Khabar Dabali Logo
  May 22, Wed

लोकतन्त्र पुनर्बहालीका १३ वर्ष पूरा, सहिदको सपना अधुरा

नयाँ पत्रिका दैनिकबाट

सहिद सेतु विकका छोराको वीर अस्पतालमा उपचार गर्दा ६ लाख ऋण

०६२/६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले फालेको अश्रुग्यास छातीमा लागेर सहादत प्राप्त गरेकी सेतु विकका श्रीमान् शेरबहादुर विकको थाप्लोमा अहिले ६ लाख ऋण छ । वीर अस्पतालमा माइलो छोरोको पेटको अप्रेसन गर्दा ऋण थपिएको उनले बताए । 

‘माइलो छोराको पेटको अप्रेसन गर्नुपर्ने भयो । सरकारी अस्पताल भनेर वीरमा लगेँ । तर, जिल्ला प्रशासनले दिएको एक लाखबाहेक कतैबाट राहत मिलेन, ६ लाख ऋण छ,’ शेरबहादुरले भने । उनी नेपालगन्जमा अटोरिक्सा चलाएर गुजारा गर्दै छन् । अटोरिक्सा पनि ऋणमै किनेको बताए । आर्थिक अभावमा पढ्न नपाएका तीन छोरा कमाउन भारत गएका छन् । ‘जग्गाजमिन छैन, लेखपढ पनि छैन,’ शेरबहादुरले भने, ‘अटोरिक्सा नचलाए खान पाइन्न । एउटी छोरी पढाउन पनि समस्या छ ।’ 

सहिदको सपना पूरा नगरी आफ्नो दुनो सोझ्याएकोमा राजनीतिक दलका नेता र सरकारप्रति उनको गुनासो छ । ‘मेरो घरमा खानेकुरा ल्याइदिनुस् भन्दिनँ, सरकार र राजनीतिक दलका नेताले सहिदको भावनाको कदर गरिदिए मात्र पुग्छ,’ शेरबहादुरले भने । 

जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको सरकारी सुविधा बन्द
देशको परिवर्तनका लागि रगत बगाएका ‘जीवित सहिद’ मुकेश कायस्थका नाममा सरकारले दिँदै आएको सुविधा बन्द भएको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले मुकेशलाई मासिक भत्ताबापत १५ हजार, नर्सका लागि २३ हजार र कुरुवाका लागि ६ हजार दुई सय व्यवस्था गरेको थियो । तर, अहिले सम्पूर्ण सुविधा रोकिएको मुकेशकी आमा मीरा कायस्थले बताइन् । ‘जनताको पक्षमा काम गर्ने सरकार आएको भन्ने सुनिन्छ, तर मुकेशजस्ता आन्दोलनका घाइतेको सुविधा खोसिएको छ,’ मीराले भनिन् । 

मुकेशजस्तै जनआन्दोलनका घाइतेका लागि सरकारले पुनस्र्थापना केन्द्र खोलिदिनुपर्ने परिवारको माग छ । उनले भनिन्, ‘हामी हुँदा त हामीले छोराको स्याहारसुसार गछौँ, तर भोलि हामी पनि वृद्ध भएर स्याहार्न सकेनौँ भने कसले हेर्ला भन्ने चिन्ता लागिरहन्छ । त्यसैले पुनस्र्थापना केन्द्र खुलेमा हाम्रो बाबुजस्तै अरू घाइतेले संरक्षण पाउँछन् ।’

मुकेशलाई समाजले ‘जिउँदो सहिद’ भन्छ । तर, सरकारले घोषणा गरेको छैन । ‘सरकारले क्याबिनेटबाट नै जिउँदो सहिद किन घोषणा गर्न सकेन ?’ मीराको प्रश्न छ । सरकारले मुकेशलाई शतप्रतिशत घाइते भनेर परिचयपत्र उपलब्ध गराएको छ । ‘परिचयपत्रले के गर्ने, सुविधा नै काटिएको छ,’ उनी भन्छिन् ।

प्यारालाइसिसले थलिएकी आमा भन्छिन्– वासुदेवको सालिक बनाउँछु भन्दै भोट माग्न आएका नेता फर्किएनन्

मकवानपुरगढी गाउँपालिकाको भागरथी टोलको एउटा थलीमा सानो पक्की घर छ । त्यही घरको पिँढीमा बसेर आहिले पनि टोलाइरहन्छिन् जनआन्दोलन ०६२/६३ का सहिद वासुदेव घिमिरेकी ७९ वर्षीया आमा चित्रकुमारी । चित्रकुमारी तीन वर्षदेखि प्यारालाइसिसले थलिएकी छिन् ।

‘भूकम्पले घर भत्कायो, दुःख गरेर बनाएको सानो चिटिक्कको घर छ । तर, यहाँ पनि शान्तिसँग बस्न सक्दिनँ, मन दिनदिनै कुँडिन्छ पीडाले,’ उनले सुस्तरी सुनाइन्, ‘परिवारले सकेको घरेलु औषधिमुलो गरे, तर प्यारालाइसिसबाट उठ्न सकिनँ ।’

सहिद परिवारको नाममा उपचारमा कतैबाट सुविधा नपाएको गुनासो गरिन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा पनि उनीहरू सहभागी छैनन् । भोट माग्न आउने नेतालाई सहयोग केही चाहिँदैन्, छोराको सालिक बनाइदेऊ भनेर मागेकी उनलाई सबैले आश्वासन मात्रै बाँडे । ‘०७० मा नेता जयराम लामिछाने आएका थिए, उनलाई पनि सालिक बनाइदेऊ भनेँ, पाँच सयको नोट दिएर गएका फर्केनन् । मलाई पैसा चाहिँदैन, मेरो घरमा सालिक बनाइदेऊ भन्दा जिते पनि नजिते पनि सालिक बनाउँछु भनेर गएका थिए,’ चित्रकुमारीले भनिन् । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं भने गाउँपालिकाको तर्फबाट सहिद वासुदेव घिमिरेको स्मारक बनाउन लागिरहेको बताए । 

सहिद वासुदेवका ८० वर्षीय पिता कृष्णप्रसादको स्वास्थ्य पनि निकै कमजोर छ । वासुदेवले जनआन्दोलनका क्रममा काठमाडौंको कलंकीमा प्रहरी गोली लागेर साहदत प्राप्त गरेका थिए । उनकी पत्नी सुनिता छोरा सुवाससँग काठमाडैंमा बस्छिन् । सुवासले यस वर्ष एसइई दिएका छन् । 

आमा सहिद बन्दा आठ वर्षका थिए चितवनका रविन क्षेत्री, भन्छन्– अभावकै कारण डाक्टर बन्ने सपना तुहियो, राजनीति गर्ने चाहना २६ चैत ०६२ मा चितवनमा जनआन्दोलन उत्कर्षमा पुगिसकेको थियो । भरतपुर–११ मालपोतचोककी तुलसी क्षेत्री बार्दलीमा बसेर आन्दोलनकारीलाई पानी हालेर ऊर्जा थप्दै थिइन् । आन्दोलन दबाउन प्रहरीले चलाएको गोलीले तुलसी अचानक बार्दलीमै ढलिन् । 

त्यतिवेला छोरा रविन क्षेत्री आठ वर्षका थिए । बुबा विदेश भएको अवस्थामा ३० वर्षीया आमा गुमाउनुपर्दाको पीडा रविनको मानसपटलमा ताजै छ । आमालाई लागेको गोली बैठक कोठामा रविनले नै भेट्टाएका थिए । तर, परिवर्तनका लागि आमाले दिएको बलिदानीप्रति राज्यको भूमिका रविनलाई चित्त बुझेको छैन । ‘सहिद परिवारको बलिदानलाई राज्यले बिर्सेको छ,’ उनले भने । 

आमाले साहदत प्राप्त गर्दा रविन कक्षा तीनमा पढ्दै थिए । डाक्टर बन्ने उनको चाहना थियो । ८४.८८ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण उनले विज्ञान संकायमा ७७.९ प्रतिशत ल्याई प्लस टु पनि उत्तीर्ण गरे । तर, डाक्टर बन्ने चाहना आर्थिक अभावमा त्यहीँ टुंगिएको बताउँछन् । ‘राम्रो नम्बर आएकाले डाक्टर बन्ने चाहना राखेको थिएँ’, रविनले भने, ‘तर, आफूलाई हेरचाह गर्ने आमाको अभाव र पैसा जोहो गर्न सक्ने अवस्था नभएपछि एमबिबिएसको सट्टा कम्प्युटर सफ्टवेयर इन्जिनियरिङतिर लागो ।’ स्कुले शिक्षा निःशुल्क लिएका रविनले प्लस टुमा आठ महिनाको छात्रवृत्ति पाएका थिए । अहिले सरकारले वार्षिक २४ हजार पढाइ खर्च दिएको छ । तत्कालीन समयमा सहिद परिवारलाई राज्यले १० लाख तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक लाख सहयोग गरेको उनले बताए । तर, राज्यबाट जागिर र आर्थिक सहयोगको अपेक्षा आफूले नगरेको बताए ।

अध्ययनरत चितवनकै इन्द्रेणी कलेजको नेविसंघ इकाइ अध्यक्ष रहेका रविनलाई राजनीतिमा चाख छ । ‘म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हुँ, त्यसैले नेविसंघको राजनीतिबाट मूलधारको राजनीतिमा छिर्ने मेरो चाहना छ,’ उनले भने । 

पर्वतका सहिद गोविन्दनाथ शर्माकी श्रीमतीको प्रश्न– मृत्युवरण गर्दा पार्टीको झन्डा ओढाउन तम्सिने अहिले कता हराए ?

८ वैशाख ०६३ मा प्रहरीको गोली लागेर घाइते भएका पर्वतका गोविन्दनाथ शर्माको उपचारका क्रममा १२ वैशाखमा ज्यान गयो । उनको साहदतपछि पर्वतको कुस्माबजारमा आन्दोलित स्थानीयले राजा महेन्द्रको सालिक ढाले । महेन्द्रकै सालिक ढलेको स्थानमा अहिले सहिद गोविन्दनाथ शर्माको सालिक निर्माण गरिएको छ । तर, सालिकमा पुगेर स्मृति गर्ने परिवरका सदस्य मात्रै हुन्छन् । 

‘मृत्युवरण गरेका वेला पार्टीको झन्डा ओढाउन तम्सिएका अहिले कुनै वास्ता गर्दैनन्,’ सहिदपत्नी भगवती शर्माले गुनासो पोखिन्, ‘परिवारलाई बिर्सेर केही हुँदैन, तर बलिदानीलाई भुल्नुहुँदैन ।’ जनताको प्रत्यक्ष संलग्नतामा भएको आन्दोलनले सफलता पाएर राजतन्त्रको अन्त्य भए पनि आन्दोलनका उपलब्धि संस्थागत हुन नसकेको भन्दै असन्तुष्टि जनाइन् । 

गोविन्दनाथ जनआन्दोलन ०६२/६३ मा साबिकको धौलागिरि अञ्चलबाट साहदत प्राप्त गर्ने एक्ला हुन् । भाइ देव शर्माले सहिदको बलिदानीलाई उपेक्षा गरेको बताए । ‘सहिदको योगदानलाई उचित मूल्यांकन हुन्छ कि भन्ने आशा मरेको त छैन, तर भरोसा कसको गर्ने ?’ देवले भने, ‘सहिदको बलिदानीलाई मूल्यांकन गर्ने चुनावी एजेन्डा लिएर घरघरमा आउने अहिले कुन दुलोमा छन् अत्तोपत्तो छैन ।’

सहिदपत्नीको गुनासो– वास्तविक सहिदको अपमान भयो
पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित सहिद विष्णु पाण्डेकी श्रीमती भागिरथी पाण्डेले जथाभावी रूपमा राज्यले सहिद घोषणा गर्दा वास्तविक सहिदको अपमान भएको बताएकी छिन् । ‘राज्यले १० लाखमा सहिद किन्ने काम गरिरहेको छ । जसलाई पनि सहिद घोषणा गर्ने काम राज्यले बन्द गर्नुपर्छ । वास्तविक सहिद चिनेर मात्रै घोषणा गर्र्नुुपर्छ,’ पाण्डेले भनिन् ।

दुर्घटनामा परेर ज्यान गएकादेखि चोरी–डकैती गर्दा ज्यान गएकासम्मलाई सहिद घोषणा गरिएकोमा उनको असन्तुष्टि छ । सहिद विष्णु पाण्डेका श्रीमती, दुई छोरी र एउटा छोरा छन् । जनआन्दोलनका वेला छोरा भागिरथीको कोखमा थिए । ठूली छोरी १७ वर्ष भइन्, नर्सिङ पढ्दै छिन् । १५ वर्षकी कान्छी छोरीले अहिले एसइई दिएकी छिन् । १३ वर्षीय छोरा सात कक्षामा पढ्दै छन् । भागिरथीले घरमै सानो मेडिकल चलाएकी छिन् । यहाँबाट हुने कमाइले छोराछोरीको पढाइ खर्च धान्न मुस्किल परेको उनले सुनाइन् । राज्यले शिक्षाका लागि तीनजनालाई वार्षिक १२–१२ हजारका दरले सहयोग उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक कुनै सुविधा नपाएको उनले बताइन् । 

बुबाको सहादतसँगै अभिभावकविहीन बनेका सात सन्तानको संघर्ष
बर्दियाको गुलरिया नगरपालिका–२ का यमलाल लामिछाने ७ वैशाख ०६३ मा राधाकृष्ण चोकनजिक सुरक्षाकर्मीको गोली लागेर घाइते भए । उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटैमा ज्यान गयो । यमलालले सहादत प्राप्त गरेसँगै चार छोरा र तीन छोरी बेसहारा बने । किनभने यमलालकी श्रीमतीको त्यसअघि नै मृत्यु भएको थियो । 

यसबीचमा राज्यले पर्याप्त सहयोग नगर्दा उनीहरूले ठूलो कष्ट झेल्नुपर्‍यो । अहिले सहिद यमलालका जेठा छोरा देवीराम सामुदायिक विद्यालयमा राहत कोटामा अध्यापन गर्छन् । माइला छोरा पूर्णलाल बेरोजगार छन् । साइँला द्रोण निजी विद्यालयमा अध्यापन गर्छन् । कान्छा शिवलालले सहकारी सञ्चालन गरेका छन् । दुई छोरीको पहिल्यै विवाह भएको थियो । कान्छी त्रिभुवन विश्वविद्यालयको आयुर्वेद शाखामा करारमा काम गर्छिन् । राज्यले सहिद परिवारप्रति कुनै चासो नदिएको द्रोणले बताए । 

सहिदपत्नी भन्छिन्– छोराहरू बेरोजगार छन्, आर्थिक अवस्था नाजुक छ, सरकारले रोजगारी दिए हुन्थ्यो
०६२÷६३ को आन्दोलनमा सहिद भएका रौतहटको गुजरा नगरपालिका–६ का मोहमद ताहिर हुसेन अन्सारीका परिवारको आर्थिक अवस्था नाजुक छ । सात भाइ छोरामध्ये माइँला सकिल गुजरा नगरपालिका–६ का वडाध्यक्ष छन्, तर अरू बेरोजगार रहेको ६५ वर्षीया आमा सकिला खातुनले सुनाइन् । 
‘मैले वृद्धभत्ताबाहेक केही पाएको छैन, छोराहरू बेरोजगार छन्, काठमाडौंतिर भौँतारिएका छन्,’ सहिदपत्नी सकिलाले भनिन्, ‘उनीहरूलाई सानोतिनो रोजगारी भए पनि केही सहज हुन्थ्यो ।

सहिद दर्शनलालको परिवारलाई जीवन चलाउन धौ–धौ
सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शनका क्रममा २४ चैत ०६२ मा विष्णुपुर गाउँपालिका–१ का दर्शनलाल यादवको ज्यान गयो । उनका जेठा छोरा विनोदकुमार पनि माओवादी जनयुद्धका क्रममा ०५९ मा राज्यपक्षबाट मारिएका थिए । 

एकै परिवारका बुबा र छोराले सहादत प्राप्त गर्दा पनि राज्यबाट परिवारलाई कुनै सहयोग नभएको दर्शनलालकी पत्नी इनरवतीदेवी यादवले सुनाइन् । ‘पहिला छोरो मारियो, केही वर्षपछि उहाँ पनि बित्नु’भो,’ उनले भनिन्, ‘शोकमा डुबेर चार–चार छोरालाई हुर्कार्यौँ, तर सरकारले हामीहरूको जीवन–यापनका लागि सोचिदिएन ।’ रोजगारी नपाएपछि कान्छो छोरो विदेश गएको र तीन छोरा बेरोजगार नै रहेको उनले बताइन् । पारिवारिक समस्याबारे काठमाडौं पुगेर नेताहरूलाई भन्दा आश्वासन मात्रै दिएर झुलाएको इनरवतीदेवीको गुनासो छ । 

पोखरामा सहिद बनेका काभ्रेका भीमसेन दाहालकी श्रीमतीको गुनासो– देशमा व्यवस्था फेरियो प्रवृत्ति फेरिएन 
दोस्रो जनआन्दोलनमा कास्कीमा एकजनाको ज्यान गयो, एक सय ३७ घाइते भए । २६ चैत ०६२ मा पोखरा–९ महेन्द्रपुल चोकमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काभ्रेका भीमसेन दाहालको ज्यान गएको थियो । उनी पोखरामा व्यवसाय सञ्चालन गर्थे । श्रीमती सविता दाहाल अहिले पोखरामै श्रीमान्को पुरानो व्यवसायलाई निरन्तरता दिइरहेकी छिन् । 

आफ्नो लागि राज्यबाट उनलाई कुनै आशा छैन । तर, श्रीमान्लगायत कैयौँको सहादतपछि पनि देश हाँक्नेहरूको प्रवृत्ति नफेरिएकोमा उनलाई दुःख छ । ‘मलाई व्यक्तिगत रूपमा राज्यबाट केही चाहिएको छैन । तर, आन्दोलनपछि देशमा व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति नफेरिएकोमा भने चिन्ता छ,’ उनले भनिन् । 

आन्दोलनका घाइतेका परिवारसँग गुनासैगुनासा छन् । जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष ढाकामोहन पौडेलले गणतन्त्र आए पनि दलहरूले सही सदुपयोग गर्न नसकेको बताए । दुःखी, गरिब अन्यायमै परेको र टाठाबाठाले रजाइँ गरिरहेको उनले बताए । जनआन्दोलनका घाइते नेत्रपाणी सुवेदी सरकारले जिम्मा नलिइदिँदा मेरुदण्डको उपचार गर्न अमेरिका जानबाट वञ्चित भएका छन् । नेपालमा उपचार सम्भव नभएपछि अमेरिकाको एक अस्पतालमा जान लाग्दा राज्यले जिम्मा नलिइदिएको उनको गुनासो छ । 

बैशाख ११ गते, २०७६ - ०९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top