/  Fri, November 16, 2018

रचना विधानका आधारमा ‘दाना’ नाटकको विश्लेषण

१ विषय प्रवेश
‘दाना’ नाटक नाटककार खेम थपलिया (वि.सं. २०२७) को प्रकाशित छैँठौँ नाट्यकृति हो । यसअघि उनका ‘युद्ध र शान्ति’ (२०६४), ‘नागार्जुन एक्सप्रेस’ (२०६६), ‘सपनाका सपनाहरू’ (२०७०), ‘प्रगतिवादी एकाङ्की नाटक’ (२०७०), ‘उनी मरेका छैनन्’ (२०७२) नाट्यकृति प्रकाशित भइसकेका छन् । यहाँ थपलियाको ‘दाना’ नाटकको रचना विधानका आधारमा मूल्याङ्कन गरिएको छ ।

२ कथानक
‘दाना’ कार्य कारण शृङ्खला रैखिक ढङ्गमा अघि बढेको नाटक हो । यसमा कथानक क्रमिक रूपमा आदि, मध्य र अन्त्यको शृङ्खलामा विकास भएको छ । यसमा जम्मा नौ दृश्यहरू छन् । यसका प्रत्येक दृश्यहरू निम्नानुसार विकास भएका छन् ।

दृश्य एक: दाना र उसकी पत्नी अमाङ देई चर्को घाममा काम गरिरहेको हुनु, गिट्टी कुट्ने क्रममा अमाङको हात फुट्नु, दानाले पत्नीलाई घर जान भन्नु, अमाङले मालिकले छुट्टी नदिने भएका कारण आफू नजाने कुरा गर्नु, मालिक आउनु, मालिकलाई घटनाबारे बताउनु, मालिकमा मानवता नहुनु, दाना र अमाङलाई बरु समयमै काम सकाउन उर्दी गर्नु, कामदारमध्ये कोही पनि बोल्न नसक्नु, घाइते अमाङ पनि सकी नसकी एकोहोरो गिट्टी कुट्न बाध्य हुनु

दृश्य दुई: अमाङलाई व्यथाले च्याप्नु, अस्पताल जाने सरसल्लाह गर्नु, साहुबाट सयकडा पाँचका दरले दुई हजार ऋण लिएको र उपचारका निम्ति अस्पताल जाने कुरा हुनु, श्रमशील अमाङ आफ्नो श्रमप्रति चिन्तित हुनु, अमाङले छोरी चौलालाई पनि आफूसँगै लैजाने कुरा गर्नु, अमाङले सोनाई र पामेलालाई काकाको घरमा गएर बस्न भन्नु, स्कुल जान नछाड्न भन्नु

दृश्य तीनः अस्पतालमा अमाङको स्वास्थ्य परीक्षण चल्नु, परीक्षको क्रममा अमाङको छातीको एक्सरे गरिनु, डाक्टरले अमाङको एक्सरे हेरिसकेपछि अवस्था नाजुक रहेको र बचाउन नसक्ने जानकारी दानालाई दिनु, अमाङको निधन हुनु, चौला जोडजोडले रुनु, अस्पतालको कर्मचारीले दानालाई लास तुरुन्त लैजान भन्नु, दानाको गोजीमा जम्मा तिन सय हुनु, यति रकमले शव वहानको भाडा नपुग्ने भएपछि दाना बिलखबन्दमा पर्नु, कुनै उपाय नभएपछि दानाले छोरी चौलालाई सामान पोको पार्न भन्दै पत्नीको लासलाई तन्नामा बेरेर अस्पताल परिसरबाट बाहिरिनु, दाना चर्को घामको रापमा पत्नीको लासलाई बोकेर सडकमा हिँड्दै गर्दा सिङ्गो भारत रमिते देखिनु

दृश्य चारः दाना र चौला टट्यानपुर घाममा हिँड्दै गरेको दृश्य हुनु, चौलाको बाल मानसिकतामा पनि अस्पतालको अमानवीय व्यवहारप्रति नकारात्मक भावना उत्पन्न हुनु, सुस्ताउन दुबै रुखमुनि ओत लाग्नु, सुस्ताउने क्रममा दाना अतीतमा पुग्नु, दाना र अमाङबिच भारतमा बढ्दै गएको आपराधिक घटना र गुम्दै गएको मानवीयताको विषयमा कुराकानी हुनु, दाना, अमाङ र चौला मासुभात खाएर रमाइलो गर्ने कुरा गर्नु, यत्तिकैमा झसङ्ग हुनु, यथार्थ बोध भएपछि दानामा असीम पीडा सञ्चार हुनु

दृश्य पाँचः पत्रिका बिक्री गर्ने हकरले दानाको पीडादायक अवस्थाको चित्रण गर्दै पत्रिका बेच्नु, बार किमि दुरी पत्नीको लास बोकेर पैदल पार गरेको घटनाले विश्व मानवता र भारतलाई गिज्याउनु, बहराइनका प्रधानमन्त्री (पिएम) ले दाना परिवारलाई सहयोग गर्ने इच्छा व्यक्त गर्र्नु, यसबारे उनका पिएसँग कुराकानी हुनु, बहराइनका पिएम र उनका पिएका बिच भारतको खोक्रो गरिब मोह, वैदेशिक सहयोग, उदारताका विषयमा आलोचना चल्नु, पिएम मानवताको पक्षमा उभिनु, सहयोग गर्नका निम्ति भारतीय राजदूतावासमा फोन गर्नु

दृश्य छः दाना घटनाबारे विश्वभरि चर्चा चल्नु, खास गरी पत्रकारहरूले खबरलाई विश्वभर भाइरल गरेपछि तरङ्ग उत्पन्न हुनु, नेपालमा पनि यसबारे चर्को बहस चल्नु, यसै क्रममा एउटा अनलाइनका पत्रकारहरू नवराज, राजेश, चिरनका बिच पनि कुराकानी चल्नु, भारत सरकार र त्यहाँको अस्पताल प्रशासनको नागरिकप्रतिको असंंवेदनाप्रति उनीहरू चिन्तित हुनु, नवराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी ध्यानाकर्षण पत्र लेख्नु, त्यसको बेहोरा राजेश र चिरनलाई सुनाउनु, पत्रमा भारतको ढोङी प्रवृत्ति, असंवेदना, निस्सार वैदेशिक सहयोगलाई लिएर चर्को आलोचना गरिएको हुनु

दृश्य सातः नयाँ दिल्लीको प्रबुद्ध वर्गबिचमा पनि दाना घटनाबारे बहस चल्नु, बहसमा प्रमोद, सन्तोस, सुधिरकुमार, अनुपकुमार, शिवचरण, सौरभले आआफ्ना विचार राख्नु, उनीहरूले भारतीय प्रधानमन्त्रीको अभिभावकत्व, अस्पताल प्रशासनको उदासीनता, विश्व समुदायले देखाएको सद्भाव, मानवीयता, पत्रकारको उत्तरदायित्वमूलक पत्रकारिता, सरकारको जवाफदेहिता, बहराइन प्रधानमन्त्रीको हार्दिकता, मानवीय संवेदनाका बारेमा कुराकानी गर्नु, सरकार र व्यवस्थाप्रति सबैले आक्रोश व्यक्त गर्नु

दृश्य आठः दानाले पत्नीको लासलाई बोकेर बार किमि दुरी पार गरिसकेको हुनु, उनको समाजले पागल घोषणा गरेको व्यक्तिसँग भेट हुनु, कुकुर भुकिरहेको हुनु, पागल पात्रले समाज पागल भएको भनी निर्दोष, उत्पीडित वर्ग, जाति र समुदायलाई पागल करार दिने समाजप्रति कटु व्यङ्ग्य प्रहार गर्नु, स्थानीय क्लबका स्वयंसेवकहरू आउनु, दानालाई सहयोग गरी स्थानीय क्लबले मानवीयताको उदाहरण दिनु

दृश्य नौः दानाको घरमा अमाङप्रति श्रद्धाञ्जली दिने कार्यक्रम हुनु, कार्यक्रममा जितेन्द्र मोदी, सिपी सिंह, सोनालाल जस्ता समाज सेवी एवम् राजनीति कर्मी सहभागी हुनु, कार्यक्रममा सारतः भारतका आदिवासी, गरिब, उत्पीडित वर्गको अवस्थाप्रति विचारहरू राखिनु, पटक पटक यी र यस्तै प्रकृृतिका घटनाहरू बाहिर आए पनि भारत सरकारबाट वर्गीय मुक्तिका निम्ति खासै प्रयास नभएको प्रति सबैले दुःख व्यक्त गर्नु, आगामी दिनमा कुनै पनि भारतीयले यस किसिमको घटना भोग्न नपरोस् भन्ने कुरामा सबैले एक मत हुँदै विचार व्यक्त गर्नु

यस नाटकका यी दृश्यका कथानक हेर्दा मूल घटनाको आरम्भ बिन्दु– अमाङ बिरामी परेर अस्पताल जाने निर्णय गर्नु, विकास भाग– अस्पतालमा अमाङको उपचार सम्भव नहुनु, यही कारण अमाङको दुःखद् निधन हुनु, उत्कर्ष भाग– अस्पतालको कर्मचारीले कराएपछि, पत्नीको लास लैजाने पैसासमेत नभएपछि दानाले लासलाई तन्नामा बेरेर अस्पतालबाट बाहिरिनु, नियताप्ति– विभिन्न पत्रकार, प्रबुद्ध वर्ग, राष्ट्रमा दाना घटनालाई लिएर बहस गर्नु, बहराइन प्रधानमन्त्रीले सहयोगको घोषणा गर्नु, स्थानीय क्लबले दानालाई लास गाउँ लैजान सहयोग गर्नु, निष्कर्ष– दानालाई सहयोग उपलब्ध हुनु, अमाङको श्रद्धाञ्जली सभामा विभिन्न विद्वान्ले आफ्ना विचार राख्नु, भारतमा गरिबको अवस्था र विश्वमा विद्यमान मानवताका विषयमा कुराकानी हुनु रहेको छ ।

३ पात्र वा चरित्र
‘दाना’ नाटकमा मानवीय पात्रका रूपमा दाना, अमाङ देई, चौला, मालिक, सोनाई, पामेला, डाक्टर, बी ब्रह्मा, कर्मचारी, हकर, बहराइन प्रधानमन्त्री, उनका पिए, नवराज, राजेश, चिरन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमोद, सन्तोष, सुधिरकुमार, अनुपकुमार, शिवचरण, सौरभ, पागल, चालक, स्थानीय क्लबका स्वयंसेवकहरू, जितेन्द्र मोदी, सिपी सिं.ह, सोनालाल रहेका छन् भने मानवेतर पात्रका रूपमा कुकुर, लास रहेको छ । यस हिसाबले यो नाटक बहु सङ्ख्यक पात्र योजना भएको नाटक हो । नाटकको नायक वा मुख्य पात्रको रूपमा दाना छन् । उनी र उनको परिवार भारतको उडिसा राज्यमा मजदुरी गरेर जीवन निर्वाह गर्छन् । उनीसँग पत्नीको उपचार गर्ने पैसा पनि छैन । गरिबीको चरम् सङ्कट र सङ्कष्टले उनी र उनको परिवारलाई गाँजेको छ । अमाङ नाटककी नायिका हुन् । चौला र अमाङ नाटकमा सहायक भूमिकामा दखा परेका पात्रहरू हुन् । मालिक, कर्मचारी प्रतिकूल भूमिकामा देखिएका छन् भने बाँकी अन्य पात्रहरू अनुकूल भूमिकामा छन् । नाटकको कथानक दानासँगै अघि बढेको छ । उनी केन्द्रीय पात्र हुन् । दाना, अमाङ, चौला, सोनाई, पामेला, हकर, पागल, चालक निम्न वर्गीय पात्र हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कुकुर अमञ्चीय पात्र हुन् ।

४ संवाद
‘दाना’ मा भारतीय कथावस्तु र परिवेश भए पनि संवादमा नेपालीकरण गरिएको छ । नाटक गद्य शैलीको संवादले बनेको छ । नाटकको आठौँ दृश्यमा कवि निभा शाहको ‘मनसरा’ कविता सङ्ग्रहका दुई कविता अंश समावेश गरिएको छ । एउटा अंशले वर्गीय चेतनालाई प्रस्तुत गरेको छ भने अर्को अंशले नारीवादी चेतनालाई प्रस्तुत गरेको छ । नाटकका संवाद छोटा, छरिता छन् । कथ्य नेपालीको प्रयोगले नाटकलाई जीवन्तता प्रदान गरेको छ । नाटकमा प्रयोग हुने पाश्र्वस्वर, पाश्र्व सङ्गीत, कविता आदिको विकास संयोजित ढङ्गको छ ।

५ परिवेश
‘दाना’ नाटकमा भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक, आर्थिक, मानसिक परिवेश अटाएको छ । मजदुरहरू काम गर्ने स्थान, उडिसाको एउटा गाउँ, अस्पतालदेखि दानाको घर आउने सडक आसपासको प्रकृति, बिहान, दिउँसो, बेलुकीको अवस्था, भौगोलिक, प्राकृतिक परिवेश हुन् । यस्तै सामाजिक, सांस्कृतिक परिवेशका रूपमा धर्मलाई कल्याणसँग जोड्दा पतिधर्म, पत्नीधर्म, राज्यधर्म, मानव धर्म, परिवारका सदस्यको धर्म जस्ता धार्मिक संस्कृति प्रस्तुत भएको छ । मृत्यु उपरान्त आफ्नै गाउँमा लास सद्गद् गर्नुपर्ने, मृत्यु संस्कार आफ्नै गाउँमा गर्नुपर्ने जस्ता सांस्कृतिक परिवेश पनि नाटकमा आएको छ । एक्काइसौँ शताब्दीको दोस्रो दशक भइसक्दा पनि मानिसमा सभ्यताको विकास हुन नसकेको तितो यथार्थलाई अस्पतालको कर्मचारीको व्यवहारबाट प्रस्तुत गरिएको छ । मानवले मानवलाई मानवको जस्तो व्यवहार ठान्नु नै मानवता हो । यहाँ पत्नीको लास बोकेर सडकै सडक नाङ्गो खुट्टा फुटेको पैताला लिएर हिँड्दा भुक्ने कुकुर र अस्पताल कर्मचारीमा फरक देखिँदैन । भारतीय सिमान्तकृत आदिवासी समुदायको मात्र नभई समग्र भारतीय विपन्न वर्गको आर्थिक परिवेशलाई नाटकले प्रस्तुत गरेको छ । यस्तै आन्तरिक र बाह्य परिवेशलाई पनि नाटकले राम्रोसँग चित्रण गरेको छ । भोक, रोग र शोकसँगको दाना परिवारको लडाइँ बाह्य परिवेशको रूपमा आएको छ । पत्नीको मृत्युपछि दानाको मस्तिष्कमा आएको मानसिक छटपटी आन्तरिक परिवेशको रूपमा देखा परेको छ । मञ्चीय हिसाबमा नाटकलाई मञ्चन गर्न उपयुक्त हुने आधारमा विकसित गरिएको छ । मञ्चीय र नेपथ्यको उचित संयोजन गरिएको छ ।

६ उद्देश्य
‘दाना’ नाटकको मुख्य उद्देश्य भारतमा भएको चरम् आर्थिक असमानता र त्यही असमानताले गरिब सर्वहारा वर्गमा पारेको आर्थिक सङ्कटबाट उत्पन्न विकराल समस्याको चित्रण गर्नु रहेको छ । दाना परिवार मजदुर निम्न वर्गीय परिवार हो । पौष्टिक आहार खान नपाएर क्षयरोगको सिकार हुन पुगेकी अमाङ बेलैमा औषधी उपचार नपाएर मर्न पुगेकी छन् । समाजमा एकातिर पुँजीपति, दलाल, शोषक वर्ग विद्यमान छ भने अर्कोतिर मजदुर, श्रमजीवी, शोषित वर्ग छ । पुँजीपतिहरू नाफामुखी भएका छन् । निम्न वर्गीय मजदुर किसानको ज्यान चाहिँ ज्यानै होइन भने जसरी उनीहरू आफ्नो फाइदाको पछि मात्रै लाग्दछन् ।

भारत आफूलाई दक्षिण एसियाको शक्तिशाली राष्ट्र सम्झन्छ । आफ्नो देशका नागरिकहरूको न्यूनतम आवश्यकताहरूको ग्यारेन्टी गर्न नसक्ने भारतले अन्य मुलुकलाई सहयोग गरेको स्वाङ गर्दछ । भारतले अरूकोे चिन्ता छोडेर आफ्नो देशका नागरिकहरूको चिन्ता गर्दा उपयुक्त हुने हो तर यस्तो भइरहेको छैन । भारतमा दैनिक हजारौँ अमाङले ज्यान गुमाइरहेका छन् भने हजारौँ दाना परिवार अभावले पिल्सिरहेका छन् । मानवता र संवेदना भन्ने कुरा सिमानाका काला रेखाहरूले छुट्टिन सक्दैन । भारतमा दानाको अवस्थाप्रति बहराइन प्रधानमन्त्री, नेपाली पत्रकार र भारतीय स्वयंसेवकले प्रस्तुत गरेको मानवतावादी भाव अनुकरणीय बनेको छ । मानवतावादी विचार, वर्गीय उत्पीडन, भारतको खोक्रो वैदेशिक सहयोगको पर्दाफास, वर्गीय चेतनाको विकास, वर्गीय ध्रुवीकरण, भारतको वस्तुस्थिति प्रस्तुत गर्न प्रस्तुत नाटक सक्षम बनेको छ ।

७ भाषाशैली
‘दाना’ सरल, सहज र सम्प्रेष्य भाषाशैलीमा रचना भएको नाटक हो । भारतीय कथावस्तु भएर पनि नेपाली मौलिकीकरणले नाटकको भाषाशैली सशक्त बनाउन थप सहयोग पु¥याएको छ । पात्रका संवाद नेपाली बोलीचालीबाट विकसित भएका संवाद हुन् । पात्रका नाम भारतीय भए पनि तिनका संवेदना नेपालीका संवेदनासँग एकाकार भएको छ । गद्य संवाद प्रमुख शैलीको रूपमा आएको छ भने कतैकतै ध्वनि, कविता वा वर्णनका रूपमा पनि नाटक अघि बढेको छ । नेपाली, आगन्तुक, संस्कृत आदि शब्दलाई पात्रको स्तरअनुसार संयोजन गरिएको छ ।

८ निष्कर्ष
‘दाना’ कूल नौ दृश्यमा रचना भएको नाटक हो । यसको आदि, मध्य र अन्त्यको शृङ्खला मिलेको छ । यसको कथानकको कार्य कारण शृङ्खला रैखिक ढङ्गमा अघि बढेको छ । भारतको उडिसा राज्यस्थित दाना र उनको परिवारले भोग्नुपरेको यथार्थ घटनामा आधारित भएर नाटकको सृजना गरिएको छ । नाटक बहु सङ्ख्यक पात्र योजना गरिएको नाटक हो । यसको मुख्य पात्रको रूपमा दाना आएका छन् । उनी नाटकका नायक हुन् । अमाङ नाटकको सहायक तर नायिका हुन् । उनको लासकै सन्दर्भमा नाटकको कथानक अघि बढेको छ । चौला मुख्य सहायक पात्र हुन् । अन्य पात्रहरू सहायक, गौण रूपमा आएका छन् । नाटकको संवाद पात्र अनुकूल रहेको छ । भारत, बहराइन, नेपाल मुख्य यसका परिवेश क्षेत्र हुन् । यसमा विश्व मानवतावाद, वर्गीय समानता, भारतीय सिमान्तकृत आदिवासी जनताको स्थिति, भारतीय सरकारको ढोङ, अस्पतालको लापरवाहीलाई प्रस्तुत गरिएको छ । भाषाशैली सरल, सम्प्रेष्य रहेको छ ।

hamroashok@gmail.com

कात्तिक १३ गते, २०७५ - १५:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त...   

छि हामि कस्ता मान्छे ! नुहाउँदा पनि कति कोलाहल

काठमाडाैं । नेकपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...   

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुरेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ...   

मुख्यमन्त्री डोरमणिले प्रतिक्रियाः घर बनाउन अाईएनजिओको पैसा लिएको छैन्

काठमाडाैं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी...   

क्रिकेट खेलाडीलाई सम्मान

कञ्चनपुर । राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज...   
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा...   

ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु...   

बैतडीमा नेकपाको एकताः ६ स्थानमा पूर्वएमाले, ४ स्थानमा पूर्वमाओवादीको नेतृत्व

बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट...   
हात खुट्टामा मुसा आए यसो गरौं

हात खुट्टामा मुसा आए यसो गरौं

-शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले...   
चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top