/  Tue, October 17, 2017

पृथ्वीनारायण शाह देश निर्माता कि राष्ट्र निर्माता ? एकीकरणकर्ता होइनन् भन्ने ३ आधार 

पृथ्वीनारायण शाहलाई कसरी मूल्याङ्कन गर्ने ? उनी नेपाल राष्ट्रको एकीकरणकर्ता थिए या उनी आफ्नो समयका सक्षम सामन्ती राजा मात्र थिए ? यो प्रश्नको उत्तर पूर्वाग्रह वा वर्तमानका आफ्ना निहित आग्रहमा डुबेर खोज्न सम्भव छैन । नेपालमा केही वर्षयता पृथ्वीनारायणबारे हुने छलफलमा आजका तत्कालीन राजनीतिक मुद्दाहरु अर्थात् निहित आग्रहहरु घालमेल हुन थालेका छन् । यसरी सही दृष्टिकोण बन्न सक्तैन ।

केही मानिसहरु ‘संघीयतामा गयो भने देश विखण्डनतिर जान्छ’, ‘धर्म्निरपेक्षतामा जाँदा हिन्दूमाथि अरु धर्म हावी हुन्छन्’ भन्ने जस्ता मतलाई बलशाली बनाउन र अर्काथरी केही मानिसचाहिँ ‘पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता मानिदिँदा आर्य–खस जातिका शासक जमात खुसी भएर संघीयतामा जान सजिलो हुन्छ भने भनिदिऊँ न त’ भन्ने ढंगले पृथ्वीनारायण शाहको मूल्याङ्कन अघि सार्दैछन् । इतिहासको मूल्याङ्कनको विषयमा जसरी निहित आग्रह बेठीक हुन्छ, त्योभन्दा बढी कूटनीति भद्दा हुन्छ । यसो गर्नु भविष्यप्रति बेइमानी हुन जान्छ । कतिपयलाई यस्तो पनि लाग्ने गरेको छ कि ‘पृथ्वीनारायण शाह र उनले गरेको राज्य विस्तारको कामलाई जे भने पनि आजको वर्तमानमा केही फरक पर्दैन ।’ त्यसो पनि होइन । फरक पर्छ, पार्छ किनभने इतिहासको मूल्याङ्कन वर्तमानलाई स्वस्थ बनाउने, भविष्यलाई भव्य बनाउने प्राथमिक कडी हो ।

पृथ्वीनारायण शाहको आँखाबाट नहेरी नेपालका जनजाति, मधेशी, दलित र कर्णालीपारिका जनताको आँखाबाट हेरियो भने पृथ्वीनारायणको तत्कालीन राज्य र अग्रेजमा के कति फरक देखिन्छ ? यदि पृथ्वीनारायणले आफ्नो राज्यको अधीनस्थ राख्नुभन्दा अङग्रेजले आफ्नो राज्यको अधीनस्थ बनाएको भए कर्णालीपारि, दलित, मधेशी र जनजातिलाई के फरक पथ्र्यो होला ?

समग्रतामा त्यसैले पृथ्वीनारायण शाह र उनको कदमबारे ठीक दृष्टिकोण बनाउन आग्रहमा आधारित भएर होइन यथार्थसम्मत समाजवैज्ञानिक हुने प्रयत्न गर्दै छलफल चलाउन जरुरी छ ।

१. सबैतिर बल प्रयोगबाट राज्य विस्तार त्यसैले एकीकरण !

संसारको इतिहासमा सबैतिर बल प्रयोग गरेरै राज्य विस्तार गरिएको र त्यसका नायकलाई राष्ट्र निर्माता मान्ने गरिएको हुनाले पृथ्वीनारायण शाह पनि राष्ट्र निर्माता हुन्, उनी एकीकरणकर्ता हुन् भन्ने मान्यता जोडदार रुपमा राख्ने गरिएको छ ।

अाहुति

एक, पहिलो कुरा त संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने कुरा सही होइन । जस्तो, हजरत मोहम्मदले आजभन्दा चौध सय वर्ष पहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौं कविलाहरुको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए । न जर्ज वासिङ्टन, न नै लेनिनले बल प्रयोग गरी एकीकरण गरेका थिए । अर्को कुरा, बल प्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै कुरा होइन ।

संसारको हरेक राष्ट्र र देश निर्माणका आफ्नै विशेषता र परिघटनाहरु छन् । यहाँ तर्क गर्ने गरिए जस्तो सबैतिर बल प्रयोगबाट राज्य विस्तार गरिएको र त्यसलाई नै एकीकरण भन्ने गरिएको भन्ने कुरा सही होइन ।

दुई, एउटै भाषा, एउटै संस्कृति र एउटै जाति सामग्रमा एउटै सभ्यताका फरकफरक राज्यहरुलाई एउटै बनाउन बल प्रयोग गर्नु र फरक भाषा, फरक संस्कृति र फरक जाति समग्रमा भन्दा फरक सभ्यतालाई एउटै राज्यको अधीनमा ल्याउन गरिने बल प्रयोग एउटै कुरा होइन । एउटै जाति वा सभ्यताभित्रको बल प्रयोग केवल राजनीतिक सत्ता प्राप्तिका लागि मात्र हुन्छ र त्यसद्वारा बन्ने ठूलो देशले एउटै भाषा, संस्कृति र जाति समग्रमा त्यस सभ्यताको विकासमा ठोस योगदान गर्छ । छिमेकी चीनको निर्माणको मूल चरित्र यही प्रकारको हो । त्यसैले त्यस्तोलाई एकीकरण पनि भन्न सकिएला । तर फरक भाषा, फरक संस्कृति र फरक जाति समग्रमा फरक सभ्यतामाथि बल प्रयोगद्वारा राज्य विस्तार गर्नु भनेको खास सभ्यताको मानव निर्मित सबै सांस्कृतिक सम्पदालाई नास पार्दै जानु हो । एउटा सभ्यता र अर्को सभ्यताबीच छलफल, सहकार्य, सहमति र एकताद्वारा एकीकरण सम्भव छ तर बल प्रयोग गरेर एउटा सभ्यताले अर्को सभ्यतालाई शासित बनाएर एकता वा एकीकरण सम्भव नै छैन । त्यस्तो बेला त विजित सभ्यताका मानवीय सबै सांस्कृतिक आर्जनलाई ध्वस्त पार्दै लगेर मात्र राज्य सञ्चालन सम्भव हुन्छ ।

पृथ्वीनारायण शाहको कदम वास्तवमा पहाडिया हिन्दूलाई आर्य–खस सभ्यताको अरु सभ्यतामाथि बलात् हस्तक्षेप र शासनको अधीनस्थ ल्याउने अभियान थियो भन्ने प्रस्टै छ । फरक सभ्यताबीच सहमति र एकताको बाटो नलिएपछि त्यो स्वतः राज्य विस्तार अभियानभन्दा माथि उठ्नै सक्दैनथ्यो । एउटा सभ्यताले अर्को सभ्यता नष्ट गर्ने अभियान चलाएर एकता, एकीकरण कसरी बनाउन सकिन्थ्यो र ?

तीन, बल प्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भूभाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्य निर्माणका निम्ति भएका सबै बल प्रयोग र युद्ध जायज मान्नुपर्ने हुन्छ । उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्द गरिएका बल प्रयोग जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्र निर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ ? कदापि मिल्दैन । ब्राजिललाई उपनिवेश बनाएर ब्राजिली भाषाको हत्या गरेर आज सबै ब्राजिलीले पोर्चुगीज भाषा बोल्न बाध्य पार्नुलाई ठीक मान्नुपर्ने हुन्छ । समग्रमा उपनिवेशवादसमेत ठीक थियो भन्ने स्वीकार्नुपर्ने हुन्छ । सबै कुरामा बल प्रयोग ठीक भनेर संसारमा कुनै पनि सिद्धान्तले भन्दैन । सबै अवस्थामा देश निर्माण गर्न गरिएको बल प्रयोग कसरी ठिक हुन्छ ? अनि त्योबाहेक अर्को विकल्प थिएन भन्ने कसरी निष्कर्ष निस्कन्छ ?

अर्को कुरा, सामन्ती युगमा बल प्रयोग नै मुख्य काइदा थियोस हुन सक्छ । तर गौतम बुद्ध, महावीरका शिष्य पनि जन्मिसकेका थिए र राजा अशोकले हिंसाको बाटो त्यागेका दृष्टान्त पनि यही दक्षिण एसियामा स्थिापित भइसकेको थियो ।

त्यसैगरी बल प्रयोग गरेर जितेको हुनाले त्यो विजेताले गरेको ठीक मान्ने दृष्टिकोण स्थापित गर्ने हो भने इतिहासमा हार्नेहरु सबै बेठीक थिए भन्ने मान्नुपर्ने हुन्छ । हार्नु र जित्नु नै ठीक र बेठीकको सिद्धान्त हुन सक्तैन । गोरखालीलाई ६ पटक रोकेसम्म कीर्तिपुरबासी ठीक अनि सातौं पटक हारेपछि कीर्तिपुरबासी बेठीक भन्नुपर्ने हुन्छ । यस्तो विधि र मान्यता ठीक हो त ? हुनै सक्तैन । कतिपयले राज्य विस्तारमा बल प्रयोगलाई अपरेसन गरेर बच्चा जन्माएको उदाहरणसँग जोड्नसमेत पछि परेका छैनन् । तर, यो उदाहरण दिनेले यति त हेक्का राख्नैपर्दछ कि अपरेसन विरामी वा विरामीको अभिभावकको स्वीकृतिमा मात्र गरिन्छ, जबर्जस्ती गर्न पाइँदैन ।

यसर्थ, सामन्तवादी युग वा त्योभन्दा पनि पहिले सबै एकीकरणमा बल प्रयोग भएका थिए भन्ने कुरा सही होइन । त्यसरी नै बल प्रयोग हुने बितिक्कै सही भएका थिए भन्ने पनि होइन र युरोप–अमेरिकाले जे कुरालाई ठीक भन्छन्, ती सबै ठीक हुन् र हुन्छन् भन्ने पनि होइन । इतिहासको मूल्याङ्कन गर्दा आजसम्ममा विकसित भएको समाज विज्ञानमा अधारित भएर गर्ने हो, उपनिवेशवादीहरुले बनाएको अवधारणामा उभिएर होइन ।

२. देश ठूलो र हामी नेपाली भयौं : त्यसैले एकीकरण !

‘पृथ्वीनारायण शाहले राज्य विस्तार नगरेको भए देशहरु सानासाना हुन्थे अनि हामीले आज आफूलाई नेपाली भनेर गर्व गर्न पाउँदैनथ्यौं । त्यसकारण शाहको कदम ठीक र एकीकरण नै थियो’ भन्ने तर्क पनि छ । देशको आकार ठूलो र सानो अनि जनसङ्ख्या धेरै र थोरैसँग मानिसको प्रगति र समृद्धि मूल रुपमा जोडिएको छैन । बरु वैचारिक तथा अर्थ–राजनीतिक दिशा र संरचनाले नै निर्णायक भूमिका खेलेका छन् । र, के कुरा बुझ्नैपर्दछ भने पृथ्वीनारायण शाहकालीन नेपालका ‘भुरे–टाकुरे’ प्रकारका राज्यहरु संसारमा खास कालमा सबैतिर कुनै न कुनै रुपमा थिए । त्यति बेलाका ती साना राज्यहरु आज कतै पनि बाँकी छैनन् । तर, त्यसको कारणचाहिँ पृथ्वीनारायणले नेपालबाहिरका ती साना राज्यलाई ध्वस्त पारेकाले त हैन । नेपालमा पृथ्वीनारायणले जसरी साना राज्य घटाए, त्यही प्रक्रियाबाट दुनियाँको सबै साना राज्य घट्न पुगेका पनि हुँदै होइनन् । त्यसैले पृथ्वीनारायण शाहले नाक–कान काट्नेसम्मको काम नगरेका भए पनि यो संसारमा आज कीर्तिपुर भन्ने देश हुने थिएन । किनभने कीर्तिपुरबासी स्वयंले अलि ठूलो भूभागको चलखेलको महत्व बुझिसकेका हुने थिए ।

हामी आजका नेपाली हुन पायौं भन्ने जहाँसम्मको कुरा छ, यो एउटा अवधारणा मात्रै हो । के नेपाली हुनमा गर्व गर्नु भनेको भारतीय वा मंगोलियाबासीभन्दा उच्चकोटिको हुनु हो र ? कदापि होइन । जङ्गबहादुर राणाले लखनउ विद्रोह दमन नगरेका भए आजको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आजको भारतमै रहन्थ्यो होला । अनि त्यहाँ बासोबास गर्नेले भारतीय हुनुमा गर्व गर्थे होलान्, जसरी आज नेपाली हुनुमा गर्व गर्छन् । यो राष्ट्रिय गर्व त त्यस भूमिसँगको निरन्तरको उठबस र त्यसमाथि आफ्नो स्वामित्वबाट पैदा हुने कुरा हो । त्यो एक सापेक्षित अवधारणा हो । त्यो कुनै सर्वकालिक कुरा होइन ।

ठूलो देश नै ठीक हो भने के विस्तारवाद ठीक हुन्छ त ? लखनउको विद्रोह दमनबाट सुगौली सन्धिपछिको नेपाल ठूलो हुन पुग्यो । त्यसो भए लखनउ विद्रोह दमन गर्न जानु ठीक थियो त ? कदापि ठीक थिएन । बलात्कारबाट पनि गर्भाधान हुन्छ । त्यसरी जन्मिएको बच्चा पनि मानिस नै हो र उसले अरु मानिससरह नै जीवनयापन गर्न पाउनुपर्छ । त्यसो भए के बलात्कार ठीक हो त ? त्यो बलात्कारबाट जन्मेको बच्चाले आफ्नी आमामाथि बलात्कार गर्नेलाई महान् बाबु नै मान्छ त ? कदापि मान्ने छैन ।

त्यसैले आज नेपाल जत्रो छ, त्यत्रो नेपालको नागरिक भएकाले वा नेपाली हुनुमा गर्व गर्न पाउने भएकाले पृथ्वीनारायणको राज्य विस्तार ठीक र त्यो एकीकरण नै थियो भन्ने निष्कर्ष कदापि निस्कन सक्दैन ।

३. अङ्ग्रेजले नेपाललाई खान्थ्यो : त्यसैले एकीकरण !

पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अङ्ग्रेजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ स् त्यसो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । किनभने, पृथ्वीनारायणको उदयभन्दा पहिले नेपालका अन्य राजा र जनताले विदेशीका सामु सधैं आत्मसमर्पण मात्रै गरेका हुँदा हुन् त एउटा कुरा, इतिहास त्यस्तो छैन । अङ्ग्रेजले त्यति बेलाका राज्यहरु लिन खोज्दा त्यति बेलाका सानासाना राज्यका राजा र जनता लड्दैनथे भन्ने कुरा तब मात्र भन्न सकिन्छ जब उनीहरु सबै मूर्ख थिए भन्ने मान्नुपर्ने हुन्छ । एक–डेढ सय किलोमिटर परका गोरखालीसँग त लड्ने कीर्तिपुरबासीले समुद्रपारिका अङग्रेजसँग लड्ने जुक्ति खोज्दैनथे होलान् भनेर अहिले ठोकुवा कसैले गर्न सक्ने कुरा पनि होइन । अर्को कुरा, नेपालीले प्रतिरोध गर्दा पनि विदेशीको प्रतिरोध नगर्ने भारतीय जनताले त अन्ततः उपनिवेशवादलाई धपाए भने नेपाली जनताचाहिँ लड्दै लड्दैनथे त कुनै हालतमा भन्न सकिने कुरा हुनै सक्दैन ।

यस सन्दर्भमा अर्को दुःखदायी रोचक यथार्थतिर पनि ध्यान खिचौं । पृथ्वीनारायण शाहको आँखाबाट नहेरी नेपालका जनजाति, मधेशी, दलित र कर्णालीपारिका जनताको आँखाबाट हेरियो भने पृथ्वीनारायणको तत्कालीन राज्य र अग्रेजमा के कति फरक देखिन्छ ? यदि पृथ्वीनारायणले आफ्नो राज्यको अधीनस्थ राख्नुभन्दा अङग्रेजले आफ्नो राज्यको अधीनस्थ बनाएको भए कर्णालीपारि, दलित, मधेशी र जनजातिलाई के फरक पथ्र्यो होला ? कर्णालीपारि आजभन्दा थोरै भए पनि बढी भौतिक विकास हुन्थ्यो होला । जसरी भारतका दलितको आवाज सुन्नसम्म भए पनि सुनेजस्तै नेपाली दलितका आवाज त्यतिबेलै सुन्न सुरु हुन्थ्यो होला । जनजाति र मधेशीले आजभन्दा पक्कै पनि बढी भौतिक विकास र सुविधा पाउँथे होलान् । बदलामा दलित, मधेशी, जनजाति र कर्णालीपारिले अङ्ग्रेजको रैती हुनुपर्थ्यो, कुरा त्यति हो । अनि मधेशी र जनजातिले अझै थप आफ्नो धर्ममाथिको समेत दमन भोग्नुपर्थ्यो । यति न हो । पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दू राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेशी र कर्णालीपारिले अङ्ग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ? पृथ्वीनारायणको राज्य दूरीका हिसाबले अलि नजिकबाट आएको, छालाको रङ्ग अलि बढी मिल्ने तर अङ्ग्रेज धेरै टाढाबाट आएको, छालाको रङ्ग धेरै नमिल्ने । यहाँभन्दा बढी फरक के भयो त यथार्थमा ? छातीमा हात राखेर सोच्ने हो भने गुणात्मक रुपमा केही पनि फरक भएन । झन् भौतिक विकास समेत युगौं पछाडि परेर दमित हुनु र्पयो ।

यसको अर्थ साम्राज्यवाद ठीक हो भन्ने निष्कर्ष कदापि निकाल्न खोजिएको होइन बरु जनजाति, मधेशी र कर्णालीपारिको निम्ति पृथ्वीनारायणको राज्य ‘चिनेको चोरले काट्छ’ भन्ने उखानलाई चरितार्थ गर्ने सानो उपनिवेशवादी राज्य नै थियो जसलाई आज आन्तरिक उपनिवेशवाद भनेर बुझ्ने गरिन्छ । दलितका सन्दर्भमा त झन् जनजातिलाई समेत दलितमाथि उत्पीडन गर्न अनिवार्य गराएर त्यो राज्यले युगीन अत्याचारको जग थप गरेको प्रस्टै छ । त्यसकारण नेपाल भनेको दलित, जनजाति, मधेशी र कर्णालीपारिका जनताको पनि हो भनेर बुझ्ने बितिक्कै त्यो एकीकरण थियो या राज्य विस्तार भन्ने कुराको एउटा बन्द झ्याल खुलिहाल्छ ।

४. हिन्दू धर्म सिद्धिन्थ्यो : त्यसैले एकीकरण !

विश्वको इतिहासलाई सर्सरी हेर्दा यो निकै नै हास्यात्मक तर्क हो । किनभने कुनै पनि विचार वा धर्म मूलतः आफूभित्रको वैचारिक कमजोरी वा त्यस विचार या धर्म अनुसरण गर्ने समुदायको कमजोरीका कारण कमजोर हुन्छ, सिद्धिन्छ पनि । संसारमा इसा मसिह जुन देशमा जन्मिए र जहाँ पहिलो चर्च छः त्यहाँ इसाईहरु कम छन् । जहाँ ११ सय वर्षअगाडि बनेको मस्जिद छ त्यहाँ मुस्लिम कम छन् । त्यो देश हो यहूदीहरुले निर्माण गरेको इजरायल । यहूदीहरुले जति दुःख आधुनिक विश्वमा अरु कुनै पनि धार्मिक सम्प्रदायले भोग्न परेन होला । तर जति दुःख पाए पनि, संसारमा जहाँ पुगे पनि यहूदी मूलतः आफ्नै धर्म र पनमा छन् । यो उदाहरण एउटा दृष्टान्त मात्रै हो ।

अर्को कुरा, भारतमा दुई सय वर्ष शासन गरे पनि के सबै भारतीय इसाई भए त ? अनि २०६३ सालसम्म पनि ‘हिन्दू अधिराज्य नेपाल’ घोषणा गर्दैमा इसाई धर्म नेपालमा छिर्नबाट रोकियो त ? भारत र नेपाल दुवैमा हिन्दू र प्राकृत धर्म सम्प्रदायबाट नै बढी इसाई भएका छन् । इस्लाम र बुद्धधर्मी समुदायबाट कम इसाई हुन पुगेका छन् । किन होला ? हो साम्राज्यवादले, अझ त्यति मात्रै किन, हरेक जनविरोधी शासन र सत्ताले धर्मलाई आफ्नो हतियारका रुपमा प्रयोग गरिरहेछन् । तर यसको मतलब जनता त्यत्तिकै अर्को धर्ममा जान्छन् भन्ने होइन, त्यसमा आन्तरिक कारण पनि गम्भीर रुपमा जिम्मेवार हुन्छन् ।

‘नत्र हिन्दू धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्य विस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दूबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दू वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ? अझ तर्कै गर्ने हो भने इस्लाम र इसाईले त गाई काटेर खान एवं गाईको छालाले छत्तीस ताल निस्कने च्याब्रुङ बाजा बनाउन स्वीकृति दिन्छ, हिन्दूले चाहिँ गाई मार्दा जेल हाल्छ । त्यसैले ‘असिल् हिन्दुस्थाना’ बनाउने राज्य विस्तारको यात्रा कसरी गैरहिन्दूका लागि एकीकरण हुन्छ ? एउटा मानिसले अर्कोलाई घोषणा गरेरै हत्या गर्छ र इतिहास लेख्दा भने ‘मैले दोस्ती गरेको थिएँ’ भनेर कसरी लेख्न मिल्छ ?

कतिपय मानिसलाई के पनि भ्रम छ भने धर्मका आधारमा पनि राष्ट्र बन्छ तर आधारभूत राष्ट्र निर्माणको मूल पक्ष धर्मको जगमा कहिल्यै उभिएको छैन । धर्मका आधारमा राज्य अथवा सत्ता उभिएका छन् तर राष्ट्र अथवा समग्र संस्कृतिसहितको एकताबद्ध मानवसमूहले राजनीतिक निर्णय गर्न अथवा राष्ट्र बन्न धर्मलाई मूल आधार कहिले बनाएको छैन ।

युरोपमा अधिकांश राष्ट्रका जनता इसाईधर्मी छन् तर भाषा, संस्कृति एवं जातीय पहिचानका कारणले राष्ट्र अलगअलग बन्न पुगेको छ । सिङ्गो अरब क्षेत्र इस्लामधर्मी हो तर त्यहाँ देश फरकफरक छन् । किनकि भाषा, संस्कृति एवं मनोविज्ञान फरक भएकाले अलगअलग राष्ट्रियता बन्न पुगेका छन् । धर्मले राष्ट्र बनाउन ठूलो भूमिका खेल्छ भन्ने होइन, त्यसैले एकीकरण हो भन्ने तर्कसँग हिन्दू धर्म जोगाउने विषयको कुनै समाजशास्त्रीय सम्बन्ध नै छैन ।

५. अरु राजालाई प्रगतिको वास्ता थिएन : त्यसैले एकीकरण !

त्यतिखेरका सानासाना राज्यका राजालाई प्रगतिको वास्ता थिएन तर पृथ्वीनारायणलाई चिन्ता थियो, त्यसैले एकीकरण नै भन्नुपर्छ भन्ने तर्क पनि छ । यो तर्क पनि खासै तथ्यमा आधारित देखिएको छैन किनभने तत्कालीन गोरखा राज्यमा एउटा गतिलो दरबारसम्म थिएन । तर वागमती उपत्यकामा भव्य सभ्यता भइसकेको थियो । त्यति बेलाका कर्णालीपारि र भेरी आसपासका राज्यहरु अनि पूरै लिम्बुवानसम्म शासन चलाउने सेन राज्य गोरखा राज्यभन्दा विकासमा पछि थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । तब विकास र प्रगतिको चिन्ता अरुलाई थिएन भन्ने तर्कको पुष्टि कसरी हुन्छ ? आफ्नो प्रगतिको वास्तै थिएन भने आफू मर्न तयार भएर पृथ्वीनारायणको सेनासँग किन लडेका त विजित राज्यका जनताले ? आत्मसमर्पण गरेकाहरु मर्नै पर्दैन भन्ने त थाहा नहुने कुरा भएन । प्रगतितिर वास्तै थिएन भने १८३१ सालमा लिम्बुवान स्वायत्तताको लिखित सम्झौता गरेर मात्र गोरखाली राज्यलाई मान्न तयार किन भयो लिम्बुवान ? आजका अङ्ग्रेजले नालापानीमा केटाकेटी बोकेर लड्ने नेपाली महिलालाई आफ्नो देशको प्रगतिको चिन्तै थिएन भनेर लेखे भने कोही आजको नेपाली त्यो भनाइ स्वीकार गर्न तयार होला ? कदापि हुने छैन किनभने त्यो सत्य कुरा होइन ।

यदि त्यति बेलाका फरक सभ्यताका राज्यका राजा र जनता प्रगति नै चाहँदैनथे भन्ने मान्ने हो भने पनि जबर्जस्ती मान्छे मार्दै प्रगति गराइदिन जाने अधिकार पृथ्वीनारायणलाई कहाँबाट प्राप्त हुन्छ ? आजका राउटेलाई जबर्जस्ती गाउँ बनाएर राख्ने, नमान्नेलाई नाक–कान काटिदिन मिल्छ ? कतिपयले कस्ता नकच्चरो तर्क पनि गर्छन् भने ‘त्यति बेला त्यस्तै चलन थियो ।’ त्यस्तै चलन थियो भनेको ठीक थियो भनेको हो ? सती पठाउने दिन थिए भन्नुको मतलब सती प्रथा ठीक थियो भन्नु हो ? कदापि हुन सक्दैन ।

अर्काथरी केहीले भन्ने गर्छन्– ‘त्यो त्यति बेलाको आवश्यकता थियो ।’ ठीक कुरा हो, आवश्यकताबिना मानवीय कर्म जन्मिन सम्भव छैन तर कसको आवश्यकता ? आवश्यकताहरु सबै ठीक, न्यायपूर्ण र प्रगतिशील हुँदैनन् । तत्कालीन फाइदाको मात्र कुरा गर्दा पनि सबै वर्ग र सबै समुदायको निम्ति एउटै आवश्यकता फाइदाजनक हुनै सक्दैन । जात प्रथा त्यति बेलाको आवश्यकता हो तर श्रमिक वर्गको होइन, शोषक वर्गको आवश्यकता हो । बहुपत्नी प्रथा पनि आवश्यकता हो तर महिलाको होइन, मनमौजी पुरुषको आवश्यकता हो । त्यसैले गोरखा राज्यको विस्तार पृथ्वीनारायण शाह र उनको खलकको आवश्यकता हो, अरुको आवश्यकता त एकता एवं सहकार्यको हो । भक्तपुरमा मीत लाउन आउँदा सहस्र स्वीकार्ने भक्तपुरेहरुको आवश्यकता भनेको गोरखासँग मीतको साइनो गाँस्ने होला तर पृथ्वीनारायणको आवश्यकता हमला गरेर अधीनस्थ बनाउने भयो । त्यसैले आवश्यकताको सिद्धान्तलाई कसको आवश्यकता भन्ने कसीले जाँच्नैपर्छ ।

६. एकीकरण नभए नेपाल अब टुक्र्याउनु त : त्यसैले एकीकरण !

एउटा गजबको प्रश्न उब्जाउने गरिन्छ– एकीकरण थिएन भने अब के नेपाललाई पुरानै टुक्राटुक्रामा फर्काउने त ? बाइसे चौबीसे राज्य पुनर्स्थापना गर्ने त ?

यस्तो प्रश्नले त बलात्कारबाट बच्चा जन्मियो भने बलात्कार भन्न हुँदैन भन्ने ठाउँसम्म पुर्‍याउँछ । बालविवाह ठीक थिएन भन्नुको मतलब बालविवाहपछि दाम्पत्य जीवन जेनतेन चलाइरहेको जोडीलाई सम्बन्धविच्छेद नै गराउनुपर्छ भनेको हो ?

चरम गरिबीमा पनि गीत गाइन्छ, नाचिन्छ तर त्यो चरम गरिबी ठीक हो ? यस्तो तर्कले त जेजे भए, ती सबै ठीक थिए भन्ने ठाउँमा पुर्‍याउँछ, जुन गलत अवधारणा हो ।

करिब अढाइ सय वर्षको एकात्मक केन्द्रीकृत हिन्दू पहाडिया खस अहंकारवादमा आधारित शासनले नेपालका विभिन्न भाषा, संस्कृति, क्षेत्र र जातीय मनोविज्ञानका मानिसहरुलाई उनीहरुका मौलिक भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक समग्रमा अलग सभ्यताकृत सम्पदालाई छियाछिया पार्दै प्रताडना दिँदै एकै राज्यमुनि बस्न बाध्य पार्योक । त्यस बाध्यताले स्वाभाविक रुपमा जनताहरुका बीचमा आपसी न्यानो, एकअर्काको आवश्यकता अनि सँगै मिलेर प्रगति गर्न सकिने सम्भावना पनि जन्माउँदै लग्यो । अब छुट्टिएर भन्दा पनि मिलेरै प्रगति गर्न सकिने अनि साझा परिचय नेपाली भन्नुमा बेग्लै आनन्दको अनुभूति थपिँदै गयो । यसरी बहुराष्ट्रिय राष्ट्रियता निर्माणको सम्भावना प्रकट हुन पुग्यो ।

तर यहाँसम्म आइपुग्दा यो कुरो जन्मियो तर नेपालमा जनजाति, मधेशी, मुस्लिम, दलित, कर्णालीपारिका जनताका हजारौंहजार सांस्कृतिक, बौद्धिकलगायतका सम्पदा जो हजारौं वर्ष लगाएर बनेका थिए, ती सम्पदा सदाका निम्ति ध्वस्त हुन पुगे । ती सम्पदासहित अगाडि बढ्न पाइएको भए आजको यहाँको मानवको सभ्यता निश्चय नै अहिलेको भन्दा कता हो कता माथि हुन पुग्थ्यो । तर, पृथ्वीनारायण शाहको गलत तरिकाको अर्थात् फरक सभ्यतालाई नष्ट गर्ने राज्य विस्तारको अभियान र अढाइ सय वर्षको गलत शासन प्रक्रियाले हामी धेरै नै मौलिक सामर्थ्य गुमाइसकेको सभ्यता बन्न आइपुगेका छौं । गंगा र ह्वाङहो अनि ककेसिया र सिन्धु सभ्यतादेखि आइपुगेका सांस्कृतिक सामर्थ्यसहितको भव्यताको यो हिमालदेखि मैदानसम्म फैलिएको मानव बस्ती आज कंकालजस्तो हुन पुगेको छ । त्यो वास्तवमा बलात् राज्य विस्तार, अर्को सभ्यतामाथि हस्तक्षेपको विस्तारको प्रक्रियाको कारण नै हुन पुगेको स्पष्ट छ । त्यसैले फरक सभ्यताहरु ध्वस्त पार्दै जाने प्रक्रियाको सुरुवात कसरी एकीकरण हुन सक्छ ? त्यो वास्तवमा फरक सभ्यताहरुको ध्वस्तीकरणको एउटा प्रक्रियाको सुरुआत थियो ।

पृथ्वीनारायण शाहको राज्य विस्तारबारे तर्क–वितर्क हुँदा सामान्यतया मजबुत आर्थिक एकाइ निर्माणको कोणबाट मात्र हेर्ने गरेर पनि गलत निष्कर्ष निस्कन पुगेको छ । तत्कालीन आर्थिक उन्नतिलाई मात्र सही वा गलतको आधार बनाउने हो भने त उपनिवेशहरु पहिलेभन्दा स्वतः विकास हुन पुगे । त्यसो भए उपनिवेशवाद ठीक हो त ? होइन । नेपालमा एकीकरणको विषयलाई फरकफरक सभ्यताको एकीकरण कसरी भन्ने प्रश्नबाट हेर्नुपर्दछ । त्यसरी हेरियो भने मात्र दीर्घकालीन रुपमा समृद्ध मानव बन्ने यात्रालाई पृथ्वीनारायणको राज्य विस्तार र त्यसपछिको गलत शासनले अवरुद्ध बनाउन पुग्यो भन्ने लुकेको सत्यलाई बाहिर ल्याउन सकिन्छ ।
कहिलेकाहीं भूगोलको एकीकरण त पृथ्वीनारायणले गरेकै हुन् भन्ने कुरा पनि सुनिन्छ । ‘भूगोलको एकीकरण’ भन्ने वाक्यांश आफैमा अडबाङ्गे छ । किनभने के त्योभन्दा अघि गोरखा र काठमाडौंको बीचमा भूगोल टुक्रिएको थियो र ? संसारका सबै भूगोल एकअर्कोसँग जोडिएका छन् तब भूगोलको एकीकरण भनेर के अर्थ दिने ? जसरी हुन्छ त्यो एकीकरणै हो र पृथ्वीनारायण राष्ट्रनिर्मातै हुन् भन्ने पुष्टि गर्न गरिएको तर्कबाहेक यो अरु केही होइन ।

७. पृथ्वीनारायण शाह र उनको कदम : निष्कर्ष

पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दू पहाडिया खस–आर्य अहंकारवादी राजा थिए । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भूभाग र जनतामाथि शासन गर्ने, आफूभन्दा विकसित राज्य पनि हात पार्ने सपना उनमा थियो । त्यति मात्रै होइन‚ त्यो सपनालाई व्यवस्थित ढंगले अघि बढाउने योजना र चातुर्यता पनि उनमा देखिन्छ ।

आफ्नो नेतृत्वमा विजय हासिल गरिएको राज्यका प्रत्येक राजा आफ्नो सामन्ती राष्ट्रवादलाई बढावा दिन्थे । उनको ‘दिव्यउपदेश’ भनी चर्चा गरिने गरिएको देशभक्तिका बखानहरु वास्तवमा सामन्तवादकालीन सामन्ती राष्ट्रवादभन्दा माथिल्लो स्तरका भने होइनन् भन्ने कुरा इतिहासका विद्यार्थीहरु सबैले भन्न सक्दछन् । पृथ्वीनारायण शाह कुनै युद्धसरदार अथवा लुटाहा योद्धाचाहिँ होइनन् । उनी प्रस्ट रुपमा राजा हुन् । आफ्नो राज्य अथवा शासनको अधीनमा आजको नेपाली भूभागलाई ल्याउन नेतृत्व गर्ने अथवा आजको नेपाल देशलाई संगठित गर्ने राजा हुन् पृथ्वीनारायण शाह । तर जे जसरी उनले नेपाल संगठित गरे, त्यो कदम एकता र एकीकरण होइन बरु हिन्दू पहाडिया आर्य–खस अहंकारवादी राज्यको विस्तार र सुदृढीकरण मात्र थियो । यसको सीधा अर्थ के हो भने देश बन्नु, बनाउनु र एकीकरण एउटै कुरा होइन ।

निःसन्देह नेपाल देशको जग राख्ने राजा पृथ्वीनारायण नै हुन् । त्यस अर्थमा उनलाई देश निर्माता भन्न सकिन्छ तर राष्ट्र निर्माता होइनन् । किनभने, नेपालका फरकफरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । उनले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे‚ जसको कारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन । नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रुपमा मात्रै बुझिन्छ‚ जुन कुरा सत्य होइन । तसर्थ, पृथ्वीनारायण शाह देश निर्माता हुन्, राष्ट्र निर्माता होइनन् ।

देश हुनको निम्ति राज्यसत्ता, जनता र भूभाग भए पुग्दछ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरुबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । उनले देश निर्माण गरे तर नेपालमा बहुसभ्यताबीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए । त्यसकारण उनको बहुसभ्यताविरोधी अभियान एकता र एकीकरण थिएन बरु बहुसभ्यता ध्वंसीकरण अभियान थियो । पृथ्वीनारायण शाह नेपालको इतिहासमा विभूति मान्न योग्य मानिस होइनन् बरु आफ्नो उद्देश्यमा सफल सामन्ती राजाका रुपमा उनलाई बुझ्नु अनि नयाँ पुस्तालाई बुझाउनु ठीक हुन्छ । यदि उनको कार्य एकीकरण हुन्थ्यो भने आज अढाइ सय वर्षपछि आएर हामी वास्तविक राष्ट्रिय एकीकरण जरुरी छ भन्न बाध्य हुने थिएनौं बरु आजको अत्याधुनिक युगमा अर्कै अत्याधुनिक विषयमा कुरा गरिरहेका हुने थियौं ।
समाप्त

 

(आहुति एनेकपा माआवादी नेता तथा लेखक हुन् )

पुस २७ गते, २०७३ - १४:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
८ फोटोमा हेर्नुहोस्–प्रचण्डको दशैं टिका

८ फोटोमा हेर्नुहोस्–प्रचण्डको दशैं टिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि...   
आज महानवमी पर्व : दुर्गा पुजा र जमरा चढाइँदै

आज महानवमी पर्व : दुर्गा पुजा र जमरा चढाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा...   
संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

अर्घाखाँची । आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम...   
एमाले फेरि पहिलो पार्टी हुन्छ ज्ञवाली

एमाले फेरि पहिलो पार्टी हुन्छ ज्ञवाली

नवलपरासी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top