Khabar Dabali Logo
  October 24, Sat

धरानमा फकिर कवि

प्रकाश आङ्देम्बे मेरा लागि कवि हुन् । तर, बल्ल कवितासंग्रह प्रकाशनको तयारी गर्दै छन् । बरु उनले आफूलाई नाटककार, गजलकार र फिल्म निर्देशकका रूपमा स्थापित गराइसकेका छन् । नेपालमा तांकासंग्रह निकाल्ने औँलामा गनिने कविमध्ये हुन्, प्रकाश आङ्देम्बे । उनको पहिलो पहिचान कवि नै हो । र, आज जे छन्, त्यो धरानले नै दिएको देन हो । अहिले पनि उनी धरानले खनेको गोरेटोमा हिँडिरहेका छन् । उनको धरान आगमनको कथा भने सुखद छैन । अाजकाे नयाँ पत्रिकाकाे  मध्यपृष्ठमा लेखिएकाे छ-न त धरान बहिर्गमनको कथा नै सुखद छ ।

दमकको सातफुटे कोठा

उनी आमासँगै झापाको शरणामती बस्थे । पाँच कठ्ठा जमिन र सानो झुप्रो घर थियो । बुवाले अर्को बिहे गरे । त्यहाँसम्म पनि ठीकै थियो । तर, बुवा बिरामी परेपछि सबै कुरा बिग्रियो । उपचारका लागि जग्गा बन्धकी राखेर ऋण लिए । ऋण एक हजार रुपैयाँ मात्र थियो । आफन्तसँगै काढेको । तर, तिर्न सकेनन् । जग्गा हडपियो । अनि सुकुमबासी भए ।

बस्ने ठाउँको खोजी गर्दै दमक आए । आमा छोरा एउटा सानो कोठा लिएर बस्न थाले । कोठा झन्डै सात स्क्वायर फुटको थियो । भाडा ५० रुपैयाँ । कोठामा सुत्न मिल्दैन थियो । पकाउने र खाने मात्र । उनीहरू पशुहाटको एउटा घरको बरन्डामा सुत्न जान्थे । तर, त्यहाँ प्रत्येक दिन दिउँसै गएर ठाउँ रोक्नुपथ्र्यो । ठाउँ रोक्न प्रकाश २ बजे नै पुगिसक्थे । बुवा र सानिआमा अलिकमाथि हाटखोलामा बस्थे । बुवा र सानीआमाको झगडा परिरहन्थ्यो । त्यसको कारण प्रकाश र उनको आमा नजिकै बस्नु पनि थियो ।

सानिआमातिरका भाइबहिनी साना थिए । प्रकाशकी आमा बच्चालाई माया गर्ने । उनीहरू ठूलीआमालाई भेट्न आइरहन्थे । आउँदा सडक पार गर्नुपथ्र्यो । गाडीले ठक्कर दिने डर हुन्थ्यो । आमा डराइबस्थिन् । नआओ भन्न पनि नसक्ने । त्यसकारण बुवाले उनीहरू त्यो ठाउँ छाडेर गइदिएहुन्थ्यो जस्तो गरे । तर, जाने ठाउँ थिएन ।

बुवा र सानीआमा दमक हाटखोलाको सुकुमबासी बस्तीमा बस्थे । दीप खड्का भन्ने सुकुमबासी नेता बुवालाई भेट्न आइरहन्थे । उनको घर धरानको सुकुमबासी बस्तीमा थियो । आमा छोराको दुःख देखेपछि उनले बुवालाई धरानको सुकुमबासी टोलमा जग्गा भएको बताए । नहुनेले आश गर्नुबाहेक अरू उपाय हुन्न । प्रकाशकी आमालाई पनि आफ्नै जग्गामा बस्न पाइने आशा लाग्यो । उनीहरू धरान जान राजी भए ।

मक्किसकेको छाना र ढल्लाजस्तो भित्ता

०४९ सालमा प्रकाश ६ कक्षा पढ्थे । आमासँग लागेर धरान पुगे । उनीहरूलाई छाड्न बुवा र सानीआमा धरानसम्म आएका थिए । धरान पुगेपछि उनीहरू फर्किए । त्यहाँ कोही चिनेजानेको मान्छे थिएन । थिए त उनीहरूलाई लिएर आउने दीप खड्का मात्र । उनको घर दुईकोठे थियो । आमा छोरा त्यहीँ बस्न थाले । तर, खर्च थिएन । खर्चको नाममा आमासँग १३ रुपैयाँ रहेछ । फर्किने वेला बुवा र सानीआमाले खर्चबारे केही सोधेनन् । अब पाइलैपिच्छे समस्या थियो ।
लिम्बू जातिमा निकै परसम्म पनि नाता खोज्ने चलन छ । धरान धेरै लिम्बू जातिको बसोवास भएको ठाउँ । नाता खोज्दै जाँदा प्रकाश र उनकी आमाले पनि धेरै आफन्त भेटाए । सहयोग नै गर्ने भन्ने कम मात्र । गैह्रीघरे बाजे र बजुले भने निकै सहयोग गरे ।

उनीहरू दीप दाइको घरमा दुई महिनाजति बसे । सुकुमबासी टोलमा नै लम्बुडे भनिने दाइ थिए । उनको खास नाम अधिकांश टोलवासीलाई थाहा थिएन । लम्बुडे दाइको पुरानो फुसको घर थियो । छाना मक्किसकेको, भित्ता पनि ढल्ला ढल्लाजस्तो । लम्बुडे दाइले त्यही घर सजाएर बस्ने भए आफूले दिने प्रस्ताव गरे । उनीहरू बस्ने भए । टाउको लुकाउनसम्म मिल्ने थियो । छानामा प्लास्टिक लगाए । भित्ता टाले । तर, वर्षाको पानी प्लास्टिकले नछेक्ने । घरभित्र आहाल जम्थ्यो ।

रगतको साइनो टाढा, मनको नजिक

उनले धरान गएको एक वर्षपछि ६ कक्षा पास गरे । ७ कक्षा भर्ना गर्ने पैसा थिएन । आफन्तले पत्याएनन् । भर्ना गर्न एक सय ६० रुपैयाँ लाग्थ्यो । उनीहरूका लागि त्यो निकै ठूलो पैसा थियो । कमाउने आमा मात्र । उनी पनि रोगी थिइन् । कमाएको पैसा खाना र औषधिमै सकिन्थ्यो । सुकुमबासी टोलछेउमै मधेसी मूलका नरेश र ललिता बस्थे । उनीहरूलाई प्रकाश मामा–माइजू भनेर सम्बोधन गर्थे । प्रकाशले पैसा नभएर भर्ना गर्न नसकेको नरेश मामाले थाहा पाएछन् । उनले प्रकाशलाई बोलाएर हात समात्दै शिक्षा सदन मावि पु¥याए । भर्ना गरिदिए ।

आफन्त भनेको रगतको नाता मात्र होइन रहेछ । आफन्त भन्नु त मन रहेछ । किनभने जग्गा हडप्ने तिनै आफन्त थिए, जोसँग रगतको साइनो थियो । विद्यालय भर्ना गर्दिने ती आफन्त थिए, जोसँग मनको साइनो थियो ।

विद्यालयमा चैतन्य इजम, अखण्ड भण्डारी, रमेश लिम्बू, लक्ष्मी, सुधालगायत प्रकाशका साथी थिए । गोपाल पौडेल, चन्द्रमणि अधिकारी नेपाली पढाउने शिक्षक थिए । गोपाल सरको पढाउने शैलीबाट सबै विद्यार्थी प्रभावित थिए । चन्द्रमणि सरचाहिँ लेखक । उनका निबन्धका पुस्तक प्रकाशन भइसकेका थिए । उनको प्रेस पनि थियो । आफैँ पत्रिका निकाल्थे । त्यसकारण विद्यार्थीलाई पनि लेख्न प्रेरित गरिरहन्थे । उनैले प्रकाशमा पनि साहित्यको छाप पारे ।

कक्षा ७ पढ्दा नै उनले आफ्नो क्षमता देखाउन थालिसकेका थिए । एकपटक वादविवाद प्रतियोगिता हुने भयो । उनी बोल्नमा तगडा थिए । साथीहरूले भाग लिनुपर्छ भनेर फुक्र्याए । उनले पनि भाग लिए । दोस्रो भए ।

त्यतिवेला राजनीति विद्यालयसम्मै आइपुगेको थियो । अनेरास्ववियुले प्रारम्भिक कमिटी र नेवि संघले इकाइ समिति बनाउँथे । प्रकाश बोल्न सिपालु । दुवै संगठनको नजरमा परेका थिए । एकपटक चिनेकै दाइहरू कक्षामा आए । कमिटी बनाए । सिन्दूर लाइदिए । भाषण गर्न सिकाए । उनले पनि गरिदिए । बल्ल अरूले भनेपछि पो थाहा पाए कि उनी त कम्युनिस्ट पो भइसकेछन् ।

जब सरले कविता च्यातचुत पारिदिए

उनले ०५३ सालतिर नै विद्यालयमा ‘सजाय’ भन्ने नाटक गरे । त्यतिवेला उनी ९ कक्षामा पढ्थे । नाटक लेखन र निर्देशन उनकै थियो । अभिनय पनि गरे । अहिले सम्झिँदा त्यतिवेला विद्यार्थी बिग्रिनुको मनोविज्ञान खोजेको रहेछुजस्तो लाग्छ रे, उनलाई । तर, तरिका पुगेको थिएन भन्ने उनको आफ्नै ठम्याइ छ ।

त्यतिवेला जिल्लास्तयरीय कविता प्रतियोगिता हुन्थे । उनी तुक मिलाएर लेख्थे । अर्थात्, अन्त्यानुप्रास मिलाएपछि कविता बन्छ भन्ने थियो । कविताको विषयवस्तु र सारको मतलब थिएन । प्रतियोगिता हुने भयो । त्यो पनि जिल्लास्तरीय । साथीहरूले उनलाई ‘तँ त खतरा लेख्छस्, भाग लिनुपर्छ,’ भने । उनले नेपाली सरलाई कविता दिए । तर, सरले त कवितै च्यातेर फ्याँकिदिए ।

आफूलाई मन परेको कविता सरले त पत्याएनन् । उनले पनि इख लिए । सरलाई देखाउँछु भनेर एउटा पूरै कापी कविताले भरे । अहिले पनि त्यो कापी उनीसँग सुरक्षित छ । तर, कविता भने गतिला भएनछन् । अहिले हेर्दा त उनलाई लाज लाग्छ रे ! तर, त्यसले उनलाई कविता लेख्ने अभ्यास भने राम्रै भएछ ।

त्यतिवेला कविता हिमाल, पहाड, जंगल, खोला, नदी, देश, आमा आदिबारेमा हुन्थ्यो । सबै विषयमा अरूले नै कविता लेखिसकेपछि आफूलेचाहिँ केबारे लेख्ने होला भन्ने उनलाई चिन्ता लाग्थ्यो । तनाव लिएर सोची बस्थे ।

ती अनौठा साथीहरू

उनी ‘गरिमा’ खुब पढ्थे । तर, नयाँ अंक कम मात्र किन्थे । पुराना अंक सस्तोमा पाइन्थ्यो । उनले गरिमा किनिरहँदा उनका साथी चैतन्य इजम भने ‘जापानका लोककथा’जस्ता पुस्तक छान्थे । ती लोककथा उनी पनि पढ्थे । निकै प्रतिभावान् थिए, चैतन्य । तर, उनी पछि लाहुरे भए । कवि बन्न सकेनन् ।

प्रकाशका अर्का साथी थिए, विजयपुरका लोकराज निरौला । अहिले उनी राजनीतिमा छन् । लोकराज पहिलादेखि नै आशावादी । जुनसुकै कुरा पनि हुन सक्छ भन्ने विश्वास थियो । आफूसँग नभएको कुरा सम्झिएर कहिल्यै दुःखी हुँदैन थिए । बाबुको मृत्युमा पनि ‘मान्छेलाई नै पर्ने हो, यस्तै हो’ भनेर आफैँ चित्त बुझाउँथे ।

लोकराजकै कारण उनीहरूले ‘बिहानी सांस्कृतिक केन्द्र’ खोले । त्यसपछि आफैँ कविता गोष्ठी गर्न थाले । बिहानीको अध्यक्ष अनुप सबल थिए । खास नाम, अनुप संग्रौला । प्रकाशचाहिँ महासचिव । अनुप अनौठो स्वभावका थिए । माओवादीसँग पुलिसको पक्षमा कुरा गर्थे, पुलिससँग माओवादीको । अनि कांग्रेससँग कम्युनिस्टको र कम्युनिस्टसँग कांग्रेसको समर्थन । पछि उनी हराए । न बेपत्ताको सूचीमा छन्, न मृतकको ।

आफैँलाई कुकुर सम्झेर लेखेको त्यो कविता

पहिलोपटक ०५३ सालतिर उनको ‘कुकुर’ शीर्षकको कविता ‘ब्लाष्ट’ दैनिकमा छापियो । कुकुर इमानदार, बफादार भएर पनि मान्छेहरूले उसलई हेला गर्छन् भन्ने कविताको सार थियो । उनी पनि आफन्तको घरमा बस्थे । काम सघाइदिन्थे । कहिलेकाहीँ नराम्रो वचन खानुपथ्र्यो । त्यही अनुभूतिलाई उनले कवितामा उतारेका थिए । तर, कविता धेरै सशक्त थिएन । तुक मिलाएर लेखेका थिए ।

कविताजस्तो भए पनि उनलाई त्यहीकारण साथीहरूले चिन्न थाले । धरानबाट छापिने ‘न्युज पोष्ट’, ‘मर्निङ टाइम्स’लगायत पत्रिकामा पनि कविता छापिन थाले । जस बेखर्चीलगायतले ती पत्रिकाको अन्तिम पृष्ठमा स्तम्भ लेख्थे । ब्लाष्टमा राजकुमार कार्कीको स्तम्भ आउँथ्यो । धरानमा चलेका लेखक कविले पनि उनलाई चिन्न थाले ।

गोविन्द विकलको त्यो गजल

उनको गोविन्द विकलसँग पहिलो भेट दमकमा भएको हो । विकल धरान आउजाउ गरिरहन्थे । गोविन्द विकल फकिरजस्ता । प्रकाश पनि फकिर नै थिए । गोविन्द विकल अभावमा बाँचेका । उनी पनि अभावमै बाँचेका । अभावले मान्छेलाई नजिक बनाउँदो रहेछ । उनीहरूको उमेर मिल्दैन थियो । तर, पनि नजिक भए । जीवनको अन्तिमकालसम्म उनी गोविन्द विकलसँग निकट थिए । गोविन्द विकलले एउटा गजल लेखेर सुनाए । पहिलोपटक प्रकाशलाई नै सुनाएका थिए । त्यसको पहिलो सेर उनी कहिल्यै बिर्सिंदैनन् ।

नसोध्नू है तिमी मेरो घरको ठेगाना ।
तिम्रो दिल, मेरो जीवनभरको ठेगाना ।।

प्रकाशको न घर थियो, न जीवनको कुनै भर । गोविन्द विकल पनि दुईपटक विवाह गरेर असफल भएका थिए । उनको जीवनयात्रा कहाँ पुग्छ टुंगो थिएन । सायद, यही गजलजस्तो थियो, दुवैको जीवन ।

त्यतिवेला धरानमा कुन्ता शर्मा, गोविन्द विकल, बद्री पलिखे, बम देवान, कृष्ण पाख्रिनलगायत नाम चलेका कवि थिए । कुन्ता शर्माको कविता ‘पोथी बास्नुहुँदैन’ उनले पहिलोपटक स्टेजमा कुन्ता शर्माकै मुखबाट सुनेका थिए । त्यतिवेला कविताको विद्रोह शक्ति उनले बुझेनन् । तर, अहिले सम्झिँदा त्यसले कविता लेख्ने ठूलै हौसला दिएको ठान्छन् ।

धरानमा उनी कवितामा खास जमेनन् । बरु उनका नाटक खुब मन पराइएको थियो । ‘सजाय’ नाटक स्कुल हुँदा नै गरे । ‘गरिबको दशा’ नाटक बिहानी सांस्कृतिक केन्द्रबाट विभिन्न स्थानमा देखाए । कलेज पढ्न थालेपछि ‘आमाको सपना’ नाटक गरे । उनी धरानमा कविभन्दा बढी नाटक गर्ने मान्छेको रूपमा चिनिन्थे । तर, उनको पहिलो परिचय भने कवि नै थियो ।

दुःखमा आए, दुःखमै छाडे धरान

प्रकाश आङ्देम्बेले ०५५ सालको अन्त्यतिर धरान छाडे । धरान छाड्दा पनि उनको खल्ती रित्तो थियो, जसरी धरान आउँदा रित्तो थियो । एसएलसी पास भइसकेका थिए । जागिर थिएन । आमा रोगी । सुकुमबासी बस्तीको बसाइ । आमाले काम गर्न सक्न छाडेपछि उनलाई जिम्मेवारी बढ्दै थियो । तर, धरानले जागिर पत्याएन । अनि भौतारिँदै फेरि दमक पुगे ।

दमकमा भेटिए, धरानका सुमन जवेगू । उनी एउटा बोर्डिङमा भाइस प्रिन्सिपल भइसकेका थिए । त्यहीँ उनले नृत्य सिकाउन थाले । अनि, दमक बसेर धरानमा खनेको गोरेटो हिँड्दै कवि र गजलकार बने । त्यही बाटो हिँडेर फिल्म बनाए । धरान उनको दुःखको भूमरी थियो । त्यही भूमरीमा पसेर उनले जीवन सिके ।

पुस २४ गते, २०७४ - ०८:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top