चार खर्बको प्रतिबद्धता
काठमाडौं । नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - २०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।
भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ । उनले भने, ‘भारतीय सरकारले निर्यातमा विभिन्न चरणमा अनुदान दिएको छ । साथै हरेक प्रान्तले आफूआफूबीच प्रतिस्पर्धा गरेका छन् । प्रान्त–प्रान्तबीच कसले बढी अनुदान दिने भन्ने प्रतिस्पर्धाले पनि नेपालमा भारतबाट आउने लगानीमा कम आएको हो ।’ नेपालमा हाइड्रो, पर्यटनबाहेक अन्य क्षेत्रमा विदेशी लगानीले प्राथमिकता नपाउनु अर्काे कारण भएको उनको भनाइ छ ।
नेपालमा भारतीय लगानी २५ वर्षअघिदेखि हुन थालेको हो । अग्रवालले भने, ‘यसको सुरुवात डाबर नेपाल, युनिलिभर नेपाललगायतबाट भएको हो ।’ तर यी उद्योगले नेपालमा लगानी गरेर अन्य देशमा निर्यात गर्ने गरी उत्पादन गर्न सकेका छैनन् । अग्रवालले भने, ‘त्यसका लागि सरकारका तर्फबाट ट्रान्सपोर्टमा अनुदान दिनुपर्ने थियो । नेपालमा उत्पादित सामग्री अन्य देशमा निर्यात गर्न वातावरण सिर्जना हुन्थो ।’
नेपालले वैदेशिक लगानीका लागि उच्च प्राथमिकतामा राखेको जलविद्युत् क्षेत्रमा भारतीय लगानीकर्ताको आकर्षण घटेको संघका अर्का कार्यकारी सदस्य ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । उनका अनुसार भारतले आन्तरिक लगानीको आधार वैकल्पिक ऊर्जाको स्रोत सोलार प्लान्टलाई बनाएको छ । त्यसैले भारतले जलविद्युत्मा चासो नदेखाएको उनको तर्क छ । चीन र बंगलादेशले भने नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न विशेष चासो देखाएका छन् ।
‘हामीलाई जसले लगानी गरे पनि खासै फरक पर्दैन,’ प्रधानले भने, ‘तर दुई ठूला अर्थतन्त्र बोकेका मुलुकबाट फाइदा लिन सक्नुपर्छ । अहिले बजार विस्तार भएको छ । हाइड्रो हाम्रो अनिवार्य लगानीको विकल्प हो ।’
चीन र भारत दुवै छिमेकीलाई केन्द्रित गरेर लगानी आकर्षण गर्नु बुद्धिमानी हुने उद्योगी पवन गोल्यान बताउँछन् । हाइड्रो र कृषि क्षेत्र प्रमुख लगानीको आकर्षणको माध्यम बन्न सक्ने उनको दाबी छ । उनले भने, ‘कृषिको प्राथमिक तहमा विदेशी लगानी भिœयाउनु हुन्न तर प्रशोधन उद्योगका लागि वैदेशिक लगानी आवश्यक देखिन्छ ।’
नेपालमा ९२ देशले लगानी गरिरहेका छन् । तीमध्ये भारतीय उद्योगको संख्या सात सय ३५ छ । चिनियाँ उद्योगको संख्या १४ सय ८४ नाघेको छ । अहिलेसम्म झन्डै तीन खर्ब ५० करोड रुपैयाँ बराबरको भारतीय लगानी प्रतिबद्धता आएको छ ।
चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सञ्चालन गर्ने योजना बनाएपछि चिनियाँ लगानी अत्यधिक बढेको छ । सडक, यातायात, रेल र ऊर्जाका माध्यमबाट व्यापार विस्तार गर्ने सोचका साथ सुरु गरिएको यो परियोजनाले ६४ देशमा चीनको लगानी केन्द्रित छ ।
चीन र भारतका लगानीकर्ताले जलविद्युत्, सौर्य ऊर्जा, सहरी फोहोर व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा भारत निकै अग्रसर रहे पनि २०६९÷७० देखि भने भारतलाई चीनले उछिनेको छ । २०६९÷७० मा चीनले नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानीको २९ प्रतिशत हिस्सा ओगटेको थियो । यो संख्या बढेर २०७०÷७१ मा हङकङबाहेक मुख्य भूमि चीन एक्लैको ३७ प्रतिशत पुग्यो भने हङकङसहित जोड्ने हो भने चीनको कुल लगानी ४० प्रतिशत हुन आउँछ ।
२०७०÷७१ मा ४९ वटा देशले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता गरेका थिए । यसमा चीनले सबैभन्दा धेरै ६ सय ९५ वटा परियोजनामा करिब १८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ मा पुग्दा चिनियाँ लगानी उल्लेख्य वृद्धि भयो । गत आर्थिक वर्षमा चीन मुख्य भूमिको ४९ प्रतिशत र हङकङसहित झन्डै ६८ प्रतिशत पुगेको देखिन्छ ।
२०४९ पछि नेपालले बाह्य लगानीका लागि प्रायः सबै क्षेत्र खुला गरिसकेको छ । नेपालमा चिनियाँ लगानी धेरै हुने क्षेत्र होटल तथा रेस्टुरेन्ट मुख्य हो । गत वर्षमात्रै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको विकासका लागि १३ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
यस्तै चीनले जलविद्युत्मा एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने बताएको थियो । लगानी बोर्डले स्वीकृत गरेका नौ आयोजनामध्ये चीनको हिस्सा ३३ प्रतिशत छ । संख्याका हिसाबले भारतसँग समान छ ।
सन् २०१५ मै अनुमति पाइसकेको होङ्सीले स्वदेशी कम्पनी शिवम्सँगको साझेदारीमा ठूलो क्षमताको होङ्सी सिमेन्ट परीक्षण उत्पादन थालेको लगानी बोर्डले जनाएको छ ।
त्यसबाहेक सिमेन्टकै क्षेत्रमा ह्वासिनले १४ अर्ब लगानी गर्न अनुमति लिएको छ । यसमा हालसम्म करिब एक अर्बभन्दा बढी लगानी भइसकेको छ ।
नेपालमा चिनियाँ लगानी आउन थालेको झन्डै तीन दशक बितिसक्यो । २०५४ को पुस २१ मा तत्कालीन लाल दरबारमा चिनियाँ लगानीमा ‘कुल बिजुली पंखा’ स्थापना भएको थियो । यो उद्योगमा चाइना सिचुवान कर्पोरेसनले लगानी गरेको थियो । कुल बिजुली पंखा उद्योगले वार्षिक ४० हजार पंखा बनाउँथ्यो ।
प्रतिकृया लेख्नुहोस्: