आश्रममै दुई छोरा जन्मिए, हुर्किए, बढे र पढे । आश्रमबाटै कान्छा छोरा विदेश पनि गए । कान्छो छोरा अष्ट्रेलियामा पढ्दै छन् भने जेठा नेपालमै कम्प्युटरको काम गर्छन् ।राजधानी नजिकै दक्षिणकाली क्षेत्रको छैमलेबाट आश्रममा आएका रहेछन् उनी । त्यतिबेलाको सरकारी निकायकै सिफारिसमा पशुपति वृद्धाश्रम पठाइएको रहेछ उनलाई । ‘यसको पाल्ने मान्छे छैन, आँखा पनि देख्दैन भनेर प्रधानपञ्चको सिफारिसमा मलाई यहाँ पठाइएको हो’, आफू वृद्धाश्रम आउनुका कारणहरु खोतल्दै उनले भने– ‘सरकारले पाल्नुपर्छ भन्ने मान्यता थियो, त्यतिबेलै अञ्चलाधीश नरहरि दुवाडीले मलाई यहाँ ल्याएर छाडेका हुन् । अहिले उनी मरिसके ।’ आश्रम आउँदा उनीसँगै श्रीमती पनि आइन् । आश्रममै दुई छोरा जन्मिए, हुर्किए, बढे र पढे । आश्रमबाटै कान्छा छोरा विदेश पनि गए । कान्छो छोरा अष्ट्रेलियामा पढ्दै छन् भने जेठा नेपालमै कम्प्युटरको काम गर्छन् । तर उनलाई भेट्न अहिले छोरा आउँदैनन् । ‘भेट्न आउँदैनन्, आए पनि के–के न दिनुपर्छ जस्तो गर्छन्’ आफ्ना छोराहरुप्रति विस्मातको भाव देखाउँदै राउत भन्छन्– ‘उसको आफ्नो काम पनि गर्नुपर्ला, म उनीहरुको बा हुँ, म यहीं छु । एकपटक घर जाँऊसम्म पनि भन्दैनन् ।’ राउतले ०५१ सालमा आश्रममै पत्नी पनि गुमाए । पत्नी गुमेकोमा राउतलाई ठूलो दुःख छ । ‘श्रीमती बितेको पनि २० वर्ष पुग्यो । ऊ पनि आँखा नदेख्ने थिई’, उनले भने– ‘हामी दुवै जना हुँदा एक–अर्काको सहारा हुन्थ्यो । तर, ऊ नभएपछि एक्लो भएको छु । किशोरावस्थामै दृष्टि गुमाएका राउतको आँखा दुखिरहन्छ । ‘पटक्कै केही देख्दिनँ’, उनले भने– ‘सिस्टरहरुले औषधी दिन्छन्, लगाउँछु ।’ मानिस वृद्धाश्रम पुग्न ‘पाको उमेर, पारिवारिक तिरस्कार, सम्पत्तिविहिनताको भ¥याङ चढ्नुपर्छ । अर्को भाषामा भन्दा निराश्रित हुनु नै वृद्धाश्रम गन्तव्यको कारण हो । तर, दुई छोरा हुँदा पनि राउतले निराश्रित बन्नुपरेको छ । वृद्धाश्रम पुग्न उनले पाको उमेर पनि कुर्नु परेन । आँखा मात्रै देख्थे भने पनि उनी त्यतिबेलै वृद्धाश्रम आउने थिएनन् । परिवारले सहारा दिएको भए पनि उनलाई वृद्धाश्रम बस्नु थिएन ।’ उनी छोराहरुको मायामै रम्न चाहन्छन्, सँगै बस्न चाहन्छन् । तर, वृद्धाश्रम बस्नुको विकल्प कहाँ छ र ? त्यसैले उनलाई यतिबेला वृद्धाश्रम नै प्यारो लाग्छ । भन्छन्– ‘हामी खान नपाउनेहरुका लागि यो ठूलो कुरा हो । सरकारले पालेको छ, दाताहरुले राम्रा र बलिया कपडा दिएका छन्, यसैमा खुशी छु ।’ वृद्धाश्रमका कर्मचारीले बताएअनुसार वृद्धाश्रमको रेकर्डअनुसार सबैभन्दा लामो अवधि वृद्धाश्रममा बिताउने यिनै राउत हुन्, जसले वृद्धाश्रममै ४५ वर्ष बिताइसके । कर्मचारी भन्छन्– ‘राउत बाबाटै हामीले वृद्धाश्रमको इतिहास थाहा पाएका हौं ।’ कर्मचारी श्रीविन्द खनाल भन्छन्– ‘वृद्धाश्रमबारे कुनै जिज्ञासा भए समाधान गर्दिने उनै हुन् ।’ ‘वृद्धाश्रममा नराम्रो कुरो केही छैन’, आभारी हुँदै राउतले भने– ‘यत्तिका समय बसियो, हामी बेसहारालाई सहारा दिने ठाउँ हो यो । खान–लाउन मात्रै होइन, सामान्य औषधी–उपचारको व्यवस्था समेत यहीं छ । धर्म गर्न कतै जानु पर्दैन, दैलोमै छ ।’ वृद्धाश्रममा राउत आउँदा २ सय ५० वृद्धवृद्धा थिए । ‘ऊ बेला उसिनेको चामल र ९ किलो तरकारी दिन्थे २ सय ५० जनालाई’, वृद्धाश्रमको विगत खोतल्दै उनले भने– ‘त्यतिबेला साहु–महाजनले केही पनि सहयोग गर्दैनथे । त्यतिबेला बिजुली पनि थिएन । आधा माना मट्टितेलकै भरमा चलेको थियो ।’ वृद्धाश्रमका सुरुआती दिनमा उनी आधा पाउ साबुनले एक महिना कपडा धुन्थे । ०४४ सालअघि वृद्धाश्रममा चिया पिउँन पाइँदैनथ्यो, तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री वृद्धाश्रम घुम्न आउँदा वद्धवृद्धाहरुबाट चिया पिउँन नपाएको गुनासो सुनेपछि बिहान–बिहानका लागि चियाको व्यवस्था हुन थाल्यो । एक व्यापारीको सहयोगमा दूध–चियाको व्यवस्था सुरु भएको थियो । ‘सुवास भन्ने व्यपारी थिए, उनैले हामीलाई ६ महिनासम्म दूध खुवाएका थिए’, उनले भने– ‘यहाँका कर्मचारी राक्षस थिए, ती व्यापारीलाई के चित्त बुझेन, दूध दिन छाडिदिए ।’ कुन–कुन समयमा वृद्धाश्रमका कुन–कुन हाकिम आए, अहिले ती कहाँ छन्, सबै कन्ठस्थ सुनाउँछन् । ‘व्यापारीले दूध दिन छाडेपछि ओमकार हाकीमसा’ब आउनुभएको थियो । तनहुँको नेवार हो उहाँ । अहिले पनि अफिसर नै हुनुहुन्छ, कोरियागाउँमा पनि उहाँको घर छ’, हाकिमबारे राउतले सुनाए– ‘उनै हाकिमले सरकारी दूधको व्यवस्था गरे । अनि मात्रै हामीले बिहान–बेलुका दूध हालेको चिया खान पायौं ।’ वृद्धाश्रममा कपडाहरु दानद्वारा आउने गर्छन् । ‘मैले लगाएको गन्जि साहु महाजनहरुले बाँड्न ल्याएका हुन् ।’ आफुले लगाएको लुगाहरु देखाउँदै राउतले भने ‘०४७ साल अघिको यो कटु झ्यालखानामा बनेको हो । साह्रै बलियो छ । पञ्चायतकालमा लाग्नेलाई लगौंटी र महिलालाई फरिया चोलो मात्रै आउने गथ्र्यो । अहिले धेरै किसिमको आउन थालेको छ । ०५३ साल देखि दाताहरुसँगै वृद्धाश्रममा कपडाहरुको दान पनि ओइरिन थालेको हो । त्यो भन्दा अघि सरकारले ६ महिनामा एक पटक लगाउने कपडा दिने गरेको थियो । वृद्धाश्रममा दैनिकजसो एक–दुई वृद्ध–वृद्धाको मृत्यु हुन्छ, ती सबै उनका साथीहरु नै पर्छन् । कति मन मिल्ने साथीहरु बितेको देख्दा उनलाई निकै दुःख लाग्छ । ‘मिलेका साथी धेरै मरिसके, फेरि नमिलेका साथी आउँछन्’, उनले भने– ‘यहाँ यस्तै हो । यो चलिरहन्छ ।’ मृत्युदेखि डर लाग्दैन राउतलाई । मरेकाहरुमध्ये केही नाम भने उनी कहिल्यै बिर्सन सक्दैनन् । ती नाम हुन् उनले दिदी मानेकाहरु । ‘ओखलढुङ्गाकी टीकामाया दिदी मर्दा साह्रै दुःख लागेको थियो’, उनी सम्झन्छन्– ‘दिदी टिकामायाले दिएको चस्मासहितको मेरो नजर सधैं आर्यघाटतिर मोडिन्छ’ । त्यस्तै अर्की दिवंगत दिदीको नाम पनि सुनाउँदै भने– ‘लक्ष्मी दिदी मर्दा पनि साह्रै दुःख लाग्यो । उनले मलाई भाइ मानेकी थिइन्, खुब सहयोग गरेकी थिइन् । उनीहरु दुवैलाई त्यतै लगेर जलाइयो ।’
प्रतिकृया लेख्नुहोस्: