Khabar Dabali Logo
  October 23, Fri

अर्कै थिए, अर्कै भएँ…

काठमाडौं । एक दिन काँधमा रुक्स्याक ब्याग बोकेर म बादीहरूको कथा उधिन्न बादी बस्तीतिर हान्निएँ । तुल्सीपुरका लागि छुटेको रात्रिबस चढेर घोराहीतर्फ जाँदै गर्दा लागिरहेथ्यो, म कुनै नयाँ कथाको नयाँ सूर्य कोरल्न जाँदै छु । केही खास मितिहरूसँगको आफ्नो लगावलाई कहिल्यै घटाउन सकिनँ मैले । खास मितिहरूसँग कतिपय खास सम्झनाहरू जोडिएका हुन्छन् । कतिपय घटना र दुर्घटना पनि जोडिएका हुन्छन् । बारम्बार खास मिति स्मरण गरिरहनु भनेको नोस्टाल्जियामै सही, खास सुखद पलहरू बारम्बार भोग्नु पनि हो । खास दु:खद पलहरूलाई बारम्बार कोटयाएर बाँच्नु पनि हो, दुख्छ भन्ने जान्दाजान्दै पनि !

 अाजको कोसेलीमा लेखिएको छ-भर्खरै ‘नथिया’ उपन्यास लेखेर सकेकी छु र यो उपन्यास साक्षी छ, एउटा त्यस्तै खास मिति र घटनासँग जोडिएको गहिरो संवेदनाको । यो उपन्यास साक्षी छ, विगत एक दशकदेखि यो वा त्यो रूपमा मैले आफैंभित्र बोकेर हिँडेको प्रसव कथाको ।
विक्रमाब्द २०६४, भदौ ५ गते । उक्त दिनको साँझ जब टेलिभिजनका स्क्रिनहरूले सिंहदरबार अगाडि अर्धनग्न भएर निकालिएको बादी महिलाहरूको जुलुसको समाचार देखाए, मनै सिरिङ्ग भएर आयो त्यतिबेला । सिंहदरबारको गेटमा उक्लिन लागिरहेका एक हूल बादी महिलाहरूलाई जबरजस्ती रोक्दै थिए सुरक्षाकर्मीहरू । अधिकांश महिला पेटिकोट र ब्रामा मात्र देखिन्थे । आफैंभित्रका आक्रोश र उत्तेजना थाम्न नसकेर बादी महिलाहरू आफैंमा आक्रोशको एकएक पुलिन्दा बन्दै गरेको बबन्डरमय दृश्य थियो त्यो । दृश्य नै यति भयावह थियो कि उनीहरूको चीत्कार, आर्तनाद, रिस र मागहरूको आवाजले मेरो चेतना कोमामा जान्छ कि भन्ने भयले सताइरहयो थुप्रै दिन । थुप्रै दिन डिस्टर्ब भइरहें त्यो दृश्य सम्झी–सम्झीकन ।
अरूले नङ्ग्याउँदा नाङ्गिनु एउटा कुरा, आफैंले आफैंलाई नङ्ग्याएर जब लाजको परम्परागत परिभाषामाथि धावा बोलिन्छ, त्यस्तो धावा बोल्न सानोतिनो चोट र तोडले सकिँदै सकिँदैन ।
भोलिपल्टका अधिकांश राष्ट्रिय पत्रिकाहरूले बादी महिलाहरूको अर्धनग्न जुलुसको समाचार निकै महत्त्वका साथ छापेका थिए ।
त्यतिबेला ती बादी महिलाको अनुहारको आक्रोश र आगो देखेपछि उनीहरूभित्रको भित्री कथा खोतल्ने मेरो अभीप्सा अनायासै जागेर आएथ्यो । मिर्लिक्क चटयाङजस्तो केही घटित भएथ्यो तत्कालै मेरो अन्तस्करणभित्र र त्यो चटयाङले मलाई कहिल्यै छोडेन । मैले तत्कालै निर्णय गरेथें, कुनै दिन मैले आख्यान लेखें भने मेरो पहिलो आख्यान बादी महिलाहरूको कथामाथि हुनेछ ।
त्यतिबेला मैले मनमनै लिएको निर्णय लगभग पाँच वर्षसम्म मेरो मनभित्रै गुम्सिएर बस्यो । त्यो बीचमा छोरा जन्मियो । छोरालाई हुर्काउँदै गर्दाको त्यो समयमा पनि मभित्रको उपन्यास लेख्ने अभीप्साले बारम्बार मुन्टो उठाउँथ्यो । तर दूध खाँदै गरेको नवजात छोरालाई छोडेर आफ्नो सपनाको पछाडि दौडन कसोकसो मेरो मनले मान्दै मानेन ।
छोरा लगभग चार वर्ष पुगेपछि एक दिन काँधमा रुक्स्याक ब्याग बोकेर म बादीहरूको कथा उधिन्न बादी बस्तीतिर हान्निएँ । विक्रमाब्द २०६९ फागुन २२ गतेको दिन थियो त्यो । दाङ, तुल्सीपुरका लागि छुटेको रात्रिबस चढेर घोराहीतर्फ जाँदै गर्दा लागिरहेथ्यो, म कुनै नयाँ कथाको नयाँ सूर्य कोरल्न जाँदै छु ।
बादीहरूका बारेमा जान्ने त्यस्तो कुनै किताब वा आधिकारिक स्रोत थिएन । केही पत्रपत्रिकामा छापिएका समाचारहरू र गुगलले दिने सूचनाको भरमा कहाँ–कहाँ बादी बस्ती छ पत्ता लगाएँ र आफ्नो गन्तव्यस्थान त्यसैलाई बनाएँ । सुरुमा दाङको घोराही पुगें र त्यहाँका बादी महिला तथा पुरुषहरूसँग कुराकानी गरें । त्यसपछि बाँकेको नेपालगन्ज, दाङकै तुल्सीपुर, बर्दियाको राजापुर अनि कैलालीको सत्ती पुगें । लगभग दस दिन यी ठाउँहरूमा बिताएर त्यहाँका बादी महिलासँग कुराकानी गरेर फर्केपछि दिमागमा एउटा उपन्यासको खाका कोरेर फर्किएँ ।
त्यतिबेला भर्खर–भर्खर पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष भएकी थिएँ । ३५ वर्षे लामो इतिहास बोकेको वाङ्मयिक संस्थाको पहिलो महिला अध्यक्ष भएको नाताले मैले आफैंले आफैंलाई प्रमाणित गर्नुपर्ने टड्कारो चुनौती सामुन्ने थियो । यसै त पोखराको मिनी एकेडेमी भनेर चिनिएको संस्था, त्यहीमाथि महिलाहरूले संस्था हाँक्न सक्दैनन् भन्ने कतिपयको शंका र अविश्वासलाई चिर्दै म खरो उत्रनुपर्ने थियो । लगभग दुई वर्ष साहित्यिक कार्यकर्ता भएरै बिताएँ र आफूले आफैंलाई प्रमाणित गर्ने प्रयास गरिरहें । त्यो बीचमा पनि उपन्यास लेख्ने अभीप्साले बारम्बार मुन्टो उठाइरहयो । संस्थागत रूपमा आफ्नो पदीय दायित्व शतप्रतिशत निर्वाह गर्नुपर्छ भन्ने जुनुन ममा यसरी सवार थियो कि मनभित्र तयार उपन्यासको खाकालाई कागजमा उतार्नेसमेत समय पाइनँ मैले ।
२०७१ सालमा जब पोयुसांपमा मेरो कार्यकाल सकियो, अनि बल्ल लेख्न बसें उपन्यास । पहिलो खाका कोरेपछि फेरि एक पटक गएँ ती सबै ठाउँहरूमा, जहाँ म पहिले गएकी थिएँ । पछिल्लो पटक पनि दस दिन नै बसें ती ठाउँहरूमा । पहिलो पटक मुख्य कथाको खाका बोकेर आएथें । दोस्रो पटक उपकथाहरूको खाका बोकेर आएँ ।
कथा त ल्याएँ, जसको कथा हो, तिनीहरूको लवजलाई न्याय गर्न जरुरी थियो । स्थानीय लवजलाई जस्ताको तस्तै उतार्न बादी महिलाहरूसँग गरिएको लगभग तीस घण्टाको अडियो रेकर्ड दर्जनौं पटक सुनें ।
र, यसरी अन्तत: उपन्यासलाई पूर्णता दिएँ ।
‘पोयटिक रियालिज्म’ को नजिक–नजिक त्यसो त तालहरूको सौन्दर्य आफ्नै खालको हुन्छ । तालहरूको सहरमा पोखरामा बसे पनि तालहरूभन्दा नदीनाला मन पराउने मान्छे म । बगाइ मन पराउने मान्छे । ‘नथिया’ मा पनि त्यही बगाइको सूत्र प्रयोग गरेकी छु, जुन जानीजानी सचेततापूर्वक गरेकी हुँ मैले । उपन्यास लेख्दै गर्दा पाठकहरूले यति भनेपछि बुझ्छन् भन्ने लागेपछि म कहिल्यै त्यहाँ अडिएर बसिनँ । नदीजस्तै बगिरहेँ, बस् बगिरहेँ ।
भनिन्छ, कविता थोरै शब्दमा धेरै कुरा भनिने विधा हो । उपन्यासलाई चाहिं धेरै शब्दमा धेरै भनिने विधा भनेर चित्रण गरिन्छ अनि व्याख्याहरूमा अल्झिन्छन् धेरैजसो लेखक । मैले यो उपन्यास लेख्दै गर्दा कवितामा जस्तै थोरै शब्दमा सकेसम्म धेरै कुरा भन्ने प्रयास गर्नुपर्छ भन्ने चेतका साथ काम गरे । कम्प्याक्ट्नेसका लागि पचास वाक्यमा भनिएको कुरालाई पाँच वाक्यमा झार्न लगातार ५, ६ घण्टा काम गरेको अनुभव छ मसँग ।
यस अर्थमा फ्रेन्च फिल्ममेकरहरूको अवधारणा ‘पोयटिक रियालिज्म’ लाई आफ्नो आख्यानको बुनोटमा प्रयोग गर्ने धृष्टता गरें । सन् १९३० देखि १९४० सम्मको समयमा पोयटिक रियालिज्ममा आधारित फिल्महरूको बोलवाला थियो । विशेषगरी जिन रेनवरले आफ्ना फिल्महरू मार्फत पोयटिक रियालिज्मलाई जुन उचाइ प्रदान गरे, त्यसको आज पनि सर्वत्र चर्चा हुनेगर्छ ।
साहित्यमा भने पोयटिक रियालिज्म सन् १८४० तिर नै जर्मन साहित्यकारहरूले ‘सत्यको छायाकरण’ गर्ने सन्दर्भमा प्रयोग गरेको मानिन्छ, जुन आफैंमा एक छायाको नियति भोग्न बाध्य भयो । यसर्थ जब पोयटिक रियालिज्मको कुरा आउँछ, यसलाई फ्रेन्च फिल्ममेकरहरूको एक कलात्मक कदमकै रूपमा व्याख्या गरिन्छ ।
पोयटिक रियालिज्ममा यथार्थ त यथार्थ नै हुन्छ, तर यथार्थ प्रस्तुत गर्ने सन्दर्भमा प्रस्तुतकर्तासँग पूणर्त: ‘आर्टिस्टिक फ्रिडम’ हुन्छ । पोयटिक रियालिज्ममा हेर्दा सबै कुरा यथार्थजस्तो देखिन्छ, सँगसँगै यथार्थ र विपरीत यथार्थको फ्युजन हुन्छ त्यहाँ । संवादहरू नपत्याउँदो गरी कवितात्मक हुन्छन् तर सम्पूर्णत: यथार्थमै आधारित ।
त्यसो त पोयटिक रियालिज्मले उठाउने तल्लो वर्गको कथासँग मेरो कथा पनि मेल खान्छ, तर यसका प्रणेताहरूले अपनाएझैं मुख्य नायक वा नायिकाको आत्महत्या वा दु:खद निधन अर्थात् समग्रमा स्याडिस्टिक टोनसँग भने मेरो लेखनको मान्यताको टोन मेल खाँदैन । ‘नथिया’ भित्रकी सामलीजस्ती जब्बर स्वास्नीमान्छेको कथा पुरानो खालको दुखान्त कथाको फ्रेममा अटाउने कथा हुँदै होइन । यहाँनेर आफूलाई ‘पोयटिक रियालिज्म’ को एकदमै नजिक र एकदमै टाढा पाउँछु म एकसाथ ।
मैले जुन कथामा काम गर्न चाहें, त्यो लेख्नु भनेको आफैंमा जोखिम मोल्नु हो भन्ने थाहा थियो । शरीर बेचेर खान्थे र अझै पनि यदाकदा लुकीछिपी शरीर बेचेरै खान्छन् भनेर बदनाम एउटा जातिको भित्री कथा सारा दुनियालाई सुनाउन सानोतिनो साहसले पुग्दैन, दुस्साहस चाहिन्छ । त्यही दुस्साहसको नतिजा हो ‘नथिया’ । मेरो उपन्यासको कथा त झन् ९५ प्रतिशत सत्य घटनामा आधारित हो ।
स्थलगत अनुसन्धानको क्रममा मैले सुनेका ३०, ३५ जना बादी महिलाहरूको कथामध्ये सबैभन्दा चाखलाग्दो, रोमाञ्चक, डरलाग्दो र फरक जुन कथा लाग्यो, त्यही कथा मैले यो उपन्यासको निम्ति छानेकी थिएँ । ५ प्रतिशत कथा मात्र एक लेखकको रूपमा मैले आफैं बुनेको कथा हो ।
आजभन्दा २५, ३० वर्षअगाडिको दाङको जुन ठाउँको कथा मैले भनेकी छु, अहिले त्यो ठाउँबाट स्थानान्तरण भएर बादीहरू नजिकैको अर्को ठाउँमा गइसकेका छन् र तीमध्ये कोही पनि देहव्यापारमा छैनन् ।
बादी बस्तीहरूमा गएर बादी महिलाका कुराहरू सुन्ने क्रममा सबैभन्दा बढी कुनै कुराले छोयो भने नथिया धारण गर्ने भन्ने उनीहरूको सांस्कृतिक कुराले छोएथ्यो । बादी बस्तीमा महिनाबारी भइसकेपछि एउटी युवती नाकमा नथिया लगाउँछे । उसको ग्राहकसँगको पहिलो संसर्गलाई नथिया उतार्ने (नथुनी उतार्ने) भनिन्छ । र, जुन ग्राहकले सबैभन्दा बढी पैसा र उपहारहरू दिन्छ, उसैबाट नथिया उतारिन्छ । कुमारीत्व बढीबढाउमा लिलाम गरिने यो घटनालाई बादीहरू एक उत्सवको रूपमा मनाउँथे भन्ने सुन्दा सुरुमा त म स्तब्ध भएकी थिएँ । पहिलो ग्राहकसँगको संसर्गपछि बादी महिला नाकको नथिया खोल्छे र विधिवत् धन्दामा लाग्छे । यस्तो खालको अनौठो संस्कतिसँग एकसाथ जोडिएको हाँसो र रोदनको कथाले मलाई धेरै दिनसम्म हल्लाइरहेथ्यो ।
आफूभित्रको त्यही कम्पनलाई यथार्थ कथा मार्फत जस्ताको तस्तै उतारेपछि र किताबको नाम ‘नथिया’ राखेपछि एक प्रकारको बेचैनीबाट म मुक्त भएकी छु । आफूभित्र आफैंले एक दशकसम्म बोकेर हिँडेको मानसिक भारी अक्षरहरू मार्फत बिसाएको सुखद अनुभूति भइरहेछ ।
अब पाठकहरूको हातमा छ यो किताब । वर्षौंदेखिको मेरो सपना र प्यासनलाई अब तपाईंहरूको हातमा सुम्पेकी छु । बादी बस्तीको गर्भमा छिपेर बसेको कथालाई तपाईंहरूसम्म ल्याउन एउटा निमित्त भूमिका निर्वाह गरें मैले । मैले निर्वाह गरेको भूमिकालाई कति न्याय गरें र कति अन्याय ? अब फैसला गर्ने पालो पाठकहरूको ।
रूपान्तरणको अनुभूति
कवि थिएँ, कविबाट उपन्यासकार बन्ने क्रममा ‘नथिया’ ले मेरो दिनचर्यादेखि अन्य थुप्रै कुरालाई प्रभावित पार्‍यो । एक अर्थमा भन्नुपर्दा कायापलट नै गरिदियो । यो किताब लेख्न सुरु गर्दा म अर्कै मान्छे थिएँ, लेखेर सकिसक्दा अर्कै मान्छे बनिसकेको आफैंलाई अनुभूत हुन्छ ।
छोटोछोटो बसाइमा कविता वा निबन्धहरू लेखिरहेको बानी । आफ्नो पुरानो बानी भत्काएर नयाँ बानी बसाल्न कम्ता गाह्रो भएन । लेखन वास्तवमा आफैंमा एक ध्यान हो । यही सोचेर सबैभन्दा पहिले ध्यान गर्न सिकें । त्यसका लागि ध्यानका विभिन्न विधिहरू सिकें । ध्यान गर्न जानिसकेपछि घण्टौंघण्टा ध्यानमग्न भएर लेख्न साह्रै सजिलो हुँदो रहेछ ।
मानसिक तथा शारीरिक रूपमा चंगा भएर काम गर्न योग गर्न सिकें । पात्रहरूलाई न्याय गर्न स्वयं आफू नै पात्रहरूमा डुब्न जरुरी थियो । यसका लागि पहिले त आफैंभित्र डुब्न सक्ने कला आफैंभित्र निर्माण गर्नुपथ्र्यो । आफैंभित्र डुब्न र डुबेर आफैंभित्र यात्रारत हुन आध्यात्मिक हुन सिकें । एउटी चरम भौतिकवादी स्वास्नीमान्छे, आध्यात्मिक भौतिकवादीमा रूपान्तरण हुन पुगें । चाहे ध्यान होस् वा योग वा आध्यात्मिकता, अहिले यी सबै कुरा मेरो जीवनका अभिन्न अंग बनेका छन् । यसको पछाडि ‘नथिया’ र बस् ‘नथिया’ को हात छ ।
आफ्नो वरपर आफैंले पर्खाल लगाएर एकान्तमा लेख्नुको मजा नै बेग्लै ! साँच्चै भन्नुपर्दा नितान्त सामाजिक कथा लेख्दै गर्दा मेरो आफ्नै व्यक्तिगत जीवन भने असामाजिकजस्तो भइदियो कतिपय सवालमा । उपन्यासमा डुब्दै गएपछि हुँदाहुँदा पछिल्लो समय त यस्तो भयो कि कसैको फोन उठाउनै मन नलाग्ने, कसैलाई भेट्नै मन नलाग्ने, आफ्नो सहर छोडेर अन्त त झन् जानै मन नलाग्ने । लगभग एक वर्ष भइसकेछ म पोखरा छोडेर अन्त कतै नगएको । किताबका पात्रहरूको साथ नै यति प्रगाढ लाग्ने कि अरू साथीहरूको खाँचो नै महसुस नहुने । लेखनसँगको यो हदको पागलपन र अनौठो अनुभूति पनि ‘नथिया’ ले नै दियो ।
हुन त यसअघि नै मेरा कविताका तीन–तीनवटा किताबहरू निस्किसकेका छन् । तर फुटकर रूपमा लेखिएका ती कविताहरू फाइल गरेर एकमुष्ठ निकाल्ने काम मात्र भो संग्रह निकाल्दा । एउटा किताब लेख्नु भनेको वर्षौंवर्ष यतिबिघ्न असाधारण र रोमाञ्चक अनुभूतिसँग अनवरत जोडिनु हो भन्ने यसअघि मलाई कहिल्यै थाहा नै भएन । गीत छ नि, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा । ‘नथिया’ लेखिसक्दा एउटा किताबको मायामा डुबेपछि एउटा लेखकको जिन्दगीमा कति फरक पर्दछ भन्ने प्रत्यक्ष थाहा पाएँ ।
मारियो भर्गास लोसाले यसै भनेका होइन रहेछन्—‘पुस्तक लेखन ऐकान्तिक कर्म हो । बाँकी दुनियाबाट आफूलाई पूर्णत: अलग्याएर नितान्त आफ्नै पागलपन र यादहरूमा चुर्लुम्म डुब्नु हो।’

माघ २० गते, २०७४ - ०९:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top