माओवादीभित्र केही अमूक नेता शक्तिशाली भएको देखिन्छ । समग्रमा व्यक्ति बलियो होइन, पार्टी बलियो हुन आवश्यक छ । संस्था बलियो हुने दिशातिर गए मात्र समाजवादसम्म पुग्न सकिन्छ ।३.पार्टीभन्दा व्यक्ति बलिया हुनु माओवादीमा व्यक्ति बलिया छन् तर पार्टी कमजोर छ । नेताहरू धनी छन्, कार्यकर्ता गरिब छन् । माओवादीले नेता र कार्यकर्ताको दूरी कम गर्न सकेन । यदि हामी समाजवादको यात्रामा छौँ भने सामूहिकतालाई प्राथमिकता दिनुपर्छ । माओवादीमा सामूहिकता छैन । व्यक्तिभन्दा पार्टी कसरी बलियो बनाउने भन्ने विषयमा माओवादीले सोचेन । व्यक्ति–व्यक्तिबीचको टकरावले सामूहिकता हराएर जान्छ । व्यक्तिलाई बलियो बनाउने सोचका साथ अगाडि बढ्ने हो भने समाजवादमा पुग्न सकिँदैन । समाजवादमा जान चरित्र, चिन्तन, आनिबानी, उत्पादन सम्बन्धमा समाजवाद झल्किनुपर्छ । माओवादीमा समाजवादी चरित्र झल्किएको छैन । माओवादीभित्र केही अमुक नेता शक्तिशाली भएको देखिन्छ । समग्रमा व्यक्ति बलियो होइन, पार्टी बलियो हुन आवश्यक छ । संस्था बलियो हुने दिशातिर गए मात्र समाजवादसम्म पुग्न सकिन्छ । ४.मध्यमवर्गलाई आकर्षित गर्न नसक्नु माओवादीको प्रतिस्पर्धा कांग्रेस–एमालेसँगै हो । धेरैजसो मध्यमवर्ग एमालेभित्र छ । केही सानो संख्यामा कांग्रेसमा पनि मध्यमवर्ग छ । माओवादी काठमाडौं उपत्यकासहित जिल्ला सदरमुकाममा कमजोर छ । ती क्षेत्रमा तल्लो वर्ग कम र मध्यमवर्ग धेरै छन् । त्यो ठाउँमा माओवादीप्रति आकर्षण नै छैन । मध्यमवर्गमा एउटा प्रतिक्रयावादी र अर्को प्रोग्रेसिभ चरित्र हुन्छ । प्रोग्रेसिभ चरित्र भएकालाई माओवादीमा आकर्षित गर्न सकिन्थ्यो । तर, माओवादी त्यतातिर लागेन । पक्कै जनयुद्धमा माओवादी गाउँघर केन्द्रित थियो । आन्दोलनको केन्द्र गाउँ बनाउँदा धेरै काम पनि भएका थिए । तर, फेरिएको परिस्थितिअनुसार माओवादी अगाडि बढ्न सकेन । जनघनत्व भएका क्षेत्र र सभ्यताको विकास भएका क्षेत्रमा माओवादीले आफूलाई स्थापित गर्न सकेन । ५.प्रतिस्पर्धी चरित्र नहुनु माओवादीले भिन्न मतलाई स्वीकार गर्दैन । प्रतिस्पर्धी नेताको पनि राम्रा गुण स्वीकार गर्न सक्नुपर्छ । नराम्रा गुण छन् भने भण्डाफोर गर्न पनि सक्नुपर्छ । माओवादीले निषेधात्मक विचार राख्छ । नेताहरूले रचनात्मक चरित्र प्रस्तुत गर्नै सकेनन् । प्रतिस्पर्धा गर्न नसकेपछि निषेधमा उत्रनु राम्रो होइन । अबको पार्टीको चरित्र जनतामैत्री र प्रतिस्पर्धी हुनैपर्छ । प्रतिस्पर्धी चरित्र भयो भने पार्टीभित्र र बाहिर पनि फाइदा पुग्छ । होइन भने प्रतिस्पर्धात्मक समयमा पछाडि धकेलिनुको विकल्प छैन । ६.जनपक्षीय नहुनु जनयुद्धमा माओवादीको चरित्र जनपक्षीय नै थियो । सामाजिक आन्दोलनमा पार्टी सहभागी हुन्थ्यो । तर, शान्तिप्रक्रियामा आएपछि माओवादी सामाजिक जीवनसँग जोडिएको छैन । उदाहरणका लागि माओवादीका धेरै नेता आफ्नो फोन उठाउनु हुन्न । २१औँ शताब्दी सूचना प्रविधिको युग हो । सूचना प्रविधि नै ठूलो शक्ति हो । तर, सूचना दिन नेताहरू चाहँदैनन् । कार्यकर्ताको गुनासो सुनिन्छ–‘हाम्रा नेताको फोन नै उठ्दैन । के भइरहेको छ कसरी थाहा पाउनु ?’ कार्यकर्ताले नेतासँग आफ्ना समस्या राख्ने र नेताले समाधानको पहल गर्न सक्नुपर्छ । फोन नै नउठाउने, उठाइहाले पनि मिटिङमा छु भनेर झट्ट राखिदिने व्यवहारले अब राजनीति चल्दैन । यस्तो व्यवहारले कसरी कार्यकर्ता र जनताले एकोहोरो माया गर्छन् ? विवाह, पूजाआजा, पास्नी, बिरामी हुँदा, मृत्यु संस्कारमा माओवादी नेता जाँदैनन् । सामाजिक सम्बन्धमा नेता नजोडिएपछि कसरी पार्टी बन्छ ? नेताले सभाहरूमा गरेको भाषणकै भरमा अब जनता कन्भिन्स हुँदैनन् । माओवादीमा पनि त्यही लागू भयो । माओवादी समाजसँग टाढा हुँदै गयो । समाजसँग कसरी जोडिने भन्नेबारे ध्यानै दिएन । कमरेड माओले ‘जनताको घरबाट सियो धागो पनि नलिनु भनेका थिए ।’ यसो सोच्दा माओले के भनेका होला भन्ने हुन्छ । तर, सियो र धागो नलिऔँ भन्नुको सैद्धान्तिक आधार धेरै ठूलो छ । माओवादीका सबै नेताले जनताको फोन मात्रै उठाइदिएको भए पनि एक हदसम्म पार्टी सुध्रिन्थ्यो । ७.मनोरोगमा डुब्नु माओवादी ईष्र्यावादी छ । माओवादी अर्काको ईष्र्या गर्छ । माओवादीका कुनै नेताले विचार लेख्यो भने अर्को नेताले पढ्दैन । तपाईंले राम्रो लेख्नुभएछ, धन्यवाद पनि भन्दैन । माओवादी नेताभित्र कम्युनिकेसन ग्याप छ । आफू समान नेता बसेर चियाकफी खायो भने पनि गुटबन्दी भयो बन्ने बुझ्छ । माओवादीभित्र कुन नेता कता गयो, कसलाई भेट्यो भन्नेमा चाख दिएर नियालिन्छ । जनतासँग कुन नेता जोडियो भन्ने कसैले हेर्दैन । माओवादी मानसिक रूपमा शंकामा फसेको छ । राणा वा शाह शासनमा दरबारभित्र षड्यन्त्र हुँदाका वेलाजस्तो मनोरोग माओवादीभित्र छ । ८.स्पष्ट कार्यदिशा नहुनु माओवादीले गणतन्त्र, धर्मनिपरपेक्षता, समावेशिताजस्ता मुद्दामा लड्यो । कतिपय मुद्दा स्थापित भइसकेका छन् भने कतिपय हुने क्रममा छन् । गन्तव्य यति नै हो कि समाजवादी आन्दोलनको तयारी पनि गर्ने भन्नेमा माओवादी स्पष्ट भएन । माओवादीले प्रतिस्पर्धा गरेको संसदीय व्यवस्थालाई कसरी लिने, उपयोग गरेको हो कि के हो भन्ने पनि स्पष्ट पारेन । मोहनविक्रम सिंहले जस्तो उपयोग गरेको हो कि मोहन वैद्यले जस्तो वा एमालेले जस्तो संसदीय अभ्यासमा चुर्लुम्म डुबेको भन्ने व्याख्या नै भएन । हामीले परिवर्तनका एजेन्डालाई संस्थागत गरेर समाजवादको ढोका खोल्ने हो, यो व्यवस्थालाई रणनीतिक रूपमा प्रयोग गरिएको हो । तर, जनतामा रहेको भ्रम माओवादीले चिर्न सकेन । (थापा माओवादी केन्द्रका नेता हुन्)
प्रतिकृया लेख्नुहोस्: