Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्ता छन् अदालतको १४ प्रश्न: गोविन्द केसीको १४ उत्तर

\"\"फैसलाको आलोचना हो, अदालतको होइन’ अदालतको अवहेलना गरेको अभियोगमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा. गोविन्द केसीले न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेसमक्ष दिएको बयान अाजको नयाँ पत्रिकामा छापिएको छ । प्रश्न १ : हजुरको बाजेबुबाको नाम, थर र हजुरको नाम, थर, वतन र पेसा के हो ? डा. केसी : मेरो हजुरबुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा. गोविन्द केसी हो । पेसाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ । प्रश्न २ : हजुरको स्वास्थ्य स्थिति के कस्तो छ ? कुनै शारीरिक र मानसिक रोग छ या छैन ? आज इजलाससमक्ष बयान दिन सक्नुहुन्छ या हुन्न ? डा. केसी : म हिजोदेखि अनशनमा रहेको हुँदा मुटुको धड्कन बढेको महसुस भएको छ । छाती दुखेको छ । अरू कुनै शारीरिक र मानसिक रोग छैन । बयान दिन सक्छु । प्रश्न ३ : तपाईं आज सर्वोच्च अदालतमा किन उपस्थित हुनुभएको हो ? डा. केसी :  मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो, मलाई थाहा दिइएको छैन र पनि तपाईंले सोधेको प्रश्नको जवाफ दिन तयार छु । प्रश्न ४ :  हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नुभएको छ या छैन ? डा. केसी : छ । प्रश्न ५ : यस प्रतिवेदनमा पेस भएका समाचार सामग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ– सो व्यहोरा तपाईंको हो–होइन ? तपाईंले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईंलाई लाग्छ या लाग्दैन ? डा. केसी : अनलाइन र सेतोपाटीलगायत खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ । प्रेस विज्ञप्ति ०७४ पुस २४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुने गरी अशिष्ट र अमर्यादित तवरले प्रकाशित गरेको होइन, अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरे जस्तो मलाई लाग्दैन । प्रश्न ६ : तपाईंले के–कति आधार र कारणबाट त्यस्तो अभिव्यक्ति दिनुभएको हो ? डा. केसी : सम्माननीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गर्नुभएको निर्णय र कार्यहरूले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ । प्रश्न ७ : तपाईंले ६ नम्बरको जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्य न्यायालयको मानमर्दन भएको भन्नुभयो, यसमा पुष्टि गर्ने आधार वा प्रमाण केही छ ? डा. केसी : प्रेस विज्ञप्तिमा उल्लेख भएका मुद्दा नै मेरा आधार र कारण प्रस्ट्याउन पर्याप्त छन् । सोका अलावा पाना २ को ०७४ पुस २५ को दस्ताबेजको विवरण पेस गरेको छु, त्यसले वास्तविकता प्रस्ट्याउनेछ । अनलाइनबाट प्राप्त दुईप्रति नागरिकतासमेतको प्रतिलिपि पेस गरेको छु । सोलाई आधार मानी पाऊँ । सो नागरिकता सम्माननीय प्रधानन्यायाधीशको हो । प्रश्न ८ : अदालतले संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन गर्छ भन्ने तपाईंलाई थाहा छ या छैन ? अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजायसमेत हुन्छ भन्ने तपार्इंलाई थाहा छ कि छैन ? डा. केसी : अदालतको अवहेलनामा सजाय हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्छु । अदालतको घृणा हुने अभिव्यक्ति मैले दिएको छैन । प्रश्न ९ : तपार्इंले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायाधीश भनी उल्लेख गर्नुभएको छ, यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुने खालको होइन र ? हजुरको यस्तो शब्दले अदालतको सम्मान हुन्छ ? डा. केसी : यसको जवाफका लागि आधार र कारणसहितको कागजात सवाल प्रेस विज्ञप्तिमार्फत पेस गरिसकेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशबारे बोल्दा अदालतको अवहेलना होइन, सम्मान मिल्छ । प्रश्न १० : अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी तपाईंले अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुको कारण के हो ? डा. केसी : म अदालतप्रति सम्मान व्यक्त गर्छु । मैले पेस गरेको प्रकरण ७ अर्थात् जवाफमा पेस गरेको कागजात नै पर्याप्त छ । मैले भावनाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुँ । अशिष्ट र लाञ्छनायुक्त छैन । प्रश्न ११ : तपार्इं नागरिक समाजको अगुवा भन्नुहुन्छ, अदालतको आदेश वा फैसलाउपर चित्त नबुझे सोउपर पुनरावेदन वा पुनरावलोकन गराउनेतर्फ तपाईंले के गर्नुभयो ? तपाईंले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो ? डा. केसी : म नागरिक समाजको अगुवा भनेर मैले कहिल्यै पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष–विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकनलगायत कानुनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वस्थ आलोचना मात्र गरी अदालतलगायत समाजलाई पनि घचघच्याएको हुँ । प्रश्न १२ : के तपाईंको चाहना अदालतको मुद्दामा तपाईंले नै भनेबमोजिम फैसला हुनुपर्छ भन्ने हो ? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो ? डा. केसी : न्याय सम्पादन राम्रो हुनुपर्छ । न्याय सबैले पाउनुपर्छ । मेरो पक्षमा मात्रै फैसला हुनुपर्छ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृति भित्रिएको देखेर शुद्धीकरणका लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन । प्रश्न १३ : मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिकाविरुद्ध अमुक मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनुहँुदैन भन्ने दायित्वबोध तपााईंलाई छ या छैन ? डा. केसी : मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो प्रयास हो । मैले दिएको अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्ने गरी संविधान प्रदत्त स्वस्थ रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन, लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्तिको आशय हो र सचेत नागरिकको दायित्व पनि हो । प्रश्न १४ : यस सवालमा पहिला प्रश्न गरेदेखि अन्तिमसम्म सुनाइन्छ कि यस विषयमा तपाईंको अरू केही भन्नु छ कि ? डा. केसी : मेडिकल कलेजसम्बन्धी सुधारका लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सामा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकालेर अनशन बस्नुपरेको हो । यो बयानका क्रममा समेत अनशनमा छु । मलाई सुधारको प्रयास गर्दागर्दै यसरी एक्कासि प्रहरीको सहयोग लिई अदालतसमक्ष बयानका लागि ल्याइएको छ । यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलबाड भइरहेकाले त्यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो । न्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निष्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने, आदर्शवादी अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्बन्धी विवाद, उमेरसम्बन्धी विवाद, शैक्षिकसम्बन्धी विवाद, चूडामणि शर्मासम्बन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्बन्धीलगायत क्रियाकलापले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारण उनीबाट अदालतको अपहेलना भएकाले निजमाथि अदालतको अवहेलनामा कारबाही हुनुपर्ने हो । ममाथि लगाएको आरोप झुटा हो । मैले अदालतको अवहेलना गरेको छैन । सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गरे न्यायालयको गरिमा वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ । अदालतमा ८ घन्टा सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै बसे । उनी अनशनमै रहेकाले दुई चिकित्सक पनि औषधिसहित सँगै थिए । उनीहरूले केसीको ब्लडप्रेसर जाँच गरिरहेका थिए । केसी अदालतभित्र प्रवेश गरेपछि बाहिर समर्थक र शुभचिन्तकको भिड लागेको थियो । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो । १०ः३० मा अदालतको इजलास खुल्यो । तर, ११ बजेसम्म केसी आराम गरेर बसिरहे । ११ बजे इजलास नम्बर २ मा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे उपस्थित भए । केसी अस्वस्थ भएकाले आधा घन्टासम्म इजलास अघि बढ्न सकेन । साढे ११ बजे न्यायाधीशसमक्ष बयानका लागि उनी तयार भए । करिब डेढ घन्टापछि १ बजे ‘टिफिन ब्रेक’मा डा. केसी आराम गरेर बसे । २ बजेबाट पुनः इजलास सुरु भयो । ४ बजेसम्म बयान लिएपछि इजलास बन्द भयो । केसीलाई इजलासबाट निकालेर ४ः१५ बजे प्रहरी एम्बुलेन्समा राखियो । त्यहीँ उनको प्रेसर चेकजाँच गरियो । ५ः१५ बजेसम्म एम्बुलेन्समै राखियो । त्यसपछि केसीलाई लिएर प्रहरीको एम्बुलेन्स वीर अस्पताल पुग्यो । हिरासतमा १२ घन्टा त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा. गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो । नेपाल प्रहरी अस्पतालको एम्बुलेन्समा प्रहरीका चिकित्सक टोली पनि साथैमा थिए । केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो । रातभर कसैसँग बोलेनन् केसी एक प्रहरी अधिकारीका अनुसार केसीले प्रहरीसँग केही कुरा गरेनन् । प्रहरीको चिकित्सक टोली केसीको स्वास्थ्य निगरानीका लागि रातभरि वृत्तमै थियो । केसी अनशनमै थिए । प्रहरी अधिकारीले खानपिनबारे सोधे, तर केसीले खान मानेनन् । प्रहरीले पनि कर गरेनन् । ‘हामीले उहाँलाई सोध्यौँ, तर अनशनमै छु भनेपछि कर गर्ने कुरा भएन । उहाँ भोकै सुत्नुभयो,’ एक प्रहरीले भने । केसीको मुटुको धड्कन कम प्रहरी चिकित्सक टोलीका अनुसार सोमबार राति केसीको मुटुको धड्कन कम भएको थियो । प्रहरी हिरासतमा उनी आरामसँग सुते । मंगलबार बिहानै प्रहरी चिकित्सक टोलीले केसीको स्वास्थ्य परीक्षण गर्‍यो । केसीको खाना पकाइदिने सहयोगी बिहानै पुगेका थिए । त्यसपछि केसीको अनशनका समर्थकद्वय डा. अभिषेक सिंह र डा. जीवन खत्रीले केसीलाई भेटे । उनीहरू आधा घन्टा बसेर फर्केपछि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई वृत्त पुगेर केसीसँग कुराकानी गरे । भट्टराई धेरै बेर बसेनन् । त्यसपछि अधिवक्ता दिनेश त्रिपाठीसहितको टोलीले केसीलाई भेट्यो । बिहान पौने ९ बजे केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । अदालतमा परेका मानहानिका चर्चित मुद्दा प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भनेर दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै तत्कालीन कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यस्तै माओवादी नेता बालकृष्ण ढुंगेल हत्या अभियोगमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चले दिएको आदेश नमानेको आरोपमा नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालविरुद्ध परेको अवहेलनाको मुद्दा विचाराधीन छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लाउडा विमान खरिदमा भएको भ्रष्टाचारको विषयमा बयान दिन बोलाउँदा अस्वीकार गरेर अदालतको अवहेलना गरेको मुद्दा खेपेका थिए । उनी अदालतलाई नारायणहिटी दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित भएका थिए । तर, त्यो मुद्दा त्यत्तिकै सेलायो । त्यस्तै, अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दामा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको’ तथा ‘अदालतले दिउँसै रात पार्दै छ’ भन्ने अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको मुद्दा खेपेका थिए । तर, अदालतको अवहेलना गर्ने मनसाय नरहेको स्पष्ट पारेपछि त्यो मुद्दा पनि अघि बढेन । द्वन्द्वकालमा पत्रकार डेकेन्द्र थापाको हत्या भएको विषयलाई फौजदारी न्याय प्रणालीमार्फत उठान गर्दा शान्ति प्रक्रियामा असर पर्ने बताउँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि अदालतमा उपस्थित हुनुपरेको थियो । चाल्र्स शोभराजको मुद्दामा न्यायाधीशहरूलाई गाली गरी अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई दोषी ठहर गर्दै सजायसमेत सुनाइएको थियो । मुद्दाको बहस बुधबार डा. केसीको बयान सकिएको छैन, बहस पनि सुरु भएको छैन । उनलाई बुधबार बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिँदै स्वास्थ्य उपचारका लागि वीर अस्पताल पठाइएको छ । केसीले मंगलबार सवा आठ बजे अदालतमा उपस्थित भएर करिब चार घन्टा बयान दिएका थिए । बयान र बहसपछि अदालतको अवहेलना गरेको ठहर भएमा उनीमाथि कैद, जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies