Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सवार्ल्टनकी बङ्गाली प्रवक्ता महाश्वेता देवी

\"MAHASWETA_DEV_\"कालाजातिमाथि अन्याय, आक्रमण र विभेदको श्रृंखला कायमै छ अझै, भलै स्वरुप बदलिएको होला । गत केही वर्षदेखि संयुक्त राज्य अमेरिकाको रंगभेदी तनाव र झडप अझ सतहमा आएको छ । यही जातिका बाराक ओवामालाई राष्ट्रपति पाए अमेरिकीले तर स्थिति उनकै कार्यकालमा उग्र बन्यो । कालाहरुको हकमा लड्नेहरुले त फरक झण्डा र फरक भूगोलका कुरासम्म उठाउन थालेका छन् । स्थिति मथ्थर देखिए पनि सहज छैन । सत्तरीको दशकमा त कालालाई मार्नुप¥यो भने रेड भन्दै कम्युनिष्टको बिल्ला भिराइन्थ्यो । रिचर्ड राइटलिखित उपन्यास ‘नेटिभ सन’ले यो बिदारक कहानी भन्छ । त्यहीवेलादेखि ‘रेड अलर्ट’ पदावली दमनको नयाँ रुपमा विस्तारित भयो । भारतीय परिदृश्य अझ विकराल छ । विगतमा आदिवासी मुद्दालाई यसैगरी हेरियो र आज पनि यसरी नै हेरिँदैछ । समय फेरियो तर दोषी चश्मा फेरिएको छैन । सन् १९६० तिरको चारु मजुमदार, कानू सन्यालहरुको अगुवाइमा आदिवासी बहुल क्षेत्रलाई केन्द्रित गरी गरिएको नक्सलाइट आन्दोलन नयाँ स्वरुपमा सलबलाइरहेको छ, पश्चिम बंगाल लगायत अन्य कैयौं प्रान्तमा । निर्दाेष आदिवासीहरु कम्युनिष्टको नाममा मारिँदै छन्, अझ धेरै । राज्य सरकार दमनको लागि ‘सल्मा जोदुम’ जस्ता भिजिलान्ते समूह परिचालन गरिरहेछ । यस्ता अन्याय अत्याचार आफ्नैअघि देखेपछि विवेकसम्पन्न केहीलाई राष्ट्रवादीको सरकारी फम्र्याटमा कैद हुन मन नलाग्ने रहेछ । महाश्वेतादेवी तिनै केही मध्येकी हुन्, जसले विवेकलाई बन्धकी राख्न चाहिनन् । प्रतिवद्ध लेखकहरुले सत्ताको चाकरी गर्दैनन् । ‘कम्फर्ट जोन’बाट निस्केर सत्ताको विपक्षमा उभिने जोखिम मोल्छन् । महाश्वेताले त्यही जोखिम मोलिन् । यहाँसम्मकी बागी विचार बोकेकै कारण छँदाखाँदाको सरकारी जागिरबाटै बर्खास्त गरियो । हालको ढाका मूलथलो भए पनि भारत पाकिस्तानको विभाजनपछि महाश्वेताको परिवार पश्चिम बङ्गाल फर्कियो । कला साहित्यको क्षेत्रमा बङ्गालीभूमिको लोभलाग्दो विरासत भेटिन्छ । रविन्द्रनाथ टैगोर, माइकल मधुसुदन, नजरुल इस्लाम यही भूमिसँगै जोडिएर आउने हस्तीहरु हुन् । नयाँ दिल्लीभन्दा पहिले भारतको राजधानी रहेको कलकत्ता शहर त एशियाकै ‘कल्चरल हब’ भयो । सृजनाको लागि चाहिने नियमित खुराक जुटाउन कलकत्तावासी बौद्धिक छलफल, बसिबियाँलो, भलाकुसारीमा संलग्न हुने गर्थे । कलकत्ते बोलीमा नै भन्नुपर्दा ‘अड्डा’ जमाउँथे । दिनभरको व्यस्ततापछि साँझपख होटल, रेष्टुराँमा वा पायक पर्ने थलोमा भेला हुने, कुराकानी गर्ने, सामुहिक रुचिका सृजनात्मक काममा संलग्न हुने गर्थे । यही कलकत्ताले सत्यजीत रे, मन्ना डे, बाङ्किमचन्द्र चट्टोपाध्य, शरत्चन्द्र चट्टोपाध्य, सुनिल गङ्गोपाध्य आदि मार्फत आवादी पायो साहित्य, संगीत तथा सिनेमामा । अभिताभ घोष, अरुन्ध्वती रोय, झुम्पा लाहिरी, नील मुखर्जीको लेखन ओजले राम्रै प्रभाव छोडेको छ विश्वभर । विगतदेखि वर्तमानसम्मका एक से एक स्रष्टाहरुको भीँडमा अलग पहिचान बनाइन् महाश्वेता देवीले पनि । उनै महाश्वेता कहिल्यै नमेटिने पदचाप छोड्दै बिदा भइन् गत हप्ता । साठीको उत्तरार्धतिर भारतमा नक्सलवादी आन्दोलन उचाइमा थियो । बङ्गालमा मात्र होइन, भारतभरका बौद्धिकहरु तरङ्गित थिए यसबाट । साहित्य कलामा पनि यसको प्रभाव नपर्ने कुरो भएन । यस्तै परिवेशमा महाश्वेता देवीले लेखिन् ‘हजार चौरासीर माँ’ । समाज बदल्ने लक्ष्यसहित हिँडेको ब्रती मारिन्छ उपन्यासमा । लामो समय पतिको पितृसत्तात्मक सोचको छाँया तल दबिएर बसेकी सुजाता छोराको मृत्युपछि एकाएक बदलिन्छिन् । ब्रतीको अधुरो सपनाको सारथि बन्न कत्ति पनि हिच्किचाउन्नन् । मान्छे मरेपनि उसले खनेको गोरेटोमा हिँड्ने र उसले बोकेको विचारलाई अगाडि लानेहरुको अन्त्य हुँदैन । भलै त्यो आन्दोलन केही समय सुषुप्त होला, सुस्ताउला । यस्तै सन्देशसहित उपन्यास सकिन्छ । ‘हमे मार देने से यह लडाईं खत्म नही होने वाली–यह खुले और भूमिगत दोनों रुपों में सक्रिय रहेगी ।’ भारतीय चित्रकार एवं शब्दशिल्पी अशोक भौमिकको लघुउपन्यास ‘शिप्रा एक नदीका नाम है’ को भनाइसँग धेरै तादात्म्य राख्छ, ब्रतीको हत्या र उसकी आमाको अठोटले । महाश्वेताको उपन्यासमा आधारित यही नामको सिनेमा पनि बनेको छ, जसमा जया बच्चनले हजार चौरासी नम्बरको कैदी (ब्रती)को आमाको रुपमा दमदार अभिनय गरेकी छन् । यसमा म्याक्सिम गोर्कीको आमाको केही छायाँ पनि देखिन्छ । महाश्वेताको चिनारीको पर्याय जस्तै बनेको यो उपन्यासवाहेक अरु रचनाले पनि सिनेकर्मीको ध्यान तानेका छन् । उनकै कथा ‘रुदाली’मा टेकेर अर्को सिनेमा बन्यो यही नाममा । सामाजिक यथार्थ गजबसँग प्रतिबिम्बित छ ‘रुदाली’मा । समाजका धनाढ्यहरुको मृत्युपछि उनीहरुका आफन्त पैसा दिएर भाडामा मलामी खरीद गर्छन् । धेरै मलामीलाई उपस्थित गराई गाउँ नै थर्काउने गरी रुन लगाउने र पछि नाँचगानमार्फत् आफ्नो महिमागान गराउँछन् । डिम्पल कपाडियाको भूमिका अविस्मरणीय छ सिनेमा भर्सनमा । सृजना महाश्वेताको नश्लमा नै थियो सायद । बाबु कवि, आमा समाजसेवी तथा लेखक अनि काका सिनेकर्मी । तर पनि फगत वौद्विक विलासिता या आत्मसन्तुष्टिका लागि लेखक बनेकी होइनन् उनी । जब निमुखाको पक्षमा बोल्ने कोही देखिनन्, टिपिन् कलम आफैं र लेखिन् आदिवासी, दलितका कथाव्यथा । त्यतिमात्र कहाँ हो र, उनीहरुका अधिकारका लागि संघर्षमा समेत उत्रिन् । कालान्तरमा त्यही विषयमा बोल्दै र आन्दोलनसमेत गर्दै हिँडिन् । भारतीय स्वतन्त्रता संग्रामकैबेला मारिएका आदिवासी नेता बिर्सा मुण्डा र उनको संघर्ष वरिपरि केन्द्रित छ उनको उपन्यास ‘अरन्येर अधिकार’ (जंगलको अधिकार) । प्रतिष्ठित राष्ट्रिय पुरस्कार मात्र होइन, एशियाको नोवल भनिने रामोन म्यागासासे समेत दिइयो उनलाई–आदिवासी अधिकारका लागि निरन्तर सिर्जनात्मक लडाइँमा होमिएवापत । कथा, उपन्यास गरी सयकै हाराहारीमा छन् उनका रचनाहरु । महाश्वेताको बुझाइमा, मूलधारको समाज भन्दा आदिवासी समाज बढी उन्नत, न्यायिक र सभ्य छ । दाइजो, छोराछोरीबीचको भेदभाव, धार्मिक हिंसा कमै भेटिन्छ त्यहाँ । आदिवासीको दुःखदर्द र राज्यले गरेको अत्याचारको साक्षी थिइन् उनी आफैं । त्यसैले त सूक्ष्म र सटीक वर्णन पाइन्छ परिवेशको । राम्रो अंग्रेजी बोल्ने यी स्रष्टाले बङ्गालीमा मात्रै लेखिन् । उनका किताबहरु विस्तारै हिन्दीमा अनुवाद गरिए र भारतको मूलधारमा उनले उठाएका आदिवासी तथा दलितका मुद्दाले वहसको लागि ठाउँ बनाउँदै गए । तर पनि वाहिरी जगतमा उनको लेखनको कुनै चर्चा थिएन । अंग्रेजीभाषीसम्म उनका रचनाहरु परिचित गराउने काममा अग्रणी भूमिका खेलिन्, गायत्री स्पीभाकले । बङ्गालकी यी छोरी स्पीभाक अहिले उनका अलग विचार र रचनाका कारण संसारभर पढिन्छिन्, पछ्याइन्छिन् । दशकौं अघि लेखिएको उनको किताब ‘क्यान सवाल्र्टन स्पीक (निमुखाहरु आफैं बोल्न सक्छन् ?)’ ले अझै बौद्विक मन्चमा चर्चा पाइरहेकै छ । यो किताबको ख्याति यति चुलियो कि स्पिभाकलाई नै सबाल्र्टानको प्रवक्ता समेत भन्न थालियो । पछि उनै स्पिभाकले ‘द्रौपदी’ लगायतका कथाहरुको कुशल अनुवादबाट महाश्वेताको लेखनको डिस्कोर्स ग्लोवल बनाइदिइन् । ‘द्रौपदी’मा आदिवासी महिला दोब्दीको कहानी छ । पुलिस प्रशासनका मतियारहरुले उसलाई यातना दिंदै बलात्कार गर्छन् । जब ऊ निर्वस्त्र उनीहरुको सामुन्ने आउँछे, मतियारको नाइके (सेनानायक) पराजयले हल्लिन्छ । कालान्तरमा अन्य अनुवादक पनि थपिए महाश्वेताको परिचय फैलाउन । कम्युनिष्ट आदर्शलाई संवेदनाको चास्नीमा घोलेर ‘हजार चौरासीर माँ’ लेखे पनि उनी अन्धभक्त कम्युनिष्ट थिइनन्, प्रखर आलोचक समेत रहिनन् । खासगरी बङ्गालका कम्युनिष्ट पार्टीका नेताहरुको द्वैद चरित्रको तीव्र विरोधी थिइन् उनी । सन् २०११ को मध्यतिर सारा भारतसँगै पश्चिम बङ्गाल चुनावी माहौलले तातिएको थियो । ज्योति बसुका उत्तराधिकारीहरुले नराम्रो पराजय भोगे यो चुनावमा । ममता बेनर्जी स्थापित भइन् सत्तामा । महाश्वेताले ममताको किसानमुखी एजेण्डाको पक्षमा मत हाल्न आह्वान समेत गरेकी थिइन् मतदातालाई । सिङ्गुर, नन्दीग्राम लगायतका गरीब बस्तीहरु हटाई औद्योगिकरण गर्न खोज्ने तत्कालिन कम्युनिष्ट सरकारलाई राम्रै पाठ सिकायो बङ्गालले त्यतिखेर । र महाश्वेताजस्ता कम्युनिष्टहरुले नै कम्युनिष्ट पार्टीको गरीबमारा रवैयाविरुद्व आवाज ओकले त्यतिखेर । महाश्वेता विवादमुक्त भने रहिनन् । पछिल्लो समय ममता बेनर्जीको असहिष्णु नीतिका कारण उनलाई तानाशाही भन्दै आलोचना गरिन् । तर केही पछि तिनै ममतालाई भारतको प्रधानमन्त्रीका रुपमा देख्न चाहेको बताइन् । उनको पारिवारिक पाटो पनि सुखद रहेन । प्रथम पति नाटककार विजोन भट्टाचार्यसँग छुट्टिइन् तर दोश्रो पतिलाई पनि चाँडै गुमाइन् । एक मात्र छोरा उपन्यासकार (नवरुन भट्टाचार्य) सँग पनि सम्बन्ध राम्रो थिएन । उनै नवरुन पनि विते दुई वर्ष पहिले । गत केही वर्षदेखि रोग र बुढ्यौलीका कारण निस्क्रिय बाँचिन् आफैं पनि । ‘ओ, टु लिभ अगेन (फेरि बाँच्नको लागि) ।’ यो २०१३ मा जयपुर लिटरेरी फेस्टिवलमा उनले दिएको किनोट स्पिच थियो । जीवनका उतारचढाव, लेखन जीन्दगी, आदिवासी, नक्सलाइट आदि धेरै विषयमा कोमल र प्रष्टसँग आफ्ना दृष्टिकोण राखिन् त्यहाँ उनले । उपेक्षितहरुको जीवन संस्कृतिवारे सर्वत्र चर्चा हुनुपर्ने उनको जिकिर छ । उनी सबैबाट अपेक्षा गर्छिन् मानवीय समभावको । यस्तो समभाव जहाँ एक अर्काको अधिकारलाई स्वीकार गर्दै इज्जतसाथ मान्छेका रुपमा बाँच्ने वातावरण सबैलाई मिलोस् । जयपुर मात्र होइन, जर्मनीको फ््रयाङ्कफर्ट लिटरेरी फेस्टिवल (२००६) को उनको मन्तव्य पनि स्मरणीय छ । त्यसैको एक अंश यस्तो छः ‘मैले बारम्बार भन्ने गरेकी छु, भारतीय स्वतन्त्रता देखावटी मात्र भयो । यी विपन्न, निमुखा जनताको लागि स्वतन्त्रता खोई ? अझै उनीहरु आधारभूत अधिकारबाटै बन्चित छन् ।’ ग्लोबलाइजेशनले गाँजेको युग हो यो । यसका पक्ष विपक्षमा धेरै लेखिए, बोलिए । विपक्षमा लेखिएको जोसेफ स्टिग्लिज्स्को ‘ग्लोबलाइजेशन एण्ड इट्स् डिस्कन्टेन्ट्स्’ जति चर्चामा छ, त्यतिकै नाम जपिन्छ पक्षमा लेखिएको जगदिश भगवतीको ‘इन डिफेन्स अव ग्लोबलाइजेशन’ । विशेषज्ञका यी जटिल प्राज्ञिक लेख मात्र होइन, साहित्यमा पनि यो विषयले प्रवेश पाएको छ । हाम्रै युवाकवि विनोदविक्रम केसीले सरल पारामा ग्लोबलाइजेशनको धज्जी उडाएका छन्, उनको कविता ‘भूमण्डलीकरण’मा । यही विषयमा फुर्सदमा किताब लेख्न चाहेकी थिइन् महाश्वेताले । तर फुर्सद पाइनन् या बिग्रँदो स्वास्थ्यले छेक्यो, नलेखी वितिन् । यद्यपि उनले ग्लोबलाइजेशनलाई सरल किसिमबाट यसरी चुनौति दिएकी छन् ः ‘भूमण्डलीकरण विरुद्ध रचनात्मक केही काम त पक्कै गर्न सकिन्छ । सहरको केन्द्रको खाली जमीनलाई हरियालीले ढाकौं । एउटा रुख रोपौं, जंगली रुख भए पनि हुन्छ । तपाईको छोरा साइकल चलाउँदै खेलोस् त्यहाँ । कुनै गरीब केटो त्यहाँ आओस् र ऊ पनि सँगै खेलोस् । कतैबाट एउटा चरी आओस् अनि रुखमा बसोस् । साना कुरा अनि सानै सपना । आखिर तपाइँसँग सपना छ नि, सानै भएपनि । कि कसो ?’ यतिखेर महाश्वेताको बाटोमा हिँड्ने अरु धेरै निडर स्वप्नद्रष्टा चाहिएको छ । गरीब तथा निमुखाका सपनामाथि बुल्डोजर चलाउने नव उदारवादीहरुको विरुद्ध सिर्जनात्मक आवाज उराल्ने र आन्दोलनको अगुवाइ गर्ने उनीजस्तै अरु धेरै सवाल्र्टनका प्रवक्ता चाहिएको छ समाजलाई ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies