चौतारोमा बसे जुद्ध सरकार । दुरबिनमा देखिएको केटीको पुष्ट शरीर, सिमलकाँडे वक्ष, अलि–अलि टुप्पो घुम्रिएको केशपाश । हल्का हिन्दुस्तानी लिपिस्टिक र लाली पाउडर लगाएका गाला र ओठ । आँखा चिम्लिएर कल्पना गर्न थाले । यो एकान्तमा पनि अप्सराको के कमी हुन्थ्यो र ? अनि जुद्ध सरकार फेरि दुरबिनमा खोलापारि पहाडमा देखिएको हरियो फाँटतिर हेर्न लागे ।उत्तरार्ध जीवनकालीन सुस्त र धिमा गतिमा घिस्रिने जीवन बिताउने क्रममा छन् श्री ३ जुद्ध सरकार । सांसारिक जीवनबाट विरक्त भएर रिडीको सेतो दरबारमा गएर बसेका । राणा परिवारमा जन्मिएर श्री ३ सम्म बनिसकेर पनि एकलास र एकान्तमा बस्ने हिम्मत गर्नु चानचुने कुरो थिएन । ––– पृथ्वीले सूर्यलाई नियमित फन्को मारिरहेको छ । चक्रीय रात–दिनको कुनै एक साँझ । घाम पश्चिमतिरको डाँडामा लुक्न लागेको हुँदो हो । कालीगण्डीको किनारमा डोरी विच्छ्याइएकोजस्तो छ । तेर्साे, घुमाउरो, ठाउँ–ठाउँमा देखिने, ठाउँ–ठाउँमा बिलाउने गर्दै बाटो अनन्तमा बिलाएको छ । बेलायत सरकारले उपहारस्वरूप दिएको किम्ती दुरबिन छ जुद्ध सरकारसँग । बुढेसकालको सहारा । यही दुरबिनले टाढा–टाढासम्म हेरेर आफ्नो साँझ बिहान व्यतीत गर्नु जुद्ध शमशेरको दैनिकी बनिसकेको छ । अझ त्यसमाथि कालीगण्डकीको किनार । किनारका शालीग्राम । दुरबिनमा हेर्दा स्क्रिनभरिका देखिन्छन् । अजङ्गको जहाजजस्ता चिल्ला शालीग्राम । शिवलिङ्ग आकारका, लाग्ने लोहोरोजस्ता, गोला सुन्तले आकारका, केराको कोसाजस्ता अनि पंक्षीका फूलजस्ता । शालीग्रामको आकार र बनावटको विविधताले पनि उनको घण्टौँ समयलाई एक निमेषमा परिणत गरिदिन्छ । अझ त्यसमाथि खोलाको किनारमा सिर्र...सिर्र चलेको हावामा पश्चिमतिरको वनमा फुलेका फूलको सुगन्धी बास्ना उनकै खातिर आएको महसुस गर्छन् । खोलापारिबाट उडेर आएका सुगा, ढुकुरका जोडी दरबारको छानामा आएर खेल्न थाले । जुद्ध सरकारको दुरबिन ती ढुकुर सुगालाई समेत मत्ता हात्तीको विशाल आकारमा ढाले । सन्यासी भएर बसेका छन् श्री ३ जुद्ध । उनको सेवा टहल गर्न सुसारे, सइसका साथै उनको सयरका लागि दरबारको घोडासमेत पठाइएको छ । भर्खरै मात्र प्रकाशनमा आएको भानुभक्तीय रामायणको पाठ गर्न लगाएर साँझको समयमा विदेशी रक्सीको नशामा डुब्छन् । उनी सम्झिन्न् कि; सुसारेले हिजो रामायणको अरण्यकाण्ड सिध्याएकी छे । सीतासँग रामको विछोडको कथा श्री ३ जुद्धलाई आफ्नैजस्तो लाग्छ । र, उनी सीताको चरित्रवर्णन बढी सुन्न रुचाउँछन् र दोहो¥याएर पढ्न लगाउदैँछन् । ––– जुद्ध सरकारले सइसलाई बोलाएर भने– – ‘आज घोडालाई दाना दिएको छस् कि छैनस् ? हिनहिनाउँदैछ ।’ – ‘दाना त खुवाएँ सरकार ! तर त्यसले हजुरको शरीरको स्पर्श नपाएको धेरै दिन भएर होला खाली बुइँगलमा मात्रै हेर्छ । सरकारले एकपल्ट त्यसको चित्त बुझाइबक्से हुन्थ्यो ।’ सइसले जवाफ दियो । – ‘ल, ल हिँड्दै गर । म आइहाल्छु । अझै अँध्यारो हुन चारघडी बाँकी होला ।’ सइसले घोडामा लगाम लगायो । टाप जाँच्यो । कैलो रङको अन्दाजी ५ फिट अग्लो मोटो घोडाको निहुरिएको घाँटी ठाडो पार्दै जगर मिलाइदियो । नीलो समुद्रजस्ता घोडाका दुवै आँखावरिपरि लागेको कचेरा पुछिदियो । निधारमा भएको सेतो टीकामा लागेको धुलो उडाउँँदै भन्यो– – ‘ठूलै भाग्य लिएर आएको रैछस् । यस्तो एकलासमा आएर पनि महाराजको स्पर्श पाउँछस् ।’ हि हि हि...! घोडा रवाफिलो हिनहिनायो । बाक्लो खद्दरको दौरा । दौराका तुनाहरूमा बत्तु जडिएका । त्यसमुनि सेतो धोती । धोतीमाथि रातो पटुका । पटुकाभित्र एक हातको चिल्लो खुकुरी । सेताम्यै फुलेको कपाल पछाडिपट्टि फर्काएर कोरिएको । दिल्लीबाट उपहार दिएको कपाललाई अररो बनाउने खालको तेल लगाएका । निधारमा पहेँलो टीको लगाएका । हेर्दैमा श्री ३ जुद्ध अझै पनि सरकार नै हुन्जस्ता देखिएका छन् । ––– सइसले तबेलाबाट घोडा फुकायो । र, आँगनमा ल्यायो । – ‘ला, यो बन्दुक बोक ए जैरे ! मालिकजस्तो ठमठम पो हिँड्न खोज्छ ए !’ – ‘पहिले सरकारको हुकुम ।’ जुद्ध सरकार घोडामा चढे । सइसले डो¥याउनुपूर्व नै घोडा छिट्छिटो पाइला चाल्न थाल्यो । सइसले घोडाको करेली मिलाउँदै डोरी समायो । घोडचढीमा छुटेको छ । अनुमान ग¥यो– – ‘सरकार यति धेरै खुशी भइबक्सेको त मलाई थाहै थिएन । आज घुमाउन ल्याएर पनि ठूलो पुण्य गरेँछु ।’ खोला किनारको बाटो छोडेर डाँडातिर उकाल्न लगाउँदै सइसलाई हकारे– – ‘एकछिन घोडालाई चर्न दे । खरुकी, अम्लिसो, खाओस् ।’ जुद्ध सरकार घोडाबाट ओर्लिए । ठूलो ढुङ्गामाथि चढेर खोलापारि हेरे । दुरबिनको लेन्स मिलाए । खोलाको किनारमा लमतन्न तन्किएको तेर्सो बाटोमा परतिरबाट आइरहेका जोडीलाई देखाउँदै भने– – ‘ए लम्पटे ! यो दुरबिनमा हेर् त । परबाट शिकार आउँदैछ ।’ बाघ त पाइँदैन । मृग आएछ कि ? सोचेर सइसले भन्यो, ‘सरकार आजसम्म यो आँखा दुरबिनमा परेको छैन आफैँ नजर गरिबक्स्योस् ।’ ‘मैले भनेको पनि नटेर्ने भएको नाथे,’ भन्दै जुद्ध सरकार शासकीय जङ्गिए । – ‘सरकारको जो हुकुम ।’ सइस घोडाको डोरी नजिकैको रूखमा बाँधेर दुरबिनको स्क्रिनमा हेर्न थाल्यो । – ‘सरकार यो दुरबिनमा दुईजना मान्छे पो छन् त !’ – ‘हेर त यसको बुद्धि ! घोडाको सङ्गत पशुको बुद्धि भनेको यही हो ।’ सइसले कुरा बुझ्न सकेन । – ‘यही त । तिनीहरू यही बाटो आउँदैछन् । म एकछिन चौतारामा बस्छु । तिनीहरू आइपुगेपछि सरकारको दर्शनभेट गर्न भनिदे । म तिनीहरूको सात पुस्तालाई पुग्ने उपहार दिन्छु । बक्सिसमा ।’ अझै कुरा बुझेन । घोडालाई नजिकै मकैबारीमा छोडिदिएर मूल बाटोमा ओर्लियो र परतिरबाट आइरहेका जोडीलाई पर्खिन थाल्यो । चौतारोमा बसे जुद्ध सरकार । दुरबिनमा देखिएको केटीको पुष्ट शरीर, सिमलकाँडे वक्ष, अलि–अलि टुप्पो घुम्रिएको केशपाश । हल्का हिन्दुस्तानी लिपिस्टिक र लाली पाउडर लगाएका गाला र ओठ । आँखा चिम्लिएर कल्पना गर्न थाले । यो एकान्तमा पनि अप्सराको के कमी हुन्थ्यो र ? अनि जुद्ध सरकार फेरि दुरबिनमा खोलापारि पहाडमा देखिएको हरियो फाँटतिर हेर्न लागे । यत्तिकैमा सइस ती दुई तरुनातन्नेरीलाई लिएर आइपुग्यो । – ‘सरकार आइपुगे ती बटुवा ।’ – ‘आज तँ कहाँ बस्छस् ए लाहुरे ?’ – ‘मलाई यो ठाउँको बाटो केही थाहा छैन हजुर ! जहाँ सजिलो ठाउँ मिल्छ । त्यहीँ बस्नु पर्ला ।’ – ‘त्यसो भए आज मेरै कुटीमा बस्, भोलि बक्सिस्समेत थापेर जालास् ।’ – ‘सरकारको निगाह ।’ ––– भारतीय सेनामा जागीर खाएर आएको । अनपढ गाउँले गुरुङ । केही पनि बुझेन, जुद्ध सरकारका कुरा । झन् बक्सिस् त राम्रो काम नगरी पाइने होइन । छक्क प¥यो । सँगै आइरहेकी तरूनी स्वास्नीतिर हे¥यो । स्वास्नीले त झन् केही बुझ्नै सकेकी थिइन । सइसले रवाफिलो पाराले सोध्यो– – ‘के हो लाहुरे तेरो नाम ?’ – ‘बलवीर गुरुङ ।’ – ‘हेर्दा त लाहुरे भेषमा छस् । के गर्छस्, हिन्दुस्तानमा ।’ – ‘जवान हुँ सरकार !’ – ‘अनि यो केटीचाहिँ को नि ?’ – ‘को भन्नु र सरकार ? बाटामा वास बसेको मायापिरती बस्यो । बाटैमा घरजाम ।’ गफैगफमा दरबार आइपुग्यो । सइसले घोडालाई तबेलामा लगेर बाँध्यो । मकै, बदाम, गहुँ र चामल मिसाएको दाना खुवायो । नजिकैको धाराबाट डब्बीमा पानी ल्याएर घोडालाई खुवायो । यतिबेरसम्म लाहुरे र उसकी स्वास्नी तबलाकै छेउमा उभिएर तल खोलातिर हेरिहेका थिए । – ‘ल हिँड् लाहुरे । आज सरकारको पाहुना भएर बस् । सरकारको हुकुम भएको मानिस् भने मालामाल होलास् !’ के हुकुम हुन्छ सरकारबाट ? मालामाल कसरी हुने ? लाहुरेले अक्कनबक्क भएर हे¥यो । सइसको आँखामा बिषालु स्वार्थ हल्लिरहेको थियो । त्यो पनि देखेन । एउटी सुसारेले आएर भनी– – ‘ए नानी तिमीलाई माथि सरकारले बोलाइबक्सेको छ ।’ – ‘किन र दिदी ?’ लाहुरेनीले झस्किँदै भनी । – ‘आ’न मेरो पिछीपिछी ।’ सुसारे अघि–अघि र लाहुरेनी पछि–पछि दरबारभित्र पसे । लाहुरेले कुराको भेउ पाउन सकेन । आफ्नी नयाँ दुलही गएको ढोकातिर हेरिरह्यो । साँझ परिसकेको थियो । यो एक घण्टाभित्रमा के–के भइसक्यो ? लाहुरेले केही अनुमान गर्न सकेन । भित्र पसेकी स्वास्नी बाहिर आउली भनेर पर्खेको पनि निक्कैबेर बित्यो । ढोकेले आएर भन्यो– – ‘ए ! लाहुरे तँ सइससँग सुत् रे ! सरकारले हुकुम बक्सेको ।’ लाहुरे एक छिन त केही बोलेन । आधा घण्टा जति पछि सइसलाई सोध्यो– – ‘को सरकार ?’ – ‘श्री ३ जुद्ध सरकार ।’ – ‘मेरी स्वास्नी खोइ त ?’ – ‘लाटा त्यति पनि बुझ्दैनस् ? भोलि बिहानै आइहाल्छे नि । सधैँभरिलाई कहाँ हो त ?’ ––– लाहुरे दाह्रा किट्न थाल्यो । रिसले केही देखेन । मेरोेअगाडि मात्रै आओस् त । सरकार होस् कि फर्कार । दुई टुक्रा बनाउन सकिनँ भने त । ढोके, सइस अरू पनि कति मान्छे । ती सबै छिचोलेर भित्र जुद्ध सरकारको खोपीसम्प पुग्नु लाहुरेका लागि सम्भव थिएन । रातभरि दाह्रा किटेरै बितायो । भित्र स्वास्नीको कुन गति भयो होला ? कुन मुख देखाउन आउँछे ? त्यसलाई पनि छिनाउँछु । भोलिपल्ट बिहानै सरकारले लाहुरेलाई बोलाएर भने– – ‘तैँले बुझिहालिस् लाहुरे ! अब के बक्सिस् माग्छस् ? त्यही दिन्छु । भन् तँलाई के चाहिन्छ ?’ – ‘सरकार ! हाम्रो खानदानमा जार काट्ने परम्परा छ । जार काट्न पाऊँ ।’ लाहुरेले कड्किएर भन्यो । जुद्ध सरकार मुसुमुसु हाँसे । – ‘अर्कासँग रात बिताएकी स्वास्नीको जिम्मा म लिन्नँ ।’ – ‘अनि तेरी स्वास्नी के गर्छस् त ?’ – ‘दुवैजनालाई टुक्राउँछु ।’ ––– चितुवाका झैँ राता आँखा पा¥यो लाहुरेले । कम्मरबाट सेतो खुकुरी झिक्यो । जुद्ध सरकारलाई झम्टिन लागेको थियो, ढोके तरबार लिएर आयो । जुद्ध सरकारलाई छोडेर ढोकेतिर के फर्किंदै थियो; ड्याम्म बन्दुक पड्कियो । लाहुरे पछारियो । जुद्ध सरकारको हातमा बन्दुक थियो । एक दिने लाहुरेनी जवानीमा लाएको चोखो मायाको बक्सिस थापेर रून थाली । बिलौनाको झङ्कार घोली त्यसमाथि, जुन सेतो घरमा बस्ने कालो मान्छेले दिएको थियो ।
प्रतिकृया लेख्नुहोस्: