/  Fri, December 15, 2017

गुलाफको अात्मा

अहिले कन्नौज शहर पुग्ने यात्रुले कुनै बेला यो शहरको प्रमुख उद्योगका रुपमा रहेको अत्तर उत्पादन व्यवसायलाई सजिलै ठम्याउन पनि सक्दैन । तर मोटरकार, लरी र सडक व्यवसायीहरुको भीडमा यदाकदा फूलका टोकरीहरुले भरिभराउ गाडा पुरानो शहरको ठूलो ढोका भएर ढुंगा छापिएका गल्लीहरुमा जाने गर्छ ।

बीस वर्षअघि कन्नौजमा आसवन प्रक्रियाबाट अत्तर बनाउने ७०० वटा कारखानाहरु थिए। हाल १०० वटा जति मात्र बाँकी छन् । ती कारखानाहरुले गुलाफ, चमेली र मेहंदी जस्ता फूलको प्रयोग गरी आसवन प्रक्रियाबाट तेलमा आधारित अत्तर उत्पादन गर्ने गर्दथे ।

त्यस्ता अत्तरहरुको विशेषता भनेको तिनीहरुको बास्नाको गहनता नै हो र ती अत्तर तयार पार्न लाग्ने समय र सामाग्री पनि। एक किलो गुलाफको अत्तर बनाउन चार टन गुलाफको फूल आवश्यक पर्दछ ।

दमस्क प्रजातिको गुलाफको फूललाई तिनका काँडादार बोटबाट सूर्योदय हुनुअघि नै टिपेर त्यही दिन अत्तर कारखानाहरुमा पठाइन्छ।

त्यसपछि ती फूललाई केही चिसो पानीका साथ देग भनिने तामाबाट बनेका ठूला भाँडाहरुमा हालिन्छ। भाँडामुनि दाउरा र गुइँठा बालेर आगोको भुंग्रो तयार पारिएपछि चारदेखि छ घण्टासम्म फूललाई उमालिन्छ।

त्यसरी निस्कने तातो पानीको बाफले फूलबाट सुगन्धित तेल निकाल्छ। देगमा जोडिएको बाँसको नली भएर अर्को भाँडोमा जाने त्यस्तो बाफ चिसिएपछि त्यो भाँडामा फूलको तेल जम्मा हुन्छ।

यसरी अत्तर बनाउने शिल्पीको काम जटिल प्रकृतिको हुन्छ। देग धेरै तातो भयो भने अत्तरमा डढेको गन्ध आउन सक्छ। त्यसैले कतिबेरसम्म देगलाई तताइराख्‍ने भन्ने निर्णय गर्नु अति महत्त्वपूर्ण काम हो। यस्तो आकलन गर्ने सिप पुस्तैनी रुपमा बाबुबाट छोरामा हस्तान्तरण हुँदै आएको छ।

तर मुन्नालाल एण्ड सन्स् डिस्टिलरीका युवा व्यवस्थापक वैभव पाठकका अनुसार अत्तरको माग अहिले घट्दो छ।

अत्तर मूल्यको दृष्टिले सस्तो उत्पादन होइन। अत्तर बनाउन धेरै खर्च लाग्छ र निकै थोरै मान्छेमात्र यो कुरा बुझ्छन्। यसको महत्त्वको कदर गर्नेहरु त झन् थोरै छन्। ”

अत्तरको मूल्य चर्को हुनुको एउटा कारण चन्दनको काठ दुर्लभ हुँदै जानु पनि हो। चन्दनको तेल मात्रैलाई पनि अत्तरको रुपमा प्रयोग गर्न सकिन्छ तर परम्परागत रुपमा अत्तर बनाउँदा देगसँगै जोडिएको बाँसको नली भएर आउने गुलाफको तेललाई चन्दनको तेलसँग मिसाउने गरिन्छ।

वन विनाशका कारण भारत सरकारले चन्दनको रुख काट्न प्रतिबन्ध लगाएको छ र पाठक भन्छन्, “चन्दनको काठ अब किन्नै नसकिने गरी महँगो भएको छ।”

हाल मुन्नालाल एण्ड सन्स् अत्तर उत्पादक कम्पनीले आफ्ना अधिकांश प्रतिद्वन्द्वीले जस्तै अत्तर बनाउन प्याराफिन नामक रसायनमा आधारित सस्तो पदार्थको प्रयोग गर्ने गर्छन्। तर त्यस्तो तरल पदार्थले अत्तरको बास्ना नै बेग्लै बनाइदिन्छ। चन्दनको तेलबाट बनेको अत्तर लगाउने पारखीहरुले त्यस्ता नयाँ खाले अत्तर पन पराउँदैनन्।

रुह अल गुलाब अर्थात् गुलाफको आत्मा नाम गरेको विशेष प्रकारको अत्तरको बजार त झनै सानो छ।
यो अत्तर गुलाफको तेललाई बारम्बार आसवन वा डिस्टिल गरी गाढा पारेर तयार गरिन्छ। यो अत्तरमा गुलाफको शुद्ध तेल मात्र हुन्छ अरु केही पनि मिसाइएको हुँदैन।

सम्राट जहाँगीर (१५६९-१६२७) ले आफ्नो आत्मकथा, तुजुकी जहाँगीरीमा लेखेका छन्, “गुलाफको आत्माको उत्कृष्टतासँग दाँज्न मिल्ने अर्को बास्ना दुनियाँमा छैन।…..त्यसले मन हल्का बनाउँछ र आत्मालाई नै तरोताजा तुल्याइदिन्छ।”

एक किलो ‘रुह अल गुलाब’ तयार पार्न सामान्यभन्दा झण्डै दोब्बर मात्रामा गुलाफको फूल आवश्यक पर्दछ- आठ टन जति। मुन्नालाल एण्ड सन्स् कहाँ त्यस्तो एक किलो अत्तरको थोक मूल्य १८ हजार डलर वा झण्डै १८ लाख नेपाली रुपैयाँ पर्छ।

भारतमा अझै पनि केही धनाढ्य ग्राहकहरु छन् जसले प्राकृतिक फूलबाट बनेका अत्तर र रुह अल गुलाब किन्ने गर्छन्। तर कन्नौज शहरको सबैभन्दा ठूलो आन्तरिक बजार भने सुर्ती जर्दा उद्योग बन्न पुगेको छ।
गुलाफको शु्द्ध तेल सिधै पनि खान सकिने उत्पादन हो र त्यसको थोरै मात्रा पनि सुर्तीको ठूलै थुप्रोलाई सुगन्धित तुल्याउन पर्याप्त हुन्छ।

भारतबाहिर अत्तरको ठूलो बजार मध्यपूर्वका देशहरु हुन् जहाँ देगमा फूल उमालेर बनाइएका अत्तरहरुलाई निकै पहिलेदेखि नै ठूलो महत्त्व दिने गरिन्छ। त्यहाँ यस्ता अत्तर किनेर प्रयोग गर्न सक्ने आर्थिक क्षमता भएका ग्राहकहरु पनि रहेका छन्।

सन् २०१४ मा साउदी अरेबियामा अत्तरको व्यापारको आकार १.४ अर्ब डलर रहेको बताइन्छ। एकजना औसत साउदी पारखीले एक महिनामा अत्तरमा मात्र सातसय डलर खर्च गर्ने गरेको अनुमान छ।

“अत्तरको बास्नाले मलाई गुलाफको बगैंचामा टहलिएको जस्तो वा ताजा फूलको गुच्छा नजिकै बसेको जस्तो अनुभव गराउँछ”, रुह अल गुलाबको बयान गर्दै कुवेतकी महिला हुस्साह अल-तामिमि भन्छिन्। “त्यो एकदमै चर्को पनि हुनु हुँदैन र त्यसको बास्ना एकदमै प्राकृतिक हुनुपर्छ।”

पूर्ण रुपमा प्राकृतिक भएकाले पनि भारत र मध्यपूर्वमा मुस्लिमहरुले अत्तरलाई महत्त्व दिन्छन्। त्यस्ता अत्तर अल्कोहलमा नमिसाइ सिधै जीउमा लगाउन सकिन्छ। यस दृष्टिले पनि फूलबाट बन्ने अत्तरहरु रसायनबाट बनाइएका र स्प्रे गरेर लगाइने आधुनिक ‘सेन्ट’ भन्दा भिन्न हुन्।

अत्तर जति पुरानो हुन्छ खाडी क्षेत्रमा त्यसको मूल्य झन् बढी हुन्छ। त्यही भएर पुरानो समयदेखि नै त्यहाँ विवाहका बेला नवदुलहीलाई बास्नादार धूप र सुनका साथै अत्तर पनि कन्तुरमा हालेर उपहार दिने चलन रहेको छ।

अर्की ३१ वर्षीया कुवेती महिला दलाल अल साने भन्छिन्, “जब मेरा बुवाले मेरी आमासँग विवाह गर्ने विचार गर्नु भयो उहाँले बिहेको कुरा चलाउनका लागि उपहार दिने सर्वोत्तम अत्तर किन्न स्वयं भारतको यात्रा गर्नुभएको थियो।” उनी भन्छिन्, “त्यसबेलाका केही अत्तर अझै पनि मेरी आमासँग छ। आफ्ना छोरीहरुको बिहेमा दिनुपर्छ भनेर उहाँले त्यसलाई साँचेर राख्‍नुभएको छ।”

पुरुषहरुले पनि अत्तर लगाउँछन्। वास्तावमा खाडी क्षेत्रमा गुलाफको अत्तर परापूर्वकाल देखि नै पुरुषले प्रयोग गर्ने बास्नाका रुपमा प्रचलित थियो। महिलाहरुले पनि त्यसको प्रयोग गर्न थालेका धेरै समय भएको छैन।

अल साने भन्छिन्, “मेरो बुवाले घरमा पाहुनालाई स्वागत गर्नुअघि हातमा गुलाफको अत्तर लगाउनुहुन्छ – बुढी औंला र चोर औंलाको बीचमा। त्यसो हुनाले उहाँसँग हात मिलाउनेहरुको हात पनि लामो समयसम्म बास्नादार रहिरहन्छ।”

शताब्दीऔं देखि अरब व्यापारीहरुले मसला र अत्तरसँग साटेर बास्ना आउने धूपको कारोबार गर्ने गर्दथे तर पछिल्लो पटक सन् १९०० को आरम्भतिर कुवेतमा त्यस्तो व्यापार निकै फस्टाएको थियो।

सन् १९२५ मा कुवेत सिटीको स्थानीय बजार सुकमा सुलेमान अल मरशुदले अत्तरमात्र बेच्ने पहिलो पसल अत्येब अल मरशुदको स्थापना गरेका थिए। उनी धाउ भनिने डुंगा चढेर आफ्ना बुबासँग नियमित रुपमा भारतको यात्रा गर्ने गर्दथे। अब त्यो पसल सुलेमानका छोरा वालीदले चलाउँछन्। उनले भारतका अत्तर उत्पादकहरुसँग आफ्ना हजुरबुवाले स्थापना गरेका सम्बन्धलाई निरन्तरता दिइरहेका छन्।

आजकाल कुवेतका सुकहरुमा अत्तर पसलहरु छ्यापछ्याप्ती छन्। बल्गेरिया र टर्कीबाट ल्याइएका गुलाफका अत्तरहरुले ठूलो महत्त्व पाएका छन्। तर कन्नौजमा बनेको रुह अल गुलाब को महत्त्व बेजोड नै छ। अत्येब अल मरशूद पसलमा त्यो अत्तर एक तोलाको झण्डै दुईसय कुवेती दिनार वा ६५० अमेरिकी डलर पर्छ।

उच्चतम शुद्धता भएको अपेक्षा गरिने विलासी वस्तुका रुपमा प्रतिष्ठित त्यो अत्तरका इच्छुक र पारखी ग्राहकहरु कायमै छन्।

वालीद अल मरशूद भन्छन्, “जुन अत्तर बनाउन जति गाह्रो हुन्छ, त्यस्तो अत्तर त्यति नै बढी मूल्यवान हुन्छ।”

कन्नौजले कतिञ्जेलसम्म परम्परागत अत्तर र रुह अल गुलाब उत्पादन गर्न सकिरहन्छ त्यो स्पष्ट छैन।

“देगमा उमालेर बनाइने अत्तरहरुको माग हाल छँदै छैन भने पनि हुन्छ”, भन्छन् पुष्पराज जैन। उनी एउटा अत्तर कारखाना प्रागमति अरोमा डिस्टिलरीका मालिक हुन्।

“आजको पुस्ता आधुनिक अत्तरमा रुचि राख्छन् र उनीहरुको मागलाई ध्यानमा राखेर नै मैले आफ्नो व्यापार व्यवसायमा पनि परिवर्तन गर्नुपरेको छ।”

उनको डिस्टिलरीमा देगमा पनि अत्तरहरु बन्छन्, ती सँगसँगै उनले आधुनिक अत्तर बनाउने नयाँ खाले यन्त्र पनि राखेका छन्। कन्नौजमा अत्तरको भविष्यलाई लिएर विद्यमान असहजता व्यापक रुपमा देख्न सकिन्छ।

मुन्नालाल एण्ड सन्सका एकजना अत्तरशिल्पी उस्मानलाई आफूले तयार पार्ने उत्पादनको गुणस्तरको उत्कृष्टतामा कुनै शंका छैन।

“कृत्रिम रुपमा तयार पारिने अत्तर र प्राकृतिक अत्तरबीचको फरक भनेको माइक्रोवेभ ओभनमा पकाएको खानेकुरा र दाउराको चुलोमा पकाएको खानेकुराबीचको भिन्नता जस्तै हो,” उनी भन्छन्।

तर उनलाई के डर छ भने उनी काम गर्ने उद्योग विस्तारै मर्दैछ। उनले आफ्ना छोराछोरीलाई अरु नै पेशा अपनाउन मनाएका छन्। अरु पेशाबाट आफूले पाएको भन्दा बढी आम्दानी होस् र छोराछोरीको जीवन सहज होस् भन्ने उनी चाहन्छन्।

कन्नौजमा टिकिरहनका लागि संघर्षरत अत्तर उद्योगको संकेत फेला पार्न केही गाह्रो छैन। हालसम्म सञ्चालनमा रहेका डिस्टिलरीहरुमा लगानी सुख्खा छ। कम्तीमा एउटाले महारानी भिक्टोरियाको जमानाको उपकरण प्रयोग गरिरहेको छ।
कतिपय मृत अवस्थामा रहेका डिस्टिलरीहरु यत्रतत्र छन् ।
तिनीहरुका बन्द गरिएका झ्यालको कापबाट छिर्ने प्रकाशमा धूलो र माकुरोको जालोले भरिएका तामाका देगहरु देख्‍न सकिन्छ।

यी स्थानहरुमा गुलाफको आत्माको झझल्को अझै रुमल्लिरहेको पाइन्छ । तर त्यसको बास्ना कतिञ्जेलसम्म सुंघ्न पाइएला त ? बीबीसी

अशोज २६ गते, २०७४ - १०:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

काठमाडाैं । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले...   
कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

काठमाडाैं । ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको...   
जोखिममा एटीएम

जोखिममा एटीएम

काठमाडाैं । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम...   
नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

काठमाडाैं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ...   
प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडाैं । वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष...   
कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन्। संयुक्त राष्ट्रसंघको...   
सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्न सक्ने कांग्रेसको तर्क, पहिले सरकार बन्नुपर्ने एमाले–माओवादीको...   
राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

फाइल फोटो काठमाडाैं । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी...   
समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ। समानुपातिक...   
कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भईसकेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top