आषाढ़ १९ गते, २०७२ शनिवार 4th July, 2015 Sat०८:१५:०९ मा प्रकाशित
अहिले धेरै कविता खियाउने आलु वा कोक्याउने पिँडालु जस्ता छन् । रसिला आँप, केरा, सुन्तला भेट्टाउन मुश्किल छ । कम्र्फोट जोनमा जनताका बारेमा लेखिएका मात्रै होइनन्, भर्खरैको भूकम्पछि राष्ट्रका लागि लेख्नेहरू पनि चरी चिर्बिराएका छैनन् । कसरत गरेका छन् । कसार वा रसबरी छैनन्, कविता बासी ममः जस्ता छन् । सुत्दाका राजावादीहरूले उठ्दा गणतन्त्रवादी बनेर लेखेका कवितामा मन लोभ्याउने सौन्दर्य पाइँदैन । नगरवधूका श्रृंगार र कविता उस्तै लाग्छन् । नजिकैमा ठस्स गनाउने । समय र श्रम खेर जाने । ०४६ सालपछि पञ्चायत ढल्यो । राजा संवैधानिक भैदिए । शहरका सुकिलामुकिलाहरुले खासै लेखेनन् । बरु जङ्गल पसेका मैलाधैलाहरुले केही लेखे । कृष्णसेन ‘इच्छुक’ युगको प्रतिनिधि कवि बने । त्यतैको सामेलीमा रहेर थोथोरै तर पठनीय कविता लेख्नेमध्येका कवि शैलेन्द्र घिमिरे ‘राजन’ पनि एक हुन् । ‘राप’ कविता सङग्रह उनले २०६७ सालमा प्रकाशित गरेका थिए ।
‘फेरि आयो भूइँचालो, फेरि आयो पैरो
बहत्तरको बिपत्माथि, विपत्तिको वैरो
अकाल मृत्यु मर्ने हैन, कालसँग जुध
खरायोझैँ काम्ने हैन, राख सुझ बुझ ।’
राष्ट्रकवि माधव घिमिरेका कविताहरू कलात्मकताका हेराइले निश्चितै सुन्दर छन् । कविताको लामो साधनापछिका अस्ताचलका घामका किरणहरू मनोहारी छन् । बढी उपदेशात्मक छन् । कोही मान्छे अकाल मृत्यु मर्न चाहँदैन । मान्छेलाई मान्छेले अकाल मृत्यु मर्न वाध्य पार्छ । अस्पताल बनाइने खर्चमा सानो स्वास्थ्य चौकी बनाइन्छ र डाक्टरको दरवन्दीमा पियन राखिन्छ । सुत्केरी महिलाले अकाल मृत्यु मर्नैपर्छ । विषादी खुवाइन्छ । बालुवाको पुल बनाइन्छ । खाँदाखाँद यात्रु राखेर थोत्रा गाडीहरू उकालो–भिरालो कच्ची बाटोमा चलाइन्छ र मान्छेलाई अकाल मृत्युवरण गराइन्छ । जेठ १९ मा स्वचालित हतियार भटट्ट्ट पारिंदा ज्ञानेन्द्रवंश परेनन्, वीरेन्द्र वंश मात्रै परे । वैशाख १२ मा नेताहरू मरेनन् , जनता नै अकाल मृत्युको मुखमा परे ।
डर मानसिक संवेग हो । यसलाई मानसिक स्तरमै जित्नुपर्छ । जीवनको नश्वरता र महानताको वोधपछि नै मान्छेहरू काम्न छाड्छन् । सुझबुझपूर्ण ढङ्गले कालसँग जुध्न थाल्छन् । देवकोटा भन्छन्– ‘सत्तरी रूपैयाँको जागिरले सत्तरी हजार नशाहरू काम्छन् ।’ शैलेन्द्र घिमिरे ‘राजन’ भन्छन्, ‘प्रत्याक्रमणको योजना जिन्दावाद !’ (‘राप’, पृष्ठ २४) ।
पोखराका कवि राजेन्द्र पौडेल कविता लेख्छन् र भन्छन् ‘हिमालयतिर हेर !’ राजनको ‘राप’ मा यात्रुले हिमालतिर हेरिरहेका छन् । हिमालको फेदीतिर भयानक आगो दन्केको छ । ‘दीपशिखा’ को औपन्यासिक कृति ‘रात फुलेको याम’ मा भनिएजस्तै राजनको ‘राप’ को आवरण चित्रमा जाज्वल्यमान रात फुलेको छ । ‘राप’ भित्र ४३ वटा कविताहरू सङ्ग्रहहित छन् । कविताहरू दशबर्षे जनयुद्धका आत्मासातीका अभिव्यक्तिहरू हुन् । ‘तन्नेरी हो, उठ न पृथ्वी तीन बित्ता उचाली’ माधव घिमिरेले लेखेका छन् । सायद यस्तै–यस्तै अभिप्रेरणाले शैलेन्द्र घिमिरे उठेका छन् ।
‘थुनेर आवाजहरू कैदखानामा
निषेध हुँदैनन् सडकमा नाराहरू
मच्चाऊ अपहरणको रडाको
सकदैनौ थेग्न, इतिहासका प्रश्नहरू
लौ तिम्रो व्यारेकमा तिम्रै बिरुद्ध
स–सम्मान हाजिर छन् कृष्णहरू (१५) ।’
यस्ता दमदार कविताहरू यस अघि पनि थुप्रै नलेखिएका होइनन् । हामी पहिले दाम खोज्छौँ र दामपछि नाम खोज्छौँ । अरबौँ कमाएर करोडौँ चन्दा हाल्नेहरूको खोजाई नाम हो । नामका खातिर सरकारी मान्छेहरूले पनि राजनका जस्ता कविता लेखेका छन् । दिनेश अधिकारीलाई एकनजर हेरौँ न–
‘गरप्गरप् टेक्दै
तिम्रा सञ्जालका यावत् छातीहरू
नाघ्दै तिम्रा अवरोधका यावत् उचाइहरू
यतिखेर म,
तिम्रो मूल ढोका अगाडि आइसकेको छु ।’
कलममा बारुद भरेर बिस्फोटको नाटक खेल्नु सजिलै हुन्छ । यसरी नै औसर खोज्नेहरूले घाँटी भन्दा ठूला हाड निल्ने कसरत गरेका छन् तर ‘कुन शक्तिले भन्छ, पिठ्यूँमा डाइनामाइट बोक्नु हेँदैन ? गोमनका वङ्करमा ठोक्नु हुँदैन ?’ (१८) को गर्जनसहित सिधै युद्धमा होमिने कविहरू विरलै हुन्छन् ।
‘सत्तोसत
अब पनि तिमी होस गर या नगर
तिमीलाई तेलमा भकभकी पकाउने छु
........... तब तिम्रो बर्दी लगाएर
कोही तानाशाह बन्ने छैन,
चोचोमोचो मिलाएर आसेपासेसँग
म अभिनन्दित भएँ भन्ने छैन (२२) ।’
नेपालका अन्तिम राजाले सिँहासन छाड्दा त्यहाँ केही पत्रकारहरू उत्ताउलिँदै बसे तर ‘तिम्रो अन्तिम संस्कारमा’ कविताका हरफहरूलाई उत्ताउलो मान्नेहरू पनि प्रशस्तै थिए ।
जनयुद्धमा नेपाली दाजुभाइ मारिएकामा मानवअधिकारकर्मीहरू पिरोलिए । वार्ताका बेला दुई दर्जन महान् सपूतहरूलाई शाही सेनाले एकै ठाउँमा हत्या ग¥यो । निहत्था ती वीरहरूलाई हात पछाडि बाँधेर हत्या गरिँदा खासै मानव अधिकारको हनन् देखिएन । तत्काल रेलीमाइहरू पिसाबको न्यानोमा रमाए पनि । त्यही विम्वमा ‘रेलीमाइहरू’ कविता लेखियो–
‘जब रेलीमाइका इसाराहरूमा
किशोरी छातीमा घोडा चढ्छन् यमराज
पीडाका साना सुस्केराहरूले
हवारह्वार्ती बल्छ दोरम्भा
दोरम्भा चूपचाप रहन सक्दैन (१६) ।’
राजनको गाउँ स्याङ्जाको कुनै कुनो होला । लामो समय स्थिर रहेको गाउँ अहिले गतिशील बनेछ । लाग्छ, त्यसले ढोग र दण्डवत छाड्दै गएछ । त्यसले ‘मुट्ठी कसेर सलाम बोल्छ’ रे (२७) ।
हाम्रो वर्तमान कस्तो छ ? हाम्रो वर्तमानबारे पुस्तकको पछिल्लो पृष्ठमा ‘दीपशिखा’ भन्छन्– ‘बारुदको गन्धबाहेक अर्थोक पत्तो पाउँदैन हाम्रो वर्तमान ।’ राजन लेख्छन्– ‘तातो हावामा गनाइरहेको छ । आतङ्कको नमिठो गन्ध (२८) ।’ वर्तमानलाई कुरूप पार्न न्वारनदेखिको बल झिक्दैछन् पाखण्डहरू किनभने ती अहिले मारिने डरमा छैनन् । ‘सहरलाई सन्देश’ मा भनिन्छ– ‘जीवन बाँच्न गुराँसले रगत बगाउँछ रे ! (२२)’
‘म पुग्नेछु मेरो संसारसम्मै
जहाँ देउता हुँदैन
बस्, केवल मान्छे हुन्छन् (३५) ।’
‘यात्रा’ ले क्षेत्रप्रताप अधिकारीको लामो कीवता ‘यात्रा’ लाई पनि सम्झाउँछ । अधिकारी पाठकलाई मीठो मनोरञ्जन दिन्छन्, घिमिरे चेतन तन्तुमा घोच्छन् ।
‘तारा मारेर सूर्य निस्कन्छ
अँध्यारोको हत्यामा
उज्यालो जन्मिन्छ
एक मर्दा अर्को जन्मिने
यो श्रृङ्खला हो मेरो संसारको
मृत्यु जन्म भन्न मिल्छ
मेरा परिभाषाहरूमा (३७) ।’
शुक्रराज शास्त्री यसै भन्थे । ओशो ‘मै मृत्यु सिखाता हूँ’ भन्छन् । राजनको सोँच उस्तै छ । ‘सहिद सासाप्रति’ (३८) श्रद्धाञ्जली चढाउँछन् र आफूलई ‘रामापिथेकसको सन्तान’ (४०) ठान्छन् ।
कवि राजन दृढ देखिन्छन्र र अरूलाई पनि ‘समर्पण’ का लागि उकास्छन्–
‘अब कोही पनि निदाउनु हुन्न
यो विहान व्यूँझन खोजेको
विजय निकटको परिवेशमा (४३) ।’
कवि ‘मैना’ लाई सम्झिन्छन् । पूराना ‘नाता’ तोड्न र नयाँ नाता जोड्न चाहन्छन् । जनताका वैरीलाई ‘खबरदार’ भन्छन् र ‘रातो गुराँस’ बन्छन् । ‘जुनकीरीहरू’ लाई सलाम टक्राउँछन् । लामै समय बित्यो साम्यवादको सन्दगन्ध देखिँदैन । कविको विश्वास चाहिँ दह्रै देखिन्छ– ‘साम्यवाद मरेको छैन (५७) !’ भन्छन् । बोको लक्ख्याएपछि खसी हुन्छ । कविको खसी ‘रगतविरुद्ध रगत भन्छ र सिङ् तिखारेर अगाडि बढ्छ (६१)’ । कवि ‘प्रिय मान्छे’ को होँस्टे खोज्छन् । ‘तीज भव्य–भव्य मान्नु !’ (६८) भन्छन् । शाहीसेनाद्वारा वीभत्स बलात्कारपछि हत्या गरिएका सहिदद्वय तरनुम र तबसुबको यादमा ‘अब पनि पटुकीमा ग्रिनेड नबोकी/सामन्ती सत्ताका व्यारेक नठोकी आफ्नो सुरक्षा हुँदैन (६६) ।’ भन्छन् ।
‘निरुद्देश्य फैलिँदैनन् प्रलयहरू
बिना रक्तपात जन्मदैँनन् युगहरू
विभीषिकाको टाउको टेकेर
हस्तिनापुर लम्किन्छन् जूनहरू ! (६७)’
कविताको उठानले पाठकलाई वा..........! भनाउँछन् । तन्मय–मन्मय भएर कविता पढ्ने बनाउँछ । भर्खरैको भूकम्प र अहिले चलिरहेको बाढीपैरो आँखामा टाँसिन्छ ।०५९ पुसमा लेखिएको कविता ०७२ असार–साउनमा लेखिएझैँ ताजा लाग्छ–
‘तारबार जेलिएका महलहरूमा
तिम्रा प्रत्येक भोग विलासका पलहरूमा
विशाल रेक्टरस्केलको भूकम्प आउनेछ (६८) ।’
२०६१ बैशाख १२ को यो भविष्यवाणी ठ्याक्कै दश बर्षपछि सही ठहर्न आएको प्रतीत हुन्छ । कवि ज्योतिष त होइन, ऊ भविष्यद्रष्टा चाहिँ हो । कविलाई ‘वैतरणी पढ्ने फूर्सद छैन’ (६९) ।
‘थाहा छ, गधा धोएर गाई हुँदैन
खुट्टा छोएर भाइ हुँदैन (७१) ।’ तर.........तर अहिले नेतृत्वले त्यही कुकाम गरिरहेको त छैन ? शंका लाग्छ । शंका नगरी सत्य पत्ता लाग्दैन ।
‘कसले भन्छ कुजातको
कुराज यो टिक्नुपर्छ
राइफलको स्टिगरबाट
ताकेको हात झिक्नुपर्छ (७३) ।’
१२ बुँदेको थोरै दिन अगाडि (०६२÷०१÷२१) मा लेखिएको यो कविता १६ बुँदे (२०७२/०२/२५) पछि कति सान्दर्भिक छ ?
‘तिमीले हस्तिनापुर छोड्नैपर्छ
यही लेखियोस्
इतिहासको अर्को पन्नामा’ (७६) ।
यो कविता लेखिएको छोटै समयपछि दुर्योधनको नेपाली संस्करणले हस्तिनापुर छोडे । नयाँ इतिहास लेखियो ।
‘बदल्नुपर्छ अन्यायी संसार
बदल्न सकिन्छ, देखाउन चाहन्छु (७८) ।’
कवि आगो बन्न सिकाउँछन् । ‘हुरी उभिएको बेला’ (८०) दह्रो उभिने प्रण गर्छन् । सामान्य श्रमजीवी ‘सुन्तली दिदी’ (८१) को हातको पोतोलाई हिमाल रङ्ग्याउने अभ्यास देख्छन् । वार्तावधिमा बन्दुक बिसाँइदा ‘बिसाइएको छ’ (८२) कविता लेख्छन् । ‘जैतुनका हाँगाहरू’ (८५) हल्लाएर रमाउँछन् । ‘काठमाडौं’ (८६) ले रङ् फेरेको देख्छन् । ‘सेतीदेवीका नाममा’ (८८) पनि कविता लेख्छन् । कवि शैलेन्द्र घिमिरे ‘बेपत्ता स्वजनहरूप्रति’ (९०) कृतज्ञ छन् । आस्था बचाएरै लड् चाहन्छन् । युद्धमा सहादत प्राप्त गर्ने महान सहिदहरूप्रति नतमस्तक बन्दै भन्छन्–
‘सारङ्गीको तार जस्ती
तरवारको तिर्भिराउँदो धार जस्ती
औंसीमै प्रदीप्त उज्यालो बोक्ने
तिमी को हौ ?’ (९२)
‘वागमती’ (९४) लाई कवि रोकिने आदेश गर्छन् ।’ ‘म फेरिएको छैन’ (९५) को उद्घोषसँगै कविताक्रम टुङ्गिन्छ ।
मित्रहरूले भने जस्तै छन्– राजनका कविता । अझ दीपशिखाले भनेजस्तै ‘पाना पानामा बन्दुक पड्कन्छ । हरेफैपिच्छे बम फाट्छ ।’ सबै कविका कवितामा सबै समालोचक वा टिप्पणीकर्ताहरू यसै भन्छन् । ‘उहाँका कवितामा विरोध छ, विद्रोह छ र परिवर्तनको कामना छ ।’ सप्पैले सप्पै कविका बारे यसै भन्ने गरेका छन् । सबै कविमा लागू हुने भनाइ शैलेन्द्रमा पनि स्वतः लागू हुन्छ । तर शैलेन्द्र कवि थोरै पृथक छन् । त्यही पृथकपना उनको मौलिकता हो । त्यसैले कविता पठनीय छन्, मननीय छन् ।
राजन–कविताका सामान्य दुर्वल पक्ष कवितालाई माझेर टल्काउनेतिर नलाग्नु हो । विम्ब, प्रतीक र लोकोक्तिहरुको समुचित प्रयोग गर्दै जाँदा राजान–कविता अत्यन्तै बलशाली हुने सम्भावना टड्कारो छ । यहाँ कवितालाई प्रायः कच्चा पदार्थकै रुपमा छाडिएका छन् । परिपाकतिर लागिएको छैन । कविताहरु वनफूल जस्ता छन । फूलहरु झाडीसँगै फुलेका छन् ।
‘रोकिन्न तिम्रो स्वर्गमा आगो’– पहिलो कवितामा पौराणिक विम्ब स्वर्ग ल्याएपछि नकारात्मक भाव दिन ‘डँडेलो’ बढी उपयुक्त हुन सक्थ्यो । स्वर्गको आगोले सकारात्मक भाव दिन्छ । त्यसैका लाग प्रमिथसहरु लागिरहन्छन् । ‘जमदार साहेब, युगको प्रसवको पीडामा घात नगर (५९) ।’ हिजोआज जमदारले कुनै ठूलो उत्पीडकको प्रतिनिधित्व गर्दैन । ऊसँग विन्ती बिसाउनुको अर्थ देखिँदैन । ‘मेरो खसी’ (६०) को लक्ष्यार्थ र वाच्यार्थमा तादाम्य छैन । यो कविता सापेक्षमा कमजोर छ । ‘पागलहरु बौलाए (७१) ।’ –वाक्य विन्यास मिल्दैन ।
राजन–कविताका सबभन्दा दुर्वल र सवल पक्ष एउटै छ, त्यो हो भावाभिव्यक्तिको पुनरावृत्ति । उनको मौलिकपन यही छ । संस्कृतिको छन्दमा हुरुक्किएर छन्द समाउने कविता फुत्काउनेहरुले ‘राप’बाट राहत पाउँछन् । यहाँ प्रायः त्यस्ता कविता छैनन् जसले तातो रगतका पाठकको आँखा नचम्काओस्, रगत नउमालोस् र मुठ्ठी नकसाओस् । मानवीय सम्वेदनाहरु छचल्किएर शोक पनि आक्रोशमा प्रक्ट भएका छन् । अठोटका स्वर गुञ्जित कविताहरु क्रान्तिचेतका दृष्टिले ओजपूर्ण छन् । तर, चिसा रगतकाहरुलाई यी कविता दुर्वल लाग्न सक्छ ।
अन्त्यमा,
राम्रा कविता समाजमा राख्ने हो । यतिखेर हामी हाम्रो समाजलाई लथालिङ्ग भताभुङ्ग पारिरहेका छौं । प्रायः, कविहरु घोर असामाजिक छन् । असंगति देख्ने, लेख्ने तर समाजलाई संगतिपूर्ण बनाउने प्रयत्न पटक्कै नगर्ने । राजन अहिले के गर्दैछन् ? ‘एम्बुसका क्याम्फालाइज तार’ कस्तो हुन्छ ? ‘लालबस्ती’ नेपालको कुन ठाउँमा पर्छ ? ‘हो, म फेरि हाजीर छु’ (१९) भन्ने कविको हाजिरी सरकारी कर्मचारीहरुकै जस्तो ‘हाटा’ त भइरहेको छैन ? यो पाठकीय चासोको विषय हो । नेत्र अभागीले भनेजस्तै मौसम अनुकूल हुञ्जेल त एउटा नर्कटले पनि क्रान्तिकारी फुइँ देखाउँछ । तर, मौसम प्रतिकूल हुँदा एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ । ‘राप’ जनयुद्धको रापतापकै बेला रचिएको छ । अहिले त्यो सेलाएको अवस्थामा कवि आफ्नो धरातलमा कसरी उभिन्छन् ? त्यसैले उनको कवित्व र कविताको मूल्य निर्धारण गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: