Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मोदी अतिक्रमणकारी, फासिष्ट र जंंगली हुन्ः प्रकाण्ड, प्रवक्ता– बिप्लव माओवादी

\"prakanda\"नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अतिक्रमणकारी, फासिष्ट र जंगली भएको आरोप लगाएका छन् । उनले मोदीको विचार अतिक्रमणकारी र पोलिटिक्स फासिष्ट र जंंगली भन्ने प्रष्टै भएको बताए । उनले भारतीय नाकाबन्दीको विरोधमा भारतीय दूतावासलाई कारबाही नै गरिसकेको दाबी गरे । क्रान्तिकारी कम्युनिष्ट पार्टीले सञ्चालन गर्ने आन्दोलन र क्रान्तिको स्वरुप भनेको अन्ततः निर्णायक र सशस्त्र नै हुने प्रकाण्ड बताउँछन् । आफूहरुको आन्दोलन पनि सशस्त्र नै हुने उनले स्पष्ट गरे । उनले जनकारको काउन्टरमा केन्द्रदेखि गाउँसम्म नै जनसरकार निर्माण गर्ने र त्यसको थालन भइसकेको पनि बताए । प्रकाण्डसँग मुलुकको संकट र पछिल्लो राजनीतिक अवस्थाकाबारेमा खबरडबलीले गरेको कुराकानीको संक्षेप ।   नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्दैछ, तपाईहरु चाँही कसरी अगाडि बढ्दै हुनुहुन्छ ? द्ई वटा कोणबाट यसलाई हेर्नुपर्छ । ०६३ साल भन्दा यतातिरको पोलिटिकल ट्रान्जिस्नल फेज सकियो । माओवादी र संसदबादी शक्तिसहितको संक्रमणकालिन एउटा यात्रा र एउटा कोर्ष अन्त्य भयो । त्यसको अन्त्य भइसकेपछि देशमा के भयो त ? भन्ने भयो । जनयुद्ध र जनआन्दोलनले जे मुद्दा उठाएको थियो, जे स्प्रिड थियो, त्यसको आधारमा ०६३ यताको कोर्ष जो खडा गरिएको थियो, त्यो सफल भयो कि असफल भयो भन्ने प्रश्न आउँछ । तर त्यो सफल हुन सकेन । जनयुद्धका विरुद्ध या शान्ति प्रक्रियापछिको अवस्थामा षड्यन्त्र भयो । पछिल्लो पटक प्रचण्डसहितका संसदबादी दलहरुले संविधान जारी गरिसकेपछि जनयुद्ध र जनआन्दोलनको पोलिटिकल मूल्य, नारा र उद्देश्य जे थियो, त्यसको खिलाफमा गयो । अहिलेको संविधान भनेको परिवर्तनलाई सुनिश्चित गर्ने, राज्यसत्ता र शासन ब्यवस्था बदल्ने, विगतमा हेपिएका र दमनमा परेका मास कम्युनिटी र क्षेत्रलाई अबको राष्ट्रिय राजनीतिको अधिकारमा ल्याउने, राजनीति अधिकार उनीहरुको हातमा लिने, सत्ता उनीहरुको हातमा लिने र ब्यवस्था उनीहरुले सञ्चालन गर्ने संविधान बनेन ।  संविधान जारी भइसकेपछि ब्यवहारतः यो देशमा प्रतिक्रान्ति भयो । त्यसैले हामीले विगतमा भएको दश वर्षे जनयुद्धले जे मुद्दा उठाएको थियो, त्यसको रक्षा गर्छौं । यो बीचको भएको प्रतिक्रान्तिका षड्यन्त्रविरुद्ध क्रान्ति गर्छौं । त्यो क्रान्ति एकीकृत जनक्रान्ति हुन्छ भनेका छौं हामीले । एकीकृत क्रान्ति भनेको राष्ट्रिय स्वाधिनताका विरुद्धमा हस्तक्षेप गर्ने साम्राज्यवादी, विस्तारवादी शक्तिहरुबाट राष्ट्रलाई मुक्त गर्ने र नेपाली जनतालाई पूर्ण रुपमा अधिकार सपन्न बनाउने नै हो । गाउँदेखि सहरसम्मका जनता, जनआन्दोलन जनसंघर्षदेखि लिएर सशस्त्र संघर्षसम्मका स्वरुपहरुलाई आवश्यकतामा त्यसलाई संगठित गर्ने कार्यदिशा नै यो कार्यदिशा हो । राष्ट्रियताको कुरा त स्वैरकल्पना मात्रै रहेछ भन्ने त तीन महिनाको नाकाबन्दीले नै देखाएन र ? हो, भारतले नाकाबन्दी गर्ने बेलामा नेपाली जनताको चुल्हो बन्द भयो । यो त हाम्रो राष्ट्रियता र नेपाली जनताको स्वनिर्णयको राजनीतिक अधिकारमाथि मात्रै हस्तक्षेप भएन कि नेपाली जनताको बाँच्न पाउने अधिकारको पनि खिलापमा गयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हस्तक्षेप । मोदीको विचार अतिक्रमणकारी र मोदीको पोलिटिक्स फासिष्ट र जंंगली भन्ने त प्रष्टै भयो । यो बेलामा स्वाधिनताको आन्दोलन अझ अनिवार्य भयो । स्वाधिनताको आन्दोलन सम्भव छ, सम्भव बनाउनुपर्छ । त्यसका लागि सहि राजनीतिक विचार र राजनीतिक नेतृत्व जरुरी छ । अहिलेको २१ औं शताब्दीको विश्वको विशेषता भनेको ग्लोबल विशेषता हो । हामी विश्वको कुनै पनि मुलुकमा जानका लागि तीन तिरबाट घेरेको भारत र एकतिरबाट घेरेको चीनको भूभागबाट हिडेर जानुपर्छ भन्ने मान्यता पुरानो मान्यता हो । त्यसलाई ग्लोबल विश्वले क्रस गरिसकेको छ । हामी अहिले भारतको भूगोलमा खुट्टै नटेकिकन युरोप जान सक्छौं । अहिलेको यस्तो विशेषता हुँदा हुँदै जनताको चुल्हो नबल्दा त्यसको न्युनतम वैकल्पिक ब्यवस्था नसोंच्नु र तीन महिनासम्म जनतालाई तड्पाई–तड्पाई राख्नु यो देशका दलाल शासकहरुको नियत र कारण हो । अहिलेको सरकार र सरकार चलाएका दलहरुले कि त भारतसँग नै कुटनीतिक पहल गरी यो समस्या हल गर्न सक्नुपर्दथ्यो ।  कि त अन्तर्राष्ट्रिय रुपमा वैकल्पिक ब्यवस्था खोज्नुपर्दथ्यो । भारतबाट तेल ल्याउँदा १०४ रुपैयाँ पर्ने तेल अर्को देशबाट ल्याउँदा १२० नै पर्दथ्यो त के भयो, जनतालाई भन्न सक्नु पर्दथ्यो । आफ्नो स्वाभिमानको निम्ति आपूर्ति ब्यवस्था गर्नु पर्दैनथ्यो ? त्यसैले अहिलेको राज्यका सञ्चालकहरु राष्ट्र र जनताप्रति गैरजिम्मेवार, राष्ट्रघाती, जनघाती र विस्तारवादका दलाल भएका कारणले गर्दा तीन महिनासम्म चुल्हो बन्द हुँदा पनि जनता तड्पिनु पर्यो । भारतको हामीले केही खाएका छैनौं, हाम्रो सबै भारतले खाइदिएको छ । मुलुक गम्भीर संकटमा परेको बेला राष्ट्रियताको यत्रो दुहाइ दिने तपाईँ क्रान्तिकारी भन्नेहरुले पनि त केही गर्न सक्नु भएन नि ? हामी भारत विरोधी होइनौं । नेपाली जनता पनि भारतविरोधी होइन । हामी माओवादी पनि भारतविरोधी होइनौं । भारतीय शासक वर्ग नेपालविरोधी भएको हुनाले हामीले तिनको काउन्टर मात्रै गरेका हौं । अहिले नेपाली जनताले काउन्टर गरेको हो । हाम्रो त स्वाधिन राष्ट्र हो, सार्वभौम राष्ट्र हो । स्वाधिन र सार्वभौम राष्ट्र र यो राष्ट्रका जनता हुन हामीलाई भारतीय शासक वर्गले कहिले पनि दिँदैनन् । जब हाम्रो राष्ट्रियतामाथि र स्वनिर्णयको राजनीतिमाथि हस्तक्षेप गर्छन, त्यो बेलामा माओवादी पार्टीले भारतीय विस्तारवादी शासक वर्ग नेपाल विरोधी छन् है भनेर आफ्नो आइडोलोजिकल पोलिटिकल स्टेटमेन्ट अगाडि सारेको हो । त्यसमा नेपाली जनताले साथ दिएको मात्र हो । हामीलाई भारतविरोधी भनिन्छ, त्यो दलालहरुको तर्क हो । इण्डिनन शासक वर्ग नेपाल र नेपाली जनता विरोधी छ । अहिले पछिल्लो समयमा मोदीले ब्लकेड (नाकाबन्दी) गरिसकेपछि माओवादी पार्टीले भनेको कुरा सहि रहेछ भन्ने कुरा आम जनतालाई प¥यो । त्यसकारण जनताले साथ दिएका हुन् । यो बेलामा भारतीय हस्तक्षेपका विरुद्ध धेरै ठूलो गर्नुपर्दथ्यो । हस्तक्षेप भइसकेपछि त्यसको ठूलो काउन्टरको नेपाली जनताले अपेक्षा गरेको छ । त्यो सहि कुरा हो । त्यसको तुलनामा ठ्याक्कै त्यही त पुगेको छैन । तर यो हस्तक्षेपका विरुद्धमा राष्ट्रिय स्वधिनताको निम्ति र नेपाली जनताको बाँच्न पाउने नैसर्गिक अधिकारका निम्ति पनि लड्ने पार्टी कोही छ भने हामी माओवादी नै हो । हामी जति लडेका छौंं, त्यसको तुलनामा अरु पार्टी ५ प्रतिशत मात्रै लडेको भए, वा हामीसँग एकाकार भएको भए यो नाकाबन्दीले उहिले नै हावा खान्थ्यो । हामी निरन्तर अगाडि बढ्छौं । यो सबै प्रचण्डजीका कारणले भएको छ । ०६३ साल यता माओवादी शक्तिहरुलाई उहाँ (प्रचण्ड)ले क्षतविक्षत पार्नुभयो । नेपाली जनताको एकता र माओवादी शक्तिहरुलाई नयाँ ढंगले एकता गर्नुपर्ने स्थितिमा जनताको शक्ति र माओवादी शक्ति अहिलेको हस्तक्षेपका विरुद्धमा संघर्षको तहसम्म पुर्याउने अवस्था नपुगिरहेको अवस्थामा निर्णायक आन्दोलन छेड्ने कुरामा केही अपुग भएका छन् । तर हामी रातारात फुलफिल गर्छौैं भन्ने हाम्रो कमिटमेन्ट हो । भारतीय नाकाबन्दीका विरुद्ध लड्न सक्ने शक्ति कमजोर हुनु नै माओवादी विभाजन मुख्य कारक बन्यो उसो भए ? संगठनको हिसावले हेर्दा दुई तीन वटा पार्टी भएका कारणले त्यो पनि भन्न सकिएला । तर त्यो भन्दा मुख्य कारण भनेको विचार र राजनीति हो । ०६३ साल यता माओवादी आन्दोलनको नेतृत्व पंक्तिमा वैचारिक राजनीतिक दृष्टिकोणमा विचलन आउनु नै माओवादी आन्दोलन पछिल्लो दिनमा कमजोर हुनु हो । यसका विरुद्ध लडेर नयाँ ढंगले संगठित गर्नु र संगठित गर्ने प्रयास स्वरुप हामी अगाडि बढिरहेका छौं, यो चाँही सकारात्मक परिस्थिति हो । भनेपछि, एकताको कुरा आवश्यक र सम्भव देख्नु हुन्न ? माओवादीहरुबीचको एकताको कुरा प्रचण्डजी र किरणजीहरुलाई सोधे हुन्छ । यो हामीले भनेको कुरा पनि होइन । अहिले नेपालमा माओवादी शक्तिहरुकाबीचमा तिनी पार्टीहरुका बीचमा एकता सम्भव छैन । किनभने प्रचण्डजीहरु अब माओवादी नै रहनु भएन । एकताको कुरा गर्नु ब्लण्डर हुन्छ त्यहाँ । एकताको कुरा त माओवादी क्रान्तिकारीहरुलाई भ्रमित गर्न उहाँले गरिरहनु भएको छ । नेपालमा इमान्दार माओवादीहरुको ध्रुविकरण सम्भव छ ।  ०६३ साल यता तड्पिएका इमान्दार माओवादी कार्यकर्ताहरुको धु्रविकरण जरुरी छ र त्यो आवश्यकता हो । केही समयअघि पाँच माओवादी पुनर्गठन अभियान चल्दा हाम्र्रा पार्टीको तर्फबाट धर्मेन्द्र बास्तोला पनि सहभागी हुनु भएको थियो । केही बहस गरौं भन्ने पनि थियो । त्यो बेला हामीले माओवादी एकता होइन कि माओवादी ध्रुविकरणको बहस गरौं भन्ने थियो । तर त्यसलाई पछिल्लो समयमा टुइस्ट गरियो । त्यो बेला पनि हाम्रो विषय एकताको थिएन । हाम्रो चाँही ध्रु्विकरणको कुरा थियो । अहिले पनि सबै माओवादी एक हुनुपर्ने देखिन्छ । तर सच्चा माओवादीहरुबीच एकता गरौं भन्ने हो । माओवादी नै नभएकाहरुसँग एकताको कुरा गर्नु नै गलत हो । क्रान्तिको विकल्प छैन भनेर दुई दुई वटा पार्टी अलग थलग भएर पनि तपाईँहरुले पनि क्रान्ति त गर्न सक्नु भएन । यी त भन्ने कुरा मात्र रहेछन् नि होइन ? \"prakanda\"त्यो बेलामा प्रचण्डजी विग्रिनु भयो, उहाँलाई सुधार्न कोशिश गरौं भनेर लाग्यौं । हामीले साढे चार वर्ष त्यो कोशिस पनि ग¥यौं ।  सम्भव नभएपछि हामी किरणजीको नेतृत्वमा अलग भएका हौं । किरणजीको नेतृत्वमा दुई ढाई वर्ष त्यो कोशिस गर्यौं । तर त्यो बेला किरण दाइ तयार हुनु भएन । प्रचण्डजीको विचारमा हाम्रो परेको कुरा तपाईँ (किरण)को विचार–राजनीतिमा नपरेको रहेछ भन्ने भयो । विचार राजनीतिमा परेको भए त अर्को पार्टी बनाइसकेपछि जे विचार भएन, जे राजनीति भएन, जे गतिविधि भएन, क्रान्ति भएन भनेर गरिएको थियो, आफ्नो नेतृत्वमा पार्टी बनाएपछि त्यो दिशामा अघि बढ्नुपर्छ । त्यसो नभएपछि यो तपाईँ आफ्नो निम्ति पनि आत्मघाती गर्नुभयो, पार्टीको निम्ति पनि यो आत्मघाती भयो । त्यसकारणले विवाद नगरौं, नेपालको क्रान्तिलाई रक्षा गर्नुपर्ने भएकाले नयाँ ढंगले पूरा गर्नुपर्छ भन्नेमा हाम्रो सोंचाइ छ भनेर हामी नयाँ पार्टी बनाएर अघि बढेका हौं । हामीले पार्टी बनाएको एक वर्षमा तपाईँले हेर्नुभयो भने राष्ट्रियताको मुद्दामा, जनताको जनवादको मुद्दामा, जनजिविकाको मुद्दामा निरन्तर एकपछि अर्को रुपमा अगाडि आएको छौं । अहिलेको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको जनवादी क्रान्तिलाई पूर्णता दिने सन्दर्भमा र राष्ट्रका अहिलेका समस्याहरुलाई सम्बोधन गर्ने सम्बन्धमा निर्णायक आन्दोलन अहिलेको आवश्यकता भएकाले यसमा चाँही डोज नपुगेको चाँही हो । लिपुलेकदेखि अहिलेको सन्दर्भमा हेर्दा राष्ट्रिय स्वाधिनतामाथि यत्रो हस्तक्षेप हुँदा कोही पनि चुइँक्क बोलेका छैनन् । भारतीय शासक वर्गलाई सिधासिधा थ्रेट गर्ने हामी नै हौंं । नेपालको अर्थब्यवस्थालाई चौपट गर्ने भारतीय एकाधिकार पूँजीका निकायहरुलाई पनि हामीले जनताको तर्फबाट संघर्षको निसाना बनाएका छौंं । हामीले भारतीय दूतावासलाई कारबाही ग¥यौं । वैद्यजी आफै प्लेकार्ड बोकेर रन्जित रेलाई ज्ञापनपत्र बुझाउनु जानु हुन्छ । रञ्जितेलाई ज्ञापनपत्र बुझाउन जाने हो वैद्यले ? वैद्यको न्युनतम बुद्धि भएको भए, त्यो गर्नु हुँदैनथ्यो । को हो रञ्जिते भन्नुस् त ? इण्डियाको एउटा नेपाल कुटनीतिक प्रतिनिधिलाई नेपालको कम्युनिष्ट पार्टीका नेताहरुले ज्ञापनपत्र बुझाउन जाने हो ? लाजको मर्नु कुरा । तपाईँ भारतीय दूतावासमाथि नै कारबाही थालिसक्यौं भन्दै हुनुहुन्छ, अब सशस्त्र क्रान्तिबाटै अघि बढ्दैछौं भन्न खोज्नु भएको हो ? यो देशमा केही फन्टुसहरु छन् । फन्टुसहरुलाई तपाईँ पत्रकारहरुले बुझाउन सक्नु प¥यो । ती कस्ता छन् भने सामन्तवाद विस्तारवादका दलाल, तिनको जुठोपुरो खाएर तिनीहरु राष्ट्र र जनताको विरुद्धमा गतिविधि गर्छन् । अफवाह फैलाउँछन् । लाटोले पनि बुझ्ने कुरा, कम्युनिष्टको सामान्य ज्ञान भएका मान्छेले बुझ्ने कुरा भनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले सञ्चालन गर्ने आन्दोलन र क्रान्तिको स्वरुप भनेको अन्ततः निर्णायक र सशस्त्र हुन्छ भन्ने कुरा सामान्य ज्ञानको कुरा हो यो । अब नेपालमा के हुन्छ र के हुन्छ भनेका छन् । नेपाली जनताको जनवादी क्रान्ति सम्पन्न गर्नका लागि अन्तिममा जाने भनेकै संघर्षको स्वरुप भनेको सशस्त्र संघर्ष नै हो, त्यो शुरु भइसकेको छ । अहिले सडक संघर्ष र कारबाही गरेका छौं, उत्कर्षमा पुगेका बेला सशस्त्र संघर्ष हुन्छ । राज्य संञ्चालकहरुको हर्कतमा त्यो निर्धारण हुन्छ । उसो भए, संघर्षलाई उत्कर्षमा पु¥याउन हिजोको जस्तै जनसरकार गठन प्रक्रिया अघि बढाउनु भएको हो ? अहिलेको सरकार राष्ट्रघाती र जनविरोधी सरकार भएपछि जनताको सेवा गर्ने एउटा राजनीतिक निकाय र नीति त चाहियो नि जनताको तर्फबाट । गाउँमा अहिले एउटा सचिवले पूरै भ्रष्टाचारको खेलो गरिरहेको छ । जड्याहाहरुले जनतालाई कुट्दै हिड्याछन्, बलात्कार गर्दै हिडेका छन्, यो राज्य हेरेर मात्रै बसेको अवस्था भएपछि जनताको सेवा गर्ने माओवादी पार्टीले जनस्वयंंंसेवक बनाएर, जनताको सुरक्षा समिति बनाएर, जनताको सेवा गर्ने समिति बनाएर अघि बढ्नपर्ने आवश्यकता बन्यो । तर हिजो १० वर्षको जनयुद्ध जस्तो चाँही हुँदैन । हामीले कार्यदिशा पनि नयाँ अगाडि सारेका छौं । केन्द्रमा संघर्षको साधनको रुपमा र तल गाउँ र जिल्लामा जाने बेलामा जनताको सेवा गर्ने साधनको रुपमा हामीलाई जनताको परिषद चाहिने भएकाले हामीले अहिले क्रान्तिकारी जनपरिषद गठन गरेका छौं । त्यो मार्फत हामी जनताको सेवा र सुरक्षा गर्न चाहिरहेका छौं । ०६३ साल यता राज्यले गर्नुपर्ने काम गरेन । राज्यले काम नगरेपछि गाउँमा अराजकता असुरक्षा, गुण्डागर्दी, बलात्कार, भ्रष्टाचारी, कमिशनको खेलो मात्रै छ । जनता निरिह हुन थाले, पुराना शासकहरुले नै फेरि जनतामाथि शासन गर्न थालेका छन् । त्यसको लागि लड्न् जरुरी छ । त्यसको लागि बनाएको जनपरिषद माथि पनि जान्छ र तल पनि जान्छ । राज्यसत्ताको प्रश्न फाइनल हुने बेलामा सशस्त्र स्वरुप यसले धारण नगरीकन त प्रश्नै फाइनल हुँदैन । १०० डिग्री नभइ पानी उम्लिदैन, अहिले टेम्प्रेचर ६० भइरहेको छ भन्ने बुझ्नुस् । मुलुकको अहिलेको संक्रमणकालिन अवस्थाको निकास सैनिक कू र राजतन्त्रको पुनस्र्थापना भनेर तपाईँको पार्टीको एक जिम्मेवार नेताले सार्वजनिक गर्नु भएको छ । अहिलेको निकास त्यही नै हो ? यो कुरा जो मिडियाहरुमा पनि आयो, त्यो हाम्रो पार्टीको अफिसियल लाइन पनि होइन । लिडरसिपहरुले अहिलेको स्थितिको विश्लेषण गर्ने सन्दर्भमा ब्यक्तिगत रुपमा गर्नुभयो होला । त्यसलाई हामीले आफ्नो लाइनै लाइन नै त्यही हो भनेजसरी प्रचार गरिएको छ । त्यो दूराग्रहपूर्ण प्रचार हो । (केही दिनअघि विप्लव माओवादीका केन्द्रीय सदस्य भरत बमले मुलुकको अहिलेको अवस्थाको निकास सैनिक ‘कू’/राजतन्त्र पुनस्र्थापना हो भनी आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ।) मधेस आन्दोलनको बारेमा तपाईँहरुको बुझाई के छ ? पूर्वका मधेसी जनता र पश्चिमको थारु जनताले फेरि आन्दोलन गर्नु प¥यो । २०६३ देखि यता जनताले अधिकारसम्पन्न हुने सोँचेका थिए । यो सबै कारण भनेको पछिल्लो प्रतिक्रान्तिको कारण हो । जनविरोधी संविधानको कारण यो आन्दोलन उब्जिएको हो । किनभने अहिलेको संविधानमा जनताले आफ्नो अधिकार देखेनन् । त्यही भएर नै जनताले विरोध गर्ने कुरा आयो ।  पूर्वका मधेसी जनता र पश्चिमका थारु जनताको आन्दोलन ठिक छ । अहिले संविधानमा मधेसी र थारुको अधिकार हुनुपर्छ । त्यसैले ‘रियल’ जनताको आन्दोलनप्रति हाम्रो समर्थन छ । भनेपछि मधेसको आन्दोलन जनताको साँचो आन्दोलन होइन ?   मधेसी जनताको आन्दोलनलाई आफ्नो सत्ता स्वार्थको निम्ति, आफ्नो दलाल चरित्रको निम्ति र आफ्नो विखण्डनकारी चिन्तन निम्ति दुरुपयोग गर्ने षडयन्त्र भइरहेको छ । त्यो भनेको कथित मधेसवादी दलका नेता भन्नेहरुले गरिरहेका छन् । त्योबाट मधेसी जनताको आन्दोलन अलग गर्नुपर्छ । त्यो र मधेसी जनताको आन्दोलन अलग कुरा हो एउटै कुरा होइन । दलालीहरुको कुरा र कुर्चीका लागि लड्नेहरुको कुरा एउटै होइन । मधेसी जनताले विखण्डनकारी र दलालको विरुद्ध संघर्षगर्नु पर्छ । महन्त ठाकुर, राजेन्द्र महत्तोकोपछि लागेर गणतान्त्रिक अधिकार प्राप्त हुँदैन । अहिले संविधानसभाले नयाँ संविधान दिएको छ । नयाँ संविधान कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको अवस्थामा निकासतिर नलाग्ने ? होइन, प्रक्रिया दुइटैको अगाडि बढेको छ । क्रान्तिकारी प्रक्रिया पनि अगाडि बढेको छ । प्रतिक्रान्तिकारी प्रक्रिया पनि अगाडि बढेको छ । कांंगेस, एमाले, एमाओवादी पार्टीका नेताहरुले दोस्रो संविधानसभाबाट संविधान बनाउनुभयो र त्यसको आधारमा सरकार पनि बनाउनुभयो । सरकार हेर्नुहोला, गाईजात्रा चलिरहेको छ । यो प्रतिक्रान्तिकारी प्रक्रिया हो । हामीले सडकबाट गरेको प्रक्रिया क्रान्तिकारी प्रक्रिया हो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies