाइनिङ काममा लाग्नुपर्ने भनेर दलाल दाइले मलाई अथ्र्याएका थिए । भरेभन्दा काम भने ‘स्टोन’ मात्रै रहेछ । सहानियाँको मरुभूमिमा ठूल्ठूला ढुंगा बोक्दै क्रसरमा हाल्ने काम ! तलब १ हजार रियाल सुक्खा थियो । तर, काम साह्रै मुस्किलको भएर एक वर्षमै घर फिरें । जे होस्, कतार गएर हल्कासँग स्काभेटर (जेसीबी) चलाउन सिकेको थिएँ । त्यो उपलब्धि थियो ।

कतारबाट फर्केर एक जना आफन्त पोर्चुगल/बेल्जियमतिर भएकाले त्यता पो जाने कि भनेर ट्राई थालें । तर, एजेन्टले पोर्चुगल जाने भनेर जर्जियाको भिसा लगाइदियो । ‘स्कर्टिङ’ गरेर जर्जियाबाट पोर्चुगल लगिने भनेको भनिएको थियो । तर, यसो बुझ्दा सामुद्रिक बाटोबाट ६ हजार किलोमिटर दूरीमा रहेको दुई देशबीच ‘स्कर्टिङ’ मा जाने खतरा जाने बुझेरै मैले बेहोर्न चाहिनँ । अनि म विदेश गइनँ ।

कतारबाट घर फिरेपछि पनि त्यत्तिकै किन बस्ने भनेर सामान्य लेबर काम पनि गरें, ज्यालादारी रूपमा । ललितघुम्ती, नखिपोट, टीकाभैरवका सडक बनिने ठाउँमा बेल्चा चलाउने काम खुबै गरें । ज्यालादारीमा इँटा, बालुवा बोक्ने काम पनि गरियो । भित्र मनमा गढेको कुरा त छँदै थियो । फुर्सदमा अथवा यसो मुडमा चित्र कोर्ने काम गरिरहन्थें । ललितपुर भित्री बस्तीको एउटा हबेली घरमा ढुंगा–बालुवा बोकिरहेका बेला एक जना ठेकेदारले एक दिन उनीसँग टयाटु–मेसिन रहेको र त्यो बिक्री गर्न चाहेको सुनाए ।

ओहो, जीवनको भोगाइ कहाँनिर गएर मोडिन्छ भन्ने थाहा हुन्न भन्ने कतै पढेको थिएँ । मैले एक महिनाको ज्यालादारी १२ हजार रुपैयाँ तिरेर टयाटु–मेसिन किनें, जे त होला भनेर । आफ्नै शरीरमा र घरतिरका आफन्तकहाँ प्राक्टिस गर्दागर्दै टयाटु–मेसिनमा हात बस्यो पनि । अस्ति कात्तिकको पहिलो सातातिर ठमेलको एउटा टयाटु हाउसमा काम खोज्दै गएको थिएँ ।

त्यहाँ भेटिएका एक वृद्ध कलाकारले आर्टमा स्याडो/लाइन/लाइट एकदमै महत्त्वपूर्ण हुन्छ भनेपछि म आर्टको नयाँ कुरा सिक्दै थिएँ । ती बूढा मान्छेले भनेको कुरा सही लाग्यो, तिनले भनेका थिए— हेर बाबु, मान्छेको अनुहार बनाउन एकदमै मुस्किल हुन्छ । जस्तो— एउटा बाघको पोट्रेटमा एउटा लाइन, स्याडो यताउता परे पनि ‘यो बाघै हो’ भन्ने हुन्छ । तर, मान्छेको कुरामा त रामेको अनुहारको चाउरीसँग श्यामेको काटिएको ओठ मिल्दैन अथवा यस्तै । यसकारण सिक्नुपर्छ बाबु !

यो नयाँ सिकाइमा लागेकै बेला एकाएक मंसिर २ गते साँझ आइहाल्यो जहाँबाट मेरा जीवनका साना सपना र मोडहरू पनि एकाएक धूलोमा मिसिएजस्तो भयो । आफ्नै गाउँठाउँमा, आफैंले चिन्दै आएका गाउँले केटाहरूको नृशंस आक्रमणमा मेरी श्रीमती कान्ला मुन्तिरको तोरीबारीमा झन्डै नाङ्गै भेटिएकी थिइन् । रगतको आहाल बनेको भुइँमा टाउको फुटेको र हातखुट्टा भाँचिएको अवस्थामा ‘निसास’ झैं मेरी प्यारी भेटिइन्— मंसिर ३ को बिहानीमा ।

गीतको लाइनजस्तो कहाँ हुन्छ र जिन्दगी— सधैं तिमी मेरोसामु भैदिए हुन्थ्योजस्तो लाग्छ किन हिजोआज… !

आफ्नो कथा…

मेरी प्राणभन्दा प्यारी मेरी श्रीमती निकै ज्ञानी, असल र अन्तर्मुखी छिन् । मेरी आमा, बाबा, सासू र आफन्त सबैले ‘यस्ती छोरी अरूतिरै सायदै होलान्’ भनिरहन्छन् । १० कक्षा मात्रै पढे पनि डेरी कम्पनीमा प्लास्टिक प्याकिङको काम सिकेर, जानेर मेरोभन्दा नियमित कमाइ गर्दै हाँसीखुसी बसिरहेकै थियौं । कसरी हुन्छ आफ्नै बलबुतामा बाँच्ने र बाबाआमाको भार नबन्ने भनेर लागिरहेकै थियौं । तर, धेरै सोझो हुनुको र आफ्नै बाटामा हिँडिरहनुको दुर्गति हामीले बेहोर्नुपर्‍यो । न मलाई राजनीति थाहा छ, न अरू गुट र कतैको भरथेग छ । आज कता समाउने, कता टेक्ने भनेजस्तो भएको छ ।

गरिबीकै कारण अघिल्लो वर्षको दसैंमा मैले सामान्य टीकाटालोमै बिहा गरेको थिएँ, कुनै रमिता नदेखाईकन । भोजभतेर पनि गर्न सकिएको थिएन । हामीबीच अरूहरूको जस्तो ‘लभ’ चलेको थिएन, तर मन परापर थियो । मेरो मावलीघरकै छिमेकी भएकाले उनीसँग सानैदेखि देखभेट भइरहन्थ्यो ।

मेरो परिवारमा एक जना बहिनी मात्रै थिई । अघिल्लो वर्ष भदौमा उसको बिहे भएपछि घर शून्यशून्य भएको थियो । त्यसपछि मेरी आमाले मसँग मेरो बिहाको कुरा गर्नुभएको थियो । आमा स्वयम् ‘म बुहारी लिन होइन, छोरी माग्न आएकी’ भनेरै केटीको हात माग्न जानुभएको थियो । केटीसँग मेरो जात नमिले पनि हामी केटाकेटीको मिल्दो जोडा देखेर दसैंका बेलामा टीकाटालो गर्दै उनलाई मेरो जिम्मा लगाइएको थियो ।

बिहापछि त अनेक जिम्मा, जिम्मेवारीका कुरा सुरु भैहाल्यो । म भर्खरै २३ लागेको छु, ऊ २१ मा हिंड्दै छे । उसका पनि कति गुलियामीठा सपना होलान् । तर, ‘दु:खीको नि दिन आउँछ’ भन्दै हामी संघर्षमै थियौं । बिहापछि हामी जम्मा एक पटक मनकामना गएका छौं । पशुपति, स्वयम्भू, सन्तानेश्वर, बिसंखुनारायण मन्दिर पुगेका छौं । जम्मा एउटा फिल्म सँगै हेरेका छौं— ‘बाहुबली रिटर्नस्’ । अस्ति नयाँ वर्षका दिन चिडियाखाना घुम्न गएका थियौं । मेरो ज्यालादारी कामको छुट्टी शनिबार हुन्थ्यो, उनको शुक्रबार । यो महिनाबाट उनको शनिबारै बिदा मिल्नेवाला थियो । अस्ति भर्खरै आमाले भन्दै हुनुहुन्थ्यो, ‘तिमीहरू छोराबुहारी शनिबार एउटै दिनमा छुट्टी मिलाओ । एउटाले लुगा धुनू, अर्काले पखाल्नू । एउटाले तरकारी काट्नू, अर्कोले पकाउनू । यसो मिलेमा फिलिम हेर्न पनि जानू… ।’

ओहो, जीवन कुनै फिल्म अथवा गीतको लाइनजस्तो सजिलो रहेनछ । कस्तो गाह्रो भने म पोहोरको दसैंअघिसम्म छोरो मात्रै थिएँ । त्यसपछि उनको लोग्ने भएँ । अझ मंसिरको घटनापछि त झनै ठाडो भएर, झन् स्पष्ट बनेर सबैतिर चिनिनुपर्ने लोग्नेजस्तै बनेको छु ।

‘त्यो बलात्कृत केटीको लोग्ने ऊ त्यही हो,’ भन्छन् सबैले ।

गाउँले पसल, चोक–चौतारी, खेतबारी, खोला, पँधेरो सबैतिर ‘त्यही क्या… त्यसको लोग्ने’ भन्छन् ।
फेरि सुन्छु— थुइक्क, कस्तो लोग्ने होला— श्रीमती हिफाजत गर्न नसक्ने ? हैट, लोग्नेको नाममा धब्बा !
हो, म आफू छोरो मात्रै हुँदा धेरै सजिलो थियो । आमाबाबाले जे पनि टारिहाल्नुहुन्थ्यो । मानसिक तनाव त्यस्तो कहिल्यै थिएन । अहिले लोग्ने भएपछि धेरै कठिन छ । छोरो भएर रुनु हुँदैन भन्ने सुनेको थिएँ । रोएको थिइनँ पनि । तर, अहिले लोग्ने भएपछि भने रुनुपर्ने रहेछ भन्ने लाग्यो, भित्रभित्रै रोइरहेको छु । यस्तो आपराधिक घटना धेरैतिर घटेको छ, मैले सुनेको छु । पढेको छु । घटना भयो भन्दैमा पहाडै खसेको ठान्नु हुँदैन भन्ठान्नेमा म आफैं थिएँ । तर, पहाड खस्दोरहेछ ।

तर, गाउँमा भने कस्तो अफवाह फैलने रहेछ, बेकारको । यिनीहरू आफैंले आफ्नी बुहारी, छोरी, श्रीमतीलाई यस्तो अवस्थामा पुर्‍याए । आफैं बिचल्ली बनाए, अनि आफैं खोजेर भेटे, आफैं प्रहरीमा उजुरी गरे । यो केटीको लोग्ने दोषी हो, केटीका बाआमा दोषी हुन् भनेर गाउँघरमा सुनिने गाइँगुइँ भने निकै चित्त काटिने खालको छ । यो गाउँमा यिनीहरू कसरी बस्ने रहेछन्, हेरौंला (?) भन्नेहरू देखा पर्न थालेका छन् । साँच्चै, यो समाजमा को रक्षक छ अथवा को भक्षक छ ? हाम्रो समाज कसरी बनेको छ ? अचम्म लाग्न थालेको छ ।

म यो समाजको अपराधी होइन, न मेरी श्रीमती दोषी हो । तर, यत्तिका वर्षदेखि बस्दै आएको आफ्नै समाज आज पूरै ‘बिरानो’ झैं भएको छ, चिनेकाहरू पनि नचिने झैं गर्न थालेका छन् । मास्क लगाएर, फेटा बाँधेर र हुलिया फेरेर हिंड्नुपर्ने अवस्था मैले बेहोर्ने कि दोषीले बेहोर्ने ? अपराधी को— म या यो समाज ?

म मेरी श्रीमतीलाई जन्मजन्म माया गर्छु । बिचरी, उसले बेहोरेको यो पीडा र सास्ती म आफू छोरी मान्छे भएर बेहोर्नुपरेको भए के हुन्थ्यो होलाजस्तो लागिरहन्छ । मसँग कामै नगरी बिहान–बेलुका भात खाने स्थिति मेरो भैदिएको भए श्रीमतीकै हेरचाह गरेर सधैंको समय बिताउने थिएँ । तर यो सम्भव छैन । अब यो गाउँ छाडेर यो समाजले, यहाँका मान्छेले नदेख्ने–नचिन्ने ठाउँमा म बसाइ सर्दै छु । शारीरिक र मानसिक रूपमा सख्त भएकी घाइते श्रीमतीलाई लिएरै म यो गाउँ छाड्दै छु । साथमा बाबाआमाको माया र आशीर्वाद लिएर जानेछु, एउटा अनाम बस्तीमा ।

‘म संसार जित्ने आँट गर्दै छु
मात्र तिमी मेरो साथ बसिदेऊ
भविष्यले गाउने गीत म रच्दै छु
मात्र तिमी सुरमा ताल मिलाइदेऊ
यही हो अर्थ रच्नुको
इतिहासमा अमर रहोस्
तिम्रो र मेरो कहानी
सधैंसधैं…’

(मंसिर पहिलो साता ललितपुरको भित्री बस्तीमा आततायी बलात्कार एवं ज्यान मार्ने उद्योगको एउटा घटना भयो । घटनाका दोषीहरू किटानी जाहेरीपछि चिनिए, प्रमाणित पनि भए । तर, अदालतले अचम्मलाग्दो नजिर सुनाएर दोषीलाई छाडिदिएको छ । घटनाकी पीडित युवती र उनका श्रीमान् अहिले आफू जन्मे–हुर्केको बस्ती छाडेर बसाइ सर्न बाध्य भएका छन् । यिनै नवयौवना जोडीका श्रीमान्सँग गरिएको संवादका आधारमा देवेन्द्र भट्टराईले तयार पारेको आलेख हो यो ।)

 

माघ २० गते, २०७४ - १०:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top