काठमाडौ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ ।
नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ ।
नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको हो । नेपाली काङ्ग्रेसको नर्सरीका रुपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ ।
मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे । नेविसङ्घको पहिलो अध्यक्ष विपिन कोइराला छन् ।
स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको बताउछन् । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उनी भन्छन्।
नेविसङ्घ निवर्तमान केन्द्रीय सदस्य सुनिता पोखरेल पार्टीले निर्माण गर्न लागेको नेविसङ्घको तदर्थ समितिको नेतृत्व महिलाले पाउनुपर्ने बताउछन् । “नेविसङ्घमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जानुपर्छ”, उनी भन्छन् । नेविसङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउछन् । “विधानमा उल्लेख भएअनुसार तत्काल समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसङ्घ जानुपर्छ”, उनी भन्छन् ।
वर्तमान नेतृत्वले आम विद्यार्थीमाझ शैक्षिक मुद्दा लिएर जान नसक्नु र विद्यार्थीलाई निराश पार्ने प्रवृत्तिको काम गरेको उनको भनाइ छ । नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद् भएको बताउछन् ।
“हाम्रै कार्यसमिति निर्वाचन गराउन सक्षम थियो, तर अध्यक्षले कसैसँग छलफल नगरी राजीनामा दिँदा यो अवस्थामा आएको हो”, उनी भन्छन् । पार्टीका नेताको गैर जिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उहाँको भनाइ छ । नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर छ महीनाभित्र महाधिवेशन गराईसक्नुपर्ने बताउछन् । “वडा, स्थानीय, जिल्ला प्रदेश र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ”, उनी भन्छन्।
नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेको थियो भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सकेनन् ।
विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका छन् ।
यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी नेविसङ्घको महाधिवेशन समयमा हुन नसक्नु नेविसङ्घ र पार्टी नेतृत्वको कमजोरी भएको बताउछन् । “पार्टीले तत्काल तदर्थ समिति बनाएर निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्छ”, उनी भन्छन् । विद्यार्थीबीच लोकप्रिय सङ्गठन बनाउने व्यक्तिलाई तदर्थ समितिको नेतृत्व दिनुपर्ने उनको भनाइ थियो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउछन् । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उनी भन्छन् ।
प्रतिकृया लेख्नुहोस्: