Khabar Dabali Logo
  May 22, Wed

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा २००६ देखि २०१९ सम्म एकीकृत पार्टी

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको चर्चा सम्भव नहोला। तर, नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको इतिहासलाई ४ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।

१. २००६ देखि २०१९ सम्म एकीकृत पार्टी

२००६ साल वैसाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरे। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन विरुद्धको जनसङ्घर्ष आदि थिए। जसका संस्थापक महासचिव पुष्पलाल थिए। सन् १९४९ सेप्टेम्वर १५ मा मोतिदेवी श्रेष्ठलाई थप्न प्रस्ताव गरिएको थियो। ने.क.पा.को प्रथम सम्मेलन वि.स. २००८ असोज (१९५१ सेप्टेम्वर २२) मा कलकत्ता नै भयो, जसले मनमोहन अधिकारीलाई महासचिव चुन्यो।

२००८ साल कार्तिक २० गते नेपाल भारत सन्धिको विरोध गरेकाले चिनियाँ काजिमान श्रेष्ठलाई सरकारले हत्या ग¥यो। २००९ माघ ९ गते डा. के.आई. सिंहले जेल विद्रोह गरे, यसैलाई निहुँ बनाएर २००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो। ने.क.पा. स्थापनापछि २००६ भदौ ३० गते पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गरेका थिए। २०१० सालतिर नै भीमदत्त पन्तले पश्चिममा सशक्त किसान आन्दोलन चलाए। भीमदत्त पन्तको किसान आन्दोलनलाई दबाउन भारतीय सेना झिकाई २०१० सालमा पन्तको हत्या गरियो।

ने.क.पा.को प्रथम महाधिवेशन २०१० साल माघ १७–२५ सम्म काठमाडौंमा भयो। महाधिवेशनमा पुष्पलाल श्रेष्ठले संविधानसभाको निर्वाचन, डा. केशरजङ्ग रायमाझीले वैधानिक राजतन्त्रको समर्थन गरी दुई प्रस्ताव अगाडि आए। महाधिवेशनमा ७८ जना प्रतिनिधि थिए, पार्टी सदस्य संख्या १६००० थियो। महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिव निर्वाचित गर्‍यो। वि.सं. २०१२ कार्तिकमा दोश्रो राष्ट्रिय सम्मेलन भयो। सम्मेलनमा केशरजङ्ग रायमाझीले राजावादी धार समाते। सम्मेलनले राजतन्त्रको समर्थन र वैधानिक राजतन्त्रको दिशा पास गर्‍यो। पुष्पलाल श्रेष्ठले पार्टी कार्यक्रममा परिवर्तन किन ? नामक दस्तावेज पेश गरे। टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको सरकारले २०१२ मा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो।

ने.क.पा.को दोश्रो महाधिवेशन २०१४ जेठ १५—२५ काठमाडौंमा भयो। पुष्पलाल श्रेष्ठले संविधानसभा र संसदीय प्रजातन्त्रको लाइन, शम्भुराम श्रेष्ठले गणतन्त्रको लाइन, रायमाझीले संवैधानिक राजतन्त्रको लाइन पेश गरे। महाधिवेशनमा पुष्पलालको विधानसभाको लागि सङ्घर्ष भन्ने लाइन पास भयो। तर, नेतृत्व भने बहुमतले केशरजङ्ग रायमाझीलाई बनायो, उनी महासचिव बने। २०१७ मा विश्व कम्युनिष्ट आन्दोलनको मोर्चामा रायमाझी, शम्भुराम श्रेष्ठ, हिक्मतसिंह भण्डारी, कमर शाह सहभागी थिए। यसअघि २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले पाल्पा, रौतहट लगायत ४ स्थानमा विजय हासिल गरेको थियो। २०१७ पौष १ गते राजा महेन्द्रले पञ्चायती शासन घोषणा गरे, त्यतिबेला मस्कोमा रहेका रायमाझीले राजाको कदमको स्वागत गरे। २०१७ पौष २२ मा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाए।

२०१७ साल फागुनमा भारतको दरभंगामा १ महिनासम्म दरभंगा प्लेनम भयो। प्लेनममा २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी थिए। जसका प्रस्तावित लाइनहरु १. मोहनविक्रम सिंह : संविधानसभाको निर्वाचन, २. केशरजंग रायमाझी : संसदीय व्यवस्थाको स्थापना, ३. पुष्पलाल श्रेष्ठ : विघटित संसदको पुनस्र्थापना थिए। प्रस्तावमा मतदान हुँदा मोहनविक्रमले २८ मत, रायमाझीले १७ मत र पुष्पलालले ६ मत प्राप्त गरेका थिए भने केन्द्रीय समितिको बहुमत पुष्पलालको पक्षमा थियो।

९ महिनाभित्र महाधिवेशन गर्ने अनिर्णित व्यवस्थामा नै प्लेनम समापन भयो। प्लेनमपश्चात रायमाझी र बहुमत केन्द्रीय सदस्यहरु दरबारसँग साँठगाँठ गरे। २०१८ सालमा पुष्पलाल र तुलसीलाल अमात्यको अग्रसरतामा अन्तरजोन सामजञ्य समिति गठन गरियो। यो समिति गठन गर्नु पार्टी नीति विपरित भएको र समानन्तर पार्टी भनी पुष्पलाल, तुलसीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई २०१९ मा पार्टीबाट निस्काशन गरियो।

ने.क.पा.को तेश्रो महाधिवेशन २०१९ वैशाख ४–१५ सम्म भएको थियो। जसका प्रस्तावित लाइनहरु : १. तुलसीलाल अमात्य : सार्वभौमसत्ता सम्पन्न संसद, २. पुष्पलाल श्रेष्ठ : विघटित संसदको पुनस्र्थापना र ३. मोहनविक्रम सिंह : संविधानसभाको निर्वाचन थिए। महाधिवेशनमा सिंहको संविधानसभाको निर्वाचनको लाइन बहुमतबाट पास भयो। तर, महामन्त्रीमा तुलसीलाल अमात्य निर्वाचित भए। केन्द्रीय समितिमा केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ, कमर शाह, डि.पि. अधिकारी, पि.बि. मल्लहरु थिए।

२. २०१९ देखि २०४७ सम्म फुट र विभाजनको अवधि रह्यो। यस अवधिमा समूह कम्युनिष्ट समूहहरु मुलभूत रुपमा रहे।

क. रायमाझी समूह : रायमाझी समूहले २०२३ सालमा तेश्रो महाधिवेशन गर्‍यो। २०२४ सालमा भएको तेश्रो महाधिवेशनले महामन्त्री केशरजंग रायमाझी निर्वाचित भए। २०३६ मा पञ्चायतमा प्रवेश गर्ने वा नगर्ने विषयमा रायमाझी र मानन्धरबीच विवाद भयो। २०३८ सालमा चौंथो महाधिवेशन डाकी मानन्धर समूहको गठन गरियो र रायमाझी समूहबाट अलग भएको घोषणा गरियो। २०४० सालमा रायमाझी समूहको पाँचौं महाधिवेशन भयो। पार्टी बर्मा र रायमाझी समूहमा २ गुटमा विभाजन भयो। दुवैले एक अर्कालाई पार्टीबाट निस्काशन गरेको घोषणा गरे। यसरी रायमाझी समूह ३ धारमा टुक्राटुक्रा भयो। यिनीहरु रुसी पक्षमा उभिए। पछि गएर रायमाझी आधिकारिक रुपमा दरबार प्रवेश गरे।

ख. पुष्पलाल समूह : २०२४ सालमा पुष्पलालले भेला गरी आफ्नो समूह व्यवस्थित गर्न खोजे। २०२५ सालमा गोरखपुरमा तेश्रो सम्मेलन गरी नयाँ जनवादी गणतन्त्रको लाइन पारित गरी पुष्पलाल श्रेष्ठ महामन्त्री बने। २०२९ सालमा पुष्पलाल समूहको चौंथो राष्ट्रिय सम्मेलन भयो। २०३१ श्रावणमा कम्युनिष्ट एकता सङ्घर्ष समिति गठन भयो। २०३३ असार १५ मा जीवराज आश्रित, मोदनाथ प्रश्रित, बामदेव गौतमले पुष्पलालबाट विद्रोह गरी मुक्ति मोर्चा समूह गठन गरे। २०३५ श्रावण ७ मा पुष्पलालको मृत्युपछि त्यसको नेतृत्व बलराम उपाध्यायले गरे। यसै संगठनलाई विकास गरेर २०४४ सालमा सहाना प्रधान र भरतमोहन अधिकारी मिलेर ने.क.पा. (माक्र्सवादी) गठन गरे।

ग. रोहित समूह : पुष्पलाल समूहबाट २०३२ माघ १० गते अलग भएर नेपाल मजदुर किसान संगठन निर्माण गरियो। त्यसैगरी २०३६ सालमा रुपलाल विश्वकर्माको नेतृत्वबाट विद्रोह गरी पुष्पलाल समूहबाट २०३८ सालमा सर्वहारावादी श्रमिक संगठनको गठन भयो। २०४६ सालपछि राष्ट्रिय सम्मेलन गरी नारायणमान विजुक्छे (रोहित) को नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको गठन भयो।

पूर्वी मेची कोशी प्रान्तीय समिति : २०२२ सालमा भारतको दरभंगामा सम्मेलन गरी भरतमोहन अधिकारी र कमल कोइरालाको नेतृत्वमा मेची कोशी प्रान्तीय कमिटी गठन भयो। २०२७ सालतिर यसको कार्यनीतिक विवादका कारण झापा जिल्ला कमिटी अलग भयो। त्यही झापा जिल्ला कमिटीले २०२८ सालमा वर्गदुश्मन खत्तम पार्ने उद्धेश्यसहित झापा विद्रोह सुरु गर्‍यो।

कोर्डिनेशन केन्द्र : २०२८ सालमा सुरु भएको झापा विद्रोहका कमीकमजोरी हटाउने निर्णयसहित २०३१ जेठ १४ मा झापा, मोरङ्ग, सुनसरी जिल्ला कमिटीले समन्वयका लागि अपील ग¥यो । २०३२ जेठ २४–२५ मा सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी कोओर्डिनेशन केन्द्र (माले) कमिटीको गठन भयो। २०३५ साल पौष ११ गते कोओर्डिनेशन केन्द्रको सम्मेलन गरी ने.क.पा. (माले) पुनर्गठन भयो, त्यसको नेतृत्व सि.पी. मैनालीले गरे। २०४६ सालको आन्दोलनमा माले, मार्क्सवादी लगायतका एकथरि समूहबीच आन्दोलनको लागि संयुक्त बाममोर्चा बन्यो। त्यसको नेतृत्व साहना प्रधानले गरिन्।

२०४६ साल भाद्र ९–१४ सम्म यस समूहको चौंथो महाधिवेशन भयो। २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिली नेकपा (एमाले) बन्यो। २०४९ मा नेकपा (एमाले) को पाँचौं महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भए, महाधिवेशनले जनताको बहुदलीय जनवादको नीति पास गर्‍यो। २०५४ मा माधवकुमार नेपाल छैंटौ महाधिवेशन गरी महासचिव भए।

२०५४ सालमा एमाले विभाजन भई माधव नेपाल (एमाले) र बामदेव गौतम (माले) बने। २०५९ मा पुन २ पार्टीबीच एकता भयो र महासचिव माधव नेपाल भए। २०६४ चैत्र २८ मा भएको संविधानसभामा एमाले पराजित भएपछि माधव नेपालले राजीनामा दिए र झलनाथ खनाल महासचिव बने। २०७० मा सम्पन्न दोस्रो संविधान सभामा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्यो। त्यसपछि केपी ओली पार्टी अध्यक्षमा निर्वाचित भए।

केन्द्रीय न्युक्लियस : २०२८ मंसीर २० मा मोहनविक्रम लगायत बागमति प्रान्तीय कमिटीमा रहेका सिद्धीलाल सिंह, नरबहादुर कर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ मिली केन्द्रीय न्यूक्लियस गठन गरे। केन्द्रीय न्यूक्लियसका संस्थापकहरुमा मोहनविक्रम, मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला, सिद्घीलाल सिंह आदि थिए।

च. चौंथो महाधिवेशन : २०३१ भाद्र ३० देखि असोज ७ सम्म निर्मल लामा, मोहनविक्रमहरुको पहलमा चौंथो महाधिवेशन भयो। जसको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार थियो। महाधिवेशनले मोहनविक्रम सिंहलाई महासचिवमा निर्वाचित गर्‍यो। त्यही समयमा पुष्पलालले राजतन्त्र परास्त गर्न कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्ने धारणा राखेकोमा मोहनविक्रमले कडा आलोचना गरी गद्दार पुष्पलाल भन्ने पुस्तक लेखे। २०३१–२०३३ सम्म मोहनविक्रम सिंहलाई माओ र निर्मल लामालाई चाओको रुपमा प्रचार गरिन्थ्यो।

२०३५ मा मोहनविक्रमलाई कार्वाही गरियो, निर्मल लामा महामन्त्री भए। छिट्टै कार्वाही फुकुवा गरी मोहन बिक्रमलाई पुन जिम्मेवारीमा ल्याइयो। तर, निर्मल लामा पनि कार्वाहीमा परेपछि २०३६ मा भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ महामन्त्री भए। त्यतिबेला मोहनबिक्रम र निर्मल लामा दुवै सुधारवादी धाराका पक्षपाती थिए। यसको केही समयपछि छोटो समय चित्र बहादुर के.सी. पनि पार्टीको महामन्त्री बने। २०३७ मा ऋषि देवकोटा ‘आजाद’ले पार्टीबाट विद्रोह गरे। २०३९ सालतिर मोहनबिक्रमलाई दोश्रोपटक कार्वाही गरियो, २०४० सालमा चित्रबहादुर श्रेष्ठ गिरफ्तार भएपछि निर्मल लामाहरुले नेकपा चौम गठन गरे।

चौम समूह : २०४० साल मंसीरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो। २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समूह २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा सहभागी भई सङ्घर्षमा होमियो।

नेकपा मशाल : पार्टी विभाजन गरी निर्मल लामाले नेकपा चौम गठन गरेपश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम महामन्त्री बने। तर, यो समूह पनि लामो समय एकीकृत रहन सकेन।

पाँचौं महाधिवेशन : २०४१ मंसीर १–१६ सम्म पाँचौं महाधिवेशन भयो। महाधिवेशनले मोहनबिक्रमको कार्यदिशा पास गर्‍यो। तर, सांस्कृतिक बिचलनको अभियोगमा उनीमाथि कार्वाही भयो। महाधिवेशनमा प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरे। महाधिवेशनले मोहन वैद्य ‘किरण’लाई महामन्त्रीमा निर्वाचित गर्‍यो। २०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहनविक्रमले नेकपा मसाल गठन गरे, यसलाई पातलो मसाल भयो, २०४३ सालमा मसालको सम्मेलन गरे।

२०४३ सालमा नेकपा मशाल अर्थात् मोटो मशालको तर्फबाट काठमाडौंका प्रहरी बिटमा आक्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो। त्यसलाई सेक्टरकाण्ड पनि भनिन्छ। सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए।

२०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्‍यो र माओवाद पास गर्‍यो। साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास गर्‍यो। २०४६ सालको जनआन्दोलनमा नेकपा मशाल, नेकपा मसाल (विद्रोही), सर्वहारा श्रमिक संगठन, नेकपा चौम लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बन्यो।

४. जनआन्दोलनदेखि संविधान सभासम्म

माओवादी धारा : २०४७ श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मला लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा एकताकेन्द्र बन्यो। २०४७ को अन्त्यतिर मोहनविक्रमबाट विद्रोह गरी हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम नेकपा एकताकेन्द्रमा प्रवेश गर्‍यो।

२०४८ मंसीर ४ मा एकता महाधिवेशन भयो, महाधिवेशनले प्रचण्डको दीर्घकालीन जनयुद्धको कार्यदिशा पास गर्‍यो। महाधिवेशनमा प्रचण्ड लगायत निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल लगायतका ११ जना पूर्वमहामन्त्रीहरु थिए। प्रचण्ड महामन्त्रीमा निर्वाचित भए। २०४८ सालको संसदीय निर्वाचनमा ११ स्थानमा पार्टी विजयी बन्यो।

२०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग भए। त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर २०५१ सालमा नेकपा एकताकेन्द्र गठन गरे। २०५१ साल फागुन २–४ प्रचण्डको नेतृत्वमा रहेको नेकपा एकताकेन्द्रको तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा निर्माण गरियो। पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी राखियो।

२०५२ फागुन १ गते जनयुद्धको घोषणा गरियो। २०५५ भाद्रमा माओवादीको चौथो विस्तारित बैठक सम्पन्न भयो। २०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन भयो। सम्मेलनले प्रचण्डपथको संश्लेषण ग¥यो। २०६२ असोजमा सम्पन्न माओवादी बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्‍यो। २०६२ मंसीर ७ गते माओवादी र संसदवादी शक्तिबीच १२ बुंदे सहमति भयो। त्यसकै बलमा २०६२/२०६३ को जनआन्दोलन भयो। २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौता भई जनयुद्धले शान्तिपूर्ण रुपमा ग्रहण गर्‍यो।

२०६४ चैत्र २८ गते संविधान सभाको निर्वाचन भयो। २०६५ श्रावण ३२ गते प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। जनयुद्धपूर्व टुक्रिएर गएको नेकपा एकताकेन्द्र–मसाल र नेकपा माओवादीको बीचमा २०६५ पौष २९ गते पार्टी एकता भयो। २०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो।

एमाले धारा : २०४६ सालको जनआन्दोलनपछि नेकपा माले र नेकपा मार्क्सवादीबीच एकता भई नेकपा एमाले बन्यो। २०४९ मा सम्पन्न एमालेको पाँचौं महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धारामा लैजाने निर्णय ग¥यो। मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यदिशा प्रस्तुत गरे र महाधिवेशनले पारित ग¥यो। मदन भण्डारी महासचिवमा निर्वाचित भए।

२०५० जेठ ३ गते मदन भण्डारीको रहस्यमय हत्या भयो। २०५१ को मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा पहिलो वामपन्थी सरकार बन्यो। सरकारले थुप्रै जनपक्षीय र लोकप्रिय कार्यक्रम अघि सार्‍यो। २०५४ मा भएको छैटौं महाधिवेशनमा माधवकुमार नेपाल महासचिवमा निर्वाचित भए। त्यसपछि पार्टीमा फुट भयो। महाकाली सन्धिको विषयलाई लिएर बामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो।

२०५९ सालमा एमाले र मालेबीच एकता भई नेकपा एमाले बन्यो। त्यसपछि भएको सातौं महाधिवेशनले पनि माधव नेपाललाई नै महासचिवमा निर्वाचित गर्‍यो। २०६४ को संविधानसभामा पराजयपछि माधव नेपालले राजीनामा दिए। २०६५ मा सम्पन्न आठौं महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा निर्वाचित गर्‍यो। २०७० को निर्वाचनपछि सम्पन्न नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गर्‍यो।

एकताको अभियान र विजय

कम्युनिष्ट आन्दोलनमा २ पृथक धाराका रुपमा विकसित एमाले र माओवादीबीच २०७४ असोज १७ गते चामत्कारिक रुपमा गठबन्धन भयो। संघीय निर्वाचनमा दुवै पार्टी संयुक्त उम्मेदवार र घोषणापत्र बनाएर अघि बढे। २०७४ मंसीर १० र २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी दलले झण्डै २ तिहाई जनमत हासिल गरे। त्यसपछि २०७४ फागुनमा केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बन्यो।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकताको घोषणा भयो। ४४१ सदस्यीय एकीकृत केन्द्रीय समिति बनाइयो। त्यसपछि पार्टी एकतालाई तल्लो तहसम्म सम्पन्न गर्न विभिन्न समिति र कार्यदल बने। २०७६ वैशाख ९ गतेसम्म आइपुग्दा दुवै पार्टीको एकता अन्तिम चरणमा पुगेको छ।

नेकपाका अतिरिक्त नेपालमा केही वामपन्थी दलहरु छन्, जसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनालीको माले, नारायणमान बिजुक्छेको नेमकिपा, मोहनविक्रम सिंहको नेकपा मसाल लगायतका दलहरु पनि राजनीतिक आन्दोलनमा सक्रिय छन्। त्यसमध्ये विप्लव नेतृत्वको नेकपा हिंसापूर्ण क्रान्तिकै माध्यमबाट आमूल परिवर्तनको एजेण्डामा छ।

बैशाख ९ गते, २०७६ - १०:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top