Khabar Dabali Logo
  October 21, Wed

सटरगन्ज !

काठमाडौं । जब सीमावर्ती रक्सौलसम्मै रेल आइपुग्यो र अमलेखगन्जसम्म चल्न थाल्यो, वीरगन्ज मुलुककै प्रमुख नाकाका रूपमा चम्कियो । त्यही रेलको लिकलाई पछयाउँदै वीरगन्जदेखि पथलैयासम्म उद्योगधन्दाहरू खुल्दै गए । त्यसले वीरगन्जलाई पैसा कमाउन सिकायो । र, क्रमश: ‘सटरगन्ज’ बनायो ।

सटरै नभए के व्यापार ?
व्यापारै नभए के सहर ?
तर के सहर व्यापारै गर्न मात्र हो त ? अनि, त्यसका लागि घरघरमै सटर राख्नैपर्छ र ?
अाजको कोसेलीमा लेखिएको छ-झट्ट हेर्दा वीरगन्ज र जनकपुरले त्यस्तै देखाउँछन् । त्यही भएर एक बिहानको कफीगफमा पत्रकार चन्द्रकिशोर झाले ती दुई सहरको नयाँ न्वारान गरे— ‘सटरगन्ज र सटरपुर ।’
वीरगन्जको ऐतिहासिक त्रि–जुद्ध बहुउद्देश्यीय विद्यालय पहिला सुन्दर कम्पाउन्डभित्र थियो । कुम–कुम अग्लो पर्खालबाट भित्र विद्यार्थीले पीटी खेलेको मोहक रमिता देखिन्थ्यो । प्रार्थना र छुट्टीका बेला हुने नानीबाबुका आकर्षक प्रस्तुति अभिभावकले बाहिरैबाट लोभिएर हेर्थे । जोडिएको सडकमा प्राय: रिक्सा–टाँगा ओहोरदोहोर गर्थे । न निसास्सिँदो वातावरण थियो, न हल्ला, न प्रदूषण ।
वीरशमशेरले सहर बसाल्दा वीरगन्जपारि रक्सौलसम्म रेल आइपुगेको थिएन, थियो अलि पर सुगौलीसम्म । कलकत्ताबाट त्यहाँसम्म रेलमा ल्याइएका सामान बयलगाडामा भित्र्याई भीमफेदी हुँदै राजधानीमा व्यापार सुरु भएपछि व्यापारिक ट्रान्जिटका रूपमा वीरगन्ज लम्कियो । जब सीमावर्ती रक्सौलसम्मै रेल आइपुग्यो र अमलेखगन्जसम्म चल्न थाल्यो, वीरगन्ज मुलुककै प्रमुख नाकाका रूपमा चम्कियो । त्यही रेलको लिकलाई पछयाउँदै वीरगन्जदेखि पथलैयासम्म उद्योगधन्दाहरू खुल्दै गए । त्यसले वीरगन्जलाई पैसा कमाउन सिकायो ।
र, क्रमश: ‘सटरगन्ज’ बनायो ।
घरबाहिर फूल रोप्दा खर्च हुन्छ, बिरुवा हुर्काउँदा ठाउँ खान्छ । सटर बनाइदियो, पैसा आउँछ । सबैले यस्तै ठान्न थाले । गल्लीमा घर बनाउनेले पनि सटरै राखे । हुँदाहुँदा स्कुल, मन्दिर अनि सार्वजनिक कार्यालयहरूसमेत ‘सटर–मोह’ मा फस्दै गए ।
त्रि–जुद्ध स्कुल (हाल त्रि–जुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माध्यमिक विद्यालय) ले पनि आफ्नो अनुहारै छेक्ने गरी सटर बनाइदियो । आफूलाई अन्धकार ओडारभित्र छिराइदियो । यसबाट केही आम्दानी त पक्कै गर्ला, तर, आफ्नै भाडाको सटरबाट विद्यार्थीले चुरोट किनेर धूवाँको मुस्लो उडाएको सहनुपर्ने भयो । आफ्नो सुन्दर स्वरूपलाई कुरूप बनायो ।
अब यो विद्यालयजस्तो रहेन– ‘सटरालय’ भयो ।
यो मात्र होइन, कन्या मावि ‘सटरन्या’ र त्रिभुवन मावि ‘सटरभुवन’ बनिसकेका छन् । अर्थात्, ती शिक्षालय आफ्नै सटरले घेरिएका छन् ।
वीरगन्जको गीता मन्दिर कुनै समय दर्शनीय स्थल थियो । भव्य मन्दिरले परैबाट सहरमा शोभा छथ्र्यो । नवआगन्तुकलाई पनि कहाँ छ भनेर सोध्नुपर्दैन थियो, सजिलै देखिन्थ्यो । वरिपरि ‘सुमेरु पर्वत’ जस्ता संरचना उठाई यसलाई अब दुईतले सटरले छेकिएको छ । फगत अग्लो गेट देखिन्छ, कुनै धनाढय व्यापारीको निवासजस्तो । अझ त्यसमा एकापट्टि लेखिएको छ— ‘जरगनाथ साह सर्राफ ।’ अर्कापट्टि छ— ‘भेडियाही वार्ड नं १८ ।’ सम्भवत: गेटका दाता उनी हुन् । तर, यो मन्दिर होइन, उनको आवास हो कि भन्ने झल्को मिल्छ । भित्र मन्दिर छ भन्ने हतपती कसैलाई थाहा हुँदैन ।
अब यो गीता मन्दिर होइन, ‘गीता सटर’ बन्यो ।
देवालय होइन, ‘सटरालय’ भयो ।
अर्को प्रसिद्ध देवस्थल अलखिया मठ ‘सटरखिया’ मठ बनेको छ ।
माईस्थान मन्दिर ‘सटरस्थान’ बनेको छ ।
नारायणी अञ्चल अस्पतालको इमर्जेन्सी वार्डको ढोकैमा सटर राखिएको छ । नयाँ बिरामी त अस्पताल आइपुगियो कि ‘कुनै पसल’ भनेर झुक्किन्छन् ।
त्यसैले यो अस्पताल होइन, ‘सटरताल’ बनेको छ ।
जेसिस ‘गैरनाफामूलक’ र ‘सामाजिक’ संस्था हो भन्ने सुनिन्छ । त्यस्तै ठानेर पञ्चायतकालमा नगरपालिकाले वीरगन्जमा यसको भवन बनाइदियो । यसको खुला स्थलमा चियापान गर्दै कार्यक्रमहरू गर्न पहिला सजिलो थियो । कम खर्चिला जमघटका लागि यो रोजाइको थलो थियो । जब ‘सटरगन्ज’ को रस यसभित्र छिर्‍यो, उसमा पनि त्यही नशा भरियो । उसले बाहिर सटर बनाइदियो ।
र, जेसिस होइन, ‘सटरसिस’ बन्यो ।
सटर–सभ्यता
वीरगन्ज सिङ्गो मधेसको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो । अनुसन्धानकर्ता पत्रकार झाको बुझाइमा सटरसँग यहाँको सभ्यताको साइनो जोडिएको छ । ‘सटरले सुन्दरता बिगारेको मात्र छैन, सटरमोहले सडक साँघुरिएको छ, फोहोर बढाएको छ’, उनले भने, ‘अनि मधेसका सहरचाहिँ सबैभन्दा भद्रगोल हुँदा रहेछन् भन्ने गलत सन्देश देशभरि फैलाएको छ । गरिबका गाउँ पिछाडि पर्नु भिन्दै कुरा, धनाढय सहरै पछि पर्‍यो भन्नुपर्ने अवस्था आउनु आफैंले बेसाएको दु:खद पाटो हो ।’
वीरगन्जमै बसोबास गरिरहेका झामा एउटा अनुत्तरित जिज्ञासा छ, ‘सहरका बासिन्दाको कमाइ निकै राम्रो छ, तर सप्तकोसी पश्चिमका समथर सहरमा सुुन्दरता र सरसफाइको चेतना किन आउन सकेन ? यसमा चाहिँ राज्यलाई दोष दिन मिल्दैन ।’ उनले थपे,‘पूर्वका विराटनगर, भद्रपुरजस्ता सहरमा सिक्किम–दार्जिलिङको प्रभाव पर्‍यो, घरअगाडि नरिवल, सुपारीका भए पनि बोट रोप्न थाले ।
बगैंचा र करेसाबारीको महत्त्व बुझे । जति–जति पश्चिम लाग्दै गयो, सकेसम्म सडकै मिचेर घर बनाउने, सटरै राख्न चाहने संस्कार बढ्दै गयो । एउटाले गर्‍यो, अर्काले गर्‍यो । देखासिकी बढ्दै गयो । छँदाखाँदाका संरचना भत्काएर सटर थप्न उद्यत हुँदै गए ।’
अब त यस्तो भइसक्यो, सटर नभएका घरै पाउन गाह्रो परिसक्यो ।
वीरगन्ज महानगरपालिकाको कार्यकारी अधिकृतबाट सरुवा भई केही महिनायता इटहरी उपमहानगरपालिकामा कार्यरत पीताम्बर अधिकारी पनि दुई सहरका विकास शैलीमा निकै पृथकता देख्छन् । ‘वीरगन्जमा सकेसम्म सडकैबाट सिँढी चढ्ने गरी घर बनाउने प्रचलन छ । सडक छोड्नुपर्छ भन्ने सोचाइ छैन,’ उनले भने, ‘खासमा त्यहाँ विकास योजनाको अवधारणा नै छैन । घर आफ्नो हो, बाहिरको सबै सरकारले गरिदिनुपर्छ भन्ने ठानिन्छ ।’
इटहरीमा विकास योजनामा उपभोक्ताको प्रत्यक्ष संलग्नता हुन्छ । ‘दस लाखको योजना छ भने अर्को १० लाखसम्मै उपभोक्ताले थप्छन् । काम पनि उनीहरू नै खटेर गर्छन्,’ उनले सुनाए, ‘वीरगन्जमा ठीक उल्टो छ । उपभोक्ता लगानी गर्न सकेसम्म अग्रसर हुँदैनन् । काम पनि उपभोक्ता समितिले लिन्छन्, अर्कैलाई जिम्मा दिन्छन् ।’ सानो काममा राज्यकै मुख ताक्नु यहाँको विशेषता हो । ‘धनाढयको घरअगाडिको लठ्ठामा बल्ब फुट्दा पनि हप्तौंसम्म नगरपालिकाले कहिले नयाँ बत्ती हालिदेला भनि पर्खिने मनोविज्ञान हावी छ,’ कांग्रेसका युवा नेता राकेश सिंहले भने, ‘अनि त्यस्तैले भन्छन्, राज्यले वीरगन्जको विकासमा केही योगदान गरेन ।’
इतिहासकार जयविक्रम शाहका अनुसार वीरगन्ज सहर बसाल्न वीरशमशेरले विश्वासपात्र सिद्धवीर माथेमा र ध्वजवीर माथेमालाई माल अड्डा र काठमाल अड्डाको हाकिम बनाई मधेस रवाना गरेका थिए । माथेमा दाजुभाइले बजारको रूप दिन जग्गा र काठ मात्र बाँडेनन्, घर बनाउन र व्यापार गर्न नगद वितरण गरेका थिए । त्यस क्रममा मालअड्डा रित्तिएको थियो । चन्द्रशमशेरका पालामा कुमारीचोक अड्डामार्फत् छानबिन हुँदा मालअड्डाको ३ लाख रुपैयाँ बाँडिएको पुष्टि भएको थियो ।
यसले पनि भन्छ— दिएर होइन, लिएर बनेको सहर हो वीरगन्ज । तीव्र रूपमा गरेको औद्योगिक र आर्थिक विकास तथा तिनबाट सिर्जित भौतिक उन्नति र अवसरहरू यो थलो गुल्जार हुनुका आकर्षण हुन् । ७७ वर्षभन्दा पुरानो कारोबारको इतिहास यसको समृद्धिको मेरुदण्ड हो ।
नगरपालिकाबाट उपमहानगर हुँदै यो महानगरपालिकासम्म आइपुगेको छ । सहरी विकासको गति तीव्र छ । आर्थिक उन्नतिको फड्को लामो छ । देशलेनभने पनि मुलुककै ‘आर्थिक राजधानी’ को औकातमा पुगिरहेको छ ।
तर पनि वीरगन्ज सटर–सभ्यताबाट मुक्त हुन सकेको छैन ।
धनाढ्य, जो गोदाममाथि सुत्छन्कांग्रेसका नेता सिंहले वीरगन्जमा घर बनाउँदा आफ्नो एक इन्च पनि नछाड्ने, तर एक/दुई फिट सडक च्याप्ने प्रवृत्ति विगतदेखि रहिआएको बताए । ‘अलिकति जग्गा छाडेर घर बनाउँदा भविष्यमा आफैंलाई काम लाग्ने सोच्दैनन्,’ उनले भने, ‘सडक च्याप्दा कारबाही गर्ने निकाय पनि मौन छ । नालामाथिसमेत घर बनाउन मध्यम वर्ग मात्र होइन, धनाढय नै पछि पर्दैनन् । घरमै गोदामका लागि भाडा दिने धनाढय पनि छन्, जो गोदाममाथि सुत्छन् ।’
वीरगन्ज महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मी सहरी क्षेत्रको बनोट देखेर तीन महिनाअघि आउनासाथ आश्चर्यमा परे । ‘मुख्य बजारमा मात्र नभई भित्री गल्लीहरूमा समेत हालत उही छ । सडकबाट केही हात जमिन छाडेका र फूल, बगैंचा भएका घर विरलै देखिन्छन्,’ उनले भने, ‘मुलुकको मुख्य व्यापारिक नाका र आर्थिक नगरी भए पनि यहाँको बस्ती विकास सहरी परिकल्पनाअनुसार भएको छैन ।’
वीरगन्ज महानगरपालिकाभित्र आदर्शनगर एक मात्र व्यवस्थित बस्ती हो । तत्कालीन प्रधानपञ्च पशुपति घोषले पर्ती जमिनलाई प्लटिङ गरी व्यवस्थित बजारको योजना बनाएपछि आदर्शनगरको जन्म भयो । यो अहिले सहरको सबैभन्दा महँगो बजार बनेको छ, काठमाडौंको न्युरोडजस्तै । त्यसयता हालसम्मै व्यवस्थित विकासको गुरुयोजनाबिनै तीव्र सहरीकरण भएको छ । सडक र फोहोर व्यवस्थापनका उपाय नखोजी बस्ती बसालिएका छन् । अधिकांश घर सरकारी मापदण्डमा छैनन् ।
उपमहानगरपालिका हुँदा लामो समय योजना शाखा प्रमुख भई हालै सेवानिवृत्त प्रकाश अमात्यले सहरवासीको विगतको मानसिकतामा हालसम्म पनि परिवर्तन नआएको बताए । ‘कम जग्गा लिने, सडकमै टाँसेर घर बनाउने अनि सकेसम्म एउटा सटर निकाल्ने प्रवृत्ति अझै कायमै छ,’ उनले भने, ‘अहिले बन्ने नयाँ बस्ती पनि साँघुरा छन्, एम्बुलेन्स नै मुस्किलले छिर्न सक्छ ।’
उनका अनुसार महानगरपालिकामा वार्षिक करिब १२ सय ५० घर बन्छन् । तर, आधाभन्दा अलि बढीले मात्र नक्सापास गराएका हुन्छन् । व्यापारिक चरित्रको यो सहरको बसोबास पनि व्यापारिक हिसाबले नै अघि बढ्दै गयो । आवासीय क्षेत्रमा बनाइएका अधिकांश भवनमा सटर निकालिएका छन् । ‘मापदण्डविपरीतका घर भत्काउन जाँदा राजनीतिक अगुवाहरूकै विरोध खेप्नुपर्‍यो,’ महानगरका एक अधिकृत भन्छन्, ‘समाजमा फैलिंँदै गएको अराजकताले कर्मचारीलाई टेरेन ।’
महाभूकम्पपछि सरकारले मुलुकभरि भवन आचारसंहिता कडाइसाथ लागू गर्न निदेर्शन दिएको छ । ‘अब निर्वाचित जनप्रतिनिधिले सरकारी मापदण्ड पूरा नगरेका भवनलाई कारबाही गर्न महानगरपालिकालाई सहयोग गर्नुपर्छ,’ कार्यकारी अधिकृत रेग्मी भन्छन्, ‘कर्मचारीले मात्र नियमन गरेर हुँदैन, यसका लागि जनप्रतिनिधिको साथ आवश्यक छ ।’ अमात्यका अनुसार ०६०/०६१ सालतिर सहरको पूर्वी भागमा रहेको लक्ष्मनवा र भिस्वाकोबीचमा करिब ५ बिघा जग्गामा व्यवस्थित बस्ती बसाल्ने योजना बनेको थियो । तर, राजनीतिक अस्थिरता र कार्यकारी अधिकृतहरूको समय नपुग्दै सरुवाले कार्यान्वयन हुन सकेन ।
तत्कालीन मेयर विमल श्रीवास्तवले २०५४ मा बाराको भूभागसमेत मिलाएर एउटै प्रशासनिक एकाइअन्तर्गत ग्रेटर वीरगन्जको अवधारणा अघि सारेका थिए । गुरुयोजना तयार गरी सानो क्षेत्रमा खाँदिँदै गएको सहरलाई पश्चिममा सिर्सिया नदी, पूर्वमा बाराको दुधौरासम्म विस्तार गर्ने गुरुयोजना अघि बढ्न भने सकेन । कारण थियो— राजनीतिक तानातानी ।
बरु सडक सारियो, सहर बिगारियो । व्यापारिक मार्ग विस्तार गर्ने योजनाअनुरूप विराटनगर, भैरहवा, नेपालगन्जलगायत सहरका राजमार्ग विस्तार भए । वीरगन्जको राजमार्ग भने हालसम्म विस्तार हुन सकेको छैन । जब कि यो योजनाअन्तर्गत सबैभन्दा पहिले वीरगन्जकै सडक नापजाँच गरिएको थियो । केही पुराना धनाढयको पुस्तैनी घर वीरगन्जको त्रिभुवन राजमार्ग दायाँ–बायाँ छन् । तिनले विमलेन्द्र निधि भौतिक योजनामन्त्री भएको समयमा मन्त्रालयबाटै सडकको नक्सांकनै बदले । अनि, उक्त सडक पथलैया–परवानीपुर हँुदै सुक्खा बन्दरगाहतिर मोडियो । यसको विस्तार कार्य भइरहेको छ । यता वीरगन्जवासी साँघुरो सडकका कारण दिनहुँ ट्राफिक जाम भोगिरहेका छन् । मूल सहर पनि पश्चिम सर्ने जोखिम बढेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापक विनोद गुप्ताले वीरगन्ज विगतदेखि व्यापारिक केन्द्र भएकालेघरमा सटर बनाइहाल्ने मानसिकता हावी भएको बताए । ‘सकेसम्म आफैं पसल थाप्ने, नभए भाडामा लगाइदिने,’ नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका गुप्ताले भने, ‘कम्तीमा घर खर्च सटरको भाडाले निकाल्ने मनोवृत्ति देखिन्छ ।’
‘सटरपुर’ उस्तैधार्मिक एवं ऐतिहासिक सहर जनकपुरमा पनि ‘सटर–मोह’ उत्तिकै छ । जनकपुरका प्राध्यापक भोगेन्द्र झा स्वत:स्फूर्त बनेका (योजनाविहीन) सहर भएकाले वीरगन्ज र जनकपुर ‘सटरमय’ बनेका ठान्छन् । ‘सरहरका सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेकै सुन्दरता, स्वच्छता र वातावरणीय अनुकूलता हुन्’, उनले भने, ‘धार्मिक एवं पर्यटकीय सहर भएकाले जनकपुरका लागि यी अत्यन्त जरुरी छन् । तर, दु:खको कुरो त्यही छैनन् ।’
विष्णुपुराणमा सत्पथ (सत्यको बाटोमा लागेको)ब्राह्मणको थलोका रूपमा जनकपुरलाई वर्णन गरिएको छ । यो क्षेत्रलाई ‘तीरहुत’ पनि भनिन्छ, जसको अर्थ हो नदीको किनारमा बस्ने । भनिन्छ— जनकपुरमा एउटा ठूलो निमको बोट थियो । भारतबाट आएका तपस्वी शूरकिशोर यही बोटमुनि बस्थे । राति सपनामा उनलाई जानकीले भनिन्, ‘शूरकिशोर तिमी जहाँ बसेका छौ, त्यसको मुनि मेरो प्रतिमा छ ।’ उनले रातारात त्यहाँ उत्खनन गरे र प्रतिमा भेट्टाए ।
त्यसको चर्चा सर्वत्र भयो । भारत मध्यप्रदेश टिकमगढकी रानी वृषभानुकुमारीले त्यसबारे सुनिन् । उनी नि:सन्तान थिइन् । उनले आएर शूरकिशोरलाई भेटिन् । उनकै आशीर्वादले सन्तानप्राप्ति भएको विश्वासमा वृषभानुकुमारीले सन् १८९४ मा भव्य जानकी मन्दिर बनाइदिइन् । त्यसबेला ९ लाख रुपैयाँ खर्च लागेको हुनाले यसलाई ‘नौलखा’ मन्दिर पनि भनिन्छ ।
त्यही मन्दिरको गुठीका सयौं बिघा जमिन निजीकरण गर्दै ‘सटरे–सहर’ बनाइएको कमैलाई थाहा छ । सम्पदा मासिनु र सहर बिग्रिनुमा योजनाविहीनता र लोभपाप मुख्य कारक हुन् । प्राध्यापक झा अब स्थानीय सरकारले कम्तीमा सय वर्षलाई हेरेर योजना ल्याउनुपर्ने सुझाव दिन्छन् । पुरानो सहरको उचित व्यवस्थापनसहित अब बन्नेमा सहरी पूर्वाधारलाई ख्याल गरिनुपर्ने उनले बताए । ‘व्यापारिक इलाका, आवास क्षेत्र, शैक्षिक क्षेत्र आदि छुटयाइनुपर्छ । स्थानीय सरकारले सहरहरूको आर्थिक एवं सामाजिक रूपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने, ‘आधुनिक र आकर्षक नेपाल बनाउन मुख्य रूपमा सहरी विकास एवं सभ्यतालाई ध्यान दिइनुपर्छ ।’
जनकपुरको विशेषतामाथि भन्ने गरिन्छ– ‘बाउन्न कुटी बहत्तर कुण्ड, चलते ही सन्त झुन्डैझुन्ड ।’ अर्थात् सन्तहरूको बाक्लो आउजाउ हुने यो प्रसिद्ध नगरी कुटी र कुण्डले पनि पहिचानयुक्त छ । तर, ती कुनैको खास सदुपयोग र सम्मान हुन सकेको छैन । कुण्डहरू फोहोरै फोहोर छन् । कुटीहरू हराउँदै गएका छन् ।
बरु जताततै सटरैसटर बढेका छन् ।
‘यो पवित्र भूमि हो, मेरो ठाउँ हो भनेर हामीले बुझ्न सकेनौं । राम्रो पार्नुपर्छ भन्ने भावनाको अभाव भयो । बाटो, सार्वजनिक र गुठीका जग्गा मिच्छौं । अनि, सहरको सुन्दरता बिग्रिने गरी घर ठडयाउँछौं’, जनकपुरकै दूधमती नदी सफाइ अभियानमा जुटेका भोगेन्द्रलाल कर्णले भने, ‘जनकपुरवासीले राम्रो पारे मात्र जनकपुर राम्रो हुन्छ । खराब पारे खराब हुन्छ । खराबको असर भने देशैभरि पुग्छ । त्यो हामीले सोच्न सक्नुपर्छ ।’
सहरी विकासमा लम्किँदै जनकपुर पनि उपमहानगरपालिका भइसकेको छ । यो प्रदेश २ को राजधानी बनेको छ । ‘जनकपुर प्राचीन मिथिलाको राजधानी हो । यसलाई व्यवस्थित सहर बनाउनैपर्छ,’ गंगासागर सफाइका अभियन्ता एवं प्रदेशसभाका सदस्य रामआशिष यादवले भने, ‘परर्निभरता र लापरबाहीको परिणामस्वरूप सहर बिग्रियो । यसलाई सटरपुरबाट पुन: जनकपुर बनाउने दायित्व हामी जनकपुरवासीकै काँधमा छ ।’
***
देश संघीयतामा गएको छ । प्रदेश २ को राजधानीका मुख्य दाबेदार जनकपुर र वीरगन्ज नै थिए । अस्थायी राजधानी जनकपुरले पाएको छ । वीरगन्जलाई पनि समानान्तर ढंगले आर्थिक राजधानीका रूपमा विकास गर्न सकिन्छ ।
दुवै सहर इतिहास बोकेका हुन् ।
दुवै सहर सम्भावनाका खानी हुन् ।
‘त्यो ऐतिहासिकता र सम्भाव्यतालाई समृद्ध भविष्यमा रूपान्तरण गर्न,’ प्राध्यापक झाले बिट मार्दै भने, ‘सटरगन्ज र सटरपुरको संस्कारबाट मुक्त भइहाल्नुपर्छ।

 

माघ २० गते, २०७४ - ०८:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top