सुर्खेत, ३ भदौ । तत्कालिन नेकपा(माओवादी)का पूर्व लडाकूका शरीरमा रहेका गोली निकाल्न नसक्दा १५ वर्षदेखि उनीहरु पीडामा बाँचिरहेका छन् । आर्थिक अभावका कारण १५ वर्ष पहिले लागेको गोली अझै निकाल्न नसकिएको उनीहरुको गुनासो छ । बारम्बार उपचार खर्च जुटाउने प्रयास गरेपनि ती पूर्व लडाकु सफल हुन नसकेका हुन् । कुशेगाउँपालिका–३ साविकको (अर्छानी–१ गैराभौता) जाजरकोटका लीलाराम जैसीको टाउकोमा रहेको १५ वर्षअघिको गोली अझै निकाल्न सकिएको छैन । युद्धको चोटसँगै गोली पनि बोकेर बस्नुपर्ने बाध्यता छ, उनलाई । आर्थिक अभाव कारण उनको टाउको तथा दायाँ खुट्टाको जोर्नीमा र दायाँ पेटमा रहेको गोली अहिलेसम्म निकाल्न सकिएको छैन । जैसी अहिले बसे उठ्न नसक्ने र उठे बस्न नसक्ने अवस्थामा छन् । शारीरिकरुपमा अशक्त जैसीले आर्थिक अभाव झेल्नु परेकाले आफ्नो शरीरमा रहेका गोली निकाल्न नसकिएको हो । तत्कालीन माओवादी जनसेनाको छैँटौ डिभिजन, पिलि स्मिति बिग्रेड तथा १० नं बटालिनका कम्पनी कमाण्डर रहेका जैसी बर्दियाको रम्बापुर र गणेशपुर तथा कपिलवस्तुको तौलिहवा, सल्यानको दमाचौर र जुम्लाको लडाइँमा सहभागी थिए । उनी जुम्लाको लडाइँमा घाइते भएका हुन् । विसं २०५६ मा भूमिगत हुनुभएका जैसी ३३ वटा लडाइँमा सहभागी भएका थिए । आफूसँग भएको पैसाले जाँच गर्नमात्र सम्भव भएकाले जाँच गराएको तथा थप पैसा नहँुदा समस्या भएको जैसीले गुनासो गरे । “काठमाडौँका डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताएपछि उपचारमा लाग्ने रकम आफूसँग नहुँदा अहिलेसम्म टाउको तथा अन्य शरीरमा रहेका गोली निकाल्न समस्या भएको छ,” उनले भने । जैसीलाई घरको आर्थिक अवस्था कमजोर भएकाले परिवार पाल्न पनि धौधौ भएको छ । जैसीका अनुसार गाउँमा भएकोे थोरै जमीन पनि बन्दकी राखेर पनि उपचार नहुने भएपछि ब्याजमा खर्च जुटाउन खोजे कसैले पनि दिएनन् । पैसाकै कारण उपचार रोकियो । जैसी भन्छन् –केही गर्न सक्ने हँुदा पार्टीको काममा लगियो, धेरै लडाइँ लडियो अब १५ वर्षदेखिका गोली निकाल्न नसक्दा पार्टीले कुनै वास्ता गरेन । उनले आफ्नो टाउको तथा शरीरमा रहेका गोली निकाल्न समस्या भएको भन्दै आवश्यक सहयोग तथा पहल गरिदिन सबैमा आग्रहसमेत गरे । त्यस्तै दैलेख महावु गाउँपालिका काशीकाँधका टेकबहादुर शाही रुकुमको खारामा पहिलो पटक घाइते भए । उनको टाउको, कम्मर र छातीमा लागेको छवटा गोली अझैसम्म निकाल्न सकिएको छैन । विसं २०५७ मा तत्कालीन माओवादी जनसेनामा भर्ती हुनुभएका शाही रुकुमको खारा, दाङ घोराही, रोल्पाको गाम, डोल्पाको दुनैलगायतका दर्जनौँ लडाइँ सहभागी थिए । शरीरमा भएका गोली निकाल्न भारतको लखनउ जाँदा भारु नौ लाख लाग्ने बताएपछि पैसा नहुँदा उपचार नगराई फिर्ता भएको शाहीले बताउनुभयो । उनी भन्छन् –सम्पत्तिका नाममा दुई रोपनी जग्गा छ । यति ठूलो रकम गाउँमा कसैले सापटी दिँदैनन् कसरी शरीरमा भएको गोली निकाल्नु । गोलीका घाउ वर्षात्को समयमा भन्दा हिउँदको समयमा दुख्ने गर्छ । उनको पेटमा २५ वटा टाँका लगाइएका छन् । शाहीले भने, “घरको आर्थिक अवस्था कमजोर भएकाले अहिलेसम्म पनि आफ्नो शरीरका गोली निकाल्न सकिएको छैन ।” शाही र जैसीमात्रै होइन अधिकांश पूर्व लडाकूको अवस्था यस्तै छ । अरुलाई रेखदेख गर्ने सेनाका कमाण्डर उपचार नहुँदा आफैँ पीडित भएका छन् । टाठाबाठाले पहुँचको प्रयोग गरेर उपचार गराएको आफ्नो पहुँचको नेता नहुँदा उपचार नभएको शाही र जैसीको गुनासो छ । आफूभन्दा कम घाइते भएका तथा कम रकम लाग्नेलाई पार्टीले सहयोग गरेको र आफूलाई सहयोग नगरेको उनीहरुको गुनासो छ । जैसीका अनुसार पार्टीका नेतासँग पटक÷पटक उपचारको व्यवस्था मिलाइदिन निवेदन दिए पनि सुनुवाइ भएन । दिन प्रतिदिन शरीरमा रहेका गोलीले शरीर तथा टाउको दुखिरहने हुँदा केही कामकाज गर्न पनि नसकिएको घाइते लडाकूको भनाइ छ । शरीरको गोली निकाल्दा आफूलाई नयाँ जुनी मिल्ने भन्दैै उनीहरुले उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । रासस
प्रतिकृया लेख्नुहोस्: