/  Fri, April 27, 2018

‘नेपाली वनस्पतिशास्त्रका पिता’: फ्रान्सिस व्युकानन-हयामिल्टन

नेपालमा व्युकानन-हयामिल्टन र उनको टोलीले संकलन गरेको बिरुवा सुनाखरी (डेंड्रोब्रियम डेंसिफ्लोरम) को हर्बेरियम नमुना

आज भन्दा झण्डै २१६ वर्ष अघि एकजना स्कटिश चिकित्सक भारतको कलकत्ता शहरबाट एउटा टोलीसँगै नेपाल प्रस्थान गरे। एक महिनाभन्दा लामो पैदल यात्रा पछि उनीहरु काठमाडौं पुगे ।

भारत त्यसबेला ब्रिटिश शासन अन्तर्गत थियो। कलकत्तास्थित गभर्नर जनरलको आदेश पछि ४० वर्षीय फ्रान्सिस व्युकानन-हयामिल्टन बंगाल क्याभलरीका क्याप्टेन विलियम डि नक्सको नेतृत्वमा नेपाल जान लागेको राजनीतिक मिशनमा सामेल भए। उनी जाडोयाममा डुँगामा बिहारको पटना आए जहाँ उनको क्याप्टेन नक्ससँग भेट भयो। टोलीका अन्य सदस्यहरुमा एकजना भूगोलविद् क्याप्टेन चार्ल्स क्रफोर्ड तथा भूगर्भविद् ब्लेक थिए। बोटबिरुवा संकलन गर्ने काममा व्युकानन-हयामिल्टनलाई कलकत्ताबाट आएका बाबु रामाजाइ भट्टाचार्जीले सघाएका थिए ।

युरोपेली तथा भारतीय सैनिकहरु बराबरी संख्यामा रहेका भारतीय सेनाका दुईवटा टुकडीको सुरक्षामा त्यो टोली १२ जनवरी १८०२ मा नेपालको सीमातर्फ प्रस्थान गर्‍यो। नेपाल जाने अनुमति पर्खेर उनीहरुले कैयौं दिन त्यहीं बिताए। बाटोमा भेटिएका सबैखाले वनस्पतिहरु संकलन गर्ने र तिनको अभिलेख राख्‍ने काम फ्रान्सिस व्युकानन-हयामिल्टनले शुरु गरिसकेका थिए ।

आफूलाई सो काममा सघाउन थप सहयोगी आवश्यक पर्ने ठानेर उनले रक्सबरोलाई पत्र लेखे। त्यसबेला कलकत्तास्थित बोटानिक गार्डनका कोही पनि नेपाल जान नरुचाउने भएकाले रक्सबरोले आफ्नै छोरा विलियम रक्सबरोलाई सो टोलीमा सामेल हुन पठाए।

आवासीय नियोग

सन् १८०१ मा इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच भएको व्यापार सन्धिका कारण नेपालीहरु ब्रिटिशहरुसँग खुसी थिएनन्। सो सन्धिमा उल्लेखित नेपालमा ब्रिटिशहरुको आवासीय नियोग राख्‍न दिने प्रावधानसँग नेपाली शासकहरु खुसी थिएनन्। त्यसैले क्याप्टेन नक्सले नेतृत्व गरेको टोलीले काठमाण्डूसम्म आउने अनुमति पाउन कैयौं साता सीमामै बिताउनुपर्यो।

व्युकानन-हयामिल्टन र उनको टोलीले संकलन गरेको यो बिरुवा कुफ्रे (होमालियम नेपालेंस) को चित्र उनीसँगै गएका एक चित्रकारले बनाएका थिए

त्यसबेला नेपालको तराईमा व्याप्त औलोका कारण विदशीहरु लामो समय बिताउन रुचाउँदैनथे। अन्तत: काठमाण्डूबाट अनुमति आएपछि त्यो टोली ३० मार्चमा अमलेखगञ्ज पुग्यो। त्यसपछि हेटौंडा र चित्लाङ हुँदै १५ एप्रिलमा टोली थानकोट आइपुग्यो। थानकोटबाट काठमाण्डू उपत्यका हेर्दा फ्रान्सिस व्युकानन-हयामिल्टन खासै प्रभावित भएनन्। त्यहाँबाट पठाएको पत्रमा उनले लेखे, “हामी हिजो यहाँ आइपुग्यौं। यहाँबाट हेर्दा काठमाण्डू नांगो, कुरूप उपत्यकाजस्तो देखिन्छ जुन कृषिमा सुधार गरिनुअघिको स्कटल्याण्डजस्तै लाग्छ।”

तर पछि भने उनले काठमाण्डू उपत्यकाको प्राकृतिक सौन्दर्य र वनस्पतिको खुलेर प्रशंसा गरे।

१७ एप्रिल १८०२ मा सो टोली काठमाण्डू आइपुग्दा उनीहरुलाई बस्नका लागि हाल नारायणहिटी दरबार रहेको स्थान नजिकै ब्रिटिश आवासीय नियोग स्थापना गर्न एउटा ठूलो घर दिइएको थियो। नेपालीहरु ब्रिटिशहरुलाई रुचाउँदैनथे र उनीहरुलाई एकपटक मात्रै काठमाण्डू उपत्यका बाहिर जान अनुमति दिइयो।

फ्रान्सिस व्युकानन-हयामिल्टनले नेपालमा के गरे ?

व्युकानन-हयामिल्टनले उनको टोलीमा रहेका भारतीयहरु तथा स्थानीय बासिन्दाको सहयोगबाट थुप्रै बोटबिरुवाहरु संकलन गरे। उनले विभिन्न बोटबिरुवाका झण्डै १,१०० प्रजातिहरुको अभिलेख तयार गरे जसमध्ये ८०० प्रजाति विश्वमै पहिलोपटक फेला परेको ठानिन्छ। झण्डै ११ महिना लामो आफ्नो नेपाल बसाइँका क्रममा व्युकानन-हयामिल्टनले राजनीतिक प्रकृतिका सूचना पनि संकलन गरेको बताइन्छ। तर उनको सम्झना भने नेपाली वनस्पतिको संकलन र वैज्ञानिक अभिलेखीकरणका लागि नै गरिन्छ।

व्युकानन-हयामिल्टन र उनको टोलीले संकलन गरेको यो बिरुवा अंगेरी (लायोनिया ओभलिफोलिया) नेपालको मध्य पहाडी भेगमा पाइन्छ

उनको बारेमा अध्ययन गरेका रोयल बोटानिक गार्डेन एडिनबराका एकजना वनस्पतिविद् डा. मार्क वाटसन भन्छन्, “पेशाले एक चिकित्सक भएपनि व्युकानन-हयामिल्टनले वनस्पतिशास्त्रको पनि गहिरो अध्ययन गरेका थिए।”

डा. वाटसनका अनुसार उनले कलकत्तामा हरेक बिरुवाका नमुनाको छुट्टाछुट्टै अनुक्रमणिका (इन्डेक्स स्लीप) बनाएका थिए। त्यसमा त्यो बिरुवा कहाँबाट ल्याइएको हो, त्यसको जरा, हाँगा, फल वा फूल सम्बन्धी जानकारीका साथसाथै त्यसको हिन्दुस्तानी, नेवारी र पर्वते नाम पनि उल्लेख गरिएको छ।

व्युकानन-हयामिल्टनसँगै नेपाल गएका नाम नखुलेका एक भारतीय चित्रकारले संकलित बिरुवाहरुको चित्र बनाएका थिए। ती सक्कल चित्रहरुको संकलन अहिले पनि लण्डनस्थित द लिनियन सोसाइटीमा सुरक्षित राखिएको छ।

धेरै मानिसहरु फ्रान्सिस व्युकानन-हयामिल्टनलाई भारत, नेपाल र बर्मामा प्राकृतिक इतिहासका अन्वेषकको रुपमा चिन्दछन्। तर भारतमा बौद्ध धर्मको पुनरुत्थानमा उनले गरेको खोज निकै महत्त्वपूर्ण थियो,” डा. वाटसन भन्छन्।

त्यस्तै रोयल बोटानिक गार्डन, एडिनबरामै कार्यरत वनस्पतिशास्त्री डा. भास्कर अधिकारीले भने, “डा. फ्रान्सिस व्युकानन-हयामिल्टनले संकलन गरेका वनस्पतिहरु नेपालकै पहिलो वनस्पति संकलन थियो र ती विज्ञानका लागि नयाँ थिए। उनले नेपाली वनस्पतिको विविधताबारे बाँकी विश्वलाई थाहा दिए, त्यसैले उनलाई ‘नेपाली वनस्पतिशास्त्रका पिता’ पनि भनिएको हो।”

फ्रान्सिस व्युकानन-हयामिल्टनले नेपाल भमण गरेको २१६ वर्ष पछि पनि नेपाल तथा ब्रिटेनबीच वनस्पतिको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको काम चलिरहेकेा छ। ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गत अक्टोबर महिनामा एक समारोहका बीच रोयल बोटानिक गार्डन, एडिनबरा (आरबिजिइ) स्थित नेपाली बगैंचाको उद्घाटन गरेका थिए। त्यस्तै आरबिजिइले ललितपुर, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा जैविक विविधता बगैंचा स्थापना गर्न सघाएको थियो।

रोयल बोटानिक गार्डन, एडिनबराले अहिले पनि नेपालको वनस्पतिसम्बन्धी अनुसन्धानको काम जारी राखेको छ र नेपाल सरकारसँगको सहकार्यमा ‘फ्लोरा अफ नेपाल’ नामक पुस्तक प्रकाशनमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ। १० भागमा प्रकाशन गर्ने योजना बनाइएको सो पुस्तकको अहिलेसम्म पहिलो भाग प्रकाशित भइसकेको छ र बाँकी भागहरु प्रकाशन गर्न नेपालको वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय वनस्पति विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान (नाष्ट) तथा सोसाइटी अफ हिमालयन बोटनी, जापानले सहकार्य गरिरहेका छन्।

फ्रान्सिस व्युकानन-हयामिल्टन को हुन् ?

फ्रान्सिस व्युकानन-हयामिल्टनको जन्म १५ फेब्रुअरी १७६२ मा स्कटल्याण्डको ग्लास्गो शहरभन्दा केही उत्तर ब्रान्जियट भन्ने ठाउँमा भएको थियो। उनले एडिनबरा विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नातक उत्तीर्ण गरे। पेशाले चिकित्सक भएपनि उनी बहुमुखी प्रतिभाशाली व्यक्ति थिए। उनलाई वनस्पतिशास्त्र, प्राणीशास्त्र, भूगर्भशास्त्र, समाजशास्त्र, इतिहास, कला लगायतका विषयमा गहिरो अभिरुचि थियो।

उनले नेपालबाहेक भारत र बर्माका वनस्पतिका बारेमा पनि वैज्ञानिक अनुसन्धान गरेका थिए। उनले बर्मामा संकलन गरेका बिरुवाहरुको हर्बेरियम र विभिन्न बोटबिरुवाका ५५ वटा चित्र कलकत्तामा इस्ट इण्डिया कम्पनीका अधिकारीहरुलाई बुझाएका थिए।

सन् १८१५ मा स्कटल्याण्ड फर्केपछि उनी एडिनबरा विश्वविद्यालयको प्राकृतिक इतिहास समाजका संस्थापक सदस्य बने। उनले आफुले संकलन गरेर ल्याएका सामग्री लण्डनस्थित द लिनियन सोसाइटीका मिस्टर स्मिथलाई दिएका थिए, जहाँ अहिले पनि ती सामग्री सुरक्षित साथ राखिएका छन्। स्मिथले फ्रान्सिस व्युकानन-हयामिल्टनले संकलन गरेर ल्याएका केही बिरुवाहरुको बारेमा उनको पुस्तक ‘एक्जोटिक बोटनी’ मा उल्लेख गरेका छन्। तर धेरैजसो बिरुवाहरुका बारे उनले संकलन गरेको जानकारी अझै अप्रकाशित छन्।

झण्डै ११ वर्ष अघि अनुसन्धानको सिलसिलामा लण्डन आएका बेला द लिनियन सोसाइटीकी पुस्तकालय प्रमुखले डा. वाटसनलाई व्युकानन-हयामिल्टनले संकलन गरेका सामग्रीहरु अहिलेसम्म पनि जस्ताको तस्तै रहेको र त्यसलाई कसैले खोलेर पनि नहेरेको बताइन्। त्यसपछि डा. वाटसनले उनीहरुकै उपस्थितिमा ती सामग्री खोलेर तिनको अध्ययन शुरु गरे। सो अध्ययनका आधारमा उनले लेखेको लेख ‘एनल्स अफ साइन्स’ नामक जर्नलमा छापिएको छ।

आफ्नो जीवनका अन्तिम दिनसम्म पनि फ्रान्सिस व्युकानन-हयामिल्टन लेख्‍न, पढ्न र अनुसन्धानमा सक्रियत थिए। आजीवन अन्वेषण कार्यमा संलग्न रहँदै आएका उनको सन् १८२९ मा ६७ वर्षको उमेरमा निधन भयो। बीबीसी

 

 

चैत १५ गते, २०७४ - ११:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि...   
अलपत्र परेका ३० नेपालीको उद्धार

अलपत्र परेका ३० नेपालीको उद्धार

  काठमाडौं । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने...   
सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

काठमाडौं । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट...   
उन्नतीस अंकले घट्यो शेयर बजार

उन्नतीस अंकले घट्यो शेयर बजार

  काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर...   
बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवल । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी...   
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई...   
आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव...   
अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

भारत । दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड...   

जहाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द भयो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द...   
कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top