पौष १८ गते, २०७२ शनिवार 2nd January, 2016 Sat०९:१४:५७ मा प्रकाशित
कोखिलाभरी वैँशालु उमङ्ग र हृदयभरि भविष्यको सुन्दर सपनाको कुटुरो बोकेर गाडी चढेको छे आज, भुसपाते कान्छी । दीलरुपा मोक्तान हो उसको नाम भन्ने कुरा गाउँकै पनि साह्रै थोरैलाई मात्र थाहा छ ।
कान्छीका बाबुले जन्माएका पाँच सन्तान । सबभन्दा कान्छी भएरै होला ‘कान्छी’ भन्ने पदीय मर्यादाक्रम उसकै लागि निर्धारण गरेजत्तिकै भएको छ । उसका बाबुआमा वा बाजेबज्यै कहाँबाट भुसपाते आइपुगे न कान्छीलाई थाहा छ न त वास्ता नै ।
उत्तरी इलाम र पाँचथरको सीमानामा पर्छ भुसपाते । वर्षौँदेखि राज गरेर बसेका छन् उनीहरु । माइमझुवादेखि भुसपातेसम्म फैलिएको छ चरन क्षेत्र । भेडा र चौँरी चराउनमा उसको परिवारले नै बिर्ता पाएजस्तै गरी हरेक वर्ष उनीहरु नै घुमिरहेका देखिन्छन् ।
वर्षेनि नयाँ पाल टाँगेर उसका दाजुभाइले चराएका चौँरीले इलामको छुर्पी उत्पादनमा भरथेग गरेको छ भन्ने हल्लाले बजारमा राम्रै चर्चा कमाएको छ । त्यसो त नेपालटार, सोक्तिम चिसापानी, फिक्कल र अन्तुसम्मै घुम्छन् उनीहरु । भेडीगोठाला बनेर । तर सङ्टकालीन र स्थायी चरन भुसपाते नै हो ।
अब उसलाई न चौँरीको चिन्ता छ न त भेडाको नै । न ठेकाभाँडा र ढुङ्ग्राको, न त घिउ र छुर्पीको नै ।
केबल एक रातको रात्रीबसको यात्रा । एक रातमै यात्राको टुङ्गो लागिसकेको हुनेछ भन्ने बोधले मात्र पनि कान्छी पुलकित छे । किनकि आज ऊ भविष्य निर्माणको उत्कट अभिलाषा र उच्च शिक्षाको सुन्दर गन्तव्य बोकेर जाँदैछे । सपनाको क्लाइमेक्स डेस्टिनेसन । काठमाडौँ ।
अब उसले भेडा गोठाला दोर्जकुमार मोक्तानकी बहिनी, भुसपाते कान्छी, काले मुक्तानकी छोरी आदि हेलत्वपूर्ण सम्बोधनलाई इलामको उत्तरी गाउँका भीरपाखा र खोँचहरुमा नै मिल्काएकी छे ।
––– ––– –––
नाइट बसले धुवाँ छोड्यो । सँगसँगै भुसपाते कान्छीले उसका पुराना धुमिल स्मृति र धुँवा गन्हाउने लुङ्गी र पटुका छोडी ।
कसले सुमर्छ त्यस्ता थोत्रे कपडा । अस्तीको हप्ता उसले घिउ बेचेर कालो रङ्गको टाइट जिन्स पाइन्ट किनेकी थिई । त्यही लगाएर हिँडी । उसलाई ती लुगा लगाउँदा खुट्टामा बाँधेर भैंसीलाई अँठ्याइएको जस्तो लागिरहेको थियो सुरुमा ।
टिसर्टको माथिल्लो भागबाट दुईवटा भकुण्डो फुत्किन लागेजस्ता देखिन्थे । बीचबाट एउटा नदी बगेको छ, जसको सहायक नदी कुनै पोखरीबाट सुरु भएकोझैँ देखिन्छ । रोकटोकविना दुई पहाडका बीचैबीच हान्निएको छ ।
आँखा अलि देब्रेतिर ढल्किएका हुन् कि जस्ता । हुन पनि सक्छ र नहुन पनि । किनभने आँखाको छेउमा एउटा धर्सो बनाएर काला, नीला र हरिया गाजलका रेखाहरु कोरिएका छन् । गालो एउटा ठुलो स्याउमा देखिएको रातो र पहेँलो पोटिला पाटोजस्तो ।
समग्र रुपाकृति रुप, यौवन र जवानीको प्गाकेजजस्तो ।
कलड्ढी बसपार्कमा आइपुगी । गाडीबाट ओर्लनै मन लागेन ।
जीवन यात्रा हो, सोची । अनवरत चिप्लिएर जाने । अनन्त गन्तव्य । नयाँ ढङ्गको पथिक बनेर सुरु गर्नु छ ।
नयाँ गन्तव्यतर्फ निर्दिष्ट हुनैपथ्र्यो र, भई पनि हाली ।
“ए बैनी गाडीबाट झर्ने होइन ? कि जाने हामीसँगै ?’ खलाँसीले टर्रो आवाज निकाल्यो । झसङ्ग भई ।
“हँ !” उसको गला खसखसायो । आश्चर्यमिश्रित आवाज खुल्ला हावामा उड्दै बाहिर निस्कियो । सडकबाट उडेको धूलो उडे जसरी । फुसफुसाएर ।
खलाँसीले भन्न खोजेको घुम्ती कुरा बुझ्नै सकिन उसले । लुगामा लागेको पत्रैपत्र धुलो टक्टक्याई । अनुहारमा लागेको धुलाको लेयर पुछी । पर्सबाट रुमाल निकालेर । फुस्रो । यसो गर्दा आँखाको वरिपरि गाजल पोतियो । ओठमा रातै हुने गरी लिपिस्टिक दलियो । रङ्गीबिरङ्गी भए गाला र निधार ।
आफ्नै सुरमा अनुहारको स्याहार गरिरही ।
‘हा... हा.. हा’ गरेर खलाँसी रुखो हाँस्यो । अझ पनि ऊ अनभिज्ञ नै छे । एवम् प्रक्रियावत् गाडीको ढोकासम्म आइपुगी । ओर्लिएर कहाँ जाने भन्ने विषयमा आत्माले दिशानिर्देश गर्नै सकेको छैन ।
“दाइ, रत्नपार्क भनेको कता हो ?” बट्टारिएको खलाँसीलाई सोधी ।
‘ए कान्छा !’ ड्राइभरले उसको ओठमा हाँसो लुकाउन नसकेरै लुब्ध भावमा भन्यो, ‘कान्छीलाई रत्नपार्क जाने बाटो देखाइ दे ।’
खलाँसीले उसलाई टेढो आँखाले हेर्दै भन्यो, “रत्नपार्क जाने बाटो सिकाइदिनु रे ?”
‘अँ,’ सोँच्दै नसोँची प्याच्चै भनिहाली । केही बुझ्दै नबुझी ।
के भनिरहेका छन् र किन भनिरहेका छन् उनीहरु भन्ने कुराको हेक्कै भएन दीलरूपालाई । खलाँसीले कलंकीबाट रत्नपार्क जाने गाडी देखाइदियो । निरुद्देश्य यात्रा र अनिश्चत गन्तव्यतर्फ हान्निएका थिए पाइला । चालमा कुनै उत्साह र गति थिएन । नगई पनि भएको थिएन उसले ।
आधाउधी कुरा हुन नपाई फेरि अर्को हरियो रङ्गको माइक्रोबसले खाँद्यो, अगाडि नै सिट प्याक भइसकेको गाडीमा । मानिसको रुपमा साग र मुलाका चानाहरु सिन्की गुन्द्रुक बन्नका लागि आफैँ आइरहेका छन् भन्ठानेरै ।
ओसिएको हल्का गुलाबी घाम तात्तिएरै लाग्ने तर्खरमा छ । भर्खरै हुस्सु फाटेको छ । घडीको छोटो काँटाले बाह्रमा पुग्ने प्रयास गरिसकेको । सिट पाउने सम्भावना थिएन ।
दुःखसुख पर्सबाट रुमाल झिकेर अनुहार पुछी । द्विविधामा परेजस्तो गरी । अल्छीलाग्दो पाराले रुमालमा टाँसिए ती धुली पाउडरका कणहरू । आँखा केही बिझाएजस्तो लाग्यो । तत्कालै बूढी औँला र चोरी औँलाको चिम्टा बनाई । आँखीभौँ र परेलाको धुलो पुछी ।
एकाध यात्रुहरु उसका क्रियाकलाप दत्तचित्त भएर हेरिरहेका थिए । बाँकी कसैलाई उसको कुनै वास्ता थिएन ।
‘अगाडिको सिट खाली हो ?’ बस्नुप¥यो भनेर उसले खलाँसीलाई सोधी, ‘दाइ अगाडिको सिटमा बसूँ ?’
‘ए गुरु के छ विचार ?’ ड्राइभरलाई पापबोधक कुटिल प्रश्न सोध्यो खलाँसीले ।
‘खाली नै छ ठाउँ,’ ड्राइभर साँढे पारामा डुक्रियो ।
गाडी गन्तव्यमै पुगिसके पनि तिनीहरुले दिलरुपालाई जिस्क्याएका मात्रै रहेछन् भन्ने पनि थाहा पाइन ।
उसको समस्या बुझेर हो कि ? एउटा अधबैँसे मानिसले भन्यो, ‘बैनी कहाँसम्म जाने हो ?’
सासको मात्रा केही बढढाएर ‘रत्नपार्क’ भन्ने छोटो उत्तर दिई ।
‘यही हो त रत्नपार्क, अब कहाँ जाने ?’ त्यही मानिसले प्रतिप्रश्न ग¥यो ।
दीलरुपा गाडीबाट ओर्ली, अन्यमनष्क भावले । केही बोलिन । त्यसपछि उसले के भन्यो सुनिन पनि ।
गाउँबाट आउँदा बिमलाको फोन नम्बर लिएर आएकी थिई ।
बागबजारपट्टि जाने सडकबाट केही अगाडि बढी । एउटा पसलमा गएर बिमलालाई फोन गरी ।
तीन बजे नयाँ बसपार्कमा भेट गर्ने समय मिलाए । आजको योजना र गन्तव्यको समस्याले पटाक्षेप हुने सङ्केत देखियो ।
बिमलालाई भेटेपछि दीलरुपाको टाउको हल्का भो । कम्तीमा रात विरात एक्लै र निसहाय भएर बस्नु त परेन ।
––– ––– –––
साँझ पर्ने बेलामा ‘अफिस जाने बेला भो बस्दै गर है कान्छी’ भनेर बिमला हिँडी ।
बिमलाको साँघुरो कोठामा खासै खाना पकाउने चलन छ जस्तो देखिँदैनथ्यो । एकजना बस्नु छ किन पकाइरहनु । बाहिर पसलमा गई । एउटा चाउचाउ र दुईवटा अण्डा किनेर ल्याई ।
‘एकछाक त हो नि भोलि त बिमला दिदी आइहाल्छिन् अनि सल्लाह गरौँला’ भनेर उसले नीच मारेरै बसी । रातभरिको अनिँदोले आँदा पाकेको गोलभेडाजस्तै राता भइसकेका थिए । एकैछिनमा भुसुक्कै निदाइहाली ।
मध्यराततिर एउटा गाडीको आवाज आयो । यात्रुमध्ये कसैले ढोका ढकढक्यायो ।
‘को हो हँ ?’ डरले थर्थराउँदै प्रश्न गरी दीलरुपाले ।
‘ए कान्छी ! म बिमला,’ जवाफमा आएको आवाज बिमलाको थियो ।
“ए म त बित्थामा डरा’की,’’ भन्दै उसले ढोका खोलिदिई ।
निद्रा कचपल्टिएकाले हाई ! काढिरहेकी थिई दिलरुपा । उता बिमला पनि कामबाट मध्यरातमा आएकी । कसैलाई बोल्ने रहर पनि थिएन र तागत पनि । दुईजना दुईतिर फर्किएर सुते ।
अँध्यारै निद्रा खुल्यो भोलिपल्ट बिहान । बिमलाचाहिँ घाम झलमल्ल हुञ्जेलसम्म पनि सुतिरहेकै थिई । असल गृहिणीझैँ बिहानै उठेर चिया पकाई दिलरुपाले । नुहाइधुवाइ गरी ।
भात पकाउनुप¥यो भनेर चामल खोज्न थाली । एउटा प्लास्टिकमा एक माना जति चामल र अर्को प्लास्टिकमा चाउरिएर सुक्न लागेका आधा किलो जति आलु भेट्टाई ।
“ए दिदी । भात पकाउनुपर्दैन ?” दीलरुपाले सोधी । बिमला बिउँझिएकै थिइन ।
..अँ..अँ...अँ.. गरेर जिउ बटारी र फेरि भित्तातिर फर्किएर निदाई ।
सकस प¥यो । रातभर काम गरेर आएकी दिदी । ब्युँझाउनुभन्दा बरु एकछिन पर्खिनुप¥यो भन्ने सोची । बिमला उठ्दा दश बजिसकेको थियो । एकपल्ट भोक लागिओरी टरिसकेको थियो दीलरुपालाई ।
‘ए कान्छी हिँड भात खान ।’
‘कहाँ ?’
‘होटलमा ।’
‘घरमा नै पकाऊँ न ।’
‘ह्या कसले दुःख गरिरहन्छ ।’
‘आफैँले खानुपर्ने भात पकाउन पनि केको दुःख ।’
‘पकाउने केही सामानै छैन,’ चोर पुलिस पारामा संवाद खेले ।
कोठामा खाना पकाउने सामग्री नै थिएन । दीलरुपाले पनि बिमलासँगै होटलमा गएर नै खानुपर्ने भयो । ऊसँग पैसा पनि थिएन । बरु भुसपातेदेखि आउँदा तरकारी, अदुवा, चियापत्ती लिएर आएकी थिई । खाना खाइसकेर कोठामा आएर बसे फेरि दुवैजना ।
“ए दिदी मलाई पनि अफिस खोज्देऊ न ।”
के अफिस खोज्दिनु नि बिमलाले । उसको आफ्नै अवस्थाले जनाइरहेको छ । साँझपरेपछि रेस्टुरेन्टमा जानुपर्ने जागिर हो बिमलाको पनि ।
“होटलमा जागिर खान्छेऊ त ?” बिमलाले सोधी ।
“पढेको छैन अरु त के पाइएला । पाइन्छ भने राम्रै जागिर खोजिदेऊ ।”
“मेरो देखिहाल्यौ ।”
“हुन्छ ।”
दीलरुपालाई के हुन्छ भनेँ भन्ने कुरा नै थाहा भएन । होटलमा जागिर खाँदा के गर्नुपर्ने हो त्यो पनि थाहा भएन । तलब कति दिन्छ ? अफिसको समय कति बेलादेखि कति बेलासम्म हो पनि ख्याल भएन । त्यसै हुन्छ भनिदिइहाली ।
हो अब दिलरुपा पनि काठमाडौँकी जागिरे हुने पक्कापक्की भएको थियो । यस अर्थमा उसका भुइँमा खुट्टै थिएनन् ।
भुसपातेमा हुँदा उसको मन मयुरपङ्खझैँ छम्छमाउँदै नाँचिरहेको हुन्थ्यो उन्मत्त र स्वच्छन्द भएर उड्ने मनचरीको के जान्थ्यो र उडीदिन्थ्यो । वनचरी र मनचरीमा आखिर के नै फरक हुन्छ र ? त्यही उन्मुक्त मनचरीको वनचरी उडानको लालसामा काठमाडौँ पसेकी थिई ऊ ।
पहिलो महिनाको कमाइमा सन्तुष्ट भई ऊ । चियाका मुना टिप्दा दैनिक आउने हाजिराको तुलनामा कयौँ गुणा राम्रो । मासिक तलबको सिस्टम ।
––– ––– –––
नोकरी दोस्रो महिनामा प्रवेश गरिसकेको थियो ।
एक दिन अर्डर लिने क्रममा बिमलाले नखरमाउँलिदै भनी, ‘दिलासा एक क्वाटर ब्ल्याक लेबल लेराऊ त ।”
उसले केही बुझिन । को छ र यहाँ दिलासा ? रेस्टुरेन्टका दुईजना स्टाफमध्ये एउटी दीलरुपा थिई अर्की बिमला । ‘ह्या यो केटी पनि’ भन्दै बिमलाले आफैँ लिएर गई र डोल्पाका झुसिला च्याङ्ग्राजस्ता ग्राहकको टेबुलअगाडि राखिदिई । बिमलाले उसैलाई भनेकी हो भन्ने कुरा पनि पो बल्लमात्रै बुझी ।
‘ए बैनी सितनचाहिँ दिलासाको हातमा पठाइदेऊ है,’ एउटा च्याङ्ग्रे ग्राहकले भनिरहेको सुनी ।
सुनेर पनि नसुनेझैँ गरी । मटन–भुटन तयार गर्नमै व्यस्त भई । अघि कानमा गुञ्जिएको कुरा आधा सुनेको हो कि आधा नसुनेको हो किजस्तो लागिरहेको थियो । भुटन प्लेटमा खन्याई । ¥याकबाट काटेको काँचो प्याज, खुर्सानी, लसुनका दुईवटा पोटी, चारवटा सिन्का र एउटा चम्चा राखेर त्यही ¥याक माथि राख्दै भनी, ‘सितन तयार भो दिदी ।’
‘तँ आफैँ लगिदे न,’ बिमलाले केही झर्किएको भावमा भनी । यो झर्काइ स्वभाविक थिएन । रिसै नउठी । झर्केजस्तो मात्रै ।
‘क्या माधुरी दीक्षितजस्तै यार ।’
‘हैन हैन विपाशा जस्तै सेक्सी यार ।’
‘त्यो पनि हैन करिना ।’
‘हैन कैटरिना ।’
‘हैन... नम्रता....।’
भित्र तीन चारजना ग्राहकहरुका बीचमा कुनै स्वप्नपरीको रसिलो जवानीको तारिफ भइरहेको कुरा किचनसम्मै आइरहेको थियो । ‘जा न जा किन अप्ठ्यारो मान्छेस् ?’ त्यस्तै रामेछापतिरकी तामाङ्गनी झैँ देखिने होटलवाल्नी बट्टारिएर गुजराँती भैँसीको सिङजस्तै भएकी थिई ।
गालामा लागेको मोसो पुछी । कसैले नलगेपछि उसैले लिएर गई । ‘ऊ ! मैले भनेको हो कि हैन त ?’ गलल्लल्ल हाँस्दै एउटा ग्राहकले भन्यो । उसको हातको सूर्य चुरोटको ठुट्टाबाट धुलो टेबुलमै खस्यो । अघिदेखि ऊ जिउ थाम्नै नसकेर आफ्नै शरीरको मुनिपट्टिको भाग हेरिरहेको थियो ।
‘ठ्याक्कै यार ! माच्चिस..,’ अर्को धोद्रिलो बर्बरायो उही रक्सीको तालमा ।
‘सेम बडी, सेम फिगर...यार,’ तेस्रोले पनि मुख फो¥यो ।
‘ए कान्छी ...तिम्रो नाम के हो ...यार,’ लर्बरिएको स्वरमा फेरि पहिलोचाहिँ ग्राहकले सोध्यो ।
‘दीलरुपा,’ छोटो उत्तर दिई ।
‘हो यार क्या रुप छ,’ त्यही पहिलो ग्राहक ऊसँग लगभग टाँसिन खोज्दै बोल्यो ।
‘रुप त छ यार ! क्या बुलेट माल । तर दिल छ कि छैन चेक गरौँ न है,’ दोस्रो चाहिँले छाडापनको सीमान्त बर्बरायो ।
रिसको पारो चरमभन्दामाथि पुग्यो दीलरुपाको ।
‘बेसरम जँड्याहाहरु । तिमर्को स्वास्नीको दिल चेक गर न’ भन्दै फतफताउँदै किचनतिर लागी ।
बिमला ढोकामा आएर उभिइरहेकी थिई ।
‘मा....। रण्डी...। अर्कोकी बूढीलाई जे सुकै भन्दी रै’छे ....।’
‘ठोक्दे साला.., समातेर...।’
यस्तै आवाज र गाली बसाउँदै थियो ग्राहकको पंक्ति ।
‘रण्डीका पोइहरु ... । त्यसकै बूढीको ...थाप्रो हेर्नु नि,’ किचनभित्र पसेर यस्तै गाली दिई दीलरुपाले ।
एक पक्षले अर्को पक्षका कुनै गाली गलौज सुनेनन् । बीचको ढोकामा बसेर सुनिरहेकी थिई बिमला सबै सम्वार्ता । बिमला बिस्तारैबिस्तारै ग्राहकहरुको टेबुलपट्टी गई । भनी, ‘ह्या दाइहरु पनि उस्सै हतार गर्नुहुन्छ के ? अलिअलि गर्दै पो हात लिनुपर्छ त । भर्खर गाउँबाट झरेकी । पियोर गाउँले यार । कुरो बुझाउन र काम मिलाउन त तरिका पो पु¥याउनु पर्छ त । एकदुई दिन पख्नोस् । म लाइन सोझ्याउँछु ।’
पूरा डोज लिइसकेका र बिल तिर्ने बेला भइसकेका ग्राहकहरु । भक्तजनले वरिष्ठ पण्डितको मुखारविन्दबाट भागवत् श्रवण गरिरहेझैँ देखिएका थिए । ज्ञानीध्यानीमध्येको एउटाले बिमलालाई अज्ञानतावश नै अँगालो मार्दै भन्यो, ‘सबै प्लान चौपट्ट भयो यार ।’ बिमला बिस्तारै जुठो अँगालोबाट फुत्की । किचनपट्टी गई । मालिक्नीको मुख तोकर भनी, ‘बल्लबल्ल कुरो मिलाएँ ।’
ग्राहकको पंक्तिमा फेरि हल्लाखल्ला माच्चियो, ‘यसले त यार छोक्रा चपायो ।’
फेरि अर्कोले थप्यो, ‘करिना भनेर अँगालो मा¥यो यार यसले त ।’
पहिलोचाहिँ जुरुक्क उठ्यो र भन्यो, ‘यो बोतलको कसम यार ! भोलिदेखि त ज्यान जाला यो होटलमा आइँदैन ।’
‘तेल्लाई सँुगुर पोसेजस्तो पोसेर राख्या । मेरो ज्वाइँ हो र ? नक्कली । नखरमाउली । त्यसलाई भोलि नै कामबाट निकाल्दिन्छु,’ होटलकी मालिक्नी रवाफिलो बम्किरहेकी थिई ।
‘तिम्ले के सम्झ्या छौ ? म आजै जान्छु,’ दीलरुपा झर्किंदै हिँडी । आधा खोलेर राखिएको रेस्टुरेन्टको सटरमा तिरिमिरी झ्याइँ देखिने गरी टाउको ठोक्कियो ।
––– ––– –––
बाहिर सडकमा निस्की । केके र केके भुतभुताउँदै थिई । उत्तरबाट चलेको स्याँठले उसको गालामा निर्मम प्रहार गरिरहेको थियो । ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भन्या यही हो,’ बुझिने गरी नै फतफताई । एक्कासी चलेको सिरेटोले उसको मुटु कमायो । त्यहाँ, चियाका कलिला मुनाहरुबाट आएको मीठो सुवाससहितको माया थिएन । कुहिरोको घुम्टोभित्र लुकामारी खेलीखेली मान्छेको मनै हर्ने सिरेटाको स्नेह थिएन । उसको अस्तित्व र भोकका बीचमा चलेको द्वन्द्वले चोइटिएको मानवताको खण्डहरमा धुवाँको मुस्लो पुतपुताइरहेको थियो । ‘भुसपातेकी कान्छी हो कि दिलासा हो त ऊ ?’ को अज्ञात–अनिश्चित गन्तव्यतर्फ बढिरहेका उसका पाइला रोकिन मानिरहेका थिएनन् ।
छेउमा कतै कल्याङ्गमल्याङ्गको आवाज आयो । सुरुमा त उसले केही बुझिन । पछाडिबाट मोटरसाइकल आइरहेको थियो । साथै हेडलाइटबाट उज्यालोले केही राहत महसुस गरी । तिनै अघिका ग्राहकहरु मोटरसाइकलमा आएका रहेछन् । घेरिहाले ।
खोलाको छेउको रात्रीकालीन सडक । अरु कोही मानिसहरु हुने सम्भावना नै थिएन । दीलरुपाको ‘पुकारा र बचाऊ ! बचाऊ !’को आग्रहपूर्ण चित्कार एकपल्ट जुगल हिमालमै ठोक्कियो । पुनः उसकै कानभित्र आएर घुस्यो । मानवैमानवको घनाबस्ती काठमाडौँ । मस्त निदाइरहेको छ । सदाकालका लागि मानवताको तिलाञ्जली दिएर । ऊ युगयुगान्तरदेखि सीताहरुले लडिआएको अस्तित्व युद्धमा घोर पराजयको शिकार भई । दीलरुपाको आस्थाको धरोहर ढल्यो । अहँ ! त्यो मानवताको भग्नावशेषमा पुरिएका दीलरुपाका मृत सपनाको मुचुल्का उठाउन कोही आएन ।
––– ––– –––
भन्छन्, उसको आर्तनाद, युगयुगसम्म सभ्यतालाई चुनौती दिँदै प्रेतात्माको रुपमा हररात डुलिहिँड्छ । आजकल पनि ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: